पिर्के संस्कृतिको पिरलो
देश प्रादेशिक संरचनामा गएपछि हरेक प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू पिर्कामाथि उभिने अभ्यासमा लाग्दै आएका छन् । कुनै विशेष अवसर वा कार्यक्रमहरूमा ती जनप्रतिनिधिहरू पिर्कामाथि उभिएर सलाम लिइरहेका दृश्यले सामाजिक सञ्जालहरू भरिन थालेका छन् अचेल । सहज रूपमा पिर्काहरू उपलब्ध हुने ठाउँमा पिर्काले नै काम चलाइरहेका देखिन्छन् भने नपाइने ठाउँहरूमा भने पिर्काको विकल्पमा अरू उच्च आसनहरूमा उभिएर सलामी ग्रहण गर्ने मोहमा अधिकांश जनप्रतिनिधिहरू क्रियाशील देखिन्छन् । जनप्रतिनिधिहरूमा देखिएको अथाह ‘पिर्का–मोह’लाई लिएर संघीयताको छाला काढ्ने र धज्जी उडाउने कार्य पनि निरन्तर रूपमा भइ नै रहेका छन् ।
जनप्रतिनिधिहरूमा देखिएको अथाह ‘पिर्का–मोह’को पृष्ठभूमिमा अरू कुनै वस्तुगत र तर्कसम्मत कारणहरू देखिँदैनन् । मात्र देखिन्छन्, सामन्तवादी संस्कृतिको बचेखुचेको दृश्यावलोकन । आमनागरिकभन्दा आफूलाई पृथक्, माथिल्लो स्तरका र सुसंस्कृत ठान्ने संस्कृति नै मूलतः सामन्तवादी संस्कृति हो । भन्नेहरू त भनिरहेका छन्, सामन्तवादको अन्त्य भयो र देशमा गणतान्त्रिक सांस्कृतिक मूल्य, मान्यताहरूका बीउ रोपिन थालेका छन् । तर, देशमा गणतन्त्र स्थापना भएको दशक बितिसके पनि सामन्तवादी चिन्तन, मूल्य, मान्यता र अभ्यासहरूबाट आफूलाई अलग तुल्याउन कोही पनि तयार भएका देखिँदैनन् । अझ स्थानीयदेखि संघीय तहसम्मै शक्तिमा रहेकाहरूले त सामन्तवादी संस्कार र संस्कृतिलाई अझ सुदृढ तुल्याउनमा नै आफूलाई संलग्न तुल्याउँदै आइरहेका उदाहरण यस्ता दृश्य÷परिदृश्यहरूबाट स्पष्टै हुन्छन् ।
‘पिर्के संस्कृति’ले सामन्तवादी चरित्र र चिन्तनलाई बढावा दिन अहं भूमिका खेल्दै आइरहेको स्पष्टै छ । यसले पञ्चायतकालीन समयको समेत गहन झल्को दिन्छ । पञ्चायतकालमा शासन–व्यवस्थाका केन्द्रमा रहेकाहरू उच्च आसनमा बस्न चाहन्थे । त्यो उनीहरूका रुचि नभएर तत्कालीन व्यवस्थाले निर्धारण गरिदिएको ‘आसन’ थियो । अर्थात्, जो व्यवस्थाको केन्द्रबिन्दुमा छन्, उनीहरू उच्च आसनमा नै बस्नुपर्दछ भन्ने मान्यताद्वारा निर्देशित रहेको थियो । शासक वर्ग र जनवर्गबीच अन्तर देखाउने र त्यही आधारमा नै ‘राजनीति’ गर्ने सामन्तवादी मूल्य, मान्यताको परिधिबीच नै यस्ता कर्महरू रचिएका थिए । यस्तो कर्मले पञ्चायती व्यवस्थालाई तीन दशकसम्म टिकायो पनि । बहुदलीय व्यवस्था स्थापना भएपछि त्यस्तो सांस्कृतिक मूल्य, मान्यतामा केही हदसम्म कटौती भयो । यो खुसीकै विषय थियो । तर, देश गणतन्त्रमा गएपछि भने सामन्तवादी संस्कृतिका अवशेषहरू पुनः जागृत हुँदैछन् । र, पिर्कामाथि बसेरै भए पनि सलाम लिने कार्यमा जनप्रतिनिधिहरू तल्लीन देखिएका छन् ।
निश्चय नै ‘पिर्के संस्कृति’को बढ्दो फैलावटले हाम्रो सामाजिक एवं सांस्कृतिक स्तरको निर्धारणसमेत गर्छ । पिर्कामाथि उभिएर अरूले दिएको सलामी स्विकार्ने संस्कृति पक्कै पनि उच्च र समृद्ध संस्कृतिभित्र पर्दैन । यो त निम्न र दरिद्र कोटीका संस्कृति हुनुका साथै आफूलाई ‘मालिक’ ठान्ने र अरूलाई ‘दास’को कोटीमा राख्ने सामन्तवादी संस्कृतिकै एउटा अभिन्न अंग हो, सोचको परिणाम हो । आफूलाई गणतन्त्रवादी भन्न रुचाउने नेतृत्व गणले यस्तो सामन्तवादी संस्कृतिलाई अँगाल्नुको मुख्य कारण उनीहरूमा रहेको सामन्तवादी चिन्तन र कार्यशैलीको निरन्तरता त हुँदै हो, समाजलाई अझ सामन्ती संस्कृतिको अँध्यारो दुर्गतिर पु¥याउने कार्य पनि हो ।
हाम्रो सामाजिक जीवन र परिदृश्यहरूमा जुन सामन्ती सांस्कृतिक मूल्य वर्षौंदेखि मौजुद रहँदै आएको छ, एक हिसाबले त्यो सत्ताधारी बुर्जुवा वर्ग र साम्राज्यवादी शक्तिहरूका लागि एकदमै उपयुक्त छ । किनभने, ती शक्तिहरूले सामन्ती सांस्कृतिक मूल्यहरूलाई अपनाएर नै आफ्नो सांस्कृतिक यन्त्रहरूलाई सुदृढ तुल्याइरहेका छन् । उनीहरूले जनपंक्तिमा निहित तर्कशक्ति र भौतिकवादी मूल्य, मान्यताहरूलाई मेटेर त्यसका ठाउँमा अन्धविश्वास, रुढिवाद, रहस्यवादलाई टेको लगाउने काम गरिरहेका छन् । उनीहरूले आफ्नो सत्ता टिकाउन र शक्तिकेन्द्रमा रहिरहन यस्ता माध्यमहरू अपनाउँदै आएका थिए । विगतका अधिकांश शासक वर्गले सामन्ती सांस्कृतिक मूल्यहरूलाई जीवितै राख्न गरेका अथक प्रयत्नका पृष्ठभूमिमा यिनै कारणहरू जोडिएका थिए ।
तर, पछिल्लो समय भने देशले राजनीतिक रूपमा नयाँ मूल्य, मान्यताहरू अंगीकार गर्दै समृद्ध गोरेटातिर पाइला चाल्दैछ । यस्तो बेला पुराना र सढेगलेका सांस्कृतिक मूल्यहरूमाथि इरेजर चलाउनुपर्ने अवस्था छ । तर, समाज र जनपंक्तिलाई दिग्भ्रमित तुल्याउने, पुरानै सांस्कृतिक मूल्यहरूलाई अँगाल्न चाहने संस्कार र परिपाटीबाट आफूलाई अलग तुल्याउन जोकोहीले प्रयत्न गर्नैपर्छ, अझ जनप्रतिनिधिहरूले त यस्ता कार्यमा उदाहरणीय प्रयत्न गर्नु आवश्यक छ । अतः ‘पिर्के संस्कृति’ले सामन्तवादी संस्कृतिलाई मलजल गर्न चाहेको त छ नै, यसले हामीकहाँ बढ्दो नयाँ सांस्कृतिक क्षरणको संकेत पनि गर्छ । ‘पिर्के संस्कृति’लाई बहिष्कार गरेर अगाडि बढ्नुमा नै सबैको भलो छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply