विचारशून्यताको उपज
प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका दिन ‘रामको जन्म चितवनको ठोरी आसपास क्षेत्रमा भएको’ अभिव्यक्ति दिए । उनको अभिव्यक्तिलाई कतिपयले हाँसोठट्टामा उडाए । केही विद्वान्हरूले भने प्रधानमन्त्रीको अभिव्यक्तिलाई थप सिँगारपटार पार्दै रामको जन्मभूमि नेपाल नै रहेको प्रमाणित गर्ने प्रयत्न गरे । प्रधानमन्त्रीको अभिव्यक्ति आएसँगै अयोध्याको नाममा राजनीति गरिरहेको भारतको सत्तारूढ दल भारतीय जनता पार्टीको असन्तुष्टि पोखिनुअगावै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सच्याउने प्रयास गरे । कहिलेकाहीँ ठट्टामजाक गर्ने स्वभावका प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई पनि त्यही तहमा राखेर हेरियो ।
तर, प्रधानमन्त्री आफ्ना अभिव्यक्ति र अडानबाट विचलित भएका रहेनछन् भन्ने तथ्य त्यसपछिका दिनहरूमा झनै उजागर हुँदै गयो । पछिल्लो समय त चितवन, माडीका जनप्रतिनिधिहरूलाई निम्त्याएर सो ठाउँमा आगामी रामनवमीको दिन राम–मन्दिरको शिलान्यास गर्ने र त्यसको तयारीमा जुट्न निर्देशनसमेत दिए । आफ्ना अभिव्यक्तिलाई कार्यान्वयनको तहसम्मै लैजाने प्रधानमन्त्रीको प्रयत्नप्रति विभिन्न टीकाटिप्पणी हुन थालेका छन् । असन्तुष्ट र खुसी हुने पंक्ति पनि छुट्टिएका छन् ।
राम जन्मभूमिको विषयलाई लिएर भारतमा ठूलो विवाद छ । यो विवादले साम्प्रदायिक भीडन्तको स्वरूप पनि लिने गरेका छन्, बेला–बेलामा । खासगरी, हिन्दु अतिवादी पार्टी र संगठनहरूले रामप्रति अथाह श्रद्धा प्रकट गर्नुका साथै रामको नाममा धार्मिक एवं राजनीतिक गतिविधिहरू सञ्चालन गर्दै आएका छन् । वर्तमानमा भारतमा भाजपाले सत्ताको सोपान–यात्रा तय गर्नुमा रामसँग जोडिएको राजनीति नै प्रमुख कारण रहेकोमा कुनै दुईमत छैन । बहुसंख्यक हिन्दु धर्मावलम्बी रहेको देश र समाजमा रामलाई उभ्याएर राजनीति गर्दाका सफलताको स्वाद अहिले सत्तारूढ भाजपाले लिइरहेको छ ।
भारतीय राजनीति र समाजमा रामको महŒवले जुन स्थान प्राप्त गरेको छ, नेपालको सन्दर्भमा भने यो कुनै ठूलो मुद्दा र महŒवको विषय होइन । तर, पछिल्लो समय सरकार–प्रमुखले नै राम नेपालमा जन्मिएको अभिव्यक्ति दिएपछि भने यसले केही हदसम्म तरंग ल्याएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सत्तारूढ दलभित्रैबाट आलोचना र टिप्पणी हुन थालेका छन् भने हिन्दु अतिवादीहरूको ओठमा भने अस्वाभाविक मुस्कान पलाएको छ । आलोचकहरूले त कम्युनिस्ट प्रधानमन्त्रीको रामभक्ति देखेर व्यंग्यसमेत गर्न थालेका छन् ।
ठोरीमा राम–मन्दिर निर्माण गर्ने कुरा यस्तो बेलामा आएको छ, जुन बेला भारतको अयोध्यामा राम–मन्दिर निर्माण गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले शिलान्यास गरेका थिए । हुन त कुन ठाउँमा मन्दिर निर्माण गर्न हुने र कुन ठाउँमा नहुने भन्ने ठूलो विषय होइन । रामको मन्दिर भारत र नेपालबाहेक संसारका अरू मुलुकहरूमा पनि भएका छन् । संसारभरि छरिएका हिन्दु धर्मावलम्बीहरूले अमेरिका, क्यानडा, कम्बोडियाजस्ता मुलुकहरूमा राममन्दिर निर्माण गरेका छन् । मुस्लिम–बाहुल्य मुलुकहरूमा पनि राम–मन्दिर निर्माण नभएका होइनन् ।
तर, प्रधानमन्त्री ओलीले अतीव राम–मोह देखाउनुअघि र राम जन्मभूमिको विषयमा वकालत गर्नुअघि सोच्नुपथ्र्यो, राम–मन्दिर निर्माण गर्दा कसलाई फाइदा पुग्छ ? कुन सम्प्रदाय वा समूहको राजनीति उकास्ने कार्य हुन्छ ? के राम–मन्दिर बनाउँदा कम्युनिस्ट पार्टीको साख अझ माथि उठ्नेछ ? निश्चय नै, राम–मन्दिरमा निर्माण गर्दा फाइदा पुग्ने हिन्दु अतिवादीहरूलाई नै हो र धार्मिक रुढिवादीहरूलाई नै हो । राम–मन्दिर बनाइँदा धर्मका नाममा राजनीति गर्ने, धर्मका आडमा व्यापार चम्काउने समुदायहरूलाई नै प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा फाइदा पुग्नेछ ।
प्रधानमन्त्री ओलीको प्रबल राम–मोहले धर्मनिरपेक्षताको मूल्य र भावप्रति तिखो कटाक्षसमेत गरेको छ । जनताको बलिदानीपूर्ण संघर्षबाट आएको २०७२ सालको संविधानले धर्मनिरपेक्षतालाई स्वीकार गरेको छ । हिन्दु धर्म मान्नेहरू बहुसंख्यामा भए पनि अरू धर्म मान्नेहरू पनि आ–आफ्नै अस्तित्व र धार्मिक पहिचानसहित वर्षौंदेखि बसोबास गर्दै आइरहेका छन्, हामीकहाँ । तर, धर्मनिरपेक्षताको खिल्ली उडाउँदै देशको सरकार–प्रमुखले एउटा धर्मको वकालत गर्नु कत्तिको सुहाउने विषय हो ? राम–मन्दिर निर्माण गर्ने कुरामा ढिपी कस्नु कत्तिको उपयुक्त छ ?
प्रधानमन्त्री ओलीले पक्कै बुझेका हुनुपर्छ, हिन्दु अतिवादीहरूका कारण दक्षिण छिमेकमा बेलाबेला उब्जिने धार्मिक दंगा र त्यसले निम्त्याउने संकट कति भयावह देखिन्छन्, भलै त्यसको हावा नेपालमा नआई उतै बिलाउँछन् । तर, धर्मनिरपेक्षताको भावनाविपरीत कदम चाल्दा हामीकहाँ पनि धार्मिक संकट उत्पन्न नहोला भन्न सकिन्न । त्यसो त भारतीय समाजमा हिन्दु अतिवादीहरूको विरोध गर्ने र धर्मनिरपेक्षताको वकालत गर्नेमा वामपन्थी–कम्युनिस्टहरू अग्रपंक्तिमा रहँदै आएका छन् । भारतीय समाजमा वामपन्थीहरूको आवाज सानै भए पनि खिरिलो चाहिँ अवश्य नै छ । त्यो समाजमा वामपन्थी शक्तिहरू धर्मले फैलाउने विद्वेष, असहिष्णुता र भीडन्तविरुद्ध आवाज उठाइरहेका छन्, लडिरहेका छन् ।
हामीकहाँ चाहिँ वामपन्थी÷कम्युनिस्टहरूले रामलाई काँध थाप्नुपर्ने के त्यस्तो सरोकार उब्जियो ? के यो नेपाली कम्युनिस्टहरूमा देखा परेको विचारशून्यताको उपज हो ? वामपन्थी शक्तिहरूमा पलाउन थालेको धर्मान्धताको नमुना हो ? यस्ता प्रश्नहरूले हामीलाई बिस्तारै घेर्न थालेका छन् ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply