राष्ट्रिय सम्मानको निरन्तरता
व्यक्ति छौ एक तिमी
व्यक्तित्व छ अनेक
छैन ईष्र्या घमन्ड कठै !
देख्छौ सबैलाई एक (ललिता दोषी, कम्प्युटर दिमाग भएका शताब्दी पुरुष, शताब्दी पुरुष गाथा, त्रिमूर्ति निकेतन)
देशका स्रष्टा राजनीतिकर्मीभन्दा माथि हुन्छन् । हामीकहाँ राजनीतिकर्मी र राजनीतिज्ञ भनाउँदाहरू राजनीतिका कुरा मात्र गर्छन् । तिनले साहित्य, संस्कृति, कला, भाषा, दर्शन, सभ्यता र मानवताका कुरा गरेका कमै सुनिन्छन् । पार्टी, संगठन, चुनाव, आरोप–प्रत्यारोपमै तिनको ध्यान जान्छ र सार्वजनिक समारोहमा दिने मन्तव्य त्यसैमा जान्छ । ती मुलुकलाई राष्ट्रिय र भावनात्मक रूपमा एक बनाउन कमै बोल्छन् ।
विद्वान् मनीषीहरू भने जहिले पनि मुलुकको सभ्यता र समृद्धिबारे नै घोत्लिरहेका हुन्छन् । तिनको चिन्तन मनन त्यसैमा एकोरिन्छ । लक्ष्मीप्रसाद देवकोटाको चिन्तन मानवता केन्द्रित थियो । सिद्धिचरण श्रेष्ठको लक्ष्य क्रान्ति थियो शान्ति ल्याउन । गोपालप्रसाद रिमाल क्रान्तिपछिको स्वतन्त्रताका लागि निकै हतारिएका थिए । युद्धप्रसाद मिश्र, श्यामप्रसाद, गोकुल जोशी, वासु शशी सबै मुलुककै लागि समर्पित थिए । अम्बर गुरुङ, नारायणगोपाल, तारादेवीका हृदयमा देश नै त थियो ।
साहित्यकार, कलाकार, संगीतकार, गीतकार मात्र होइन, देश बनाउन, देश चिनाउन गोपालदास श्रेष्ठ, तेन्जिङनोर्गे शेर्पा, पासाङल्हामु शेर्पा, सञ्जय पण्डित, बैकुण्ठ मानन्धर र नयना शाक्यको पनि उत्तिकै योगदान छ ।
प्रसंग वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको हो । उनले त्यो उपाधि गत वैशाख २१ गते नेपाल सरकारबाट पाए । राष्ट्रकवि माधव घिमिरेपछि सरकारले स्रष्टालाई दिएको त्यो अर्काे उपाधि थियो । यसले स्रष्टा जगत् निकै हौसिएको छ । जीवनमा उनले नेपाल र नेपालीलाई उठाउन निकै काम गरे–कर्णालीलाई मुलुकको मूलधारमा ल्याइदिए, नेपाली अद्भूत कलाकार अरनिकोलाई विश्वभर चिनाइदिए, राष्ट्रिय एकताका लागि बोलिरहे, हिँडिरहे । सो उपाधि पाएपछि उनले भनेका छन्, ‘मलाई राष्ट्रले दिनुपर्ने सबै दिएको छ, अब मलाई पुग्यो ।’ उनले शताब्दी पुरुषको उपाधि दिलाउने कामले परम्पराको थालनी भएको र उपाधि आफ्ना लागि मात्र नभएर आउने पुस्ताका लागि पनि भएकामा खुसी व्यक्त गरेका छन् । यसको मतलब राष्ट्रले युगपुरुषको मूल्यांकन गरिरहनेछ र यसलाई अन्य व्यक्ति र क्षेत्रमा पनि पु¥याउनेछ । राष्ट्रकवि उपाधि पनि एउटा त्यस्तै सम्मान हो, जसबाट घिमिरेले मासिक २५ हजार रुपैयाँ भत्ता पाउँछन्् (उनले एकेडेमीबाट पनि आजीवन सदस्यताबापत रकम पाउँछन्) ।
मुलुकको एकता, राष्ट्रियता, समृद्धि, अन्तर्राष्ट्«िय पहिचान दिलाउने कामको क्षेत्र अनेक छन्– अर्थतन्त्र, समाजसेवा, कानुन, कूटनीति, सुरक्षा, इतिहास, धर्म, दर्शन, खेलकुद, स्वास्थ्य, पत्रकारिता, पर्यटन, पर्यावरण, पर्वतारोहण आदि । सरकार वा राज्यले कुलचन्द्र गौतमलाई पनि चिन्नुप¥यो, बाबुछिरी शेर्पा र तिनका सन्तानलाई पनि हेर्नुप¥यो । नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकारहरूलाई प्रेस स्वतन्त्रता सेनानी दिने काम गरेर यस क्षेत्रमा केही काम गर्न सुरु गरेको छ । निजामती वा सार्वजनिक संस्थानमा काम गरेकाहरूले निवृत्तिभरण वा उपदान पाएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानले केही प्राज्ञ परिषद् सदस्य र बाहिरका साहित्यकारलाई आजीवन सदस्यताका साथ मासिक भत्ता पनि उपलब्ध गराएको छ । त्यस्तै स्वामी प्रपन्नाचार्यले पनि जीवनको अन्त्यावस्थामा मात्र त्यस्तो सम्मान पाउन सके भने झमककुमारी घिमिरेले आर्थिक सहायता पाइसकेकी छन्, अब उनको घर पनि बन्दै छ क्यारे । कमसेकम ७० वर्ष नाघेका प्रबुद्ध र प्रसिद्ध व्यक्ति छानेर जीवन निर्वाह गर्ने भत्ता उपलब्ध गराउन सक्यो भने मुलुकलाई योगदान दिन उनीहरूको बाँकी समय बित्नेछ भने आगामी पुस्ता पनि निराश भएर बिदेसिने र यहीँ डिप्रेसन भएर बिग्रनुको साटो सिर्जनशील काम गरेर राष्ट्रलाई उठाउन लाग्नेछ । अरू देवकोटा, मानन्धर र गौतमहरूको जन्म यहाँ भइरहनेछ । शताब्दी पुरुषको भनाइको अर्थ पनि यही हो । यसलाई एकाध व्यक्तिमा मात्र सीमित गरिनुहुन्न ।
एउटा अग्लो मानिस
सबै दृष्टिले अग्लो
विचार, विद्वता र स्वभाव
बोली, व्यवहार र प्रभाव
उनी उभिँदा म हिमाल ठडिएको देख्छु
उनी हिँडिरहँदा म नेपाल दगुरिरहेको देख्छु ( प्रमोद प्रधान, ऐ)
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply