नेपाल भ्रमण वर्ष २०२०
भव्य र ऐतिहासिक बन्दैछ
काठमाडौं । सरकारले सन् २०२० को जनवरी १ मा हुने नेपाल भ्रमण वर्षको भव्यरुपमा उद्घाटन गरी गर्ने भएको भएको छ । युवा जोस, जाँगर तथा पर्यटन क्षेत्रमा केही गरेर देखाउने उत्साहका साथ जिम्मेवारी सम्हालेका पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षलाई पृथक् र ऐतिहासिक बनाउन कम्मर कसेर लागेका छन् । दशरथ रंगशालामा केन्द्रीय रूपमा र सातै प्रदेशमा प्रदेशस्तरका भ्रमण वर्ष स्वागत तथा उद्घाटन कार्यक्रम आयोजना हुनेछन् । सो कार्यक्रमलाई विशेष आकर्षक र ऐतिहासिक बनाउन सबै संयन्त्र परिचालन गरिएको बताइएको छ । गत आइतबारवाट मन्त्रालय, भ्रमण वर्ष सचिवालय र पर्यटन बोर्डले काउन्ट डाउन नै शुरु गरेर तयारीलाई तीव्रता दिएको छ । दिनमा १६ वटासम्म विभिन्न सरोकारवाला संघ संगठनलाई बोलाउँदै उद्घाटन समरोहको तयारी र ती संगठनले लिनुपर्ने जिम्मेवारीवारे मन्त्री स्वयंले बिफ्रिङ गर्ने गरेका छन् ।
राष्ट्रिय उत्वसका रूपमा मनाउन उद्योगी–व्यवसायीको जोड
भ्रमण वर्ष–२०२० लाई राष्ट्रिय उत्सवका रूपमा मनाउन आग्रह गरिएको छ । निजी क्षेत्रले यो सरकारको मात्र आयोजना नभएर पर्यटन उद्योगीहरूको र व्यापारीहरूको समेत प्रतिष्ठाको विषय मानेको छ । ‘हाम्रो पनि कर्तव्य र दायित्व हो’ भन्ने बुझेर अहिले यो राष्ट्रिय उत्सव सफल पार्न सबै जुटेका छन् । मन्त्री भट्टराईले निजी क्षेत्रलाई यो अवसरलाई राष्ट्रिय उत्सवका रूपमा लिन आग्रह गरिसकेका छन् । अन्तराष्ट्रिय मञ्चमा नेपालको पहिचान र परिचयको प्रचार–प्रसार गर्दै पर्यटनको राष्ट्रिय मनोविज्ञान तयार पार्ने कार्यक्रमका रूपमा तयारी गर्नुपर्नेमा मन्त्री भट्टराईको जोड छ । आइतबार नेपाल भ्रमण वर्ष–२०२० को तयारीका सन्दर्भमा आयोजित निजी क्षेत्रका संघ–संस्थाहरूसँगको छलफलमा कार्यक्रममा मन्त्री भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ केवल ‘इभेन्ट’का रूपमा नभई दीर्घकालीन आधारशिला बनाउने कार्यक्रम बनाउनेतर्फ सरकारको जोड रहेको बताए । ‘नेपाल भ्रमण वर्ष–२०२०’ ले नेपालको नयाँ क्षितिज र नयाँ बाटोको विश्वसामु देखाउने उनको भनाइ छ । लामो समयको संघर्षपछि राजनीतिक संघर्ष टुंगोमा पुगेर मुलुक आर्थिक समृद्धिको बाटोमा हिँडेको उल्लेख गर्दै मन्त्री भट्टराईले अबको सबैको साझा अजेन्डा आर्थिक समृद्धि हुनुपर्ने बताए । उनले भने, ‘अब तपाईं–हामी एउटै बाटोमा आइपुगेका छौं । त्यो साझा बाटो हो– आर्थिक समृद्धिको अभियान ।’ छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ, यातायात व्यवसायी महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल हस्तकला महासंघ, नेपाल साना घरेलु उद्योग महासंघ, नेपाल वैदेशिक रोजगारी व्यवसायी संघ, नेपाल खुद्रा व्यवसायी संघ लगायतका प्रमुखहरूको उपस्थितिमा थियो । मन्त्री भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ कार्यक्रमबाट विश्व समुदायलाई नेपाल अब शान्ति, समृद्धि र स्थायित्वको बाटोमा अघि बढेको सन्देश दिनुपर्ने बताए । उनले भने, ‘नेपालको अबको बाटो समृद्धिको हो, नेपाल लगानीका लागि उयुक्त ठाउँ हो भन्ने सन्देश हामी दिनेछौं ।’ मन्त्री भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रचार तथा प्रवद्र्धनका निम्ति ‘नेपाल भ्रमण वर्ष–२०२०’ को लोगो आफ्ना उत्पादनको सामग्रीमा प्रयोग गर्न आग्रहसमेत गरे । मन्त्री भट्टराईले अब गुनासो वा माग राखेर हिँड्नेभन्दा पनि मुलुकलाई समृद्धिको बाटोमा लैजान सबै क्रियाशील हुनुपर्ने समय आएको बताए । उनले भने, ‘अब गुनासो होइन देश निर्माणका अजेन्डा बोकेर सबै लाग्नुपर्छ ।’ कार्यक्रममा नेपाल नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भ्रमण वर्षलाई प्रचारप्रसार तथा प्रवद्र्धनमा महासंघ जुटिरहेका जानकारी दिइन् । महासंघको १ सय ६ वटा जिल्ला तथा नगर, १ सय ५ वटा एसोसिएट शाखाहरू सबै यो कार्यक्रमलाई सफल बनाउन जुटेको बताइन् । महासंघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा भ्रमण वर्षको प्रमोशन गरेको अध्यक्ष राणाको भनाइ छ । नेपाल उद्योग परिसरका अध्यक्ष सतीशकुमार मोरले ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउन निजी क्षेत्रको पनि कर्तव्य र दायित्व भएको बताए । अध्यक्ष मोरले बाहिर निर्यात गरिने नेपालका उत्पादनहरूमा ‘नेपाल भ्रमण वर्ष–२०२०’को लोगो राख्ने प्रतिबद्धता जनाए । नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष राजेशकाजी श्रेष्ठ ‘नेपाल भ्रमण वर्ष–२०२०’मा आउने २० लाख पर्यटकको संख्याभन्दा सन्देश महŒवपूर्ण हुने बताए । अध्यक्ष श्रेष्ठले भने, ‘संख्या ठूलो होइन, सन्देश ठूलो कुरा हो । सन्देश राम्रो गइरहेको छ ।’ नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पर्यटनका निम्ति पूर्वाधार निर्माण जरुरी रहेको भन्दै ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई मध्यनजर गरेर भौतिक पूर्वाधारलाई तीव्रता दिइनुपर्ने बताए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेले विदेश जाने नेपाली कामदारहरूमार्फत भ्रमण वर्षको प्रचार गरिरहेको जानकारी दिए । वैदेशिक रोजगारमा जाने हरेक कामदारलाई भ्रमण वर्षको टोपी अनिवार्य गरिएको उनको भनाइ छ । कार्यक्रममा नेपाल साना घरेलु उद्योग महांघका अध्यक्ष श्याम गिरी, नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्य, नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यलगायतले ‘नेपाल भ्रमण वर्ष–२०२०’ सफल बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए । कार्यक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, ‘नेपाल भ्रमण वर्ष–२०२०’ सचिवालय संयोजक सुरज वैद्य र पर्यटन बोर्डका सिइओ दिकराज जोशीले तयारीको विषयमा जानकारी दिएका थिए ।
अन्तराष्ट्रिय एयरलाइन्स सरकारको सहयात्री बन्ने
नेपाल भ्रमण वर्ष सफल पार्न विमान सेवा कम्पनीहरूको अझ ज्यादा महŒव छ । यदि उनीहरूले सरल र सहज तरिकाबाट विमान सेवा नचलाए पर्यटकहरू नेपाल आउन पाउँदैनन् । यही बुझेर सरकारको तर्फबाट विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालयका प्रमुखहरूलाई मनाउने काम भएको छ । मन्त्रालयको पहलमा भ्रमण वर्ष–२०२० लाई सफल बनाउने सन्दर्भमा उनीहरूसंग छलफल भएकोमा भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको जनाइएको छ । नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन नेपाल सरकारको सहयात्री र सहयोगी रूपमा प्रस्तुत हुन आफूहरू तयार रहेको एयरलाइन्स प्रतिनिधिहरूको प्रतिबद्धता छ । अघिल्लो मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल भ्रमण वर्ष–२०२० को विषयमा मन्त्री योगेश भट्टराई र विदेशी एयरलाइन्सहरूको संगठन बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ इन नेपाल (बार्न) का पदाधिकारीसहित विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालयका प्रमुखहरूबीच भएको छलफलमा यस्तो प्रतिबद्धता आएको हो ।
छलफलमा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को तयारीको विषयमा जानकारी दिँदैैं विदेशी एयरलाइन्सहरूले गर्नुपर्ने सहयोग र सरकारको अपेक्षाबारे धारणा राखे । मन्त्री भट्टराईले विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालयका प्रमुखहरूलाई एयरलाइन्सहरूलाई भ्रमण वर्षको विशेष ‘प्रमोसन’ गरिदिन आग्रह गरेका थिए । नेपाल आउने पर्यटकहरूका निम्ति विशेष छुट, ‘प्याकेज’ घोषणाको मन्त्री भट्टराईको आग्रह थियो । मन्त्री भट्टराईले विमानहरूमा नेपाल भ्रमण वर्ष–२०२० सँग सम्बन्धित सामग्रीहरूको छोटो प्रदर्शनी, विमानका यात्रुहरूलाई नेपाल भ्रमण वर्ष–२०२० का बारेमा संक्षिप्त जानकारी र विमानभित्र प्रमोशनका सामग्रीहरू राखिदिन आग्रह गरेका थिए । यसैगरी मन्त्री भट्टराईले बोर्डिङ पास, लगेजको स्टिकरलगायतमा नेपाल भ्रमण वर्ष–२०२० को लोगो टाँसेर प्रमोसन गरिदिन आग्रह गरे । मन्त्री भट्टराईले विदेशी एयरलाइन्सहरूले उठाएका प्राविधिक, व्यवस्थापकीय र नीतिगत समस्याहरू सुधारका लागि सरकार तयार रहेको समेत बताए । उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने विमान कम्पनीहरूलाई आकर्षक ‘प्याकेज’ सरकारले छिट्टै घोषणा गर्ने जानकारी दिए । मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई आधार वर्ष अर्थात् नेपालीहरूको पर्यटन मनोविज्ञान तयार गर्ने वर्ष र आगामी एक दशकलाई पर्यटन दशकका रूपमा मनाउने बताए । बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ इन नेपाल (बार्न) का अध्यक्ष टंकनिधि दाहालले विदेशी एयरलाइन्सहरूले भोगिरहेका व्यवस्थापकीय, प्राविधिक र नीतिगत समस्याहरू समेत राख्दै नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन बार्नमा आबद्ध सबै एयरलाइन्सहरूको सहयोग रहने बताए । बार्नका उपाध्यक्ष भोला थापाले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न दायित्व आफूहरूको पनि रहेको भन्दै सहयोगको प्रतिबद्धता व्यक्त गरे । छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भ्रमण वर्षलाई केन्द्रित गरेर केही छुट तथा प्याकेजका कार्यक्रमहरू घोषणा गरिदिन आग्रह गरे ।
३१ देशका राजदूत अत्यन्तै सकारात्मक
नेपाल भ्रमण वर्ष–२०२० को विषयमा नेपालस्थित ३१ देशका राजदूत र पाँचवटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरूसँग अत्यन्तै सकारात्मक भएका छन् । नेपाल भ्रमण वर्ष–२०२० को विषयमा मन्त्रालयले आयोजना गरेको छलफलमा उनीहरूको सकारात्मक धारणा आएको हो । राजनीतिक दलका प्रमुख र राजनीतिक दलनिकट जनसंगठनका अध्यक्षहरूसँग पनि छलफलको आयोजना भएको थियो । उक्त छलफलमा उनीहरूले यो विषयलाई अत्यन्तै सकारात्मक रूपमा लिने र परिचालित हुने प्रतिबद्धता जनाए ।
नेकपाका सबै नेता–कार्यकर्ता भ्रमण वर्षका स्वयंसेवक
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सबै कार्यकर्ता नेपाल भ्रमण वर्षको स्वयंसेवक हुने भएका छन् । उनीहरूलाई सरकारले सुरु गरेको यो महाअभियान सफल पार्न र मुलुकलाई समृद्धिको यात्रामा अघि सार्न स्वयंसेवका रूपमा परिचालन गर्न लागिएको हो । पार्टी महासचिव विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘कुनै सरकार, मन्त्री वा मन्त्रालय विशेषको मात्र जिम्मेवारी होइन । यो साझा राष्ट्रिय अभिभारा हो । यसलाई सरकारले पनि दलहरूले पनि र सिंगो समाजले पनि यो साझा राष्ट्रिय अभिभारा हो भन्ने रूपमा बुझ्नुपर्छ । र, यसलाई त्यही रूपमा सम्पादन र सम्पन्न गर्नुपर्छ । भ्रमण वर्ष–२०२० लाई सफल पार्ने जुन राष्ट्रिय अभिभारा छ, यो अभिभाराको एउटा महŒवपूर्ण अंगका रूपमा जिम्मेवारी निर्वाह गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यस पार्टीसँग सम्बद्ध तमाम जनसंगठनहरू प्रतिबद्ध छन् ।’
भ्रमण वर्ष–२०२० नेपालमा पर्यटकहरू एकचोटि आउँछन्, घुम्छन्, फर्केर जान्छन् भनेर मात्र आयोजना गरिएको होइन । भ्रमण वर्ष–२०२० मा आउने प्रत्येक विदेशी पाहुनाले वा पर्यटकले नेपाल एकचोटि गएर पुग्ने पर्यटकीय गन्तव्य होइन भन्ने सन्देश लिएर गए नेपालको समृद्धिका लागि सघाउ पुग्ने निश्चित छ । मन्त्रालयमै आयोजना गरिएको कार्यक्रममा नेकपा सचिव विष्णु पौडेलले उद्घाटन कार्यक्रम भव्य पार्नसमेत नेकपाले सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘अतिथिदेवो भवः भन्ने सांस्कृतिक मान्यताअनुरूपको आचरण सम्पूर्ण नेपालीले प्रदर्शन गर्नुपर्छ । त्यसका निम्ति हामी राजनीतिक दलहरूले, दल निकटका जनवर्गीय संगठनहरूले स्रोत व्यक्तिको भूमिका निभाउनुपर्छ । जहाँसम्म नेपाल कम्युनिस्ट पार्टीको सन्दर्भ छ, राजधानीको दशरथ रंगशालामा आयोजना हुने भ्रमण वर्षको उद्घाटन समारोहलाई भव्य बनाउन मन्त्रालयले प्रस्तुत गर्ने अपेक्षा हाम्रा तर्फबाट अधिकतम सीमामा पूरा गरिनेछ ।’
उद्घाटनमा नेकपाका सबै नेता अनिवार्य उपस्थित हुने
राजधानीमा मात्र होइन, अरू प्रादेशिक तहमा आयोजना गरिने उद्घाटन समारोहमा नेकपाका सबै नेता–कार्यकर्ता उपस्थित हुने भएका छन् । मन्त्रालयमा आयोजना गरिएको छलफलमा महासचिव पौडेलले नै त्यस्तो प्रतिबद्धता जनाइसकेका छन् । उनले भनेका थिए, ‘हामीले तदकनुकूलको उपस्थिति जुटाउन भूमिका निर्वाह गर्नेछौं । त्यसका अतिरिक्त यो भ्रमण वर्षको सिंगो अवधिभरि नेकपाका अध्यक्षसहितका सबै नेता, कार्यकर्ता, सदस्यहरू, पार्टीनिकट जनवर्गीय संगठनहरू तिनका नेता, कार्यकर्ता र सदस्यहरू अवैतनिक स्वयंसेवका रूपमा क्रियाशील रहने प्रतिबद्धता पनि म व्यक्त गर्छु । यो समस्त पार्टी शक्तिलाई अवैतनिक स्वयंसेवककारूपमा परिचालित गर्ने हक मन्त्रालय र मन्त्रीज्यूलाई म हस्तान्तरण गर्न चाहन्छु । यो राष्ट्रिय अभिभारा हो भनेर यसलाई केवल शब्दमा भनेर मात्र अभिभारा पूरा हँुदैन । राष्ट्रिय अभिभारा हो भने, ‘त्यो अभिभारा पूरा हुने हिसाबले काम र व्यवहार हुनुपर्छ ।’
भ्रमण वर्ष सफल पार्न सबै राजनीतिक दलहरूको साझा प्रतिबद्धता
नेपालका सबै राजनीतिक दल तथा तीनका भ्रातृ संगठनहरूले नेपाल भ्रमण वर्षलाई भव्यतापूर्वक सम्पन्न गर्न आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले मन्त्रालयकै कार्यकक्षमा आयोजना गरेको राजनीतिक दल र तीनका भ्रातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरूसँगको छलफल कार्यक्रममा सो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षको सन्दर्भमा अहिलेसम्म भएको प्रगतिबारे जानकारी गराउँदै २०७२ को महाभूकम्पको बेला मुलुकलाई त्यो पीडाबाट माथि उठाउन राजनीतिक दलहरूले जुन खालको एकता प्रदर्शन गरेका थिए, फेरि मुलुकको समृद्धिका लागि भ्रमण वर्ष–२०२० लाई भव्यतापूर्वक सम्पन्न गर्न त्यस्तै खालको साझा एकता र प्रतिबद्धता जनाउन आग्रह गरेका थिए । उनले भनेका थिए, ‘अब राजनीतिक एजेन्डामा धेरै विमति छैन । अबको हाम्रो मुख्य लक्ष्य र कार्यभार भनेको आर्थिक समृद्धि नै हो, त्यसका लागि पर्यटन क्षेत्र मूल आधार हो ।’ राजनीतिक दलका अब बन्ने घोषणापत्रमा पनि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्न र राजनीतिक दल र तिनका भ्रातृ संगठनले आफ्ना कार्यकर्तालाई पर्यटन प्रवद्र्धनका काममा लगाउन अनुरोध गरेका थिए । सो छलफलमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेपालले धेरै राजनीतिक उतारचढाव भोगिसकेकाले अब आर्थिक समृद्धिमा एकताबद्ध भएर लाग्नुपर्ने बताएका थिए । भ्रमण वर्ष–२०२० को सफलता भनेको सबैको सफलता भएकाले आफ्नो पार्टीका नेता तथा कार्यकर्ता सबै यो कामलाई आफ्नो काम भनेर लागिपर्ने उनको भनाइ थियो । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले भ्रमण वर्षलाई समग्र देशको तस्बिर झल्कने गरी प्रचारप्रसार गर्नुपर्ने बताएका थिए । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकि नेत्री रोशन कार्की, राष्ट्रिय जनमोर्चाकी नेतृ तथा सांसद दुर्गा पौडेल, समाजवादी पार्टीका नेता रमेश श्रेष्ठ विभिन्न राजनीतिक दलका भ्रातृ संगठनका नेताहरूले पनि भ्रमण वर्षलाई सफल बनाउन सक्दो योगदान दिने प्रतिबद्धता जनाएका थिए । तदअनुरूप उनीहरूले काठमाडौंमा केन्द्रीय रूपमा र सातै प्रदेशमा प्रदेश तहमा हुने कार्यक्रमहरूमा आफ्ना कार्यकर्ताहरूको सक्रिय सहभागिता गराउने र यसलाई एउटा महाअभियानका रूपमा लिने बताएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
- बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य
- चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
- नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
- डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
- मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दरमा सामान्य लचकता
Leave a Reply