किन खुम्चिँदै छ सांस्कृतिक आन्दोलन ?
सामाजिक चेतना, जागरणबोध र विद्रोहले भरिपूर्ण गीत संगीत, अब बिस्तारै अतीतको विषय बन्दै गइरहेको छ । खासगरी, समाज र राजनीतिक जगतमा चेतना प्रवाह गर्ने सर्जकहरूको बढ्दो सुस्ततासँगै कुनै बेला नेपाली गीत–संगीत क्षेत्रमा फरक धारको प्रतिनिधित्व गर्ने संगीत अब क्रमशः सुनिन छाडेको छ । जे–जति छन्, करिब तीन दशकअघिका सिर्जना मात्र छन् । नयाँ सिर्जनाको अभावसँगै नेपाली प्रगतिशील गीत–संगीतको धरातल नजानिँदो रूपमा खुम्चिँदै गएको तीव्र महसुस हुँदै छ अचेल । नेपाली प्रगतिशील सांस्कृतिक आन्दोलनले मन्दीको चरण बेहोर्नुका पछाडि थुप्रै कारण छन् । तर, मुख्य कारण राजनीतिक परिवर्तनपछि सांस्कृतिक आन्दोलनलाई उपेक्षा गर्ने प्रवृत्तिको तीव्र विकास हुनुलाई नै मान्न सकिन्छ । परिवर्तन रोज्ने हरेक राजनीतिक शक्तिले सांस्कृतिक आन्दोलनलाई अपरिहार्य ठान्नु स्वाभाविकै थियो । किनकि, सांस्कृतिक जागरणमार्फत राजनीतिक परिवर्तनका धर्साहरू कोरिने यथार्थ राजनीतिक शक्तिहरूले नबुझेका होइनन् । यस्तो यथार्थसँग परिवर्तनकामी राजनीतिक शक्तिहरू नजिक रहे । र, त्यस्ता शक्तिहरूले जनचेतना प्रवाह र विस्तार गर्ने तहका सांस्कृतिक आन्दोलनलाई राजनीतिक आन्दोलनसँगसँगै अग्रगति दिँदै आए ।
कुनै एउटा यस्तो समय पनि थियो, राजनीतिमा लागेकाहरूका प्रेरणाविना नै स्वतःस्फूर्त रूपमा, आफ्नो इच्छा र आकांक्षाले डोरिएर सांस्कृतिक जागरणको प्रादुर्भाव भएको थियो । त्यसको श्रेय राल्फाली समूहलाई जान्छ र त्यो समूहको पनि दुई प्रखर ‘गायक–यात्री’ हरू रामेश र मञ्जुललाई जान्छ । पञ्चायतविरोधी राजनीतिक चेतना सल्बलाइरहेको बीसको अन्तिम दशकतिर रामेश र मञ्जुलको जोडीले पूर्वी नेपालका ग्रामीण बस्तीहरूमा सामाजिक र राजनीतिक चेतना जागृत गर्ने हेतुले सांगीतिक यात्रालाई अगाडि बढाए, अझै पनि गायक–यात्रीहरूको त्यो अभियानलाई गौरवशाली अतीतका रूपमा स्विकार्ने गरिन्छ । भलै, ती दुई युवाको अभियान एवं परिवर्तनकामी स्वप्न थियो । तर, त्यसले सामाजिक जीवनमा सांस्कृतिक जागरण ल्याउने काममा भने धेरै ठूलो सघाउ पु¥याएकोमा द्विविधा देखिँदैन । किनकि, रामेश र मञ्जुलको त्यो अभियानले पूर्वी भेगमा सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा उल्लेख्य तरंग ल्याएको थयो । त्यही अभियानले प्रगतिशील सांस्कृतिक आन्दोलनमा नयाँ पुस्तालाई प्रवेश गर्न उत्प्रेरितसमेत गरेको थियो ।
०३६ सालको जनउभारपछि राजनीतिक समूहहरूले आफ्नै सांस्कृतिक मोर्चा हुनुपर्ने कुराको महसुस मात्र गरेन, तत्कालीन समयका दुई प्रमुख कम्युनिष्ट घटकहरू नेकपा माले र चौथो महाधिवेशनले आ–आफ्नै सांस्कृतिक समूह स्थापना गरे । संकल्प र वेदना परिवार त्यसकै उपज थियो । यो क्रम देशव्यापी रूपमै चल्यो । पूर्वदेखि पश्चिमसम्मै विभिन्न सांस्कृतिक मोर्चाहरू स्थापना भए र निरंकुशतन्त्रको अवरोधका बाबजुद त्यस्ता मोर्चाहरू निरन्तर रूपमा क्रियाशील रहे । ०४६ को राजनीतिक परिवर्तनपछि त झन् धेरै सांस्कृतिक समूहहरू जन्मिए र राजनीतिक परिवर्तनपछिको तत्कालीन अवस्थामा त्यस्ता सांस्कृतिक समूहहरूले जनपंक्तिलाई चेतनाका हिसाबले समृद्ध तुल्याउन अझ व्यापक रूपमा टेवा पु¥याएकोमा कुनै सन्देह देखिँदैन ।
हिंसात्मक बाटो पहिल्याउँदै युद्ध थालेका माओवादीले पनि सांस्कृतिक आन्दोलनलाई राजनीतिक आन्दोलनसँगै जोडेर अघि बढ्न उपयुक्त ठान्यो । पचासको रक्तरञ्जित दशकमा माओवादी शक्तिले अनेक सांस्कृतिक समूह बनाएर आफ्नो राजनीतिक लाइनको प्रचारप्रसार गर्न कुनै कसर बाँकी राखेन । युद्धका जटिल क्षणहरूमा पनि सांस्कृतिक समूहलाई परिचालित गर्नुको एक मात्र उद्देश्य थियो, सांस्कृतिक आन्दोलनले जनतालाई जति चाँडो प्रभावित तुल्याउन सकिन्छ, राजनीतिक भाषणहरू त्यति प्रभावी हुँदैनन् । युद्धका क्रममा थुप्रै कलाकर्मीले अमूल्य जीवन गुमाए नै, तर माओवादी युद्धलाई उचाइ दिलाउन सांस्कृतिक अभियानले इँटा र ढुंगाको भूमिका खेलेको थियो भन्नुपर्ने हुन्छ ।
विगत गौरवपूर्ण भए पनि नेपाली प्रगतिशील साँस्कृतिक आन्दोलन अहिले बेत बसेको गाईजस्तै बन्न पुगेको छ । राजनीतिक शक्ति र नेतागणलाई राजनीतिक मुद्दाहरू छिनोफानो गर्ने चटारोले मात्र च्यापेको छ । यस्तो स्थितिमा क्रमशः सुस्ताउँदै गइरहेको सांस्कृतिक आन्दोलनलाई ऊर्जा दिने फुर्सद कहाँबाट मिल्ला र ?अझ, अघिल्लो पुस्ताका रामेश, रायन, मञ्जुल, जेबी टुहुरे, श्याम तमोट र त्यसपछिको पुस्ताका जीवन शर्मा, मधु गुरुङ, माइला लामा, राजेश थापाहरू अचेल सिर्जना कर्ममा छैनन् । अघिल्लो पुस्ता त उमेरका कारण पनि सिर्जना कर्ममा सक्रिय नहुनु स्वाभाविक हो । त्यसपछिका ऊर्जाशील पुस्ता पनि सांस्कृतिकभन्दा अरू अभियानमा संलग्न हुँदा यो क्षेत्र प्राथमिकतामा नपर्नु स्वाभाविकै हो । एकातिर, राजनीतिक नेतृत्वको प्राथमिकताको सूचीबाट ओझेल पर्नु र अर्कोतिर पुरानो पुस्ताको सुस्तता र नयाँ पुस्ताको सर्वथा अभाव महसुस हुनुले नेपाली प्रगतिशील सांस्कृतिक आन्दोलन गतिमय बन्न सकिरहेको छैन । यस्तै, स्थिति तन्किँदै जाने हो भने एक दिन विघटनको दुःखद खबर सुन्नुबाहेक अरू विकल्प देखिँदैन ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply