साम्राज्ञीले औंल्याएको दाग
के नेपाली समाजका महिलाहरूमा मौनता तोड्ने साहस पलाउँदै गएको हो ? पछिल्लो पुस्ताकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले विगतमा आफूमाथि भएको यौन–दुव्र्यवहारबारे खुलस्त अभिव्यक्ति दिन थालेपछि यस्तो प्रश्न स्वाभाविक रूपमा उठ्न पुगेको छ ।
कोभिड–१९ को कहरले नेपाली सिने जगत् सुनसान रहे पनि साम्राज्ञीले नायक भुवन केसीमाथि यौन–दुव्र्यवहारको आरोप लगाएपछि सिने जगत् केही गर्माएको छ । यो प्रकरण अघिल्लो पुस्ताको नायक र पछिल्लो पुस्ताकी नायिकाबीचको दोषारोपण र बचाउबीच नेपाली सिने क्षेत्रलाई तताउने तातो मसला बन्न पुगेको छ । दुवैबीच चम्किएको आरोप–प्रत्यारोपले नेपाली सिने क्षेत्रमा व्याप्त पर्दाभित्रको खेलबारे धेरै कुरा सतहमा तैरिएका छन् ।
अहिले साम्राज्ञीको अभिव्यक्ति र कदमलाई लिएर उनको प्रशंसा गर्ने एउटा पंक्ति देखिएका छन् । यसलाई नेपाली सिने क्षेत्रका नायिकाहरूमा पलाउन थालेको जागरुकताका रूपमा समेत अथ्र्याउन थालिएको छ । यस्तो जागरुकताको पृष्ठभूमिमा केही वर्षपूर्व अमेरिकाबाट प्रारम्भ भएको अभियान ‘मिटु’ प्रत्यक्ष÷परोक्ष रूपमा गाँसिएका छन् । सिनेमालगायत अरू पेसा–व्यवसायमा आबद्ध महिलामाथि हुने यौन–दुव्र्यवहार र हतोत्साहीका घटना÷प्रसंगलाई केही जागरुक महिलाले मुद्दा बनाए । आफूमाथि भएका यौन–दुव्र्यवहार, अपिल र हतोत्साहीका घटनाहरूलाई गोप्य राख्नुपर्ने आवश्यकता कतिपय महिलाहरूले उचित देखेनन् । र, पूर्ववर्ती सामाजिक मानकका पर्खाललाई भत्काएर उनीहरूले त्यसलाई सार्वजनिक बहसको विषय बनाउन आवश्यक ठाने ।
खासगरी सिने क्षेत्रमा कार्यरत महिलाहरूले आफूले विगतमा भोगेका यौन–दुव्र्यवहारका घटनालाई सतहमा ल्याए । हुन त ‘मिटु’ ले विश्वव्यापी कदम उठाउन थाल्नुपूर्व यदाकदा यौन–दुव्र्यवहारका प्रसंग बाहिर नआएका भने होइनन् । बलिउडका स्थापित कलाकार नाना पाटेकरमाथि नायिका तनुश्री दत्ताले खुलेरै यौन–दुव्र्यवहारको आरोप लगाएकी थिइन् । यो प्रकरणमा पाटेकरले आफ्नो बचाउमा सम्पूर्ण ऊर्जा खर्चिनुपरेको थियो । बलिउड मात्र होइन, संसारका अरू फिल्म–उद्योगमा समेत यौन–दुव्र्यवहारका यस्ता घटना–सन्दर्भहरू बेलाबखत बाहिर आइरहन्छन् । पछिल्लो समय नेपाली नायिका साम्राज्ञीले आफूमाथिको यौन–दुव्र्यवहारको प्रसंग कोट्याएपछि भने नेपाली सिने क्षेत्र पनि यो प्रकरणबाट अछुतो नरहेको स्पष्ट बोध हुन पुगेको छ । धमिराले त हाम्रै खाँबोलाई पनि बाँकी राखेका रहेनछन् भन्ने ज्ञात भयो ।
के कुनै महिलाले आफूमाथि भएको यौन–दुव्र्यवहार वा यौनसँग जोडिएका घटनाहरूबारे मौनता तोड्नु उचित छ ? के यसले महिलाप्रति समाजले हेर्ने दृष्टिकोण बदलिएला वा उनीहरूप्रति सम्मानभाव जागृत होला ? निश्चय नै यस्तो जागरुकताले महिलाहरूलाई रक्षात्मक तुल्याउन केही हदसम्म भूमिका खेल्छ नै । महिलाहरूले साहसी र आँटिलीको विशेषण पनि पाउनेछन् । साथै, पुरुषहरूलाई पनि यौन–दुव्र्यवहारका घटनामा मुछिँदा आफ्नो सामाजिक, पारिवारिक र नैतिक धरातल खस्किने भयले नअँठ्याउने त प्रश्नै भएन । पुरुषहरूले कुनै महिलामाथि यौन–दुव्र्यवहार गर्नुअघि पूर्ववर्ती समयमा जति स्वच्छन्द, निर्भीक र खुला हुने साहस गर्थे, त्यसमा कुण्ठित हुनुपर्ने र एक किसिमको नैतिक बन्धनमा बाँधिनुपर्ने अवस्थामा पुग्ने निश्चितै रहन्छ ।
सिने क्षेत्र अनेक विकृतिले व्याप्त छ । स्थापित हुनैका निम्ति महिला कलाकारहरू आफ्नो नैतिकताको धरातलबाट डगमगाउने थुप्रै दृष्टान्त नभएका होइनन् । ‘करिअर’का माथिल्ला सिँढीहरू उक्लिने लालसामा यौन–सम्बन्धलाई अनैतिक मान्न छाडिएका छन् । हुन त अरू क्षेत्रमा भन्दा कम संघर्ष गर्नुपर्दैन, कला क्षेत्रमा जम्न । प्रायजसो सिनेमाका नवप्रवेशीहरूले यौन–दुव्र्यवहार र उत्पीडनका सिकार झेल्नुपरेका हुन्छन् । सिनेमामा अभिनय गर्ने लोभले नैतिक बन्धनलाई तोड्ने कार्यमा कतिपय महिला कलाकारहरू नै अग्रसर नहुने होइनन् । कला बेच्नुअघि आफ्नो सुन्दरतालाई बेचेर स्थापित हुने होडबाजीबाट नेपाली सिने क्षेत्रका कलाकारहरू मुक्त छैनन् । साम्राज्ञीहरूले झेल्नुपरेको यौन–दुव्र्यवहारका घटना यस्तै शृंखला÷उपशृंखलाले उब्जाएका गलत पक्षहरू हुन् ।
कटु यथार्थ के हो भने कतिपय निर्देशकहरूले त निर्माताहरूलाई यसकारण सिनेमा निर्माणमा लगानी गर्न उत्प्रेरित गर्छन्, त्यसमा ‘नायिकाहरूसँगको रोमान्स’को लोभले पनि स्थान पाएका हुन्छन् । पर्दाभित्र केकस्ता खेलहरू हुन्छन् ? यस्ता पक्ष हतपति सतहमा आउँदैनन् । तर, विकृतिलाई गोडमेल गर्ने कार्य भने सिने क्षेत्रमा सम्बद्ध कलाकर्मीहरूबाटै हुनेमा कुनै सन्देह देखिँदैन र त्यसले ढिलोचाँडो साम्राज्ञीहरूलाई मुख खोल्न बाध्य तुल्याउँछ ।
साम्राज्ञीको अस्वीकृतिले नेपाली सिने क्षेत्रमा व्याप्त पुरुषवादी सामन्ती मानसिकता र वर्चस्ववादका आयामहरू उद्घाटित हुन्छन् । समाजमा महिलाहरूप्रति, जुन भोगवादी दृष्टि र मानसिकता पूर्ववर्ती दिनहरूदेखि नै जसरी र जुन रूपमा मौलाउँदै आएका छन्, त्यसले उनीहरूलाई सामाजिक एवं यौनिक उत्पीडनको सिकार बनाउँदै आएका छन् । पितृसत्तात्मक सोच र चिन्तनका साथै उपभोक्तावादी संस्कृतिको बढोत्तरीले महिलालाई झनै असुरक्षित तुल्याउँदै लगिरहेको छ ।
साम्राज्ञीको यौन उत्पीडनको खुलासाले सिने क्षेत्रमा व्याप्त विकृत पक्षलाई उजागर त गरेको छ नै, यसले नेपाली सिने क्षेत्रमा लागेका दागहरूलाई पनि छर्लङ्ग देखाएका छन् । त्यो त्यस्तो दाग हो, जहाँ पुरुषवादी मानसिकता प्रस्टै रूपमा देखिन्छन्, पितृसत्तात्मक चिन्तनका रूपरेखाहरू टड्कारो रूपमा उजागर हुन्छन् । तसर्थ, उनको जागरुकता, आत्मविश्वास र मौनता तोड्ने साहसले नेपाली सिने क्षेत्रमा भरिपूर्ण विकृतिका अंशहरू केही हदसम्म मेटिने अपेक्षा राख्न सकिन्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply