यस्तो पो कथा
नेपाली आख्यान जगत्मा नयनराज पाण्डेले बेग्लै स्थान बनाएका छन् । उनको आख्यानकारिताप्रति सन्देह उमार्ने ठाउँ देखिँदैन । पछिल्लो समय, नेपाली साहित्यको आख्यान विधामा पकड जमाउने केही स्रष्टाहरूका लहरमा पाण्डेले आफूलाई सामेल तुल्याएका छन् । चालीसको दशकदेखि नै आख्यान विधामा जमेका उनले अहिलेसम्म पनि यही विधालाई नै पछ्याउँदै आएका छन्, लेखन जगत्मा आफ्नो चिनारीलाई विशिष्ट बनाउने कार्यमा तल्लीन पनि छन् उत्तिकै ।
आख्यानमा जमेका पाण्डेले ०६० को दशकमा एउटा सशक्त कथा लेखेका थिए, ‘निदाएँ जगदम्बा’ । समकालीन नेपाली कथा साहित्यमा पाण्डेको यो कथाले विशिष्ट स्थान राख्छ भन्नु मनासिब होला । उनको यो कथामा नवीन विषयवस्तु त छ नै, साथै नेपाली साहित्य जगत्मा व्याप्त विसंगत पक्षहरूलाई चिरफार गर्ने दिशामा पनि यो कथा तेर्सिएको छ । खासमा यो एउटा कथा मात्र नभएर नेपाली साहित्यमा व्याप्त संगत–विसंगत पक्षमाथि चोटिलो प्रहारसमेत हो ।
‘निदाएँ जगदम्बा’ ले एउटा खास राजनीतिक परिवेशलाई उधिन्ने काम गरेको छ । नेपाली जनताले धेरै शासकका ज्यादतीपूर्ण परिवेश र वृत्तलाई अँगाल्दै आए, लामो समयदेखि । त्यो राणा शासनको आवरणमा हुन्थ्यो कहिले भने, कहिले पञ्चायती शासकको आवरणमा त्यो भूतले सताउँथ्यो । राणा शासन र पञ्चायती शासनको भूत उत्रिएको धेरै समय भए पनि बहुदलीय कालमा पनि अर्को भूत सवार भयो । त्यो थियो, ज्ञानेन्द्रीय भूत । दरबार हत्याकाण्डपछि नयाँ शासकका रूपमा उदाएका ज्ञानेन्द्र शाहले नेपाली जनबीच जे–जति वितण्डा मच्चाए, त्यसका भुक्तभोगीहरू अझै भुल्न सक्दैनन् ।
ज्ञानेन्द्रकालीन भूत यति शक्तिशाली थियो कि, त्यसले पूर्ववर्ती पञ्चायतकालीन भूतहरूकै दृश्यावली सजाएर नेपाली जनतालाई आतंकित तुल्याउने कार्य ग¥यो । उही पञ्चायती शैली अपनाउँदै नेपाली जनतालाई दमन, धरपकड गर्ने र जनताका स्वतन्त्र चाहना र चेतनालाई निमोठ्ने कार्य तत्कालीन समयमा भयो । कथाकार पाण्डेले राजा ज्ञानेन्द्रले लादेको निरंकुश व्यवस्थाको अवधिका आतंक र भयलाई उतार्ने कार्य यो कथामार्फत गरेका छन् ।
०६० सालमा सत्ता हातमा लिएपछि ज्ञानेन्द्र–आतंक प्रारम्भ भयो र त्यो ०६२÷६३ को जनआन्दोलनले सफलताको बिन्दु नचुमुन्जेल कायम रह्यो । ज्ञानेन्द्रकालीन समयमा राजनीति त धु्रवहरूमा बाँडिएको थियो नै, साहित्यमा पनि निरंकुशतन्त्रलाई समर्थन गर्ने र विरोधमा उत्रिनेहरू देखिए । तर, ‘निदाएँ जगदम्बा’ मा एउटा यस्तो पात्रको मनोदशालाई छाम्न खोजिएको छ, जसले माओवादी युद्ध चरमोत्कर्षमा पुगेको बेला संकटकाल भोग्न र तत्कालीन राजा ज्ञानेन्द्रले फैलाएको आतंक खेपे । त्यसको प्रमुख कारण बन्छन्, किताबहरू ।
०५८ सालमा माओवादीले तुलसीपुरको सैनिक ब्यारेकमाथि आक्रमण गरेपछि देशमा संकटकालको चरण सुरु भयो । त्यसयता संकटकाल नलागेको अवधि नै रहेन । झन् राजाको प्रत्यक्ष शासनकाल सुरु भएपछि त संकटकालले झनै फैलिने मौका पायो । संकटकाल लागू भएपछि जनताको घर खानतलासी गर्ने र माक्र्सवादी किताबहरू फेला परेको खण्डमा गिरफ्तार गर्ने, बेपत्ता पार्नेसम्मका कार्यहरू भए । ‘निदाएँ जगदम्बा’ का मुख्य पात्र शरणकुमार पनि माक्र्सवादी किताबहरू जम्मा गर्ने एकजना पढन्ते थिए ।
आफूले घरको दराजमा बहुमूल्य सम्पत्तिझैं सजाएर राखेका किताबहरू संकटकालीन दिनहरूमा उनका निम्ति तनावको विषय बन्छ । र, तनावमा दिनहरू गुजार्नुभन्दा ती किताबहरूलाई खाल्टो खनेर पुर्ने मनशाय राख्छन् उनी । र, एक दिन खाल्टो खनेर पत्नीलाई दराजका किताबहरू छान्न लगाउँछ । त्यही क्रममा उनी भन्छन्, ‘विमल कोइराला राखे, विष्णुप्रसाद धिताल राखे । श्रीधर खनाल, श्यामदास वैष्णव पनि राखे । मञ्जुलका नयाँ किताबहरू राखे, पुराना खाल्टोमा हाले । नरशमशेरको जीवनीलाई पनि सम्हालेरै राखे । रमेश विकल फाले, ऋषिराज बराल फाले । गणेश रसिकका गीतहरू राखे, रामेश, रायनका फाले । आहूति, अग्निशिखा, अमर गिरी, अमर शाह फाले । र, राखे युधीर थापा, प्रकाश कोविद, वसन्त र सुवास । मनु ब्राजाकी फाले, मविवि शाह राखे । सञ्जय थापा फाले । प्रदीप नेपाल राखे । मञ्जु, बेन्जु, माया ठकुरी, श्रेष्ठ प्रिया पत्थर, संगीता स्वेच्छा, मेरिना स्मृति, उषा लोहनी राखे । भुवन ढुंगाना फाले, जलेश्वरी श्रेष्ठ फाले । पुष्पलता राखे, कुन्ता शर्मा फाले ।’
पाण्डेको कथाले भन्छ, ‘त्यसपछि क्षेत्रप्रताप अधिकारी, कञ्चन पुडासैनी, दैवज्ञराज नेउपाने, दिनेश अधिकारीलाई पनि जतनका साथ राखे । कमल दीक्षित, वासुदेव त्रिपाठी, वासुदेव लुइँटेललाई पनि उनले सम्हालेर एकछेउमा राखे । विक्रम सुब्बा, अशेष मल्ल, विष्णुविभु घिमिरे, ललिजन, रवि प्राञ्जल, राजेन्द्र पराजुली किताबहरू पनि खाल्टामै हाले ।’
नेपाली कथा साहित्यमा स्रष्टाहरूको वर्गीय पक्षधरता, उनीहरूले अपनाएको लेखनको धार र परिवर्तनकारी भूमिकाप्रति अत्यन्तै सूक्ष्म, गहन र भित्रैसम्म चिरफार गरेर मूल्यांकन गरिएको कथा नै पाण्डेको ‘निदाएँ जगदम्बा’ हुनुपर्छ, सम्भवतः । एउटा पात्रभित्र उत्पन्न तनाव, त्यसले निम्त्याएको छटपटी र मनोदशालाई यति राम्ररी केलाइएको कथा जनयुद्धकालीन समयमा लेखिएको भए पनि यसको सान्दर्भिकता भने अझैसम्म कायम नै रहेको ठान्नुपर्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply