महानायक ः घातक–घोषणा
नेपाली चलचित्र क्षेत्रसँग सम्बद्ध कलाकर्मीहरू कहिलेकाहीं अर्थहीन बहसमा अल्झिने गर्छन् । केही समयपूर्व, कुनै समय नेपाली रजतपटमा चम्किएका नायक भुवन केसी र नयाँ पुस्ताकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहबीच दोहोरो जुहारी चलेको थियो । नायिका शाहले आफूमाथि केसीले ‘यौन दुव्र्यवहार’ गरेको प्रसंग उप्काएपछि नेपाली चलचित्र क्षेत्रको एउटा कुरूप तस्बिर सतहमा आएको थियो । तर, केही दिनसम्म पीडित–पीडकबीच जुहारी चलेपछि अचेल त्यो प्रसंग सेलाउन पुगेको छ ।
तर, फेरि अर्को अर्थहीन बहस चल्यो । त्यो थियो– महानायकको । प्रख्यात नायक राजेश हमाललाई कुनै पंक्ति वा कित्ताले ‘महानायक’ को उपाधि दिएपछि प्रारम्भ भएको बहस अझै टुंगिएको छैन । हमालले ‘महानायक’ को उपाधि पाएपछि कलाकर्मीहरूबीच नै छिनाझप्टी प्रारम्भ भयो । हास्य–टेलिसिरियल हुँदै पछिल्ला वर्षहरूमा हास्य–चलचित्रहरू निर्माण गरेर व्यावसायिक सफलता बटुल्दै आएको दीपकराज गिरी–दीपा निरौलाको जोडीले प्रतिवादको भाषा बोले । उनीहरूको मत थियो– हमाललाई महानायक भन्ने आधार छैन ।
कुन कित्ताले, के कस्तो स्वार्थ–हेतु हमाललाई ‘महानायक’ को पगरी भिराइदियो । उनलाई ‘महानायक’ को पगरी भिराउनु हुन्थ्यो वा हुन्न ? वा, उनी त्यो पगरी थेग्ने हैसियत र उचाइ भएका व्यक्तित्व हुन् वा होइनन् ? यस्ता प्रश्नहरू उब्जिएका छन् । मूलतः यतिबेला चलचित्र क्षेत्रमै क्रियाशील कलाकार र पंक्तिबाट हमालले पाएको ‘महानायकत्व’ को पगरी थुत्ने प्रयत्न जारी छ ।
कुनै समय नेपाली चलचित्रमा एकछत्र रजाइँ गरेका हमाललाई यतिखेर ‘महानायक’ का रूपमा उभ्याउनुअघि केही प्रश्नको निरूपण गर्न पक्कै पनि जरुरी देखिन्छन् । निश्चय नै, पचासको दशकमा नेपाली चलचित्र क्षेत्रमा हमालको उपस्थिति निकै प्रभावकारी र लगभग एकलौटीजस्तै थियो । निर्माता–निर्देशकहरू उनलाई आफ्नो चलचित्रमा अभिनय गराउने निकै लालायित देखिन्थे । हमालद्वारा अभिनित चलचित्रमा लगानी गर्ने निर्माताहरूको पैसा डुब्ने सम्भावना पनि निकै कम हुन्थ्यो । एक हिसाबले तत्कालीन समयमा उनको विकल्प नै देखिँदैनथ्यो । तत्कालीन समयमा व्यावसायिक प्रयोजन–हेतु निर्मित चलचित्रहरूमा हमालले बाजी नै मारेका थिए भन्दा अत्युक्ति नहोला ।
समय क्रूर हुन्छ । कुनै समय आफ्नो क्षेत्रमा चमक छर्नेहरूलाई एउटा निश्चित अवधिपश्चात् त्यही समयले बेवास्ता गर्छ र नजानिँदो तरिकाले किनारतिर धकेलिदिन्छ । साठीको दशक आउँदा–नआउँदै हमालको ‘क्रेज’ लाई नेपाली चलचित्र क्षेत्रले अस्वीकार गर्न थाल्यो । उनको स्थान नयाँ पुस्ताका कलाकर्मीहरूले लिन थाले । रजतपटमा उनको चम्काइ बिस्तारै धूमिल हुँदै गयो र पछिल्लो पुस्ताले त उनलाई स्मरण गर्ने आधार नै मेटिँदै गएका छन् ।
उनी प्रभावकारी चलचित्र–अभिनयबाट टाढिएको डेढ दशकभन्दा लामो समय बितिसकेको छ । बढ्दो उमेरसँगै नायकको भूमिका उनलाई स्वीकार्य नहोला तर चलचित्र क्षेत्रमा कुनै न कुनै भूमिकामा अडिन सक्थे उनी । तर, पछिल्लो समयमा त्यस्तो अवसर पनि पाएनन् उनले । न कुनै निर्माता–निर्देशकले उनलाई सुहाउँदो भूमिकाअनुरूप नै चलचित्र बनाउन चाहे, न त हमालले पनि चलचित्र–अभिनयमा निरन्तरता नै दिन सके । बलिउडका चर्चित नायक अमिताभ बच्चनले ‘हिरो’ बन्ने उमेर उहिल्यै पार गरिसकेका हुन् । तर, जीवनको असी दशक टेक्नै लाग्दा पनि बच्चनको ‘हिरोगिरी’ यथावत् नै छ, बलिउडमा । उनको ‘क्रेज’ मा अझै कमी आइसकेको छैन । उनको उमेर–सुहाउँदो भूमिका दिन बलिउडका सिनेकर्मीहरू अझै लालायित देखिन्छन् । त्यसको पछिल्लो उदाहरण उनले अभिनय गरेको चलचित्र ‘गुलाबो सितारो’ नै हुन् । हिन्दी चलचित्र जगत्मा बच्चन ‘महानायक’ बन्नुमा चलचित्र क्षेत्रप्रति उनको निरन्तरता र तीव्र लगावलाई प्रमुख आधार मान्नुपर्छ ।
तर, हाम्रा ‘महानायक’ चलचित्र क्षेत्रबाट विमुख भएको केही वर्ष बितिसकेका छन् । पछिल्लो समय उनले अभिनय गरेका चलचित्रहरू पनि दर्शकको नजरमा परेका छैनन् । सदाबहार नायक बन्ने उचाइँ लिँदै गए पनि उनी पटक–पटक चुक्दै गए । अहिलेसम्म पनि उनी रजतपटमा चम्किरहेका भए कसैले ‘महानायक’ को उपाधि दिँदा कोही मानिस वा समूह प्रतिवाद गर्न अग्रसर हुँदैनथे, सायद ।
एउटा यस्तो समय पनि थियो, कसैलाई उपाधि दिँदा सत्ता वा कुनै समूहको स्वार्थ प्रत्यक्ष रूपमा गाँसिएको हुन्थ्यो । पञ्चायतकालीन समयमा कुनै साहित्यकार वा कलाकारलाई कुन उपाधिले सुशोभित तुल्याउने भन्नेमा दरबारकै अहं भूमिका रहन्थ्यो । तत्कालीन समयमा सत्ताको भक्तिगानमा निमग्न अधिकांश स्रष्टा र कलाकर्मीहरूलाई तत्कालीन व्यवस्थाले यति धेरै उपाधि दिएर सिँगारपटार ग¥यो कि अब नेपालमा अरू कुनै पनि स्रष्टा वा कलाकर्मीहरू जन्मिँदैनन् । कसैलाई स्वरसम्राटको उपाधि दिइयो भने कसैलाई संगीतसम्राटको । साहित्य क्षेत्रमा त सत्ताको गुनगानमा सिर्जना अर्पिनेहरू प्रायः सबैले एउटा न एउटा उपाधि पाए । भएभरका उपाधिहरू त्यही समय नै वितरण गर्ने काम गरियो ।
यस्तो विकृतिको जरा बहुदलीय व्यवस्था स्थापना भएपछि र पछिल्लो समय गणतन्त्र स्थापना भएपश्चात् पनि खुम्चिएनन् । कसैलाई उपाधिले विभूषित तुल्याउन कुनै न कुनै समूह क्रियाशील देखिँदै आएका छन् । सिंगो जनपंक्तिले भन्दा पनि एउटा स्वार्थी समूहले कसैलाई कुनै उपाधि गुथिदिएर आफ्नो स्वार्थीपूर्ति गर्ने क्रम रोकिएको छैन । पछिल्लो समय, राजेश हमाल पनि त्यस्तै समूहको सिकार बन्न पुगेकामा दुईमत देखिँदैन । उनलाई ‘महानायक’ घोषणा गर्ने हतार गर्नु उनी स्वयं र नेपाली चलचित्र क्षेत्रका निम्ति समेत घातक देखिन्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply