प्राज्ञिक थलो कि कुस्तीवाजहरूको अखडा ?
२०७२ साल वैशाख १२ गते आएको महाविनाशकारी भूकम्पले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान रहेको सीता भवनलाई ध्वस्त तुल्यायो । भूकम्पको चपेटामा परेपछि सोही भवनभित्र रहेका बहुमूल्य कलाकृतिहरू धेरै समयपछि सुरक्षित थलोमा सारिए र भवनविहीन बनेका प्राज्ञहरूले नजिकैको चौरमा पाल टाँगेर काम गरे । अझै पनि ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञहरूको थातथलो बसिसकेको छैन ।
महाभूकम्पले राणाकालीन भवन भत्काएको पीडा त थियो नै, ललितकला प्रज्ञा–प्रतिष्ठानको नयाँ भवन बनाउनका लागि ठिक्क पारिएको सीता भवनभन्दा पूर्व–दक्षिणतिरको १५ रोपनी जमिन सो प्रतिष्ठानका पदाधिकारीहरूलाई कुनै सूचना नै नदिई सोही प्रतिष्ठानसँगै जन्मिएका नेपाल संगीत–नाट्य प्रज्ञा–प्रतिष्ठानलाई दिइयो । तत्कालीन मन्त्री कृपाशुर शेर्पाको कृपाले एउटा प्रतिष्ठानको स्वामित्वमा रहेको र त्यही जग्गामा भवन निर्माण गर्न डिजाइनसहित तयार भइसकेको अवस्थामा गुपचुप रूपमा अर्कै प्रतिष्ठानलाई दिने टुंगो भएपछि अहिले यो विषय अदालतमा पुगेको छ ।
आफ्नो स्वामित्वमा रहेको जमिन अर्कैलाई दिन थालेपछि ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञहरूले सभाबाटै सो जग्गा फिर्ता लिन अदालत गुहार्ने टुंगो लगाए र सदस्य–सचिव नवराज भट्टले मुद्दा दायर पनि गरे । ललितकला एकेडेमीले अनावश्यक रूपमा संगीत–नाट्य प्रज्ञा–प्रतिष्ठानसँग दूरी बढाउनुप¥यो । मन्त्री बढी बाठो भएपछि निम्तिएको यो समस्या अझैसम्म किनारातिर धकेलिइसकेको छैन । कायमै छ लफडा ।
भूकम्पका कारण सीता भवनबाट विस्थापित हुनुपर्दाको अवस्था र आफ्नै स्वामित्वको जग्गा अर्कै प्रतिष्ठानलाई दिने टुंगोले थोपरेको तनाव कायमै रहेका बेला अहिले प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय र सदस्य–सचिव नवराज भट्टबीच विवाद चुलिएको कुरा बाहिर आएको छ । सो प्रतिष्ठानमा नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रसँग आबद्ध चित्र, मूर्तिशिल्पीहरू नियुक्त गरिएका हुँदा ताजा विवादमा प्राज्ञहरू पनि राजनीतिक रूपले विभक्त रहेको कुरा पनि आएको छ । विवादकै कारण कतिपय कामहरू अड्किएर रहेका छन् भने वर्तमान पदाधिकारीहरू रहुन्जे समस्याले निकास पहिल्याउने अपेक्षा पनि कम हुँदै जाने अनुमानसमेत लगाइन थालिएको छ ।
आखिर, प्राज्ञिक थलोमा किन विवाद उत्पन्न हुन्छ ? प्राज्ञिक थलोमा रहनेहरू प्राज्ञिक, बौद्धिक र सिर्जनात्मक काम गर्न छाडेर विवादलाई चुल्याउन किन उद्यत देखिन्छन् ? अहिले ललितकला प्रज्ञा–प्रतिष्ठानभित्र विवाद चुलिए पनि प्राज्ञिक कर्मका अरू दुई थलो नेपाल प्रज्ञा–प्रतिष्ठान र संगीत–नाट्य प्रज्ञा–प्रतिष्ठानमा पनि यसअघि विवादहरू देखिएका थिए ।
ललितकला र संगीत–नाट्य नितान्त नयाँ प्रतिष्ठानहरू हुन् । यी दुवै प्रज्ञा–प्रतिष्ठानका प्राज्ञहरूले दोस्रो कार्यकाल गुजार्दै छन् । पहिलो कार्यकालका बेला संगीत–नाट्य प्रतिष्ठानभित्र विवाद उत्पन्न भएको थियो । नेपाली संगीतका धरोहर अम्बर गुरुङले कुलपतित्व सम्हालेको सो प्रतिष्ठानका सदस्य–सचिव तीर्थ श्रेष्ठले अस्वस्थताका कारण राजीनामा दिएपछि गुरुङले आफ्नै चेला आभासलाई सदस्य–सचिवमा ल्याउन चाहे र उनको इच्छाअनुकूलकै निर्णय पनि भयो ।
तर, आभासले काम गर्न लागेकै बेला बखेडा उत्पन्न भयो । विभिन्न बहाना बनाएर अदालतमा मुद्दा प¥यो । कुलपति गुरुङ र सदस्य–सचिव आभासलाई विवादमा तान्ने प्रयत्न भए । यी सबै काम भने सदस्य–सचिव बन्न नपाएका केही असन्तुष्टहरूका कारण भएको थियो । पछि, अदालतले अन्तरिम आदेश दिएपछि आभासले बाँकी कार्यकाल गुजारे । पहिलोपटक गठन भएको संगीत–नाट्य प्रज्ञा–प्रतिष्ठानमा विवाद उत्पन्न भएपछि धेरैले त्यसलाई ‘पहिलो गाँसमै ढुंगा’ का रूपमा पनि अथ्र्याए । राम्रै मान्नुपर्छ, नाटककार सरुभक्तको कुलपतित्वमा गठन भएको संगीत–नाट्यको दोस्रो कार्यकालमा भने अहिलेसम्म कुनै विवादको जरा खोतलिएको छैन ।
यी दुई प्रज्ञा–प्रतिष्ठानभन्दा धेरै पुरानो नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि वर्तमान प्राज्ञहरूबीच कुनै विवादरूपी झन्डा फर्फराएको छैन । तर, यसअघिको प्रज्ञा–प्रतिष्ठान भने विवादित नै रह्यो । कुलपति वैरागी काइँलालाई ‘लिम्बू भाषाको सेवक’ का भूमिकामा मात्र सीमित रहेको आरोपको बाछिटाले छोयो भने सदस्य–सचिव सनत रेग्मीको कार्यशैलीप्रति अधिकांश प्राज्ञहरू असन्तुष्ट नै रहे ।
अझ, सदस्य–सचिव रेग्मीमाथि त प्रशासनिक ज्ञान नभएको हुँदा एकेडेमीको काम नै लथालिंग भएको आक्षेपसमेत लाग्न पुग्यो । सदस्य–सचिव रेग्मीको कार्यशैलीको तत्कालीन प्राज्ञहरूले खुलेरै विरोध गरे । त्यसो त तत्कालीन उपकुलपति मदनमणि दीक्षित र सदस्य–सचिव धु्रवचन्द्र गौतमबीचको विवादले पनि एक समय एकेडेमी बौद्धिक वृत्तमा ‘झगडियाहरूको अखडा’ का रूपमा चिनिन पुगेको थियो । तथापि, अहिले पनि एकेडेमीमा राजनीतिक रूपले एमाले, कांग्रेस र माओवादी केन्द्रका प्राज्ञहरू रहे पनि विवाद भने सतह छिचोलेर बाहिर आएको छैन ।
एकेडेमीमा प्राज्ञहरूबीच विवाद उत्पन्न हुनुमा मूलतः प्राज्ञहरूबीचकै व्यक्तित्व र सिर्जनात्मक टकरावले काम गरेको ठान्न सकिन्छ । तर, अहिले ललितकला प्रतिष्ठानभित्र देखिएको विवाद भने राजनीतिक आवरणमा देखिन पुगेको छ । कांग्रेस र माओवादी केन्द्रका प्राज्ञहरू एउटा कित्तामा उभिएका छन् र एमालेका प्राज्ञहरू अर्को कित्तामा । एमालेभित्र पनि केही प्राज्ञचाहिँ कुलपतिलाई सघाउने खालका रहेका छन् ।
तसर्थ, एकेडेमीहरूभित्र विवाद उत्पन्न हुँदा त्यसले काममा गति लिन त अवश्य नै सक्दैन । साथै, सिर्जनात्मक र बौद्धिक कार्यहरूमा रमाउनुपर्ने प्राज्ञहरू झैझगडामा रमाउँदा त्यति शोभनीय पक्ष ठान्न पनि सकिँदैन ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply