किन बदले यी स्रष्टाहरूले नाम/उपनाम ?
‘आदरणीय शुभेच्छुक, प्रियजनहरू । आजबाट विगत ३४ वर्षदेखि साहित्यको क्षेत्रमा प्रयोग गरेको ‘भिखारी’ सँग मैले सम्बन्ध विच्छेद गरी पोखरेल कायम गरेको छु । अब भिखारी मेरो उपनाम रहेन । मेरो कवि परिचय पोखरेल रहनेछ ।’
फेबु्रअरी १६ मा विराटनगरका प्रखर कवि बद्री ‘भिखारी’ ले आफ्नो फेसबुक स्टाटसमा यी पंक्तिहरू पस्किए । राष्ट्रियदेखि क्षेत्रीय स्तरसम्मका पत्रपत्रिकाहरूमा ‘भिखारी’ उपनाम झुन्ड्याएर साहित्य लेख्दै आएका उनले किन एकाएक उपनाम परित्याग गर्ने र आफ्नै वास्तविक थर लेख्ने घोषणा गरे ? कतै उनी समृद्ध जीवनको चरणमा प्रवेश गरेका हुँदा ‘भिखारी’ उपनाम त्याग्ने सोचमा त लागेका होइनन् ?
प्रश्नहरू उब्जिन सक्छन् । तर, कुनै बेला आफ्नो थरलाई फ्याँकेर उपनामको फुर्को जोड्ने र कालान्तरमा आफ्नै थरलाई पछ्याउने स्रष्टाहरूको हामीकहाँ कमी भने छैन । बद्री ‘भिखारी’ ले पनि उपनामरूपी फुर्को काट्ने घोषणा गर्नुको पछाडि त्यही कारण जोडिएका हुन सक्छन् ।
बद्री ‘भिखारी’ ले त केवल उपनाम मात्र बदले । तर, नाम नै फेर्ने स्रष्टाहरू पनि हामीकहाँ छन् । कुनै बेला गजल लेखनमा चम्किएका थिए, चंकी श्रेष्ठ । यही नामबाट उनले गजल, कविता, कथा र समसामयिक साहित्य, राजनीतिक टिप्पणीहरू पनि लेखे, लामो समयसम्म । ०५० को दशकदेखि नै उनले चंकी श्रेष्ठकै नामबाट सिर्जनाहरू सिर्जिरहे । र, प्रकाशन गरिरहे । तर, पछिल्ला केही वर्षयता भने उनले ‘चंकी श्रेष्ठ’ लाई डिलिट गरे र अचेल अभय श्रेष्ठको नामबाट लेख्ने गर्दछन् उनी ।
भिखारी र चंकी त केवल उदाहरण मात्र हुन् । तर, अधिकांश स्रष्टाहरूले भने कतिपय बाध्यताहरू आइपर्दा पनि आफ्नो उपनाम वा साहित्यिक नामलाई बदल्न सक्दैनन् । किनकि, समाजभित्र ती स्रष्टाहरू त्यही नामले नै चिनिएका हुन्छन् र नाम वा उपनाम फेर्ने चक्करमा लाग्दा आफ्नो परिचय नै हराउने डर प्रायः स्रष्टाहरूमा रहन्छ । तर, कतिपय स्रष्टाहरूले एक चरणमा पुगेपछि आफ्नो उपनाम त्याग्ने भने गरेका छन् ।
नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले साहित्य लेख्दा ‘शीतविन्दु’ उपनामले लेख्थे । शीतविन्दुकै नामबाट उनका ‘सहयात्री’ जस्ता सशक्त उपन्यास र रचनाहरू प्रकाशित छन् । तर, अचेल ‘शीतविन्दु’ पूरै ओझेलमा परेको छ र साहित्यिक कृतिहरू वास्तविक नाम र थरबाटै आउने गरेका छन् । जसको पछिल्लो उदाहरण हो, ‘विना सालिकका मान्छेहरू’ नामक कविताकृति । त्यसो त बद्री ‘भिखारी’ ले उपनाम परित्याग गरे भनेर अचम्म मान्नुपर्ने देखिँदैन । कुनै बेला सञ्जय थापाको नामले नेपाली प्रगतिशील साहित्यमा जमेका प्रदीप नेपालले त्यो साहित्यिक नामसँग सम्बन्ध टुटाएको धेरै नै भइसक्यो । खासगरी, पञ्चायतकालीन दिनहरू र बहुदलीय व्यवस्था स्थापना भएपछिका केही वर्षसम्म अस्तित्वमा रहेको ‘सञ्जय थापा’ अब इतिहासका पानाहरूमा मात्र सीमित हुन पुगेको छ ।
अहिले नयाँ शक्ति, नेपालमा रहेर राजनीतिमा सक्रियता देखाइरहेका गंगा श्रेष्ठले कुनै बेला आफ्नो उपनाम ‘विद्रोही’ लेख्ने गर्थे । कालान्तरमा उनी माओवादी विद्रोहमै सामेल भए पनि । तर, अहिले पनि साहित्य लेखनमा रहेका श्रेष्ठले ‘विद्रोही’ उपनामलाई त्यागिसकेका छन् । र, वास्तविक नाम र थरमा नै फर्किएका छन् ।
त्यसो त नाम जुध्ने हैरानीले पनि कतिपय उपनाम राख्नैपर्ने बाध्यतामा फसेका छन् । एउटै क्षेत्रमा रहँदा नाम जुधेपछि युवराज घिमिरेले थरलाई अगाडि र नामलाई पछाडि पारेर लेख्न थाले । आफू पत्रकारितामा रहँदा आफूभन्दा वरिष्ठ पत्रकारको पनि त्यही नाम रहेपछि उनले उपनाम राख्ने चक्करमा नलागेर नाम र थरलाई अगाडि–पछाडि पार्न रुचाए । त्यस्तै, पत्रकारिता क्षेत्रमा रहेका बेला तीनचारजना नै कृष्ण भट्टराईहरू रहेपछि आफ्नो बेग्लै परिचयका लागि एकजना भट्टराई थरका कृष्णले ‘अविरल’ उपनाम राखे ।
कुनै बेला नाम वा उपनाम राख्नु र समयक्रममा त्यसलाई बदल्नु कुनै ठूलो, अनौठो र साहसिक काम भने होइन । किनकि, पञ्चायतकालमा साहित्य सिर्जना गर्ने अधिकांश स्रष्टाले व्यवस्थाको नजरबाट पन्छिनकै लागि उपनामले नै काम चलाए । तत्कालीन समयमा राजनीतिमा सक्रिय रहेर साहित्य पनि लेख्नेहरूले उपनामकै सहारा लिए ।
अहिले त साहित्य सिर्जनामा लाग्नेहरूले उपनामलाई धेरै नै पछ्याएका देखिन्छन् । आफ्नो वास्तविक नाम र थरलाई बिर्सेर उपनाममा रमाउनेहरू लेखन वृत्तमा व्यापक भइसकेका छन् । यसको पछाडि उपनाम राख्ने फेसनले पनि काम गरेको मान्नुपर्छ । तर, यथार्थ के हो भने, उपनाम त एउटा आधार मात्र हो, सबभन्दा ठूलो कुरा त सिर्जना नै हो । स्रष्टाहरू बाँच्ने उपनामले होइन, सिर्जनाले नै हो ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply