आत्मकथाको बाढी
स्वतन्त्र र स्वच्छन्द जीवन बाँच्नेमा पर्थिन्, अमृता प्रितम । हिन्दीका गिनेचुनेका नारी स्रष्टा प्रितमले लेखेकी आत्मकथा ‘रसिदी टिकट’ आजपर्यन्त रुचिपूर्वक पढिने आत्मकथाको लहरमा आबद्ध छ । जीवनयात्रामा सँगालेका कतिपय आन्तरिक पक्षहरूलाई निष्फिक्री रूपले पस्किने आँट गरेकी प्रितमले जीवनलाई ढाँट्नु हुन्न भन्ने मान्यताको बिन्दुमा उभिएर आत्मकथा लेखेकी थिइन् । उनले लेखेकी छन्, ‘एक दिन खुसवन्त सिंह ने बातों मे कहा, तेरो जीवनी का क्या है । बस, एक–आध हादसा लिखने लगो तो रसीदी टिकट की पीठ पर लिखी जाए ।’
खुसवन्त सिंहको आत्मकथा त झनै तहल्का मच्चाएको थियो । सामाजिक–पारिवारिक बन्धनहरू तोडेर कुन स्त्रीसँग आफूले अनन्य सम्बन्ध विस्तार गरेको प्रसंगलाई पनि उनले निस्पन्द रूपले लेखेका थिए । यद्यपि, हिन्दी साहित्यका यी दुवै हस्ती दिवंगत भइसके । तर, उनीहरूले जीवन–भोगाइका गुप्त आयामहरूलाई आमपाठकसामु राख्न संकोच मानेनन् । आत्मकथा लेख्ने संसारका अरू चर्चित अनुहारभन्दा केही माथि उठेर, लिकभन्दा परै रहेर जीवनका गुप्त पक्षहरूलाई समेत लेख्ने साहस र मनोबल आर्जन गर्ने सीमित व्यक्तिहरूको पंक्तिमा ती दुई स्रष्टालाई राख्न सकिन्छ ।
केही वर्षयता नेपाली समाजका चर्चित–सामान्य दुवै तहका पात्रहरू आत्मकथा लेख्न सल्बलाएका छन् । राष्ट्रिय जीवनमा परिचितदेखि समाजका सामान्य पात्रहरूले समेत आफ्नो जीवन–कथा उतार्ने रुचि देखाउन थालेका छन् । पछिल्लो समय त यस्तो मान्यता विकास हुँदै गइरहेको छ, हरेक व्यक्तिको जीवन पठनीय हुन्छन्, प्रेरणादायी हुन्छन् । जीवन–यात्राका क्रममा समाज र राष्ट्रलाई माथि उठाउने श्रेणीका अनेक कर्म गरेका व्यक्तिहरूको आत्मकथालाई सतहमा ल्याउँदा राष्ट्र र समाजलाई नोक्सान होइन, फाइदा नै हुने सहज अनुमान लगाउन सकिन्छ । बिस्तारै अर्को के मान्यता पनि स्थापित हुँदै गइरहेको छ, समाजका प्रतिष्ठित र सम्भ्रान्त वर्गका मानिसमात्र आत्मकथा–लेखनका निम्ति उपयुक्त पात्र होइनन्, सामान्य व्यक्तिका जीवनकथा पनि आत्मकथ्यको विषय बन्न सक्दछ ।
राष्ट्र र समाजका निम्ति केही न केही योगदान अर्पेका हरेक पात्रका आत्मकथ्य वर्तमान र भावी दुवै पुस्ताका लागि प्रेरणाको अजस्र स्रोत बन्न पुग्नेमा दुईमत देखिँदैन । आखिर, पछिल्लो पुस्ताले अघिल्लो पुस्ताको आत्मकथा र जीवनीहरू अध्ययन गरेर नै प्रेरणा लिएका हुन् र आफूले तिनै आदर्श एवं गरिमावान् पात्रहरूले पछ्याएको पाइला पछ्याउन चाहेका पनि छन् । महात्मा गान्धीको जीवनी पढेर अहिंसाको मार्गमा लम्किनेदेखि भगत सिंह र चे ग्वे भाराको जीवनी पढेर क्रान्तिको मार्ग अवलम्बन गर्ने पात्रहरू नेपाली समाजमै प्रशस्तै छन् ।
आत्मकथा, कुनै पनि व्यक्तिको सिंगो जीवनलाई चियाउने आँखीझ्याल हो । तर, कतिपयले त्यस्तो आँखीझ्याललाई खुला राख्न चाहन्छन् भने कतिपयले भने बाक्लो पर्दा लगाउन उपयुक्त ठान्छन् । नेपाली सन्दर्भमा चाहिँ आत्मकथा लेख्नेहरूले आफूलाई विशिष्ट र अरूलाई तुच्छ रूपमा पेस गर्दै, आफ्ना कतिपय कमजोरीहरूमाथि पर्दा लगाउँदै आत्मकथा लेख्ने प्रवृत्तिको तीव्र रूपमा विकास हुँदै गइरहेको प्रतीत हुन्छ । फराकिलो हृदय र सोचबाट अभिप्रेरित हुँदै जीवनका आन्तरिक पक्षहरूलाई अक्षरसः बिसाउने गरी आत्मकथा लेख्नेहरू कमै भेटिन्छन् । पछिल्लो समय राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएपछि दरबारसँग निकट रहेका केही व्यक्तिले आत्मकथा बाहिर ल्याए । नेपाली सेनाका केही जर्नेलहरूले पनि आत्मकथा लेख्ने रहरलाई मेटाए । सेनाका केही जर्नेलहरूका आत्मकथ्य आउने क्रम अझै रोकिएको छैन । दरबार र सेनाका आन्तरिक प्रसंगहरू नेपाली समाजका लागि अझै पनि कौतूहलमय प्रतित हुन्छ । किनभने, विगतमा आमजनताको पहुँचभित्र यी दुवै संस्था र त्यसमा क्रियाशील पात्रहरू नरहेका हुँदा दरबार र सेनाका आन्तरिक पक्षहरूबारे कसैले कलम चलाउँदा त्यसले सनसनी पैदा गर्ने र पठनका निम्ति अभिरुचि जगाउनु स्वाभाविकै हो । तर, विवेकविक्रम शाहदेखि रुक्मांगत कटवालसम्मका आत्मकथाहरू पठनीय रहे पनि उनीहरूले एउटा सीमासम्म मात्र आफूलाई उभ्याएर लेखे । सीमा पार गर्ने साहस र मनोबल उनीहरूले फेला पार्न सकेनन् ।
आत्मकथा लेख्ने व्यक्तिहरूमध्ये सामाजिक, पारिवारिक वा अरू किसिमका तगाराहरू नाघ्ने हिम्मत कमैले मात्र राख्दछन् । आफ्नो कथा लेख्दा समाज र परिवारका अरु पात्रहरूसमेत जोडिने भएको कारण कसैलाई ठेस पुग्छ कि, कसैले द्वेषपूर्ण भावना राख्छन् कि भन्ने मनोभावना पाल्ने प्रवृत्ति रहेको हुँदा स्वतन्त्र र स्वच्छन्द ढंगले आत्मकथा लेख्नेहरू धेरै नै कम छन् । यद्यपि, नहुनु मामाभन्दा कानो मामा निको भनेझैं कतिपय व्यक्तिहरूले आफ्नो जीवनकथाका रहस्यमय पक्षहरूलाई लुकाउन आवश्यक ठाने पनि त्यस्ता व्यक्तिहरूले आत्मकथा लेखेर समाजलाई सुम्पिनु उचित नै मान्न सकिन्छ । आखिर, सबैको जिन्दगीसँग मेल नखाए पनि प्रितमले लेखेका यी हरफहरू सान्दर्भिक लाग्छन्–
‘जिन्दगी जाने कैसी किताब है
जिसकी इबारत अक्षर अक्षर बनती है
फिर अक्षर अक्षर टुट्ती–बिखरती और बदलती है’
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply