किन चल्छन् सुन साइँली ?
वैदेशिक रोजगारलाई मुख्य विषयवस्तु बनाएर लेखिएका अधिकांश गीत–संगीत वा अरू सिर्जनाका माध्यमहरूमा पीडाजन्य पक्षहरूलाई पस्किन खोजिन्छन् । स्वाभाविकै हो, नेपालका कुनै पनि ग्रामीण भेगका युवाहरू अचेल वैदेशिक रोजगारतिरै आकर्षित भइरहेका छन् र विगत केही दशकयता यो क्रम फस्टाउँदो छ । स्वदेशमा आफूअनुकूलका रोजगारका अवसरहरू प्राप्त नहुँदा विदेशतिर नजर डुलाउने क्रम बढ्नुलाई अन्यथा मान्न सकिँदैन ।
वैदेशिक रोजगारमा तानिएका देशका अधिकांश युवा–युवतीको मनोविज्ञानलाई छाम्दै, उनीहरूका दुःख, कष्ट, पीडा र सकारात्मक पाटोहरूलाई उधिन्दै त्यसलाई सिर्जनाको फाँटमा सजाउने कार्य पनि भइरहेका छन्, निरन्तर । रोजगारीका निम्ति आफ्ना सदस्यहरू विदेश जाने कुरा कुनै पनि परिवारका निम्ति सायदै खुसीको विषय हुन सक्ला । वैदेशिक रोजगारीका अनेक पक्ष र आयामहरू छन् र त्यसले खुसी र पीडा दुवैको प्रतिनिधित्व गर्दछन् ।
अचेल एउटा संगीतले निकै नै झ्याली पिटेको छ । त्यो हो– ‘सुन साइँली, परदेशबाट फर्की आउँला, चालीस कटेसी रमाउँला ।’ यो गीत सुन्दा नितान्त दूरदराजका ग्रामीण भेगको झल्को दिन्छ । किनकि, अचेल साइँला–साइँलीहरू सहर–बजारतिर भेटिँदैनन् । सहर–बजारका नयाँ पुस्तामा आर्थिक टेकोलाई ध्यानमा राखेर बढीमा दुइटा मात्र सन्तान जन्माउने लहर नै चलिसकेको छ । धेरै भए, दुइटा सन्तान हुन्छन् । लालनपालन, शिक्षादीक्षालगायत अरू पक्षहरूका कारणले गर्दा धेरै सन्तान जन्माउने कुरा बाजे–बराजुको जमानाको कुरा भइसकेको छ अचेल ।
‘सुन साइँली…’ निकै नै कर्णप्रिय संगीत हो । अचेलको नेपाली मनोविज्ञानलाई नजिकैबाट स्पर्श गर्ने क्षमता उक्त गीतले बोकेको छ । किनकि, हरेक गाउँबस्तीले वैदेशिक रोजगारका निम्ति युवा जनशक्तिलाई विदेशतिर धकेलेको छ र विदेशको कमाइप्रति हरेक युवाहरू आकर्षित पनि भएका छन् । वैदेशिक रोजगारीका निम्ति विदेशतिर पाइला तन्काउनेहरूले आफ्नो घर–परिवारप्रति चासो राख्नु कुनै अचम्मको कुरा पनि होइन । यो आम नेपालीको समस्या पनि हो ।
तर, ‘सुन साइँली…’ ले जति चर्चा पायो, यो वैदेशिक रोजगारीमा जानेहरूका सिंगो पीडालाई प्रतिनिधित्व गर्ने गीत भने बन्न सकेको देखिँदैन । वैदेशिक रोजगारीमा जानेहरूका पीडा, दुःख, हर्ष, खुसीहरूलाई समेटेर लेखिएका, संगीतबद्ध गरिएका अरू गीतहरूका तुलनामा यो गीत धेरै नै फितलो, हल्का र मात्र प्रचारबाजीका हेतुले लेखिएको प्रस्टै हुन्छ । अझ, यो गीतमा कर्ममा भन्दा पनि भाग्यमा विश्वास गर्ने जमातहरूलाई प्रश्रय दिन खोजिएको छ । नभए, ‘भावीको खेलमा परियो’ भन्ने शब्द उल्लेख गर्नुको के अर्थ हुन्छ ?
‘सुन साइँली…’ ले थुप्रै अस्पष्टताहरू पनि छरेका छन् । अचेल वैदेशिक रोजगारीमा जानेहरू प्रायः युवाहरू नै हुन्छन् । सोह्र वर्ष उमेर नपुग्दै राहदानी बनाएर विदेशमा कठोर श्रम गर्न जानेहरू नै हाम्रो समाजको तात्कालिक वास्तविकता हो । करिब दुई दशकदेखि हामीले यो वास्तविकतालाई नजिकबाटै नियालिरहेका छौं । तर, चालीस कटेसी भन्ने कुरा वास्तविकताको नजिक देखिँदैन ।
वैदेशिक रोजगारमा जानेहरूका पीडालाई प्रतिनिधित्व गर्ने अरू थुप्रै गीतहरू नभएका होइनन् । तर, ती गीतहरूले हल्काफुल्का रूपमा चिनिने ‘सुन साइँली’ सँग सिँगौरी खेल्न सकेनन् भन्नुपर्छ । नभए, नेकपाका अध्यक्ष नेत्रविक्रम चन्दले क्रान्तिका कुरा गर्दागर्दै एउटा राम्रो गीत लेखेका थिए– ‘कसले बनायो दाजै उडी जाने बस, हाम्रो देशै उडायो, हाम्रो साखै उडायो…।’
‘सुन साइँली’ भन्दा नेत्रविक्रम कमरेडले लेखेको गीत धेरै माथिल्लो तहको छ, जसले वैदेशिक रोजगारमा जानेहरूका जीवन व्यथालाई निकै नै मार्मिक रूपले उजागर गरेको छ । आखिर, गीत–संगीतमा वर्गीय पक्षधरताको कुरा पहिलादेखि नै उठ्दै आएको हो । तर, गीत–संगीतलाई मनोरञ्जनको माध्यम मात्रै ठान्ने प्रवृत्ति मौलाउँदै आयो, हामीकहाँ । यो पञ्चायती शासकहरूले भिœयाएको प्रवृत्ति थियो । सबैले त्यसैलाई पछ्याए ।
‘सुन साइँली’ ले चालीस कटेपछि रमाउने सपना देख्छ । तर, नेत्रविक्रमका शब्दले भन्छ, ‘नबनाई कहाँ हुन्छ, आफ्नै देशलाई ।’ दुवै गीतको सन्दर्भ एउटै छ, पीडा एउटै छ, वेदना पनि एउटै छ । तर, सन्देश भने नितान्त फरक । तर, सुन साइँलीमा जसरी विदेशी भूमिमा रमाउनेहरूका सौन्दर्य पोखिएको छ, त्योभन्दा धेरै र उच्च कल्पनाशीलताले भरिएको सुन्दरता पोखिएको छ, कसले बनायो दाजै उडिजाने बसमा…।
कुनै बेला, रंगीचंगी पोसाकमा सजिएर बाटो–दोबाटोमा नाच्ने करिश्मा गाउँथिन्, ‘पिरतीको किताबमा नौलो पाना थप्छौं, कसले छेक्छ, कसले रोक्छ हामी माया गर्छौं ।’ ‘हामी माया गर्छौं’ भन्नेहरू र ‘लालुपाते नुह्यो भुइँतिर’ भन्दै बीच सडकमा नाच्नेहरू अचेल प्रेममा नयाँ चरण थप्ने कुरा गरिरहेका छन् । तर, देशको एउटा भयंकर समस्याका रूपमा रहेको वैदेशिक रोजगारीमा जानेहरूका पीडाप्रति न माया गर्छौं भन्नेहरूलाई, न रेखासँगै नाच्नेहरूलाई कुनै पीडा छ । र त अचेल ‘सुन साइँली’ मा व्याप्त स्तरहीन ग्लामर्ससँगै वैदेशिक रोजगारीमा जानेहरूका पीडालाई सतही, फिका बनाउने कार्य मात्र भइरहेको छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply