पुँजीवादी विश्वव्यवस्थाको छायामा समाजवादी विचारधारा
विश्वको भूराजनीतिमा सन् १९८९ मा तत्कालीन सोभियत संघको विघटन भई विश्व कम्युनिस्ट प्रणालीले ऐतिहासिक धक्का खाएपछि विश्व एकधु्रवीय पुँजीवादी प्रणालीमा रहेको छ । सोभियत संघको पतनसँगै तत्कालीन सोभियत समूह (वार्सा सन्धि संगठन) समेत विघटन गरिएपछि समाजवादी सत्ता र आन्दोलनमा नै ठूलो धक्का पर्न पुगेको थियो । समाजवादी विचारधारामा आएको संकटबाट भूराजनीतिमा एकल धु्रवीय पुँजीवादी प्रणाली थप बलियो र प्रभावकारी हुँदै आएको छ । तर, पुँजीवादी विश्व व्यवस्थामा अनेकौं प्रकारका सामाजिक, राजनीतिक, आर्थिक तथा अन्य समस्या र विश्वव्यापी एवं संकटहरू आएका छन्, आउँदैछन् ।
पुँजीवादी विश्व व्यवस्थाले धन कमाउने र पैसा बटुल्नेबाहेक केही नसोच्ने भएकाले जसरी पनि वस्तु तथा सेवाको विस्तार गरी व्यक्ति, संस्था र समूहहरू धनी हुने दौडमा लाग्दा सामाजिक समानता, न्याय, आय र पुँजीको समानुपातिक वितरण र व्यवस्था, समान अवसर तथा अधिकार, पछि परेका र पारिएका मानिसको हित र स्वार्थको रक्षा तथा सुरक्षाजस्ता आधारभूत मानवीय पक्षमा ध्यान दिन नसक्नुले विश्वव्यापी असन्तुष्टि र विभेद बढिरहेको छ । जसका कारण विश्वमा अनेकौं प्रकारका सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिक समस्या र द्वन्द्वहरू भइआएका छन् । जस्तोसुकै मानवीय संकट र समस्यामा पनि त्यसबाट पैसा र धन कमाउन पल्केका पुँजीपति र उद्योगी तथा विश्वव्यापी सञ्जाल बनाएर बसेका कर्पाेरेसन र व्यापारिक कम्पनीहरूले जुकाले मानिसको रगत चुसेजसरी मानिस वा उनीहरूको भाषामा ‘बजार’लाई चुस्दै आएका छन् । विश्वमा आएका विभिन्न संकटमा आफ्नो व्यापारिक भविष्य देख्ने परिपाटी र सोच विकास भएका छन् । यो पुँजीवादी विश्व र बजारीकरणको कारण आएका धारणा र मान्यता हुन् । अहिले विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) मा समेत ठूला औषधि उत्पादक, खाद्य उत्पादन, साबुन र अन्य औषधि उत्पादकलगायत विभिन्न प्रकारका विश्व सञ्जाल भएका र बनाएका कम्पनीहरूले थप लुट्न सकिने हतियार र अवसरका रूपमा बुझ्दा समस्याले थप जटिलता निम्त्याएको देखिन्छ । कतिपय सञ्चारमाध्यम तथा व्यवसायी यसैलाई अफवाह वा गलत हल्ला फैलाएर मानिसहरूमा व्यापक त्रासको वातावरण बनाई ग्वाम्मग्वाम्ती धन कमाउने धुनमा लागेका छन् । पुँजीवादी विश्व व्यवस्था र प्रणालीले आम हित र मानिसको भलाइ सोच्न सक्दैन । आफू, आफ्नो जाति, आफ्नो समूह, आफ्नो क्षेत्र, आफ्नो मुलुक, आफ्नो भूगोल तथा आफ्नो व्यापारिक कम्पनीले कसरी बढी मुनाफा कमाउन सक्छ र सक्ने स्थिति हुन्छ त्यो मात्र हेर्ने र केन्द्रीय बन्ने हुँदा विश्वमा विभिन्न प्रकारका सामाजिक र मानवीय समस्या आइरहेका छन् । कतिपय अवस्थामा उनीहरूका धन कमाउने र मानिसलाई लुट्ने चिन्तनका कारण पनि रोग, भाइरस, किटाणु वा प्रविधिको प्रयोग गरी गरिने र फैल्याइने समस्याहरू र अपराधहरू गरिएका छन् र गरिँदैछन् । यो पुँजीवादी व्यवस्था र विश्वव्यवस्थामा आएको परिवर्तनले ल्याएको अर्काे गम्भीर समस्या हो ।
पश्चिमी पुँजीवादी प्रणाली र प्रभाव
अमेरिका र युरोपमा विकास भएको र तिनीहरूले विकास गरेको राजनीतिक दर्शन, मान्यता, विचार, धारणा, विधि, तरिका, व्यवहार, प्रणाली, मूल्य, दर्शन तथा व्यवस्थाको समूहगत र समुच्च नाम र पदावली नै पश्चिमी पुँजीवादी प्रणाली र विश्वव्यवस्था हो । जसमा व्यक्तिगत स्वतन्त्रता र अधिकारको नारा र नाममा वा मान्यतामा व्यक्ति, समूह, कम्पनी वा जुनसुकै प्रकारको व्यक्तिले आफ्नो हितका लागि उनीहरूले व्याख्या गरेबमोजिमको कार्य गरी आफू धनी बन्ने वा लाभ पाउने वा आफ्ना निजी हितको सुरक्षा र रक्षा गरी अघि बढ्ने पूर्ण स्वतन्त्रता हुन्छ र रहन्छ भनिन्छ । यस्तो पुँजीवादी विश्व व्यवस्था र राजनीतिक, आर्थिक तथा सांस्कृतिक प्रणालीका कारण विश्वमा केही सय मानिसको सम्पत्ति विश्वका सात अरब जनताको बराबरभन्दा पनि बढी भएको देखिन्छ ।
अर्काेतर्फ त्यस्ता पुँजीवादी र उद्योगी वा व्यवसायी कम्पनीको हातमा विश्वको भूराजनीति र अर्थराजनीतिको सम्पूर्ण संयन्त्रको साँचो र चाबी रहेको छ । अर्थात् त्यस्ता पुँजीवादी कम्पनीले चाहेको शासन, प्रणाली वा व्यवस्था मात्र विश्वमा टिक्ने स्थिति बन्दैछ । चीनको समाजवादी गणतन्त्र पनि पश्चिमा र विश्वका ठूला कम्पनीको हितमै चलेको छ । चीनसँग वा चीनमा उनीहरूको व्यापार छ र व्यापारिक सम्बन्ध रहेको छ वा बजार छ आदि कारणले मात्र उनीहरू त्यहाँको समाजवादी प्रणालीलाई चुपचाप सहेर बसेका छन् वा स्वीकारेका छन् वा कम महŒव दिएका छन् । पुँजीवादी प्रणाली र विश्व व्यवस्थाले व्यापार र आफ्नो नाफा सिवाय केही हेर्न र सोच्न सक्दैन र सकेन । उनीहरूले मानवीय संवेदनशीलता नै गुमाइसकेका छन् । जहाँ सुकै र जस्तोसुकै ठूला मानवीय संकट र समस्या हुन् वा भइरहून् कुनै मतलबको विषय भएन । त्यहाँ व्यापार, बजार र नाफा छ भने केही थोरै संवेदना देखाउने नत्र पूरै बेवास्ता गरी दिने पुँजीवादी सोच र चिन्तनका कारण नेपालजस्ता मुलुकमा समेत विभिन्न सामाजिक र मानवीय समस्याहरू आइरहेका छन् ।
पुँजीवादी छायामा समाजवादी विचारधारा
विश्व पुँजीवादी प्रणाली र विश्वव्यवस्थामा आएको परिवर्तन र एकल धु्रवीय विश्व व्यवस्थाका कारण विश्वमा पश्चिमा विचारधारा, मान्यता, विचार, मूल्य, व्यवस्था, प्रणाली आदिको बोलवाला छ । जुनसुकै पेसा र व्यवसाय गरे पनि आफू धनी हुने मात्र सोच्ने तरिकाको विकास र विस्तारले व्यापकता पाएका कारण समाजावादी र सार्वजनिक हित तथा मानवीय मूल्य भन्ने कुरा हराएको छ । सन् १९८९ मा सोभियत संघ ढलेसँगै समाजवादी विचारधारामा संकट आएको कारण पनि पुँजीवादी विचारधारा र मान्यताले विश्वमा बढी स्थान पाएको देखिन्छ । पुँजीवादी विश्वव्यवस्थाको कारण विश्व बजारमा मानिस बिक्रीको साधन भएका छन् । दास प्रथा र कमाराकमारी प्रथा र व्यवस्थालाई विश्वव्यापी रूपमा गैरकानुनी भनिएको भए पनि कम्पनी तथा उद्योगहरूमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय ठेकेदार र दलाल कम्पनीहरूमार्फत श्रमिक तथा नोकरहरू बिक्री गर्ने गरिएका छन् । वैदेशिक वा आन्तरिक रोजगारीका नाममा यसरी मानवीय र श्रमशक्तिलाई ठेक्का र दलाली प्रथाबाट सञ्चालित गर्ने तरिकाले मानिसहरू बाँधा मजदुरजस्ता भएका छन् र गरिएका छन् ।
ज्याला, सुविधा, सेवा, सामाजिक सुरक्षा, सहुलियत, पेन्सन, सुरक्षाजस्ता कुरा अब किताबमा मात्र पाइने कुुरा र विषय भएका छन् र बनाइएका छन् । निश्चित करार र ठेकेदारी वा दलाली वा बीचमा बसी श्रम उपलब्ध गराउने एजेन्टमार्फत नै सबै काम हुने भएकाले सीधै मालिक वा उद्योगी वा पुँजीपतिसँग श्रमिकले केही पनि माग्न वा भन्न वा मोलमोलाइ गर्न नसक्ने विधि र तरिका अपनाइएका छन् । यसरी र यो तरिकाले श्रमिक बजारबाट खरिद गर्ने र उद्योग–व्यापार सञ्चालन गर्ने विधि र व्यवहारले गर्दा विश्व बजारमा श्रमिक र सामान्य मानिसको दैनिकी थप कष्टकर बन्दै गएका छन् । सरकार र राज्यले कुनै क्षेत्र र सेवामा प्रत्यक्ष लगानी र व्यवस्थापन नगर्ने र आमनागरिक तथा श्रमिकसँग सम्पर्क नै नगर्ने विश्व पुँजीवादी प्रणालीका कारण मानिस र श्रमिकहरू टुकुचामा जोखेर खसीबोका बिक्री गरेजस्तो गरी बिक्री भइरहेका छन् । यस्तो प्रणालीका कारण हाम्रो राजनीतिक प्रणाली, संवैधानिक प्रबन्ध, राजनीतिक र सामाजिक विचारधारा, समाजवादउन्मुख संविधान, श्रमिक र मजदुर केन्द्रित राजनीतिजस्ता अवधारणा र मान्यता पुँजीवादी विश्वव्यवस्था र प्रणालीको छायामा परेका छन् र थप पर्दैछन् । हाम्रा राजनीतिक दर्शन, मूल्य, विचार, सिद्धान्त तथा संवैधानिक व्यवस्था केवल काला र अमूर्त अक्षरले भरिने पुस्तकका पाना मात्र भएका छन् । यस्तो स्थितिमा समाजवादी प्रणाली, सामाजिक न्याय, समानता, उत्पादनमा सामूहिकता, योजना र आय वितरणमा प्रत्येक नागरिकको भूमिका र सहभागिताजस्ता समाजवादी अर्थतन्त्र र अर्थव्यवस्थाका मूल्य–मान्यताहरू ध्वस्त बनाइएका छन् र बनाइँदैछन्् । नागरिक हित तथा जनताका लागि गरिने राजनीति र दर्शनमाथि नै यस्तो खाले विश्व व्यवस्था तथा प्रणालीका कारण गम्भीर सवाल खडा भएका छन् । नेपाल जस्तो भर्खर संघीय गणतन्त्र लागू गरी अघि बढिरहेको मुलुक र राजनीतिक प्रणालीले यस्ता समस्याबाट पाठ सिक्दै सचेत बन्नुपर्ने अवस्था देखिन्छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply