खडेरीले गाँजेको बालगीत–संगीत
नेपाली संगीत वृत्तमा शक्तिबल्लभले फरक पहिचान बनाएका छन् । करिब तीन दशकयता संगीत–साधनामै निमग्न बल्लभले आधुनिक, चलचित्र, गजल गरी सयौं गीतका शब्दलाई ‘सारेगम’ को साँचोभित्र ढालिसकेका छन् । पचासकै दशकमा उनले संगीतबद्ध गरेका चलचित्र–संगीत र अरू संगीतलाई गुन्गुनाउनेहरूको पंक्ति अझै पनि भेटिन्छन् । खासगरी, गम्भीर शैलीका संगीत सिर्जना गर्न रुचाउने र सुगम संगीतका पारखीका प्रिय बल्लभलाई पछिल्लो पुस्ताका एक प्रतिबद्ध संगीत–सर्जकका रूपमा लिन्छन्, प्रायः सबैले ।
तर, केही दिनअघि तिनै संगीत–सर्जक बल्लभले आफूभित्र दबिएर बसेको एउटा यथार्थ ओकले । उनले भने, ‘मैले अहिलेसम्म सयौं गीतहरूमा संगीत गरिसकेको छु । तर, केही बालगीतमा मैले गरेका संगीतले मलाई जति सन्तुष्टि दिलाएको छ, त्यति अरू गीत, गजलहरूका संगीतले दिन सकेका छैनन् ।’ लामो संगीत यात्रामा बल्लभले मात्र तीनवटा बाल गीति–एल्बममा संगीत दिएका हुन् । ती एल्बमहरू मस्कुलर रोगले पीडित बालबालिकाहरूका सहयोगका लागि निकालिइएका थिए । जसमा, साना–साना बच्चाहरूका स्वर सजिएका छन् । बल्लभ भन्छन्, ‘ती एल्बम बेचेर आउने रकम मस्कुलर रोगबाट पीडित बच्चाहरूको संस्थामा जाने गरेको छ । त्यस्ता बच्चाहरूले सहयोग पाउँदा मैले जति सन्तुष्टि लिन्छु, त्यति अरू गीतका संगीतबाट पाउने गरेको छैन ।’
अर्का संगीत–सर्जक आभासले पनि केही बालगीतहरूलाई आफ्नो संगीत–सिर्जनाले सजाइरहेका छन् । खासगरी, आधुनिक संगीत सिर्जनामा व्यस्त अमर गुरुङका शिष्य आभासले पहिला–पहिला पनि बालगीतमा संगीत भर्थे । तर, अहिले भने केही व्यवस्थित र योजनाबद्ध रूपमा नै उनले बालमनोविज्ञानलाई स्पन्दित गर्ने केही छोटा बालगीतहरू बनाइरहेका छन् । र, उनले ती बालगीतहरूलाई निकट समयपछि नै बाहिर ल्याउने योजना पनि बुनेका छन् ।
नेपाली गीत–संगीत आफंैमा समृद्ध छ । आधुनिक, लोकदोहोरी, चलचित्र, गजल, भजनजस्ता विधामा उल्लेख्य विकास भएका पनि छन् । अझ, चलचित्र, लोकदोहोरी क्षेत्रका गीत–संगीतले त व्यावसायिकताकै हाँगाबिँगा समातेका छन् । तर, बालगीत–संगीतमा भने यथोचित काम हुन सकेको देखिँदैन । पछिल्लो समयमा बाल–साहित्य लेखन र प्रकाशनले आफ्नै गति समातेको त छ नै ! र, गुणात्मक रूपले जे–जस्ता भए पनि बालसाहित्यका पुस्तकहरू निस्किने क्रममा बढोत्तरी आएको छ । तर, बालसाहित्यकै एक हाँगा मानिने बालगीतहरू लेखिने र त्यसलाई संगीतले सजाएर आम बालबालिकाबीच पस्किने कार्य भने लगभग शून्यप्रायः नै देखिन्छ ।
हुन त हामीकहाँ बाल–सिर्जना गर्ने सर्जकहरूको पंक्ति नै निकै पातलो छ । अझ त्यसमा बालगीत लेख्ने गीतकारहरू त धेरै नै कम छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेकै सिर्जनाले अझैसम्म चित्त बुझाउनुपरिरहेको छ । कुनै समय वासुदेव मुनाल, तेजप्रकाश श्रेष्ठलगायत एकाध सर्जकहरूले बालगीत लेखे पनि पछिल्लो समयमा बालगीत लेख्नेहरू औंलामा गन्न सकिने संख्यामा पनि छैनन् । अपेक्षाकृत रूपमा बालगीतहरू नलेखिएका हुँदा त्यसलाई संगीतमा ढाल्ने सर्जकहरू पनि त्यति चल्मलाएका पाइँदैन । शक्तिबल्लभ र आभासले केही बालगीतलाई आफ्नो संगीत–सिर्जनामा ढाल्दैमा बाल–संगीतले गति समात्न सक्छ भन्ने आधार पनि भेटिँदैन । तर, गम्भीर संगीत–सिर्जनामा लागेका यी दुई सर्जकले बालगीतलाई पनि आफ्नो सिर्जनाको एउटा अंगका रूपमा स्वीकार्ने कार्यलाई भने सकारात्मक रूपमा हेर्नुपर्छ ।
त्यसो त, बाल–साहित्य लेख्नु त्यति सहज कार्य हुँदा पनि होइन । अघिल्लो पुस्ताले बालबालिकालाई नैतिकवान् बनाउनुपर्छ, अनुशासित तुल्याउनुपर्छ भन्ने मान्यता राखेर उपदेशात्मक बाल–साहित्य धेरै सिर्जना गरे । बालबालिकाहरूमा नैतिकता, अनुशासन लाद्ने हिसाबले त्यहीअनुरूपमा उपदेशमूलक साहित्य लेखे । अझै पनि बाल–साहित्य लेखनमा यो प्रवृत्ति हावी छ । बालबालिकालाई कतै न कतै उपदेश दिन बालसाहित्यका स्रष्टाहरू उद्यत भइहाल्छन् । बालबालिकाहरूलाई उपदेश दिए मात्र सुध्रिन्छन्, उनीहरू असल बाटोतिर हिँड्छन् भन्ने पुरातन मान्यता अझै पनि बाल–साहित्य लेखनमा व्याप्त छ ।
तर, अचेलका बालबालिकाहरू नै धेरै नै अग्रगामी छन् । विज्ञान र प्रविधिको क्षेत्रमा आएको फड्कोले गर्दा उनीहरू धेरै कुरामा जानकारी राख्न सक्षम छन्, देखिन्छन् । उनीहरूलाई पौराणिक, मिथकीय वा मानवइतरका प्राणीहरूको उदाहरण दिएर नैतिक शिक्षा प्राप्त गर्र्ने खालका साहित्य पठनीय नलाग्न सक्छन् । दिमागलाई बोझिलो बनाउनेभन्दा पनि तरोताजा तुल्याउने मनोरञ्जनमूलक साहित्यप्रति अचेलका बालबालिकाहरूको मन खिचिएको पाइन्छ । यस्तो मान्यता पछिल्लो समयमा बिस्तारै स्थापित हुँदै गएको छ र २१औं शताब्दीका प्रविधिसँग परिचित र अभ्यस्त बालबालिकाहरूको मनोविज्ञानलाई समात्न सक्ने बालसाहित्य लेखिन थालेका छन् अचेल ।
बाल–साहित्यकै एक हाँगा मानिए पनि बालगीतको स्थान, महŒव र सान्दर्भिकता भने बाल–साहित्यका अरू हाँगाहरू कथा, नाटक वा अरू विधामध्ये माथि नै रहेको छ । किनकि, साहित्यका अरू विधाले भन्दा गीतले चाँडै नै मस्तिष्क र हृदयलाई स्पर्श गर्ने भएको हुँदा गीत–संगीतको प्रभावकारिता एवं बेग्लै उचाइ रहेको छ । तसर्थ, बालगीतहरूका लेखन र संगीत–सिर्जनामा देखिएको सुस्ततालाई चिर्न अरू वासुदेव मुनाल, शक्तिबल्लभ र आभासहरू निस्किए यो क्षेत्र उठ्न समय लाग्दैनथ्यो ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply