फर्केला स्वर्णकाल ?
पछिल्लो समय, नेपाली पप–संगीत क्षेत्रमा गहिरो शून्यता छाउन पुगेको छ । यो शून्यतालाई चिरेर पूर्ववर्ती साख फर्काउने प्रयत्न अझै हुन सकेको छैन । कुनै समय नेपाली गीत–संगीतको शीर्ष स्थानमा रहेको र लाखौं युवाको अभिरुचिसँग सन्निकट पप–संगीत किन सुस्ताउन पुग्यो ? पप–संगीत क्षेत्रमा गहन सुन्यता उब्जिनु, छाउनुको वस्तुगत कारण र अर्थहरू के हुन सक्छन् ?
वर्तमानमा पप–संगीतप्रति यस्ता अनेकन् प्रश्न उठिरहेका बेला पप–संगीतका दुई धरोहर नवीन भट्टराई र दीपेशकिशोर भट्टराईले यस्ता प्रश्नहरूको यथोचित जवाफ दिन चाहेका छन्– मुर्झाएको नेपाली पप–संगीत बौरिन सक्छ फेरि । केही दिनपूर्व ती दुई युवा धरोहरले दिएको बेजोड प्रस्तुतिले पप–संगीतप्रति युवा पंक्तिको अभिरुचि, उत्साह र लगाव यथावत् छन् भन्ने देखाएको छ । नवीन–दीपेशलाई एउटै मञ्चमा उभ्याउने तत्परता देखाएको थियो, फ्रेन्डस अफ लाजिम्पाटले । यी दुई युवा धरोहरले पहिलोपटक एउटै मञ्चमा प्रस्तुति दिएका थिए, जसलाई सांयोगिक र सुखद मान्नुपर्छ ।
नवीन र दीपेश, दुवैका गायन शैली पृथक, पृथक छन् । तर दुवै प्रतिभाले युवा पुस्तालाई लक्षित गर्दै आएका छन्, आफ्नो गायनमा । लामो समयदेखि । पचासको दशकदेखि नै नेपाली पप–संगीतमा चम्किन थालेका नवीन–दीपेशले नेपाली पप–संगीतको त्यो उर्वर र स्वर्ण कालमा नै तमाम युवाहरूका भावना र धड्कनलाई समातिसकेका थिए । युवा पंक्तिमा व्याप्त प्रेम–प्रसंग, प्रणय–गाथा र विछोडका कथालाई उनीहरूले आफ्नो संगीतमा ढालेका थिए । युवा पिढीले आफ्नो दैनन्दिन जीवनमा भोगिरहेका÷झेलिरहेका दुःख, सुख, संकट, बेचैनी, अपेक्षा आदिलाई उनीहरूले सुन्दर शब्द, लय र गायनमा समेटेका थिए र उनीहरू पप–संगीतको क्षितिजमा कुनै प्रखर नक्षत्रझैं चम्किन पुगे र नेपाली पप–संगीतले पनि अपेक्षाकृत रूपमा नयाँ उचाइ ग्रहण गर्दै गयो । अझै पनि नवीन–दीपेश लगायत नेपाली पप–संगीतमा आफ्नो सिर्जना, सीप र समय अर्पेका अरू प्रतिभाहरूका ‘क्रेजु सकिसकेको छैन । पुराना–नयाँ, दुवै सिर्जना अझै रुचिकर नै छन् ।
निःसन्देह, पचासको दशकलाई नेपाली पप–संगीतको स्वर्ण–दशक मान्न सकिन्छ । नवीन–दीपेश पनि त्यही दशकका उपज हुन् । त्यही दशकले उठाएका प्रतिभा हुन् । महानगरमा परिणत हुँदै गएको काठमाडौैंदेखि देशका ठूला–साना सहरका प्रतिभाहरूले पप–संगीतको गोरेटोलाई त्यही दशकमा नै पछ्याए । पोखरा, धरान, बनेपालगायत सहरका युवा पुस्ताले अनेक व्यान्ड नै खडा गरेर पप–संगीतमा आफूलाई भिजाए, व्यस्त बनाए । ती सहरहरूबाट यस्ता सक्रिय, क्रियाशील, सिर्जनशील व्यान्डहरू जन्मिए, जसले पप–संगीतको सिर्जनात्मक धरातललाई उच्च र समृद्ध तुल्याउन यथेष्ट भूमिका निर्वाह ग¥यो । र, पप–संगीतलाई नेपाली संगीतको एक अनिवार्य र अपरिहार्य अंगको रूपमा स्वीकार्ने परिस्थिति जन्मियो ।
त्यो उभार, त्यो उत्साहले अपेक्षाकृत रूपमा निरन्तरता पाउन सकेन । पप–संगीतमा समर्पित युवा पुस्ताले त्यो सिर्जनात्मक क्षेत्रलाई निरन्तरता दिन नसक्नुमा संगीतले व्यावसायिकता ग्रहण गर्न नसक्नु नै मुख्य कारण रह्यो । व्यावसायिकताको अभाव देखिँदै जाँदा उत्साहपूर्वक पप–संगीतमा लागेका युवा पुस्ताले पलायनको दिशा समाते । आफूलाई पप–संगीतमा टिकाउन चाहनेहरूले संगीतसम्बद्ध पेसामा हात नहालेका होइनन् । म्युजिक पसल, स्टुडियोहरू स्थापना गरे । कतिपयले विद्यालयहरूमा संगीत प्रशिक्षकका रूपमा काम गरे । तर, यति मात्र पर्याप्त थिएन, प्रतिभालाई टिकाउन । कसैले अरू पेसा÷क्षेत्र रोजे, कतिपय पप–गायकहरू विदेशतिर पलायन भए ।
पप–संगीतबाहेक आधुनिक, लोकदोहोरी क्षेत्रमा जमेका साधकहरूले आफूलाई कुनै न कुनै रूपमा टिकाए । विदेशहरूमा कन्सर्ट, देशका विभिन्न भूभागहरूमा हुने महोत्सवहरूमा प्रस्तुति दिएर कतिपय गायक÷गायिकाहरूले आफूलाई आर्थिक समस्याबाट मुक्त तुल्याउने प्रयत्न गरे र केही हदसम्म सफल पनि भए । संगीतलाई व्यवसायीकरण गरेर आफूलाई टिकाए । तर, पप–संगीतमा जमेका अधिकांश ब्यान्डहरू भने छिन्नभिन्न हुन पुगे र पप–संगीतले लिइरहेको गतिशीलता कम हुँदै गयो ।
पछिल्लो समय, कुनै समय पप–संगीतमा चम्किएर सुस्ताएका साधक÷व्यान्डहरू पुरानै लय समातेर फर्किन चाहेका छन् । केही नयाँ सिर्जना बाहिर ल्याएका पनि छन् । तर, एकपटक टुटिसकेको लयलाई समात्न भने अथक मिहिनेत र साधनाको बढी नै आवश्यकताबोध हुन्छ । आफ्नै आवाजको पहिचान बनाएका साधकहरूले त्यो पहिचानलाई पुनः फर्काउन पूर्ववर्ति समयका भन्दा अझ कठिन साधना गर्नु अनिवार्य देखिन्छ । र, अझै पनि संगीत साधकहरूले पप–संगीतमा निपूणता, निखारता ल्याउँदै टुटेको निरन्तरताको कडीलाई पुनः जोड्ने हो भने पप–संगीतमा स्वर्ण काल फर्किन सक्छ । नवीन–दीपेशलगायत तमाम पप–सर्जकहरूप्रतिको अपेक्षा–रेखा अझै मेटिइसकेको छैन ।
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply