पोसाक–राजनीति
हरेक जातिको आफ्नै जातीय पहिचान झल्काउने पहिरन छन् । रोल्पाका मगर जातिका मानिसले लगाउने पहिरन बेग्लै छ, बर्दियाको थारू जतिका मानिसले लगाउने पहिरन बेग्लै । काठमाडौंका नेवार जाति÷समुदायका मानिसले पहिरिने पहिरन र सोलुखुम्बुका शेर्पा जातिका मानिसले लगाउने पहिरन पनि बेग्लाबेग्लै छन् । यिनै अनेक जातिका मानिसहरूले पहिरिने पहिरनका कारण जातीय, सांस्कृतिक पहिचान कायम रहँदै आएको छ, वर्षौंदेखि । निःसन्देह, कुनै जातिले पहिरिने पहिरनले उनीहरूको सामाजिक, सांस्कृतिक, भौगोलिक, आर्थिकजस्ता अर्थपूर्ण पक्षहरू गाँसिएका हुन्छन्, इतिहास जोडिएको हुन्छ, संस्कृति–संस्कारले पछ्याएको हुन्छ ।
केही दशकयता भने कुनै जातीय समुदायले आफ्नो चाड, पर्व मनाउँदा फरक जाति–समुदायका मानिसहरूलाई पनि निम्त्याउने चलन बढ्दो छ । त्यस्ता पर्वहरूमा राष्ट्रका विशिष्ट अनुहारहरू देखिन थालेका छन् । प्रधानमन्त्री, मन्त्री वा विशिष्ट ओहदामा रहेका कुनै व्यक्ति त्यस्ता कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जातिका जातीय पहिरन पहिरिएर रमाइलो गर्ने कार्य अब सामान्य बन्दै गएको छ । गुरुङ समुदायको कुनै पर्वमा सामेल हुँदा त्यही जातिको पहिरन लगाउने, मगर जातिको कार्यक्रममा जाँदा त्यही जातिको मौलिक पोसाक पहिरिने वा अरू कुनै जाति–समुदायको पर्वमा जाँदा त्यही समुदायको पहिरन लगाएर केही क्षणलाई रमाइलो गर्ने परम्परा बस्दै गएको छ ।
एउटा प्रश्न उब्जिन्छ, कुनै जाति वा समुदायको पर्व, उत्सव वा कार्यक्रममा सहभागी हुँदा तिनै जातिको पहिरन पहिरेर उक्त जातिप्रति अपनत्व दर्साउने कार्यले उक्त जातिको पोसाकलाई सम्मान गरेको ठहरिन्छ कि अपमान ? कुनै जाति विशेषको पहिरन केही मिनेट वा घण्टाका लागि लगाउँदा त्यो कत्तिको अर्थपूर्ण हुन्छ ? सीधा रूपमा हेर्दा कुनै जातिको पहिरनलाई देशकै विशिष्ट ओहदामा रहेका मानिसहरूले लगाउँदा त्यो जाति वा समुदायको सम्मान गरेकोजस्तै लाग्छ । सम्भवतः निम्तालुहरू पनि खुसी नै हुन्छन् । किनभने, निम्तालुहरूले सोच्दा हुन्, ‘हामीले निम्त्याएको कार्यक्रममा आएर फलानोले हाम्रै पहिरन लगाए, हामीप्रति सम्मानभाव व्यक्त गरे ।’
तर, केही क्षण वा केही घन्टा कुनै जाति विशेषको कार्यक्रममा उपस्थिति जनाएर तिनै जातिको पोसाकमा ठाँटिने र वर्षभरि चाहिँ आफ्नै पोसाकमा रमाउने प्रवृत्तिले सम्बन्धित जाति वा समुदायको सम्मान गरेको पक्कै पनि ठहर्दैन, त्यो जाति वा समुदायको खिल्ली उडाएको सिधा प्रतित हुन्छ । यो त राष्ट्रका विशिष्ट ओहदामा रहेका व्यक्तिहरूमा मौलाएको प्रवृत्तिको कुरा भयो । अर्कोतिर, कतिपय मानिसहरूले कुनै पनि जातिको पोसाकलाई जानेर हो वा अञ्जानमा मजाकको विषय पनि बनाउँदै आएका छन् । पछिल्लो समय, बाह्य र आन्तरिक दुवै पर्यटकले देशका कुनाकाप्चाहरू ढाक्न थालेका छन् । गाउँ–गाउँमा होमस्टेहरू स्थापना हुन थालेपछि ग्रामीण भेगहरू घुम्ने र सुविधा पाउने क्रम पनि बढ्न थालेको छ । तर, कुनै जाति वा समुदाय विशेषको बसोबास रहेको होमस्टेहरूमा पुग्ने पर्यटकहरूले तिनै जाति विशेषको पोसाक पहिरेर रमाइलो गर्ने क्रम पनि बढेको छ । यसरी, कुनै जाति विशेषको पोसाक पहिरिने कार्यले त्यो जातिको मौलिक पोसाकप्रति सम्मान गरेको ठहरिन्छ कि पोसाकलाई मजाकको विषय बनाइएको अर्थ लाग्छ ? यो प्रश्न अनुत्तरित नै छ ।
‘पोसाक–राजनीति’ विगतदेखि नै विसंगतिका रूपमा स्थापित रहँदै आयो । अझ पञ्चायतकालीन समयमा त दौरा, सुरुवाल र टोपी अनिवार्य नै गरियो । सकेसम्म सबै पोसाक लाद्ने कार्य भयो । तर, नसकेको खण्डमा टोपी मात्रै भए पनि लाद्ने काम भयो । एकपटक, भारतका तत्कालीन प्रधानमन्त्री मोरारजी देसाई नेपाल भ्रमणमा आउँदा उनको सम्मानमा राष्ट्रिय सभागृहमा कार्यक्रम राखिएको थियो । देसाईको सम्मानमा उनलाई नेपाली टोपी लगाइदिन खोज्दा उनले टोपी लगाउन अस्वीकार गरे । आयोजकमध्येकै एकजनाले ‘यो मेसिनले बुनेको टोपी होइन, नेपाली महिलाले बुनेको घरेलु टोपी हो’ भनेपछि देसाईले टोपी लगाउन स्वीकार गरेका थिए भनिन्छ । कुनै विदेशी पाहुना आउँदा टोपी लगाएर स्वागत–सत्कार गर्ने महेन्द्रकालीन चलन अझैसम्म पनि हटिसकेको छैन ।
अझ पछिल्लो समय त ‘टोपी दिवस’ नै मनाउन थालिएको छ । अरू दिन टोपी नलगाउनेहरूले पनि टोपी–दिवसको दिन भने टाउकोमा टोपी ढल्काएर गर्व गर्न थालेका छन् । टोपीले नेपालीको पहिचान त गर्ला । तर टोपी नलगाए नेपाली होइँदैन, राष्ट्रवादी होइँदैन भन्ने पुरानो सोच र चिन्तनकै निरन्तरतास्वरूप टोपी–दिवसले सार्थकता पाएको प्रस्टै देखिन्छ ।
केही समयपहिले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दौरा, सुरुवाल र टोपीमा सजिए । पूर्वदेखि पश्चिमसम्मका मध्य पहाडी भूभागको भ्रमण गर्ने क्रममा कुनै बिन्दुमा पुग्दा उनले ‘राष्ट्रिय पोसाक’मा आफूलाई सिँगारे । प्रधानमन्त्रीमा आसीन हुँदा ‘राष्ट्रिय पोसाक’मा नठाँटिएका डा. भट्टराईलाई त्यो पोसाकमा देख्दा आश्चर्य मान्ने र खिल्ली उडाउनेहरू पनि देखिए । यसबाट पनि पोसाक–राजनीतिको गहिराइ कतिसम्म रहेछ भन्ने प्रस्टै देख्न सकिन्छ । अझ, कुनै पहाडे नेता मधेसमा जाँदा मधेसकै पोसाक पहिरिने र मधेसका नेता काठमाडौंमा रहँदा आफ्नो भौगोलिक पोसाकमै सजिनेजस्ता कार्यले पोसाक–राजनीतिको गहिरो झलक दिन्छ । साँच्चै, पोसाक–राजनीतिको अन्त्य कहिले होला ?
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply