पहिला कला, पछि बिक्रेता
पहिला कला, पछि बिक्रेता । नेपाली सिने, टेलिचलचित्र वा रंगमञ्चमा चम्किएका कलाकर्मीहरू पहिला–पहिला आफ्नो कला बेच्थे । तर, कला बेच्दाबेच्दै उनीहरूका भूमिका बदलिन पुग्यो र अब भने अधिकांश कलाकर्मीहरूले राष्ट्रिय वा बहुर्राष्ट्रिय कम्पनीहरूका मालसामानहरू बेच्न थालेका छन् । यो कुनै आक्षेप होइन, यथार्थ हो– दैनिक उपभोग्यका अनेकन् मालसामानहरूका साथै निर्माणलगायत क्षेत्रमा प्रयोग हुने सामानहरूका बिक्रेता अब कलाकारहरू हुन थालेका छन् । नपत्याए, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई हेर्नुस् वा राजेश हमाललाई हेर्नुस् । वा, अरू चर्चित कलाकर्मीहरूलाई नै हेर्नुस्, उनीहरूले कुनै न कुनै मालसामान बेचाउन समस्त ग्राहकवर्गलाई उत्प्रेरित गरिरहेका हुन्छन् ।
स्वदेशी वा विदेशी उत्पादनहरूका विज्ञापनमा प्रसिद्ध कलाकर्मीहरूको उपस्थिति बाक्लिँदै गइरहेको छ । कतिपय उत्पादक कम्पनीहरूले प्रसिद्ध कलाकर्मीहरूलाई ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेर नै आफ्ना उत्पादनहरूका विज्ञापनमा खेलाउने र व्यापार–प्रवद्र्धनमा उपयोग गर्ने कार्य हुँदै आएको छ । तर, त्यसबापत कलाकर्मीहरूले आकर्षक पारिश्रमिक पनि पाउने गरेका छन् । विज्ञापन गर्ने हैसियत राख्ने कम्पनीहरूले नै त्यस्ता कलाकारहरूलाई चयन गर्ने भएका हुँदा कलाकारहरूले पनि राम्रै पारिश्रमिकको माग र अपेक्षा राख्नु स्वाभाविक पनि हो ।
मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडीलाई कुनै बंैक वा छडको विज्ञापनमा देख्न सकिन्छ र राजेश हमाललाई कुनै फलामे छडको विज्ञापनमा । दीपाश्री निरौलालाई कुनै ज्वेलर्सको विज्ञापनमा देख्न सकिन्छ भने ऋषि र सरिता लामिछाने परिवारलाई कुनै रङको विज्ञापनमा । बैंक वा वित्तीय संस्थाहरू, फलामे छड, सिमेन्ट, रङ, गरगहनालगायत दैनिक उपभोग्यका सामानहरूमा समेत प्रसिद्ध कलाकर्मीहरूले विज्ञापित सामानहरूका सानदार प्रशंसामा आफ्नो कलाकारिता पोखिरहेका भेटिन्छन् । धन्न, विद्युतीय सञ्चारमाध्यमहरूबाट धूमपान र मदिराको विज्ञापन गर्न पाइँदैन । नभए हाम्रा कलाकर्मीहरू यी वस्तुहरूका स्वादमा रमाएका विज्ञापन पनि प्रसारित हुन्थे होलान् ।
निश्चय नै कुनै उत्पादक कम्पनीले आफ्ना उत्पादनहरूका व्यापक बिक्रीलाई पहिलो प्राथमिकतामा राख्ने गर्दछन् । आफ्ना उत्पादनहरूको बिक्रीमा छलाङ ल्याउन हरेक प्रकारका तौरतरिका अपनाउन त्यस्ता कम्पनीहरू तयार हुन्छन् र त्यहीअनुरूपका रणनीति बनाउँछन् पनि । प्रतिस्पर्धी बजारमा जोकोहीले पनि आफू अब्बल हुने चाहना राख्नु स्वाभाविकै हो । बजार–रणनीतिकै एउटा प्रभावशाली पाटो हो– विज्ञापन । एउटा प्रश्न उठ्न सक्छ– उत्पादक कम्पनीहरूले विज्ञापनमा किन कलाक्षेत्रकै चर्चित अनुहारहरूलाई खोज्छन् त ?
जवाफ हाजिर छ– कुनै पनि कम्पनीले आफ्नो उत्पादनको विज्ञापनलाई धेरैभन्दा धेरै प्रभावकारी बनाउन चाहन्छन् । प्रभावकारिताका साथै विज्ञापनमा विश्वसनीयताको लेपन पनि लगाउन चाहन्छन् । प्रभावकारी र विश्वसनीय– यी दुई पक्ष भए भने सामान बेच्न के नै गाह्रो पर्ला र ? त्यसका निम्ति प्रसिद्ध कलाकर्मीहरूलाई विज्ञापनमा खेलाउनु नै पहिलो प्राथमिकता हुन पुग्छ । निश्चय नै, समाजमा कलाकर्मीहरूले राम्रो प्रभाव छाडेका हुन्छन् । कलाकारहरूलाई समाजका सबै तप्काका मानिसहरूले सम्मानित नजरले हेर्छन् पनि । उनीहरूले जे बोल्छन्, जे गर्छन्, त्यसप्रति विश्वसनीय हुने पंक्ति पनि लामै हुन्छन् । यही कारण, प्रसिद्धिको चुलीमा पुगेका कलाकर्मीहरूलाई आफ्ना उत्पादनका विज्ञापनहरूमा खेलाउन उत्पादक कम्पनीहरू तम्तयार रहनु स्वाभाविकै हो ।
प्रसिद्ध कलाकर्मीहरूले विभिन्न सामानका विज्ञापनमा अभिनय गर्दा त्यस्ता उत्पादनहरूका बिक्रीमा प्रभावकारी भूमिका निश्चित रूपमा मिल्छ । राजेश हमालले जुन फलामे छड गुणस्तरीय छ भनेर प्रचार गर्छन्, अरू छडका तुलनामा त्यो छडको बिक्रीमा केही सहयोग नपुग्ला भन्न सकिन्न । मह जोडीले जुन कम्पनीको विज्ञापन गर्छन्, त्यो कम्पनीप्रति आम उपभोक्ताको विश्वसनीयता अझ नचुलिएला भन्न सकिन्न । तर, यस्ता विज्ञापनहरूमा प्रसिद्ध कलाकर्मीहरूले अभिनय गर्दा उत्पादक कम्पनीहरूले मात्र नाफा लिइरहेका हुँदैनन्, कलाकारहरूले पनि फाइदा लिइरहेका हुन्छन् । आर्थिक फाइदा । राष्ट्रिय वा बहुराष्ट्रिय कम्पनीहरूका विज्ञापनहरूमा अभिनय गर्दा कलाकारहरूलाई आर्थिक तनावबाट मुक्त तुल्याउन सहयोगी भूमिका खेल्ने गरेको पक्षलाई पक्कै बिर्सन नमिल्ला । नेपाली कलाक्षेत्रको तीतो यथार्थ के हो भने, अझै पनि विशुद्ध कलाकारिता गरेर घर–व्यवहार चलाउनसक्ने अवस्थामा नेपाली कलाकार र कलाक्षेत्र समृद्ध भइसकेको छैन । सिनेमा, टेलिचलचित्र वा रंगमञ्चमा अभिनय गरेर एकाध कलाकारहरूले आफ्नो आर्थिक गर्जो टार्न सकेका होलान् । तर, बहुसंख्यक कलाकारहरूले भने त्यस्तो अवसर पाइरहेका छैनन् । अझ, कतिपय चर्चित कलाकारहरू त पछिल्लो समय खाली हात बस्नुपरिरहेको अवस्था छ । तसर्थ, कुनै कम्पनीले आफ्नो उत्पादन बेच्न कलाकारहरूलाई प्रयोग गर्नु अत्युक्त नहोला । तर, कलाकारहरूलाई भने केही हदसम्म भए पनि आर्थिक रूपबाट सघाउन यस्ता विज्ञापनहरूले सहयोगी कार्य गरेकोमा कुनै सन्देह छैन ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply