साधकका नाममा व्यापार चम्काउने ध्येय
नेपाली भाषा, साहित्य एवं संस्कृति जगत्मा दुई पूजनीय नाम हुन्, राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशी । शतायुछेउछाउ पुगेका राष्ट्रका यी दुवै धरोहरप्रति हरेक नागरिक श्रद्धानत हुन्छन् । राष्ट्र र समाजले पनि कुनै विशिष्ट सम्मान गर्नुपरे यी दुवै दीर्घ साधकलाई सम्झिन्छन् । दशकौंदेखि नेपाली भाषा, साहित्य र संस्कृतिको समृद्धिमा मनमस्तिष्क पोखेका यी दुई साधकका आफ्नै उचाइ छ, कसैले पनि टेको लगाइरहनुपर्दैन ।
केही दिनयता यी दुई साधक चर्चामा छन् । अहिले पनि भाषा–साहित्यका सेवक र शुभचिन्तकहरू राष्ट्रकविको निवास थलो लैनचौर पुगेर आशीर्वाद थाप्छन्, ‘तस्बिर खिचाउँछन् र राष्ट्रकविलाई सम्मान गर्न पाउँदा पुलकित पनि हुन्छन् । केही दिनअघि सिन्धुलीबाट आएका केही साहित्य साधकहरूले राष्ट्रकविको निवासमै पुगेर उनलाई सम्मान गरे, सत्कार भाव दर्साए । देश र देशबाहिरबाट आएका सर्जकहरूले राष्ट्रकविलाई भेट्ने लालसा राख्नु, सम्मान प्रकट गर्नुले राष्ट्रकविले प्राप्त गरेका उचाइकै प्रतिफल हो ।
तर अर्का दीर्घसाधक सत्यमोहन जोशी भने अनावश्यक रूपमा विवादमा तानिए । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै नाममा स्थापित ‘सत्यमोहन जोशी शताब्दी साधक सम्मान’ ग्रहण गरिदिन अनुरोध गर्ने हेतुले राष्ट्रकविको निवास लैनचौरभन्दा केही पर लाजिम्पाटस्थित प्रचण्ड निवास पुगेका जोशीले एकाध घण्टा त खुसी हुने अवसर पाए नै तर त्यो प्रकरणले विवादको शिखर चुमेपछि भने प्रचण्डले सो सम्मान नलिने उद्घोष गरे । आफ्नै नाममा स्थापित सम्मान देशको पूर्वप्रधानमन्त्रीले नलिने घोषणा गर्नु पक्कै पनि संस्कृतिविद् जोशीका निम्ति मन चिमोटिने विषय हो, जोशीको अवमूल्यन पनि हो सायद ।
यो प्रकरणमा जोडिन आइपुगेका संस्कृतिविद् जोशीलाई ‘बिचरा’ भन्नुपर्ने हुन्छ । खासगरी देशमा राजसंस्थाको भूमिका अति प्रभावशाली रहेको बेला दरबारकै वरिपरि घुम्ने, चाकडी बजाउने, राजपरिवारका सदस्यहरूका स्तुतिमा भजन कोर्ने र राजसंस्थाको पतन भएपछि जुन राजनीतिक दल सत्तामा पुग्छ, त्यसकै शीर्ष तहका नेताको चाकडीमा धाउने नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसार्इंको कोपमा परेर अहिले संस्कृतिविद् जोशीले बदनामको भारी बोक्नुपरेको हो ।
यद्यपि खराब प्रवृत्ति बोकेका मानिसहरूको लहलहैमा लाग्दा जीवनभरि कमाएका प्रसिद्धि, प्रतिष्ठा र मानसम्मान कसरी दाउमा पर्दो रहेछ भन्ने कुरा शतायुको सेरोफेरोमा पुगिसकेका संस्कृतिविद् जोशीका निम्ति अहिले लागू भएको छ । साहित्य एवं संस्कृतिका क्षेत्रमा लाग्नेहरूलाई सर्वज्ञात नै छ, नइ दम्पती वाङ्मयको सेवाका नाममा व्यापार गर्ने दुई नम्बरका व्यापारी हुन् । पञ्चायतकालदेखि गणतन्त्र स्थापना भएसम्म उनीहरूको कथित साहित्य सेवारूपी व्यापार फस्टाउँदै आएको विदितै छ । समाजमा बदनामी कमाएका धनाढ्य पात्रहरूलाई रिझाएर उनीहरूकै पुर्खा र सन्ततिका नाममा पुरस्कार राख्ने र त्यही पुरस्काररूपी माकुरे जालमा स्रष्टाहरूका साथै नेताहरूलाई फसाउने कार्यलाई नइ दम्पतीले निरन्तता दिँदै आएको जुगौं भइसकेको छ ।
राष्ट्रलाई लुटेर अकूत धन कमाएका लोकमानसिंह कार्की होस् वा बैंक ठगीको मुद्दामा सजाय भोगिसकेका सीताराम प्रसाई होस्, नइ दम्पतीले त्यस्ता बदनाम व्यक्तिहरूका आफन्त, नातागोताका नाममा पुरस्कार र सम्मान राखेर धेरै असल स्रष्टाहरूलाई बिटुल्याइसकेका छन् । दरबारभक्त मण्डलेहरूलाई त उनीहरूले पुरस्कार दिएर खुसी पार्ने भए नै, वामवृत्तका होस् वा प्रजातान्त्रिक खेमाका, कुनै सर्जकलाई पनि बाँकी राखेनन् । सर्जकहरूले पनि पुरस्कार वा सम्मान पाइने लोभमा आफ्नो राजनीतिक, वैचारिक र सांस्कृतिक धरातल बिर्सेर बदनाम व्यक्तिका नातागोताका मानिसका नाममा राखिएको पुरस्कार लिन दौडधुप गरेका कैयौं दृष्टान्त छन् ।
पछिल्लो समय भने नइ दम्पतीले बदनाम व्यक्तिले स्थापना गरिदिएका ठूलो धनराशिका पुरस्कारहरूबाट व्यापार नचल्ने ठानेपछि राष्ट्रले सम्मान गरेका साधकहरूका नाममा पुरस्कार वा सम्मान राखेर आफ्नो व्यापार चम्काउने नयाँ रणनीति अपनाउन पुगे । र, संस्कृतिविद् जोशी त्यसकै सिकार बने । जोशीलाई मोहरा बनाएर शक्तिको शीर्षासनमा रहेका प्रचण्ड वा अरू कुनै राजनेतालाई सम्मान गर्ने र त्यसबापत लाखौं कुम्ल्याउने दाउमा नइ दम्पत्ति अग्रसर रहेका कुरा अब लुकाउन नसकिने विषय भइसक्यो । धन्न चौबीस घण्टापछि नै प्रचण्डले सम्मान नलिने घोषणा गरे र उनले राम्रै काम गरेको मान्नुपर्छ । किनभने अबका दिनहरूमा माकुराको जालमा फस्नुअघि अरू सर्जक वा नेताहरूले गम्भीर रूपमा सोच्नेछन् ।
त्यसो त संस्कृतिविद् जोशी नइ दम्पतीको गलत हर्कतका कारण विवादको घेरामा तानिए पनि उनले नेपाली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा दिएका योगदानलाई कसैले पनि कम मूल्यांकन गर्नु ठीक होइन । मानिस न हो, कुनै बेला गलत पात्रहरूको लहलहैमा लाग्दा आलोचना र विवादको घेरामा उभिनुपर्छ । अहिले जोशीलाई त्यस्तै भएको छ । तर जोशीजस्ता संस्कृति क्षेत्रका धरोहरले पनि अब सोच्नैपर्छ, आफ्नै समवयी राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा कसैले पनि पुरस्कार वा सम्मान राख्न भ्याएका छैनन् र गैरसाधकहरूलाई सम्मान गर्ने लेठो पनि उठाइरहनुपरेको छैन । र, नइ दम्पतीले पनि हेक्का राख्नु आवश्यक छ, राष्ट्रका एक सम्मानित धरोहरलाई बदनाम तुल्याएर र विवादमा तानेर आफ्नो व्यापार चम्काउने घृष्टता राख्नु कदापि उचित कार्य होइन ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply