जसले सपना देख्न तुल्याइरहन्छ उत्प्रेरित
सपना देख्छन् सबैले । सपना नदेख्नेहरू भविष्यहीन हुन्छन् । अँध्यारा दुर्गहरूमा सीमित रहन्छन्, सपना नदेख्नेहरू । तर, हरेकका सपनाको स्तर, सीमा र सार भने फरक–फरक हुन्छन् । संसारको एउटा कुनाका मानिसले देखिरहेको सपना र अर्को कुनामा मानिसले देखिरहेको सपनामा तादाम्यता नहुन सक्छ । कसैले एक गाँस मीठो खाने सपना देख्छन्, देख्छन् कसैले आफू बाँचिरहेको परिवेश आतंक, अराजकता र उत्पीडनबाट मुक्त हुने सपना । सबैले आफ्नो भूगोल, सामाजिक, राजनीतिक, सांस्कृतिक संरचना र त्यसका उल्झनहरूबाट आफूलाई पृथक् तुल्याउने सपना देख्छन् ।
तर, अवतारसिंह पासले भनेझैं सबभन्दा घातक, दुःखदायी र निर्मम भने ‘सपनाहरूको मृत्यु हुनु’ हुन्छ । न्याय, समानता र मानवीय अधिकारको पक्षमा सपना देख्ने जोकोहीलाई पासको त्यो कविता गुण–वाक्य नै हो, जसले सदैव सपना देख्न उत्प्रेरित तुल्याइरहन्छ । हरेक क्षण, हरेक मौसम । सामाजिक जीवनमा समानताको वकालत गर्नेहरूले त्यो कवितालाई बारम्बार उद्धरण गरिरहन्छन् र ‘सपना देख्न नछाड्न’ सजग गराइरहन्छन्, गहकिला सुझाव पस्किरहन्छन् । त्यही कविताको एउटा पंक्ति–
‘सबभन्दा डरलाग्दो हुन्छ
मुर्दा–शान्तिले भरिनु
घरबाट काममा निस्किनु
र, काम सिध्याएर घर फर्किनु
सबभन्दा डरलाग्दो हुन्छ–
हाम्रा सपनाहरूको मृत्यु हुनु ।’
तीन दशक बित्यो, पासले मृत्युवरण गरेको । सन् १९८८ मा भारतका यी वामपन्थी कवि÷सांस्कृतिक कार्यकर्ता उग्रपन्थीको बर्बर उत्तेजनाले बिलाएका थिए, सदा–सदाका निम्ति । मात्र ३७ वर्षको अल्प उमेरमा सामाजिक न्याय र समानताको दिशामा सबै न्यायप्रेमी, परिवर्तनकामी समुदायलाई आफ्नो रचना–चेतनाद्वारा झक्झकाएर उनी बिदा भएका थिए । वामपन्थी विचार, चिन्तन ग्रहण गरेकै कारण सन् सत्तरीको दशकमा भारतमा चम्किएको नक्सलवाडी आन्दोलनको पक्षधर भएकै कारण र सामाजिक विभेदविरुद्ध कलम घोटेकै कारण उनी उग्रपन्थीहरूद्वारा मारिएका थिए ।
पासका हरेक कविताले जोकोहीलाई सदैव आशाको सुनौलो क्षितिज नियाल्न प्रेरित तुल्याउँछ । उनका प्रत्येकजसो सिर्जनाले शोषित, अपमानित र पीडादायी जीवन गुमारिरहेका, आफ्ना न्यूनतम भौतिक आवश्यकता पूर्तिका लागि संघर्ष गरिरहेका, बेचैनीपूर्ण जीवन बिताइरहेका मानिसहरूलाई जागृत तुल्याउँछ । र, हरेक मुक्तिगामी मानिसलाई विजयको सपना देख्न सिकाउँछ । निःसन्देह, उनका हरेक कवितामा विद्रोह र संघर्षको स्वरांकित छ ।
तर पासले आफ्नो बहुचर्चित कविता ‘सबभन्दा खतरनाक’लाई पूर्णता दिन पाएनन् । त्यो कवितालाई अपूर्ण मानिन्छ र उक्त कविता एउटा लामो कविताको अंश मात्र हो । जसलाई उनले पूर्णता दिन सकेनन्– बर्बर, क्रुर र आततायीहरूको घेराबन्दीमा परेपछि । यद्यपि, अपूर्ण रहे पनि त्यो कविता शक्ति, सामथ्र्य र जीवन्तता भने प्रचुर नै छ । परिवर्तनको गोरेटामा हिँड्नेहरूलाई झक्झक्याउन होस् वा जनतालाई अपार सपना बाँडेर सत्तासीन हुनेहरूले आफ्नो पदचिन्ह भुल्दै गएकोमा होस्, उनीहरूलाई सजग तुल्याउनसमेत यी पंक्तिहरू सदैव अग्रपंक्तिमा उभिँदै आएका छन्–
‘सबभन्दा डरलाग्दो त्यो आँखा हुन्छ
जे सबै चिजहरू देखेर पनि जमेको हिउँ हुन्छ
जसको दृष्टि संसारको प्रेमलाई चुम्न भुल्दछ
जो वस्तुहरूबाट उठेका अन्धोपनको बाफमाथि खस्दछ ।’
साहित्य लेखनलाई विचार–विमुख तुल्याउने प्रयत्न धेरै समयदेखि हुँदै आयो । विशुद्ध कलात्मक रागका रूपमा साहित्यलाई ग्रहण गर्ने दृष्टिकोण अझै पनि हावी छ, प्रभावकारी छ । तर, पासका सिर्जनामा वैचारिक स्पष्टता अनिवार्य सर्तका रूपमा उभिएका पाइन्छन् । वैचारिक अन्तर्वस्तुले भरिपूर्ण हुन्छन्, उनका सिर्जना । उनका कवितामा विचारधारा ‘बोनम्यारो’ झै अनिवार्य÷अविकल उपस्थित हुन्छन् ।
‘म फलामको आँखाबाट
साथीको मुखुन्डो पहिरेका शत्रुलाई पनि
चिन्न सक्दछु
किनभने, मैले फलाम चपाएको छु
तिमी फलामको कुरा गर्छौ ।’
प्रख्यात भारतीय माक्र्सवादी समालोचक डा. नामवर सिंह, जसले केही समयपूर्व मृत्युवरण गरे, ले पासलाई एउटा उपमा दिएका थिए– ‘पन्जाबका लोर्का ।’ स्पेनका जनकवि फेडेरिक गार्सिया लोर्काले पनि पासको जस्तै नियति बेहोर्नुपरेको थियो । सामाजिक न्याय, समानताको पक्ष र मानवीय असंवेदनशीलता र उत्पीडनविरुद्ध उभिएकै कारण शासकहरूको क्रुरताको सिकार बनेका थिए, लोर्का । बीसौं शताब्दीका महान कवि थिए, उनी । जसको लेखन उचाइ विश्व साहित्यमा बर्तोल्त बे्रख्तजत्तिकै छ । सन् १९३६ मा जनरल फ्रान्कोको निर्देशमा दक्षिणपन्थी शक्तिद्वारा हत्या गरिएका लोर्का र पासले असमयमै जीवन गुमाएका थिए ।
कुनै पनि देशको राज्यसत्ताले आफ्नो व्यवस्था वा सत्ताविरुद्ध साहित्यलाई पाठ्यक्रममा समेट्न चाहँदैन । थाहा हुँदाहुँदै खुट्टामा बन्चरो हान्ने चाहना कुनचाहिँ शासकलाई हुन्छ होला र ? तर, पासको कविता भने जतिसुकै क्रान्तिकारी भए पनि, उनको सिर्जनामा नक्सलवाडी आन्दोलनको तिखो गन्ध आए पनि कैयांै विश्वविद्यालयहरूका पाठ्यक्रममा राखिएका छन्, उनका सिर्जना । सन् १९७४ मा जेलमा रहँदा लेका उनको ‘उद्दडे बाजां मगर’ संग्रहभित्रका कविताहरू पाठ्यक्रममा समेटिएका छन् । त्यो संग्रहको एउटा चर्चित कविता थियो– ‘हामी लड्नेछौं साथी ।’ त्यही कविताका केही अंश–
‘हामी लड्नेछौं
किनकि, नलडीकन हामीलाई केही पनि मिल्दैन
हामी लड्नेछौं
किनकि अहिलेसम्म हामी लडेनौं
हामी लड्नेछौं
आफ्नो सजाय स्विकार्नका लागि
लड्दा मृत्युवरण गर्नेहरूका सम्झनालाई
जीवित राख्नका लागि
हामी लड्नेछौं साथी ।’
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply