पारिश्रमिकमै किचकिच
कुनै पनि स्तरीय चलचित्रको प्रथम सर्त चुस्त, स्तरीय र खँदिलो पटकथा नै हो । पटकथा फितलो, स्तरहीन र खुकुलो भयो भने त्यसले चलचित्रलाई सजीवता दिलाउन सक्दैन । किनकि, चलचित्र वृत्तमा भन्ने गरिने एउटा शब्द हो, ‘पटकथाले फिल्मको ७५ प्रतिशत काम र भार थेगेको हुन्छ ।’ हुन पनि कुनै पनि फिल्मको प्राण र मेरुदण्ड नै पटकथा हो र त्यसकै आधारमा फिल्म बाँचेको र उभिएको हुन्छ ।
यद्यपि, चलचित्र कर्ममा लाग्नेहरूमा एउटा के मनोवृत्ति व्याप्त छ भने कुनै सेलिब्रेटी कलाकारलाई लाखौं पारिश्रमिक दिन निर्माताहरू तयार हुन्छन् । तर, पटकथा लेखकलाई सन्तुष्ट पार्ने गरी पारिश्रमिक दिन पूरै कन्जुस्याइँ गर्ने गरेका छन् । त्यसको असर सिंगो नेपाली चलचित्र क्षेत्रले भोग्नुपरिरहेको छ । कुनै समय, चलचित्र लेखनमा जमेका पटकथा लेखकहरू अचेल परिदृश्यबाट बिल्कुलै ओझेलमा परेका छन् र पटकथा लेखनमा एकाधलाई छाडेर अन्तरिम लेखकहरूको हालीमुहाली बढ्न पुगेको छ ।
पछिल्लो समय नेपाली चलचित्र वृत्तमा केही स्तरीय चलचित्रहरू बनेका छन् । राजनीतिक, सामाजिक, सांस्कृतिक विषयवस्तुलाई टिपेर स्तरीय फिल्म निर्माण हुने क्रम अपेक्षाकृत रूपमा बढेको छ । निर्देशक र कलाकारहरूले पनि विगतका तुलनामा मोटो र आकर्षक पारिश्रमिक थाप्न थालेका छन् । त्यस्ता स्तरीय चलचित्र निर्माणमा चलचित्रलाई गहिराइमै पुगेर बुझेका, अध्ययन गरेका र त्यही क्षेत्रलाई नै पेसाका रूपमा अंगीकार गरेका व्यावसायिक सोच र चिन्तनयुक्त व्यक्तिहरूका प्रवेशले उल्लेख्य भूमिका निर्वाह गरेको छ । चलचित्र कर्मलाई गम्भीर रूपमा लिनेहरूको प्रयत्नस्वरूप नै स्तरीय चलचित्र निर्माणले प्रभुत्व जमाउँदै गइरहेको मान्न सकिन्छ, पछिल्लो अवधिमा ।
पछिल्लो अवधिमा हास्यव्यंग्यलाई केन्द्रमा राखेर निर्माण गरिएका ‘वडा नम्बर ६’, ‘६ एकान ६’, ‘छक्कापन्जा’, ‘जात्रा’ जस्ता चलचित्र होस् वा राजनीतिक र सामाजिक विषयमा आधारित ‘टलकजंग भर्सेज टुल्के’, ‘पशुपतिप्रसाद’, ‘कबड्डी–कबड्डी’, ‘साँघुरो’ जस्ता चलचित्र होस् । यी चलचित्रहरूले अपार सफलता बटुल्नुको पछाडि नेपाली समाजले विगतमा भोगेका राजनीतिक, सामाजिक जीवनका कथावस्तु र त्यसलाई चुस्त रूपले पटकथामा उतारिनुलाई मुख्य कारक मान्न सकिन्छ । चलचित्रलाई केवल मनोरञ्जनको विषय मात्र ठान्ने मनोवृत्तिबाट माथि उठेका चलचित्रकर्मीहरूले ती चलचित्र निर्माणमा तत्परता देखाएकै कारण ती फिल्महरू सफल बन्ने आधार बन्यो भन्दा फरक पर्दैन ।
तर, एकाध फिल्मको सफलताको श्रेय सघन पटकथालाई दिनु अनिवार्य रहे पनि पछिल्लो समय निर्माण भएका अधिकांश फिल्म दरिद्र कथा, पटकथाको सिकार भएका छन्, जसको फिल्म हलहरूमा अल्पावधि मात्रै टिक्न पाएका छन् । कुनै पनि चलचित्र असफल हुनु भनेको एउटा ठूलो पंक्तिले धक्का बेहोर्नु हो । किनकि, एउटा चलचित्र निर्माणमा ठूलो जनशक्ति लागेको हुन्छ र उनीहरूका अपेक्षा आफू संलग्न चलचित्रले सफलता पाओस्, करोडौं कमाओस् भन्ने हुन्छ । तर, जब चलचित्रले अपेक्षाकृत रूपमा सफलताको सिँढी चढ्ने ल्याकत राख्दैन, त्यसले निर्माता, निर्देशक, कलाकार, प्राविधिक पक्ष सबैलाई असर तुल्याउँछ ।
कुनै समय नेपाली चलचित्र वृत्तमा साहित्य पृष्ठभूमि बोकेका पटकथा लेखकहरूको राम्रो उपस्थिति थियो । अहिले उपन्यास लेखनमा जमेका नयनराज पाण्डेको त जीविकोपार्जनको आधार नै चलचित्र लेखन थियो । अविनाश श्रेष्ठ पनि राम्रा चलचित्र लेखकमा गनिन्थे । ब्रजेश खनालले पनि यही क्षेत्रमा चिनारी बनाएका हुन् । तर, अचेल भने साहित्य पृष्ठभूमि भएका व्यक्तिहरू चलचित्र लेखन क्षेत्रबाट पूरै टाढिइसकेका छन् । उपेन्द्र सुब्बाले एकाध चलचित्राम संयुक्त लेखन गर्नुबाहेक साहित्य पृष्ठभूमिका व्यक्तिहरूको चलचित्र लेखनमा नगण्य उपस्थिति छ, अहिले ।
राम्रा पटकथा लेखकहरूको नेपाली चलचित्र क्षेत्रमा उपस्थिति शून्य हुँदै जानुमा निर्माता, निर्देशकहरूको रबैयालाई प्रमुख कारण मान्नुपर्ने हुन्छ । किनकि, फिल्मको प्राण मानिने पटकथा लेख्नेहरूलाई न्यून पारिश्रमिकमा काम लगाउन खोज्ने र पटकथा लेखिसकेपछि पूरै पारिश्रमिक दिनमा आनाकानी गर्ने प्रवृत्तिले मुख्य रूपमा काम गरेको देखिन्छ । किनकि, कुनै पनि व्यक्तिले आफूले अपनाएको पेसामा सुरक्षा खोज्छ नै । तर, जुन पेसामा सुरक्षाको प्रत्याभूति हुँदैन, त्यसमा मन फुकाएर लाग्ने अवस्था कसरी सिर्जना हुन्छ र ? आखिर पटकथा लेखन पनि एउटा पेसा नै त हो ।
पटकथा लेखकलाई न्यून पारिश्रमिकमा काम लगाउने र सम्झौताबमोजिम पारिश्रमिक नदिने प्रवृत्ति नेपालमा मात्र होइन, विश्वमै धेरै चलचित्र निर्माण हुने बलिउडमा पनि रहेको खुलासा केही समयअघि एक भारतीय पटकथा लेखिकाले गरेकी थिइन् । ती लेखिका थिइन्, जोया अख्तर । प्रख्यात पटकथा लेखक जावेद अख्तरकी सुपुत्री जोयाले पारिश्रमिकमा ‘किचकिच’ गर्ने हिन्दी चलचित्रका निर्माताहरूप्रति केही समयपूर्व असन्तुष्टि जाहेर गरेकी थिइन् ।
आखिर, पटकथा लेखनमै कन्जुस्याइँ गरिन्छन् भने स्तरीय, करोडौं कमाउने फिल्म बन्ने अपेक्षा कसरी राख्न सकिन्छ र ?
००
म सत्ते ! तिमीलाई नै भेट्न आएँ
—निर्मोही व्यास
म प्यासी सदाको, तिमी हौ पँधेरो
जहाँ पाउ तिम्रा त्यहीँ स्वर्ग मेरो
तिमीलाई पाए जुनी धन्य–धन्य
नपाए छ संसार नै शून्य–शून्य
सजाएर छातीभरि विम्ब तिम्रो
र आँखाभरि स्वप्न साँची सुनौलो
बगी भावनामा, उडी कल्पनामा
अहोरात्र तिम्रै डुबी सम्झनामा
०
म सारंगी यो प्यारको रेट्न आएँ
म सत्ते ! तिमीलाई नै भेट्न आएँ
०
म जाऊँ जता, देख्छु तिम्रै मुहार
गरूँ प्रीतिको सिन्धुमा वारपार
छ मेरो यही एउटै मात्र स्वप्न
म चाहन्न अर्को कुनै मन्त्र जप्न
उज्यालो छ धर्ती तिमी झुल्किनाले
छ यो सृष्टि प्यारो तिमी मुस्किनाले
जहाँ दिव्य सौन्दर्य तिम्रो पिएर
खुसी छर्दछन् पूmलले गम्किएर
०
म तिम्रै छहारीमुनि लेट्न आएँ
म सत्ते ! तिमीलाई नै भेट्न आएँ
०
कुनै भन्दछन्– प्यारमा हार हुन्न
कुनै भन्दछन्– जितको सार हुन्न
नपाऊँ म कैल्यै कुनै जित–हार
तिमीमै डुबुल्की रहूँ बारबार
चढाऊँ अरू अघ्र्य के अर्चनामा ?
स्वयम् अर्पिएको छु आराधनामा
बनी निर्झरी छङछङाइरहेछु
महासिन्धुमा मिल्न धाइरहेछु
०
युगौँदेखिको तिर्सना मेट्न आएँ
म सत्ते ! तिमीलाई नै भेट्न आएँ
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply