हरेक मौसमलाई स्वीकार्य
चालीसको दशकतिर प्रख्यात कला–सर्जक डेनी डेन्जोम्पाले नेपाल–भारतबीचको वर्षौं पुरानो र आत्मीय सम्बन्धलाई अझ प्रगाढ र जीवन्त राख्ने हेतुले एउटा गीत गाएका थिए, ‘हिउँभन्दा चिसो, आगोभन्दा तातो, तिम्रो–हाम्रो साइनो रैछ रगतभन्दा रातो ।’ भारतको पूर्वोत्तर प्रान्तहरूमा बसोबास गर्नेहरूमा अधिकांश नेपाली मूलका मानिसहरू नै छन् । र, दार्चुला पारीका भूभागहरूमा पनि नेपालीहरू उल्लेख्य संख्यामा नै बसोवास गर्छन् । दक्षिण भेगतिर नेपालीहरूले खासै बसोबास नगरे पनि पूर्वी र पश्चिमी पहाडी भूभागहरूमा नेपालीहरू नै बस्दै आइरहेका छन् । फरक देशका बासिन्दा भए पनि ती भूगोलहरूमा सदियौंदेखि आफ्नै संस्कृति, भाषा र जीवनशैली अपनाएर बस्दै आइरहेका छन् ।
आज पूर्वोत्तर र दार्चुला पारीका भारतीय भूभागमा बस्नेहरूमा नेपालीहरूकै बाहुल्य छ । दार्जिलिङ, सिक्किम, आसाम, मेघालय र अझ त्योभन्दा पनि पर अर्कै मुलुक भुटान र म्यान्मारमा समेत नेपालीहरूको उल्लेख्य बसोबास छ । भुटानबाट त सन् नब्बेको दशकमा धेरै नेपाली लखेटिए र अझै पनि उनीहरू नेपालमा शरणार्थी जीवन बिताइरहेका छन् । ती सबैका आदिथलो त नेपाल नै हो, नेपालको मूलतः पहाडी भूभागहरू नै हो । विभिन्न पेसा, व्यवसाय वा अन्य सामाजिक, राजनीतिक, सांस्कृतिक वा आर्थिक कारणहरूले उनीहरूले भारतीयलगायत अरू देशका भूमि टेके र त्यही नै रहेर आफ्नो कर्मशीलतालाई स्थापित गर्न चाहे । आज पनि संसारमा यो क्रम जारी छ । आफू जन्मिएको भूमि छाडेर अर्कै भूगोलमा गएर कर्म गर्नेहरू संसारका विभिन्न थलोमा विद्यमान छन् ।
तर, डेनीले गाएजस्तै नेपाल–भारतबीचको सम्बन्ध ‘रगतभन्दा रातो’ हुने अवस्था भने बिस्तारै मेटिँदै गयो । किनकि, सम्बन्ध भनेको एकपक्षीय इच्छा र चाहनाले मात्र स्थापित नहुँदो रहेछ । त्यसका निम्ति दुवै पक्षमा उत्तिकै इच्छाशक्ति मौजुद हुनुपर्दो रहेछ । तर, दुई घनिष्ठ छिमेकी भनिएको नेपाल र भारतबीच वर्र्षौंदेखि मजबुत रहँदै आएको सम्बन्धका सेतुहरू पछिल्ला समय यति नमज्जाले फाट्दै गयो, नेपालीहरूले ‘रगतभन्दा रातो’ को सम्बन्धलाई भुल्न पुगे । र, निरन्तर राष्ट्रप्रेमी गीतहरूले हरेक सञ्चार माध्यमहरूलाई ढाक्दै लग्यो, जसमा सिधै भारतविरोधी भावना नउर्लिए पनि राष्ट्रियताप्रतिको अगाध प्रेमभाव भने तीव्र रूपमा सल्बलाएका पाइन्छ ।
लाग्छ, गीत–संगीतको भूमिका र महŒवलाई देशले पनि महसुस गर्छ । नभए पछिल्लोपटक नाकाबन्दीको मार नेपाली जनताले झेल्नुपर्दा ‘रगतभन्दा रातो’ को सम्बन्धलाई बुझाउने गीतहरूलाई सायदै प्रशारण माध्यमहरूले स्थान दिन चाहे । तत्कालीन समयमा यस्ता राष्ट्रिय भावना र सन्दर्भहरूले भरिएका गीतहरू बजे, जसले आम नेपाली जनताको भावना प्रतिनिधित्व गरेका थिए र राष्ट्रवादको गगनभेदी नारा ती गीतहरूले ओकलिरहेका प्रतीत हुन्थ्यो ।
धेरै पुरानो गीत–संगीतको सूचिमा पर्दछ, ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे’ । तर, जबजब राष्ट्रियतामाथि प्रश्नचिन्ह उठ्न पुग्दछ, अधिकांश प्रशारण माध्यमहरूको चयनमा यही गीत नै पर्र्न पुग्दछ । निरन्तर बज्न थाल्छ, उन्नत राष्ट्रिय भावना र चिन्तनले भरिएको यो गीत । हुन पनि नाकाबन्दी झेल्ने क्रममा नेपाली जनताले भोगेका दुःख र कष्टलाई सन्दर्भ सूचीमा राख्दै यस्ता राष्ट्रप्रेमी गीतहरू धेरै नै बजे । तर, डेनीले नै गाएका ‘आगे आगे तोपैको गोला’ भने श्रोताहरूको प्राथमिकताको सूचीमा परेनन्, त्यसबेला । किनकि, राष्ट्रवादी भावना उमडिरहेका बेला मनोरञ्जनयुक्त गीतहरूले प्राथमिकता पाउनु सान्दर्भिक पनि हुँदैनथ्यो र भएन पनि । बरु, सदियौंदेखि एकापसमा मिलेर बसेका हिमाल, पहाड र तराईका विभिन्न जाति र समुदायबीच फाँटो ल्याउने प्रयत्न जुटेका देशभित्र र बाह्य शक्तिहरूलाई लक्षित गर्दै बजे यस्ता गीतहरू, ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, आँधी आए तराईमा पहाडले छेक्नुपर्छ…।’
गीत–संगीतले विभिन्न घटनाक्रम र सन्दर्भहरूमा आ–आफ्नै भूमिका निर्वाह गर्छन् । कुनै बेला संगीतलाई मनोरञ्जनको एउटा माध्यम मात्र ठान्नेहरूले घटना र परिस्थितिअनुरूप संगीतलाई हतियारका रूपमा पनि प्रयोग गर्न चाहँदै आएका छन् । यो स्वाभाविक पनि हो । नभए, राष्ट्रियतामाथि संकट उत्पन्न भएका बेला राष्ट्रवादी भावनाले भरिएका गीतसंगीतले मिडियाहरूमा स्थान सायदै पाउँथे होलान् । तर, नेपालले नाकाबन्दीको मार झेलेका बेला राष्ट्रवादी गीतहरूको प्रवाह यति फैलियो, राष्ट्रिय भावनाले भरिएका हरेकजसो गीत सबैका निम्ति सर्वप्रिय बने ।
राष्ट्रिय एकता, सामाजिक सद्भाव, जातीय सद्भाव र छिमेकीहरूले देखाएको रुखो व्यवहारलाई विषयवस्तु बनाइएका गीतहरूका कुनै काल–विशेषमा मात्र होइन, बाह्रै महिना सान्दर्भिकता हुने गर्दछ । किनकि, त्यस्ता विषयवस्तुका गीतहरूलाई मौसमी गीत–संगीतको दायरामा सीमित तुल्याउनु उचित ठहरिँदैन । देशप्रेम, राष्ट्रभक्ति, सामाजिक र जातीय सद्भावले भरिएका गीतहरू सदाबहार, कालजयी र हरेक मौसम र ऋतुसुहाउँदा गीतहरू हुन् ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply