पार्टीभित्रका समस्याबारे
त्रिलोचन ढकाल
सोमबार बिहान गोपालप्रसाद थपलियाजीसँग फोनमा कुरा भयो । मैले उहाँलाई नमस्कार गरें । उहाँले पनि नमस्कार गर्नुभयो । उहाँले आफू बिरामी भएको र लामो समय अमेरिका गएर उपचार गराएको बताउनुभयो । अहिले केही आराम भएर फर्केको कुरा भन्नुभयो । हाल आफू अनामनगरमा सपरिवार बसिरहेको कुरा पनि बताउनुभयो । तपाईं कहाँ हुनुहुन्छ भनेर मलाई सोध्नुभयो । मैले म स्याङ्जा जिल्लाको आफ्नै गाउँमा गएर बसेको छु भनें ।
पार्टीका जिम्मेवारीबारे पनि कुराकानी भए । उहाँले भन्नुभयो, ‘मलाई कुनै जिम्मेवारी छैन । पहिला सल्लाहकार सचिव बनाएका थिए । अहिले बिल्कुल खाली छु । कसैले वास्ता गर्दैनन् । खोजी पनि गर्दैनन् । बिरामी भनेर बोलाउन आएका पनि छैनन् । लेख्ने गरेको छु । एउटा औंलाको सहाराले लेख्न सक्छु । सवा सयजति कविता लेखेको छु । केही लेखहरू छन् । कथाहरू लेखेको छु । के गर्नु, साहित्यतिर अलि कम आकर्षण छ । पत्रकारिता धेरै गरियो जिन्दगीभरि । मेरा लेखरचनाहरू पनि त्यही पत्रकारिता सँगै सम्बन्धित हुन्छन् ।’
यति भनि सकेपछि मैले उहाँको विगत सम्झेर भनें, ‘तपाईं छलफल पत्रिकाको भारी बोकेर बजारमा हिँड्नुहुन्थ्यो । २०४० सालतिरको कुरा हो, तपाईंहरू नरदेवीमा छलफल पत्रिका चलाउनु हुन्थ्यो । म भूमिगत कार्यकर्ता बिरामी भएर उपचारका निम्ति काठमाडौं गएको थिएँ । तपाईंहरूका डेरामा पार्टीले मलाई राखेको थियो । त्यहाँ उत्तम महत श्रीमतीसहित हुनुहुन्थ्यो । तपाईंसँग पाल्पाका विष्णुप्रभात पनि हुनुहुन्थ्यो । तपाईंहरू दुईजनाले छलफल निकाल्नुहुन्थ्यो र काँधमा छलफलका मुठाहरू बोकेर बजारमा बेच्न गएको मैले देखेको थिएँ ।’
उहाँले भन्नुभयो, ‘त्यतिखेर छलफलजस्तो खुला पत्रिका पनि अवैध जस्तै थियो । पञ्चायतीहरूले त्यसलाई रुचाउँदैनथे । हामीले पञ्चायत र राजतन्त्रका विरोधमा कडा शैलीमा लेख्थ्यौं । पार्टीले हामीलाई कडै लेख्न भन्थ्यो । त्यस्तो लेखाइ भएपछि पञ्चायतीहरूले देख्न सक्ने कुरै भएन । धेरैपटक मरणासन्न हुने गरी कुटाइ खाइयो । जेल परियो । त्यसले गर्दाखेरि अंगभंगजस्तो भएँ । अहिले आराम गरेर बसेको छु ।’
वर्तमान अवस्थाबारे उहाँले भन्नुभयो, ‘हो हामीले चाहेजस्तो भएको छैन । ठीक उल्टो भयो । कम्युनिस्ट शासकहरू पञ्चहरूभन्दा खराब भएका छन् ।’ यस विषयमा उहाँको र मेरो कुरा ठ्याक्कै मिल्न गयो । उहाँले भन्नुभयो, ‘मेरा एकजना साथी अहिले सचिव हुनुहुन्छ । उहाँले भन्नुहुन्छ, ‘म पञ्चायत छँदा शाखा अधिकृत थिएँ । त्यतिबेला कर्मचारीले घुस खाने कुरा थिएन । सबै दरबारलाई दिनुपथ्र्याे । प्रधानमन्त्रीले दिनको ५ लाख दरबारलाई बुझाउनुपर्छ भन्थे । त्योभन्दा अरूले एक पैसा खान पाउँदैनथ्यो । खायो कि राजाद्वारा कारबाही हुन्थ्यो । अहिले त छाडा छ । कमिसन उठाउन लगाइन्छ । माथि माथि अर्बाैं दिनुपर्दछ । कमिसन उठाउँदा तल पनि खान अनुमति मिल्छ । यही क्रमले देशमा व्यापक भ्रष्टाचार बढेको छ । लौ न केही उपाय छ भने गर्नुहोस् ।’
गोपालप्रसादजस्ता लाखौं कार्यकर्ताहरू अहिले पीडामा छन् । कम्युनिस्ट आन्दोलनको नेतृत्वमा भएको जनआन्दोलनद्वारा पञ्चायती व्यवस्था ढल्यो । राजतन्त्र धराशायी भयो । सामन्तवादको उन्मूलन भयो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । समाजवाद उन्मुख संविधान पनि बन्यो । गोपालप्रसाद थपलियाजस्ता कलम योद्धाहरूले जुन पवित्र मनका साथ काम गर्नुभयो त्यो सफल भयो ।
विगतमा संसदीय निर्वाचनमा समाजवादी कार्यक्रम लागु गर्छाैं बहुमत दिनुस् भनेर जनतासँग आह्वान गरियो । जनताले कम्युनिस्ट पार्टीलाई बहुमत पनि दिए । अब जनताका पक्षमा काम गर्नुपथ्र्यो । पार्टी र सरकारद्वारा जनतालाई धोका दिएको देखियो । जनताका पक्षमा काम गर्न नसकिएको मात्रै होइन, नेतृत्वबीच लुछाचुँडी र झगडा मात्र हुन थालेको छ । बाहिरबाट हेर्दा प्रधानमन्त्री निरंकुश भएजस्तो लाग्छ । उहाँले गुटको भलाइमा मात्र काम गरेको पनि देखिन्छ ।
उहाँले सरकारलाई काम गर्न दिइएन भन्नुहुन्छ । नेतृत्वको बहुमतले उहाँले पार्टीको सल्लाह लिनुभएन भन्छ । यही झगडामा निकै लामो समय बितेको छ । कार्यकर्ता निराश छन् । कम्युनिस्ट पार्टी र सरकारप्रतिको आकर्षण व्यापक मात्रामा गिरेको छ । परिणामतः कम्युनिस्ट पार्टीको प्रभाव पनि घटिरहेको आभास भएको छ । यसले कम्युनिस्ट आन्दोलनलाई पनि दिग्भ्रमित बनाएको देखिन्छ ।
नेकपाको महाधिवेशन आउँदैछ । महाधिवेशनले मार्गदर्शक सिद्धान्तका रूपमा जनताको बहुदलीय जनवाद नै पारित गर्नेछ भन्ने कुरामा निर्धक्क भए हुन्छ । कार्यक्रम ‘समाजवादी’ भए पनि मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद नै हुनेछ । जसले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गर्न सक्दैन, उसले महाधिवेशनमा नेतृत्व लिन पनि सम्भव छैन । जनताको बहुदलीय जनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गर्न नसक्ने हो भने पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष हुने सम्भवना देखिँदैन । यद्यपि अब म पार्टीको महाधिवेशनमा मतदाता हुने विचारमा छैन । पुष्पकमल दहालले समयमै यो वास्तिविकता बुझ्दा राम्रो हुने लाग्छ ।
पार्टीलाई कुनै गुन्डा दलजस्तो गरी चलाउन खोज्नुहुँदैन । ग्याङमा एकजना बोस हुन्छ । बोसको आदेशअनुसार सबैले काम गर्छन् । कम्युनिस्ट पार्टी पद्धतिसंगत ढंगले चलाउनुपर्छ । तब मात्र पार्टीले सफलताका साथ नेतृत्व प्रदान गर्न सक्छ । यतिखेरको पार्टीको समस्या भनेको पद्धतिसंगत ढंगले सञ्चालित हुन नखोज्नु हो भन्ने लागेको छ । पद्धति संगत तरिकाले चलाउन नथालेसम्म समस्या समाधान हुने आशा गर्न सकिँदैन । सबैको यतातिर ध्यान जाओस् भन्ने चाहना छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply