नाट्य क्षेत्रको अन्योलपूर्ण भविष्य
चालीसको दशक, नेपाली नाटक लेखनका निम्ति उर्वर कालखण्ड थियो । केही नाटक लेखकहरूले अत्यन्तै समर्पित र प्रतिबद्ध ढंगले नाट्य लेखनमा समय र ऊर्जा पोखेको दशक थियो त्यो । तत्कालीन समयमा निजी प्रकाशन संस्थाहरू पातलै भएको हुँदा नेपाल प्रज्ञा–प्रतिष्ठान र साझा प्रकाशनहरूले नाट्य कृतिलाई प्राथमिकतापूर्वक प्रकाशन गर्थे । र, नाटक लेखकहरूलाई पनि आफ्ना नाट्य कृति पाण्डुलिपिमै सीमित राख्नुपर्ने बाध्यता थिएन त्यतिबेला । नेपाली साहित्यमास्तरीय, उम्दा र उत्कृष्ट नाट्य कृतिहरू भित्रिएको बेला थियो, चालीसको दशक ।
हुन पनि, अघिल्लो पुस्ताका विजय मल्ल, गोविन्दबहादुर मल्ल ‘गोठाले’, फणीन्द्रराज खेताला, प्रचण्ड मल्ल, रमेश विकल, मोहनराज शर्मा, लोकेन्द्रबहादुर चन्दजस्ता स्रष्टाहरूले नाटक लेखनमै आफूहरूलाई तल्लीन तुल्याएका थिए भने सरुभक्त, अविनाश श्रेष्ठ, अशेष मल्ल, नयनराज पाण्डेजस्ता युवाहरू पनि नाटक लेखनमै रमाएका थिए । त्यही समय, नाटक लेखनमा युवा पुस्ताको लोभलाग्दो आकर्षण बढोस् भन्ने उद्देश्यले राज्यले नै पहलकदमी लिएको प्रतीत हुन्थ्यो । किनकि, नेपाली नाटक लेखनमा नयाँ पुस्ताको आगमनप्रति ध्यान दिँदै राष्ट्रिय स्तरमै नाटक प्रतियोगिता गरिन्थ्यो र त्यसले नयाँ र ऊर्जावान् नाटककारहरूलाई जन्माउने वातावरण बन्थ्यो ।
२०४३ सालमा राष्ट्रिय युवा महोत्सव आयोजना हुँदा एकांकी नाटक प्रतियोगिता गरिएको थियो । सो प्रतियोगितामा अविनाश श्रेष्ठको नाटक ‘समय, समय अनि समय’ले प्रथम पुरस्कार पाएको थियो । त्यसअघि कविता र कथा विधामा कलम चलाइरहेका श्रेष्ठले नाट्य लेखनमा पनि आफ्नो पैर जमाउन पाएका थिए । विषयवस्तु, प्रस्तुतीकरणमा उत्कृष्ट दार्शनिक विचार र चेतले भरिपूर्ण त्यो नाटकका एउटा पात्र भन्छन्, ‘ए, बुझें, बुझें । अतीत, वर्तमान र भविष्य तिमीहरू तीन भाइ ग्रिसेली दन्त्यकथाको नायक पर्सियसले गोर्गनको खोजीका क्रममा भेटेका ती तीन दिदीबहिनी मायावी बूढीजस्तै रहेछौ, जोसित हेर्नलाई एउटा मात्र आँखो थियो । त्यही एउटा आँखो पालैपालो लगाएर ती मायावी बुढियाहरू देख्ने गर्थे रे । अझ भनौं भने तिमीहरू टापुका ती तीनवटी एकै आकारप्रकारका बीभत्स राक्षसी गोर्गनहरू जस्ता रहेछौ ।’
अघिल्लो पुस्ताका नाटककारहरूले लेखन ऊर्जा रहुन्जेल लेखिरहे, जीवनका अन्तिम क्षणसम्मै आफूलाई नाटक लेखनमा समर्पित तुल्याइरहे । तर, चालीसको दशकको अन्तिम–अन्तिमतिर भने सरुभक्त, अविनाश श्रेष्ठ, नयनराज पाण्डेहरूले नाटकमा भन्दा उपन्यास र कथा लेखनमा मन डुलाउन थाले भने अशेष मल्लले पनि नाटक लेखनमा कम उपस्थिति जनाउन थाले । तर, चालीसको दशकमा वासु शशीको ‘बाँसुरीमा नअटाएका धूनहरू’, मोहनराज शर्माको ‘जेमन्त÷यमा’, लोकेन्द्रबहादुर चन्दको ‘नेताका साथी’, विजय मल्लका ‘भुलैभुलको यथार्थ’ र ‘स्मृतिको पर्खालभित्र’, सरुभक्तको ‘शिशिरका अन्तिम दिनहरू’, फणीन्द्रराज खेतालाको ‘मूर्ति बोल्छ’ जस्ता नाट्य कृतिले नेपाली साहित्यको भण्डारलाई समृद्ध बनाउन अहम् भूमिका खेलेको पक्षलाई भुल्न सकिँदैन ।
नटक लेखनको सुनौलो युगको अन्त्य भइसकेको छ अब । पछिल्लो अवधि त नेपाली नाटक लेखनको निम्ति पूर्णविराम लागेको अवधिको रूपमा मूल्यांकन गर्दा केही फरक पर्दैन । पछिल्लो अवधिलाई नेपाली नाटक लेखनको अमावश्यकै रूपमा चित्रित गर्दा पनि हुन्छ । नयाँ पुस्ताका नाटक लेखकहरू गन्ने हो भने एउटा हातको औंला भाँच्नसमेत मुस्किल पर्छ । केही युवा नाट्य कर्ममा समर्पित ढंगले लागिरहे पनि नाटक लेख्नेहरूको अभाव भने अहिलेसम्म पूर्ति हुन सकेको छैन । र, राज्यले पनि नाटक लेखनका निम्ति प्रोत्साहन गर्नेतिर खासै ध्यान नदिएको हुँदा नाटक लेखनमा ठूलै खडेरी छाएको छ अहिले ।
नटक लेखकहरूको अभाव नेपाली नाट्य क्षेत्रले बोध गरे पनि नाट्यशालाहरू भने अपेक्षाकृत रूपमा खुले, केही दशकको अवधिमा । सर्वनाम, गुरुकुल, मण्डला, शिल्पीलगायत करिब आधा दर्जनजति नाट्यशालाहरूले नेपाली रंगमञ्चलाई जीवन्तता दिन उल्लेख्य भूमिका खेलिरहेको यथार्थलाई नकार्न मिल्दैन । तर, केही नाट्यशालाहरू चलायमान रहे पनि नेपाली मौलिक नाटकहरूको प्रदर्शन भने कमै हुने गरेका छन् । अधिकांश नाट्यशालाहरूले विदेशी लेखककै नाटकलाई मञ्चन गर्नुपर्ने बाध्यता पसारिएको छ । नेपाली नाटकप्रेमीहरूलाई आफ्नै परिवेशको सुगन्ध दिने नाटक कमै मञ्चन हुने गरेका छन् ।
निश्चय नै, पछिल्लो समय रंगमञ्च ब्युँतिएको छ । अघिल्लो पुस्ताका अशेष मल्ल, सुनील पोखरेल, अनुप बरालदेखि नयाँ पुस्ताका घिमिरे युवराज, राजन खतिवडाहरू नाट्य कर्ममै निर्लिप्त छन् । काठमाडौंमा स्थापित नाट्यशालाहरूले काठमाडौंका दर्शकलाई मात्र होइन, बेलाबखत मोफसल यात्रा गरेर मोफसलका नाट्यप्रेमीहरूलाई पनि लोभ्याइरहेका छन् । नाट्यकर्ममा लाग्नेहरूले फिल्ममा पनि राम्रो अवसर पाएका छन् र त्यही कारण उनीहरू आर्थिक संकटमा फस्ने वातावरणलाई पन्छाउन सफल पनि भएका छन् । तर, नाट्य लेखनमा व्याप्त खडेरीले भने नेपाली नाट्य क्षेत्रको भविष्यप्रति भने अनेक प्रश्नचिह्न उब्जाएको छ, निश्चित रूपले ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply