नमेटिएको जोस
जगतमर्दन थापामा युवाकालीन जोस अझै मेटिइसकेको छैन । अग्रज स्वरसाधक थापा अचेल जीवनका उत्तराद्र्धतिर पाइला चालिरहेका छन् । तर, युवाकालीन दिनहरूमा जुन उत्साह र जोस सँगालेर उनी गायन–धरातलमा ओर्लिएका थिए । उस्तै फराकिलो छ अहिले पनि, उनको गायन–संसार । अहँ, कहीँकतै पनि खुम्चिएको छैन । बीसको दशकमै नेपाली गीत–संगीतको आकाशमा चम्किएका थापा ८२ वर्ष पुग्न लाग्दा पनि नेपाली संगीतको श्रीवृद्धिका लागि आफ्नो प्रयत्नलाई सुस्ताउन दिएका छैनन् । हुन पनि संगीतप्रतिको गहिरो मोह र लगावको नवीन पालुवा उनमा दिनप्रतिदिन पलाउँदै गइरहेको गहन आभास हुन्छ, यतिबेला ।
प्रतीक्षाको समय नजिकिँदै छ । भारतका प्रख्यात गायिका उषा मंगेशकरसँग उनले गाएका युगल गीत समेटिएको गीति–कोसेली केही समयपछि नै संगीतका पारखीहरूसामु आउन लागिरहेको छ । त्यसको बोल हुनेछ, ‘म पतझड थिएँ, तिमी मधुमास थियौ’ । यो गीति–कोसेली पछिल्ला समय संगीतमा तनमन अर्पेका थापाका निम्ति मात्र उत्साह र प्रफुल्लता जगाउने आधार बन्नेछैन, गायिका मंगेशकरका लागि पनि खुसीको स्रोत बन्नेछ । किनकि, आधा शतकयता मंगेशकरले नेपाली गीतमा आफ्नो स्वर अर्पिंदै छिन् । सन् १९६२ मा चलचित्र ‘माइतीघर’मा प्रेमध्वज प्रधानसँग मंगेशकरले आफ्नो गला ‘नमान लाज यसरी’ मा खोलेकी थिइन् । त्यसयता नेपाली गीति शब्दसँग मंगेशकरको कुनै साइनो जोडिएन । अब भने प्रेमध्वजपछि थापासँग दोस्रोपटक मंगेशकरले स्वर दिँदै छन् ।
दुवै स्वरसाधक ८० कटेपछि पुनः चम्किन थाल्दै छन्, युवाकालीन दिनहरूमा त दुवै चम्किएका थिए नै । यद्यपि, मंगेशकरसँग गीत गाउने इच्छा भने थापामा ५२ वर्षपूर्व नै पलाएको थियो । तर, उनको इच्छा मूर्त हुन पाएन । लामो समय उनी गीत–संगीतको आकाशबाट बिलाए । पछिल्लो समय संगीतमा फर्किएका उनको इच्छा अब भने पूरा हुँदै छ, त्यो पुरानो इच्छा । थापा भन्छन्, ‘म २०२२ सालमा मुम्बईमा तालिमका लागि गएको थिएँ । त्यतिबेला चलचित्र माइतीघर निर्माण हुँदै थियो । एक जना साथीले माइतीघरको गीत सुन्न जाने प्रस्ताव राखे र हामी एम्बेस्डर होटलमा गयौं । उषाले निकै नै सुमधुर स्वरमा त्यो गीत गाइन् । ममा त्यतिबेलै एउटा इच्छा जागेको थियो, यति मीठो स्वरमा गीत गाउनेसँग मैले पनि गाउन पाए कस्तो हुन्थ्यो होला ?’
पाका गायक थापा संगीतमा भिज्न थालेको नै साढे ६ दशक बित्न लाग्दै छ । काठमाडौं, महाराजगन्जको विश्वबन्धु पुस्तकालयमा आबद्ध भएदेखि उनमा गीत–संगीतप्रति चाख बढ्न थाल्यो । सप्तरीको बर्मझियामा जन्मिएर प्रारम्भिक शिक्षा मधेसमै पूरा गरे पनि माध्यमिक र उच्च शिक्षा भने उनले काठमाडौंबाटै सिध्याए । जेपी स्कुलबाट स्कुले शिक्षा पूरा गरेपछि त्रिचन्द्र कलेजमा भर्ना भएका उनले विश्वबन्धु पुस्तकालय सञ्चालनमा पनि समय दिन थाले । यो २०१३ सालको कुरा हो । एक दिन, केही साथीले उनलाई रेडियो नेपालमा लिएर गए र गाउन लगाए । थापा सम्झिन्छन्, ‘त्यो समय हामी हल्काफुल्का गाउँथ्यौं । सीपी लोहनी, चन्दादेवीजस्ता प्रख्यात गायिकाहरू त्यतिबेला चम्किएका थिए । तर, एकपटक भने सेनाको कार्यक्रममा मास्टर रत्नदास प्रकाशले मलाई पर्दापछाडिबाट गीत गाउन लगाए । त्यसपछि भने मेरो संगीतप्रति झनै चासो बढ्न थाल्यो ।’
गीत रेकर्डिङ गर्न त्यतिबेला धेरै नै कठिन थियो । अहिलेजस्तो सहज कहाँ थियो र ? आफ्नै स्वरमा गीत रेकर्डिङ गर्न उनलाई निकै तलतल लाग्यो । स्वाभाविक पनि थियो त्यो । २०१८ सालमा गीत रेकर्ड गर्न उनी कोलकाता गए । खर्च बोकेका थिए– ४÷५ सय भारतीय रुपैयाँ । दुइटा गीत रेकर्ड गर्दा स्टुडियो खर्च ३ सय लाग्यो । ती गीतहरू थिए– ‘माया लुकाई लुक्दैन’ र ‘कोइलीले सम्झाइदियो’ । भन्छन्, ‘रेडियो नेपालबाट ती गीतहरू प्रसारण हुन थाले । त्यसपछि मेरो ख्याति धेरै नै बढ्यो । त्यो बेला मलाई नचिन्ने को थिए होलान् र ?’ ख्याति बढेसँगै उनलाई अनेक कार्यक्रमहरूमा निमन्त्रणा आउने क्रम चुलियो । भन्छन्, ‘धेरै मानिसहरूबीच उभिएर गाउन मलाई अप्ठ्यारो महसुस हुन्थ्यो । म आकाशतिर हेरेर गाउँथें ।’
२०२० सालमा कर्मचारी सञ्चयकोषमा जागिरे जीवन सुरु भएपछि भने जिम्मेवारी थपिँदै गयो उनमा । पारिवारिक र जागिरे जिम्मेवारी थपिँदै गएपछि संगीतमा पर्याप्त समय अर्पिन सकेनन् । हुन पनि २०२७ सालमा गीत रेकर्डिङ गरेका थापाले लामो समय विश्राम लिएर एकैचोटि २०५७ सालमा अर्को गीत रेकर्डिङ गरे । २०५८ यता भने उनी अविश्राम गाइरहेका छन्, संगीतलाई समय सुम्पिइरहेका छन् । यी पछिल्ला डेढ दशकका अवधिमा उनले तीनवटा एल्बम निकालिसके र अब चौथो एल्बम ल्याउने दौडधुपमा छन् । हरेक दिन बिहान ६ बजे उठेर दुई घण्टा रियाज गर्ने थापाले गायनबाहेक कथा लेखनमा पनि आफूलाई उभ्याएका छन् । तर, चिनारी भने गायककै बन्न पुग्यो । र त उनी नेपाली संगीताकाशमा गायकरूपी नक्षत्रकै रूपमा चिनिन र चम्किन चाहन्छन् हरेक क्षण ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply