अस्ताए वीरबहादुर लामा
काठमाडौं । तत्कालिन कोअर्डिनेसन केन्द्र, माले हुँदै झापा आन्दोलनका मोर्चामा सहभागी भई पछिल्लो कालमा एमालेमा सक्रिय राजनीति गरेका वीरबहादुर लामाको निधन भएको छ । पुराना कम्युनिस्ट नेता लामा नेपाली राजनीतिमा २०३३ साल चैत १२ गते राति भएकोे ‘नख्खु जेलब्रेक’को घटनाका मुख्य व्यक्तित्व हुन् । लामाको आइतबार पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
राजबन्दीका रूपमा जेल परेपछि नख्खु जेल तोडेर उम्किन सफल तत्कालीन नेकपा एमालेका केन्द्रीय सल्लाहकार, केन्द्रीय कमिटी सदस्य तथा नेपाल लोकतान्त्रिक तामाङ संघका संस्थापक अध्यक्ष रहेका लामाको पार्थिव शरीरमा नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट पार्टीको झन्डा ओढाएका छन् ।
मंगलबार स्वयम्भूस्थित बौद्ध धर्म सेवा संघमा आयोजित एक संक्षिप्त शोेकसभामा नेता नेपालले लामाको निधनले नेपाली कम्युनिस्ट आन्दोलनले एक सादगी र इमानदार व्यक्ति गुमाएको धारणा राखे । स्वर्गीय लामाप्रति अन्तिम श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गर्दै नेता नेपालले लामालाई राज्यले अन्तिम अवस्थामा आएर बेवास्ता गरेको स्विकारे । श्रद्धाञ्जली कार्यक्रममा नेकपाका नेता राजेन्द्र पाण्डे, माधव पौडेल, केन्द्रीय सदस्य निरज आचार्य, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका उपाध्यक्ष पासाङ शेर्पा, सचिव रामचन्द्र बल, नेकपा मकवानपुरका नेता तथा स्वर्गाीय वीरबहादुरका ज्वाइँ जीवन लामालगायत सहभागी भएका थिए । नेपाली राजनीतिक इतिहासमा बेलाबेला चर्चा भइरहने घटना हो, नख्खु जेल ब्रेक । ४४ वर्षअघि नख्खु जेल तोडेर भाग्नेमध्येका एक लामा दुई वर्षदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित थिए । ७० वर्षीय लामाको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनी नियमित डायलासिस गराइरहेका थिए । २०३३ चैत १२ उनीसहित तत्कालीन मालेका महासचिव सीपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, माधव पौडेल, नारद वाग्लेलगायत १५ जना जेल ब्रेक गरी भागेका थिए । तीमध्ये १३ जनाफाखेल मकवानपुर स्थित सलेमले डाँडाको जंगलमा एक महिनासम्म लुकेर बसेका थिए । लामाकै अग्रसरतामा नख्खु जेलमा रातारात सुरुङ खन्ने काम भएको थियो । महासचिव सिपी मैनालीको निर्देशनअनुसार लामा र माधव पौडेलले सुरुङ खन्न थालेपछि अरूले पनि साथ दिएका थिए । लामा रातभर सुरुङ खन्ने काममा खटिन्थे, दिनभर सुत्थे । एक महिनामा ६५ हातलामो सुरुङ खनेपछि त्यहींबाट उनीहरू भागेका थिए ।
आफ्नो विचार हक्कीसाथ राख्ने लामालाई २०३२ वैशाख १९ माअन्तर्राष्ट्रिय मई दिवसका दिन प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो । झापा संघर्षको समर्थन गर्दै राजतन्त्रको विरोध र गणतन्त्रको पक्षमापर्चा छर्ने क्रममाउनी समातिएका थिए । उक्तपर्चा काठमाडौंस्थित नेपाल कोरीया मैत्री संघको कार्यालयमा तयार गरिएको थियो । पक्राउ पर्नुअघि लामा मैत्री संघमा कार्यालय सहयोगीका रूपमा जागिरे थिए । प्रदीप नेपाल, राजेन्द्र पाण्डे, माधव पौडेल, गोपाल शाक्यलगायत मिलेर मुस्लो समूह नामको संगठन खोलेका थिए । त्यही संगठनका नाममा काठमाडौंमा पर्चा छरिएको थियो । पर्चा छरेकै कारण अदालतले लामालाई पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना गरेको थियो । कैद भुक्तानी गर्ने क्रममा नै भद्रगोल जेल हुँदै पौडेल, नेपालसहित लामालाई पनिनख्खु जेल पु¥याइयो । त्यहीँ मैनालीलगायत अरू नेतासँगलामाको भेट भएको थियो । लामाकै अगुवाइमा २०३७ सालमा फाखेलमा बसेको मालेको केन्द्रीय समिति बैठकले क्रान्तिको नयाँ कार्यदिशा पारित गरेको थियो । लामा २०४९ मामकवानपुर जिल्ला विकास समितिका सभापति भए । उनकै पहलमा कुलेखानी, फाखेल–फर्पिङ सडक निर्माण भएको हो । भीमफेदी हुँदै कुलेखानीसम्म १६ किमी सडक विद्युत् प्राधिकरणले निर्माण गरेको थियो । उक्त सडकमा प्राधिकरणबाहेक अन्य सवारी चल्न पाउँदैनथे । लामाको अगुवाइमा उक्त सडक सबैका लागि सहज पारिएको थियो । २०५६ को प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर ३ बाट लामा निर्वाचित भए । जिविस सभापति र सांसद हुँदा पनि उनको आर्थिक जीवनमा कुनै पनि परिवर्तन भएन । आर्थिक अभावकै कारण उपचार गर्नसमेत समस्या भयो । पछिल्लोपटक अस्पता लले बेहोस भएपछि मात्र भर्ना लियो, जुनबेला उनको अवस्था जटिल भइसकेको थियो । परिवारले उपचारमा सहयोग गरिदिन सरकार र विभागीय मन्त्रीसँग अनुनय गरेका थिए । महँगो निजी अस्पतालमा उपचार गर्न आर्थिक हैसियत नभएपछि उनको परिवार सधैं पाटन अस्पतालमा जान्थ्यो । पछिल्लोपटक चारपटक कोरोना नेगेटिभ रिपोर्ट आएपछि मात्र अस्पतालले जटिल स्वास्थ्य अवस्था भन्दै आईसीयूमा भर्ना लियो । अन्ततः आइतबार विहान ४ बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरे । २०६८ माअशोक राईसँगै नेकपा एमाले छाडेर संघीय समाजवादीमा लागेका उनी पछिल्लो समय राजनीतिमा सक्रिय थिएनन् । त्यहाँ पनि सन्तुष्ट हुन नसकेपछि उनी सबै पाटी छाडेर स्वतन्त्र वामका हैसियतामा रहेका थिए । पछिल्लोपटक ‘जीवनको उत्तराद्र्धमा पुरानै पार्टीमा फर्कने मन भएको’ उनका निकटवर्तीहरूसँग उनले बताउदै आएका थिए । सादा जीवन, उच्च विचारका हिमायती उनी इमानदार नेताका रूपमा परिचित थिए । कम्युनिस्ट भएर सुविधाभोगी हुनुहुँदैन भन्ने मान्यता उनको थियो । उनको शव काठमाडौंको स्वयम्भूस्थित गुम्बामा राखिएको छ । रोजगारीका लागि खाडी मुलुक गएका कान्छा छोरा कुन्साङ आएसँगै बुधबार मात्रै उनको लामा परम्पराअनुसार अन्त्येष्टि गरिने कार्यक्रम छ ।
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
- मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply