के दौरा–सुरुवाल लगाउँदा होचो भइन्छ ?
केही वर्षपूर्व अमेरिकाका राष्ट्रपति बाराक ओबामाले म्यान्मारको भ्रमण गरेका थिए । लामो अन्तरालपछिको त्यो भ्रमण चर्चित पनि रह्यो । पहिलेको राजधानी यांगुनमा ओर्लिएका ओबामा टाई र सुटमा सजिएका थिए । तर, तत्कालीन राष्ट्रप्रमुखले भने लुंगी लगाएर ओबामालाई स्वागत गरे । म्यान्मारका तत्कालीन राष्ट्रप्रमुखलाई लुंगी लगाउँदा कुनै हीनताबोध थिएन । किनकि, त्यो उनीहरूको राष्ट्रिय पोसाक थियो । विश्वकै शक्तिशाली राष्ट्रका प्रमुख महँगा टाई र सुटमा झुल्किँदा म्यान्मारका राष्ट्रप्रमुख भने लुंगी र चप्पलमा सजिएका थिए ।
हरेक राष्ट्रको आफ्नै पोसाक हुन्छ । त्यसले राष्ट्रको पहिचान पनि दिलाउँछ । देशको उच्च तहमा रहेकाहरूले त राष्ट्रिय पहिचानयुक्त पोसाकमा आफूलाई चिनाउनु गर्वको विषय पनि हो । नभए विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति आउँदा म्यान्मारका शासक–प्रमुखले खुट्टामा चप्पल, शरीरको तल्लो भागमा लुंगी र माथिल्लो भागमा सामान्य पोसाक लगाउने थिएनन् । तर, त्यसो गर्नुको पछाडि राष्ट्रिय पहिचान, गर्व र सान जोडिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भर्खरै सम्पन्न भारत–भ्रमणका बेला उनले लगाएको पोसाकले राष्ट्रको प्रतिनिधित्व ग¥यो कि गरेन ? भन्ने प्रश्न अहिले प्रखर रूपमा उठेको छ । अरू राजनीतिक दलका पूर्ववर्ती सरकार–प्रमुखहरूले विदेश भ्रमण गर्दा नेपालको राष्ट्रिय पोसाक मानिएको दौरा, सुरुवाल, कोट र टोपी नै लगाए । प्रधानमन्त्रीले मात्र होइन, अरू मन्त्रीहरूले पनि विदेश यात्रा गर्दा राष्ट्रिय पोसाकलाई नै पछ्याए । तर, प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा राष्ट्रिय मानिने पोसाकलाई उपेक्षा गरेर अंग्रेजकालीन पोसाकलाई नै स्विकारेपछि भने यसले बहसको रूप लिन पुगेको छ ।
एउटा सामान्य मानिसले भारतका प्रधानमन्त्रीलाई भेट्दा जस्तोसुकै पोसाक लगाओस्, त्यसले कुनै अर्थ राख्दैन । तर, एउटा सार्वभौम मुलुकका सरकार–प्रमुखले आफ्नो राष्ट्रिय पोसाक लगाउनुको साटो अर्कै पोसाक लगाउनुलाई त्यति सुपाच्य मान्न सकिँदैन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भने परम्परागत गुजराती पोसाक लगाएका थिए । पोसाकको मामिलामा अत्यन्तै सजग मानिने मोदीले कुनै विदेशी झल्को दिने खालका पोसाक लगाएका थिएनन् । कुनै पनि राष्ट्रप्रमुखसितको भेटमा होस् वा विदेश यात्रा गर्दा होस्, मोदीले पोसाक चयनमा राष्ट्रिय सवाललाई शिरोधार्य गर्दै आएका छन् । तर, नेपालका प्रधानमन्त्रीले भने दिल्लीमा देखाएको पोसाक–नौटंकीलाई अर्थपूर्ण रूपमा हेर्न थालिएको छ ।
पक्कै पनि दौरा–सुरुवाल र टोपीप्रति एकथरिको विमति रहँदै आएको छ । यस्तो वस्त्र–संयोजनले महेन्द्रकालीन राष्ट्रियताको झल्को दिने हुँकार सुनिन थालिएको पनि धेरै भइसकेको छ । तर, दौरा, सुरुवाल र टोपीको इतिहासलाई शाहकालीन परम्परा र इतिहाससँग मात्र जोड्नु त्यति सान्दर्भिक देखिँदैन । किनकि, यी पोसाकहरूको परम्परा जस्तोसुकै रहे पनि यो सबै नेपालीहरूको पहिचान बनिसकेको छ ।
नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश भएको हुँदा सबैका आ–आफ्नै विशेषता झल्काउने पोसाकहरू रहेका छन् । अझ भौगोलिक हिसाबले धेरै जाडो हुने हिमाली भेगदेखि अत्यन्तै गर्मी हुने तराईसम्म फैलिएको हुँदा हरेक नागरिकले आफ्नो भेग सुहाउँदा पोसाकहरू लगाउँदै आइरहेका छन् । हिमाली भेगका बासिन्दाले बाक्ला लुगाहरू र तराईका लागि पातलो लुगा लगाउने गर्दै आइरहेका छन् । स्थानीय मौसम र हावापानीअनुकूल पोसाक लगाउने कुरालाई जायज मानिए पनि राष्ट्रिय पोसाकका सवालमा भने एकरूपता कायम हुनु सान्दर्भिक देखिन्छ । किनकि, विश्वका कुनै पनि नागरिकले नेपाल सम्झिनेबित्तिकै नेपालको राष्ट्रिय पोसाक सम्झिँदा त्यसले धेरै नै अर्थबोध राख्दछ ।
त्यसो त राष्ट्रिय पोसाकको पक्षमा उभिँदा ‘तालिवानीकरण’को मार्ग पछ्याउनु पनि उचित हुँदैन । अफगानिस्तानमा तालिवानीहरूले सत्ता सम्हालेपछि पोसाकको सवालमा अत्यन्तै कडा नीति अपनाएका थिए । खासगरी महिलाहरूले लगाउने पोसाकमा उनीहरूले धेरै नै कडापन देखाएको थियो । यद्यपि, अधिकांश मुस्लिम देशहरूमा महिलाले अनिवार्य रूपमा बुर्का लगाउनैपर्ने चलन छ र त्यसले ती राष्ट्रहरू पोसाकका सवालमा कति कट्टर छन् भन्ने कुरा स्वतः सहतमा आउँछ । तर, तालिबानहरूले पोसाकमा अपनाएको कट्टरतालाई पछ्याउनु उचित नभए पनि राष्ट्रको उच्च र जिम्मेवार तहमा रहेका व्यक्तिहरूले भने राष्ट्रिय पोसाकलाई उपेक्षा गर्दा त्यसले सिंगो देशकै पहिचान र स्वाभिमानमा भने असर पु¥याउँछ । अझ, सरकार वा राष्ट्रप्रमुखहरूले विदेश यात्रा गर्दा राष्ट्रिय पोसाकलाई मान्यता नदिनु त ठूलो र चरम लापरबाही हो भन्नु उचित होला ।
दसवर्षे जनयुद्धको बाटो हुँदै शान्ति प्रक्रियामा आएको माओवादीले राष्ट्रिय पोसाकका सन्दर्भमा दुई खाले नीति लिएको कुरा त्यति सुपाच्य देखिँदैन । माओवादी सेनाका कमान्डरबाट उपराष्ट्रपति बनेका नन्दबहादुर पुन कुनै पनि सार्वजनिक समारोहमा जाँदा राष्ट्रिय पोसाकमै हुन्छन्, तर त्यही पार्टीका र युद्ध लडेका प्रधानमन्त्री दाहाल भने सुट–पाइन्टमा सजिन्छन् । देशको सर्वोच्च पदमा पुगेका एकजना नेताले भने राष्ट्रिय पोसाकलाई स्विकार्ने र सर्वोच्च पदमै पुगेका अर्का नेताले भने आयातीत पोसाकमा सजिनुपर्ने के त्यस्तो कारण आइलाग्यो ? कि आफूलाई अरू राजनीतिक दलका नेताभन्दा फरक देखाउन राष्ट्रिय पोसाक नै त्याग्ने जाँगर पलाएको हो उनीहरूमा ? के दौरा–सुरुवाल र टोपी लगाउँदैमा होचा भइन्छ ?ती पोसाकहरूमा महेन्द्रकालीन राष्ट्रियताको भूत सवार हुन्छ ?
नेपाली नेताहरूले म्यान्मारको शासक प्रमुखबाट सिक्न जरुरी छ । यदि पोसाकले आफ्नो कद बढ्थ्यो भने उनले अमेरिकाका राष्ट्रपति आउँदा लुंगीको ठाउँमा पाइन्ट नै लगाउँथे र चप्पल नलगाएर कुनै विदेशी ब्रान्डको जुत्ता लगाउँथे होलान् । तर, उनले आफ्नो देशको पहिचानलाई मेट्न चाहेनन् । तसर्थ, आफूले लगाएको पोसाक हीनताबोध र लज्जाबोधको प्रतीक होइन, देशज पहिचानको उत्कृष्ट र सानदार नमुनामा पनि हो ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply