पुँजीवादको दुश्चक्रबीच अमिताभको मानवीयता
सन् २००४ मा अमिताभ बच्चनले जनघनत्वका दृष्टिले भारतको पहिलो राज्य उत्तर प्रदेशसँग गाँसिएको आफ्नो सम्बन्धलाई उजिल्याउँदै भनेका थिए, ‘माटी पुत्र हुँ म । मेरो जह्रा उत्तर प्रदेशमा छ । त्यहाँको संस्कृति, त्यहाँको भाषा, त्यहाँको खानपिन, त्यहाँको रीतिरिवाज, त्यहाँको हावापानी मेरो मन–मस्तिष्कभरि बसेको छ । आज म जे बनेको छु, त्यहीको कारण बनेको छु । म उत्तर प्रदेशसँग धेरै घनिष्ट रुपमा जोडिएको छु ।’
हिन्दी सिनेमाको सदाबहार नायक बच्चनले आफ्नो भूमि उत्तर प्रदेशप्रति दर्साएको मोह, स्नेह र सदासयताको बेलाबखत परिचर्चा हुँदै आएको छ । देशभित्र र बाह्य भूगोलमा समेत आफ्नो उच्चतम प्रतिभाका कारण सदैव चर्चाको शिखरमा रहने बच्चनले आफ्नो भूमिप्रति देखाएको अपार प्रेमले अरु प्रतिभाहरुलाई पक्कै पनि उत्प्रेरणा जगाउने आशा गर्न सकिन्छ । आफ्नो भूमि, भूमि–सन्तानहरुप्रतिको मोह र लगावमा सदैव भावुक र प्रतिबद्ध रहँदै आएका बच्चनले उत्तर प्रदेशलाई फेरि एक पटक सम्झिएका छन् । तर, पछिल्लो सम्झनामा भने तीव्र मानवीय संवेदना जोडिएको त छ नै, विश्वको चौथो ठूलो अर्थव्यवस्थाको झलक पनि देखाउँछ ।
केही दिनअघि हिन्दी सिनेमा ती सफल नायक र ‘कौन बनेगा करोडपति’जस्ता बहुचर्चित कार्यक्रमका प्रस्तोता बच्चनले ऋणको भारीले थिचिएका उत्तर प्रदेशका करिब १४ सय किसानको ऋण तिरिदिएको घोषणा गरे । ऋणको कारण बर्सेनि सयौं किसानहरुले आत्महत्याको बाटो रोज्ने गरेको तीतो परिदृश्यबीच बच्चनको यस्तो घोषणा बाहिरियो । यो उनमा अन्तर्निहित मानवीय संवेदनाको उच्च प्रदर्शन थियो । १३ सय ९८ जना किसानले बैंकबाट लिएको ऋण तिर्न नसकेपछि बच्चनले त्यस्तो मानवीय कदम चालेका थिए र करिब ६ करोड नेपाली रुपियाँ उनले ऋण तिरिदिएका थिए । ‘एउटा काम पूरा गरेको महसुस भइरहेको छ मलाई’ ऋणको बोझले थिचिएका किसानहरुको ऋण चुक्ता गरेपछि बच्चनले आफ्नो ब्लगमा सन्तोष व्यक्त गरेका थिए ।
नेपालको अधिकांश दक्षिणी भूभाग जोडिएको भारतको उत्तर प्रदेश कृषि उत्पादनमा अग्रणी प्रान्तमध्ये एक हो, जुन भूमि नेपालबाट बगेर गएका नदी–नालाहरुबाट नै सिञ्चित हुन्छ । जनसंख्याको ठूलो हिस्सा रहने सो प्रदेशका करोडौं किसान कृषि पेशामा निर्भर छन् । तर, भारतले उदारीकरणको बाटो पछ्याएपछि भने किसानहरुले एकपछि अर्को समस्या झेल्न थाले । भारतीय कृषि क्षेत्रमा बहुराष्ट्रिय कम्पनीहरुको प्रवेशसँगै किसानहरुको अवस्था दयनीय बन्दै गयो र बैंकबाट लिएको ऋण चुक्ता गर्न नसक्ने अवस्थामा पुगे । विकल्पको रुपमा आत्महत्यालाई रोज्न थाले । उत्तर प्रदेशसँगै आन्ध्र प्रदेश, तमिलनाडु, पञ्जाब, केरला, कर्नाटक र महाराष्ट्रका लाखौं किसानहरु ऋणको बोझले थिचिए र ऋण तिर्न असमर्थ किसानहरुले विस्थापन, सामाजिक अवहेलना र तनावबाट मुक्त रहने विकल्पस्वरुप आत्महत्याजस्तो कठोर र आत्मघाति बाटो रोज्न थाले । विगत दुई दशकभन्दा लामो समयदेखि यो समस्या विकराल रुपमा तेर्सिएको छ ।
उदारीकरणको नीतिलाई पछ्याएसँगै सन् ११९० को दशकपछि भारतमा बहुराष्ट्रिय कम्पनीहरु भित्रिए । बहुराष्ट्रिय कम्पनीहरुको आगमनसँगै परम्परागत बिउको ठाउँ हाइब्रिड बिउले लियो । मल, बिउ र विषादीमा बहुराष्ट्रिय कम्पनीहरुको हस्तक्षेप बढ्दै गयो । बहुराष्ट्रिय कम्पनीहरुकै दबाबमा स्वदेशी मल उत्पादक कारखानाहरु बन्द गरिए र डीएपी र पोटासको आयात हुन थाल्यो । आयातित मलको बहुराष्ट्रिय कम्पनीहरुले अचाक्ली मूल्यवृद्धि गरेपछि किसानहरु झन् मर्कामा परे । बहुराष्ट्रिय कम्पनीहरुको आधिपत्यसँगै पोटासको मूल्यवृद्धि त दोब्बर नै भयो ।
बिउविजनमा त किसानहरु झनै मर्कामा परे । उत्पादन वृद्धि हुने कारण देखाउँदै डंकलजस्ता बहुराष्ट्रिय कम्पनीले किसानलाई हाइब्रिड बिउ लगाउन उत्प्रेरित ग¥यो । प्रारम्भका वर्षहरुमा डंकलद्वारा सिफारिस बिउहरु किसानले लगाए, उत्पादनमा वृद्धि पनि भयो । तर, क्रमशः उत्पादन घट्नै गयो । स्थिति यति भयावह बन्दै गयो कि, किसानहरुले लगाउँदै आएको परम्परागत बिउ मासियो र डंकलको बिउलाई धेरै मल, पानी र विषादी चाहिन थाल्यो । डंकलको हाइब्रिड बिउबाट उत्पादित धान मिलवालाले किन्न छाडे । किनभने हाइब्रिड बिउबाट उत्पादित धान कुट्दा टुक्रिने समस्या देखियो । यसरी बिउविजनमा पनि बहुराष्ट्रिय कम्पनीहरुको एकाधिकारसँगै किसानहरु परनिर्भर बन्न थाले र हरेक वर्ष महँगो मूल्य तिरेर बिउ खरिद गर्नुपर्ने बाध्यात्मक परिस्थितिको सिकार भए । मल, बिउ र विषादीमा बहुराष्ट्रिय कम्पनीहरुको भर पर्नु परेपछि बैंकबाट ऋण लिएर खेत ीगर्ने किसानहरुले सदैव घाटाको बाटो समात्नुको विकल्प रहेन । र, ऋणको भारले थिचिएपछि आत्महत्याको बाटो रोज्नुको विकल्प पनि रहेन ।
यद्यपि, अभिनेता बच्चनले १४ सय किसानलाई ऋणमुक्त तुल्याए, उनीहरुलाई आत्महत्याको बाटोमा लम्किनबाट जोगाए । यो महान् मानवीय कदम हो । तर, स्थायी समाधान भने यसलाई मान्न सकिँदैन । भारतका माक्र्सवादी चिन्तक एवं समीक्षक डा. मैनेजर पाण्डेयको यो कथनले किसानहरुको झलक देखाउँछ, ‘१९९५ देखि २००० सम्मका वर्ष त्यही हो, जुन वर्षहरुमा देशमा नवउदारवादी आर्थिक नीति लागु गरियो । त्यो त्यही समय हो, जबबाट पुँजीवादको सर्वग्रासी अभियान भारतमा तीव्र रुपमा फैलियो । जसरी उक्त अभियान उग्र र आक्रामक हुँदै गयो, त्यसरी नै आत्महत्या गर्ने किसानहरुको संख्या बढ्दै गयो ।’
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply