आदर्श पात्रको ‘ब्रेकअप’
सामान्य होस् वा सम्भ्रान्त वर्गका परिवार, वैवाहिक जीवनमा ‘ब्रेकअप’का घटनाहरू हुन्छन् सबैमा । मागी, प्रेम वा कानुनी प्रक्रियाद्वारा हुने जुनसुकै पद्धति वा प्रकृतिका वैवाहिक सम्बन्ध टुट्ने क्रम नेपाली समाजमा यथावत् छ । वैवाहिक सम्बन्ध टुट्नुमा अनेक कारण जोडिन्छन् । पारिवारिक हिंसा, विवाहेतर सम्बन्ध, अभिरुचि र कार्यशैलीमा देखिने अन्तर र जटिल पारिवारिक अन्तरविरोधजस्ता यावत् कारण ‘ब्रेकअप’का घटना सतहमा देखा पर्दै आएका छन् ।
तर, पछिल्लो समय ग्लामर्स अर्थात् सिने, गायनजस्ता क्षेत्रसँग जोडिएका कलाकर्मीहरूका ‘ब्रेकअप’का घटनाहरू बढ्न थालेपछि भने एउटा प्रश्न उठ्न पुगेको छ, कला क्षेत्रका व्यक्तिहरूको वैवाहिक सम्बन्ध किन जोखिममा पर्दै गइरहेको छ ? के कला त्यस्तै क्षेत्र हो, जहाँ वैवाहिक सम्बन्धले निरन्तरता पाउन हदै मुस्किल छ ? त्यसो त कलाकर्म अँगालेका केही जोडीलाई नेपाली कला क्षेत्रमा ‘आदर्श जोडी’को संज्ञा दिने पनि गरिएको छ । चालीसको दशकदेखि नै सिनेमा र रंगमञ्चमा चम्किएका हरिहर शर्मा–शकुन्तला शर्मा र पछिल्लो समयका सुनिल पोखरेल–निशा शर्माको जोडीलाई आदर्श जोडीको संज्ञा दिन नेपाली कला जगत् जहिल्यै आतुर देखिन्छन् । तर, वर्तमान सन्दर्भमा भने यसलाई अपवादका रूपमा स्विकार्नुबाहेक अरू विकल्प देखिँदैन ।
पछिल्लो समय नायिका रिमा विश्वकर्माको वैवाहिक सम्बन्धमा दरार उत्पन्न भयो । एकाध वर्षमै टुटेको थियो उनको वैवाहिक सम्बन्ध । त्यसअघि गायिका मिलन अमात्यले पनि पारपाचुकेको बाटो समातिन् । उनले पारिवारिक तनाव झेल्न आफू असमर्थ भएपछि सम्बन्धविच्छेदको मार्ग अपनाएको स्पष्टीकरण दिइन् । मिस नेपाल भइसकेकी नायिका झरना बज्राचार्यको पनि वैवाहिक जीवन सुखद रहन सकेन । यी कलाकर्मीहरूकोत कला क्षेत्रसँग नभिजेका व्यक्तिसँग वैवाहिक सम्बन्ध जोडिएको थियो । तर, एउटै क्षेत्रमा लागेका निर्माता छविराज ओझा र नायिका रेखा थापा, गायिका अञ्जु पन्त र गायक मनोजराजबीच पनि सम्बन्ध यथावत् रहन सकेन ।
नेपाली कला जगत्मा ‘ब्रेकअप’को बाटो नसमाते पनि पारिवारिक रूपले तनावहीन, सुखद जीवन बिताउने कलाकर्मीहरू कमै छन् । सामाजिक रूपमा ‘देखाउनैका निम्ति’ मात्र भए पनि सम्बन्ध कायम रहेकोजस्तो नाटक गर्ने कलाकर्मीहरू थुप्रै छन् । तर, त्यस्ता कलाकर्मीहरूको आन्तरिक जीवन भने निकै नै पीडादायी रहेको तथ्य पनि कमै मात्रामा बाहिर आउँछन् ।
कतिपय सेलिब्रेटीहरूले ब्रेकअपका दुःखद मोडहरू गुजार्नुपरेका प्रसंग नेपाली कला जगत्मा पछिल्लो समय फराकिलो बन्दै गएका छन् । तर, विश्व कला जगत्मा पनि दुःखद मोड छिचोल्ने कलाकर्मीहरू प्रशस्तै छन् । हलिउड, बलिउडजस्ता चलचित्र नगरीहरूमा प्रसिद्धिको शिखर चुमेका कैयांंै कलाकर्मीहरूले ‘ब्रेकअप’का घटनाहरूको सामना गर्नुपरेका छन् ।
हलिउडका चर्चित अनुहार जोन ब्रोडपिट र एन्जेलिना जोलीको जोडीलाई उदाहरणीय रूपले हेर्ने गरिन्थ्यो । तर, त्यो चर्चित जोडीको सम्बन्धले पनि विश्राम लिन पुग्यो । हलिउडकै केट पेरी र ओलेन्डो ब्लुम, रिचर्ड पेरी र जेन फोन्डा, निकी मिनाज र मिक मिल, बेन हिच्जिस र लोरेन बुसनलले समेत ‘ब्रेकअप’को पीडा झेले । बलिउड पनि ‘ब्रेकअप’बाट पीडित चलचित्र संसार हो । अभिनेता अरवाज खान र मलाइका अरोरा खानबीचको सम्बन्धविच्छेदको प्रसंग बलिउडमा अझै सेलाइसकेको छैन । नायक ऋत्विक रोशन र सुजैनबीचको सम्बन्ध टुटेको प्रसंगले केही वर्षपूर्व बलिउड गर्माएको थियो । सुजैनले अर्बौं रकम अंश दाबी गरेकी कुरा निकै चर्चामा रह्यो । फरहान खान र अधुना, करणसिंह ग्रोबर र जेनिफरजस्ता कलाकर्मीले पनि ‘ब्रेकअप’को सामना गर्नु¥यो।
आखिर, सेलिब्रेटीहरूबीच नै किन ‘ब्रेकअप’का घटनाहरू बढी हुन्छन् त ? उनीहरूका सम्बन्धले किन निरन्तरता पाउँदैनन् ? यस्ता प्रश्न स्वाभाविक रूपमा सतहमा देखा पर्दै आएका छन् । सेलिब्रेटीहरूले ‘ब्रेकअप’को सामना गर्नुको पछाडि केही मुलभूत कुराहरू जोडिएर आउँछन्, निश्चय नै । त्यसमा पहिलो लहरमा त एकअर्काबीचको अविश्वास नै हावी रहेको देखिन्छ । अविश्वास, शंका–उपशंका त छँदै छ, आफ्नो पारिवारिक दायित्व र सीमा के हो ? पारिवारिक सन्तुलनलाई कसरी कायम राख्ने भन्ने सोच र चिन्तनको अभावजस्ता पक्षहरू पनि सेलिब्रेटीहरूको सम्बन्धमा दरार उत्पन्न हुने अरू कारणहरू हुन् । कलाकर्मीहरू सामाजिक जीवन बाँच्ने प्राणी भएका हुँदा उनीहरूको हरेक क्रियाकलापमा समाज र व्यक्तिको निगरानी परिरहेका हुन्छन् । कोसँग उठबस गरे, कोसँग हिमचिम बढाए भन्ने पक्षमा सबैको निगरानी र चासो थोपरिएका हुन्छन् । यस्ता पक्षहरूबाट बँच्न नसक्दा, चुक्दा पनि पारिवारिक शंकाको घेरामा फस्ने र अविश्वासको सतह माथि उठ्ने स्थिति सिर्जना हुन पुग्छ ।
कलाकर्मीहरूको बढ्दो सम्बन्धविच्छेदले समाजमा निश्चय नै सकारात्मक सन्देह प्रवाह गर्दैन । कलाकर्मीहरूको प्रेम र वैवाहिक सम्बन्धलाई क्षणिक मनोवेगका रूपमा चित्रित गर्न पनि थालिएको छ, अचेल । यसले कला क्षेत्रका मानिससँग वैवाहिक सम्बन्ध गाँस्नु दुई चार वर्षको रमझम मात्र हो, निरन्तर सम्बन्धका लागि होइन, भन्ने गलत सन्देश र मान्यता पनि बस्न सक्छ ।
नेपाली समाजमा हरेक व्यक्तिको चेतना स्तर समान किसिमका छैनन् । कतिपय व्यक्तिले कलाकर्ममा लाग्नेहरूलाई ‘आदर्श व्यक्ति’का रूपमा हेर्छन् । उनीहरूबाट सिक्न चाहन्छन् । तर, आफूले आदर्श पात्रका रूपमा स्विकारेका कलाकर्मीहरूको व्यक्तिगत जीवन भने भत्किएको, तहसनहस भएको देख्दा त्यस्ता व्यक्तिहरूले कस्तो धारणा बनाउँलान् ? यो पनि सोचनीय पक्ष हो ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply