नेतृत्व हस्तान्तरणको प्रस्ताव
असल नियत कि राजनीतिक स्टन्टबाजीकाठमाडौं । प्रधानमन्त्री केपी ओलीले ३८ पेज लामो राजनीतिक प्रतिवेदनमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव गरेपछि एउटा प्रश्न खडा भएको छ, के उनले साँच्चै नेतृत्व हस्तान्तरण गर्न खोजेका हुन् त ? वा यो विवाद विषयान्तरका लागि मात्र हो ?
पार्टी र सरकार सञ्चालनमा उनको कमजोरीबारे प्रश्न उठ्नेबित्तिकै ओलीले पटकपटक सचिवालयका नेताहरुलाई लडाउनेगरी अनेक प्रस्ताव गर्दै आएका छन् । विगत हेर्न हो भने कहिले वामदेव गौतमलाई बोलाएर प्रधानमन्त्रीको प्रस्ताव गर्ने अहिले माधवकुमार नेपाललाई अध्यक्षको प्रस्ताव गर्ने त कहिले नेता नेपाललाई एक्ल्याउन प्रचण्डलाई भावी अध्यक्षका रुपमा प्रस्ताव गर्ने गरेका थिए । यस्तै पृष्ठभूमिमा नयाँ कुरा आएपछि राजनीतिक विश्लेषकहरुले ओलीको प्रस्ताव संकट टारेर पद जोगाउने केवल राजनीतिक स्टन्टबाजी मात्र भएको विश्लेषण गरिरहेका छन् ।
‘पत्यार नगर्ने होइन, लिखित रुपमै त्यत्रो नेताबाट आएपछि पत्याउनैपर्छ तर कार्यान्वयनका लागि महाधिवेशन किन कुर्ने उहाँलाई सबैले आजकै दिन पद छोड्नुस भन्नुपर्छ,’ राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भने, ‘राजनीतिक इमानदारी त नेताहरुमा हुँदैन तर लिखित रुपमा पेस गरेको प्रतिवेदन भएकाले त्यसैलाई आधार मानेर आजकै मितिबाट पद छोडाउन दोस्रो पंक्तिका नेताले दबाब दिन सक्नुपर्छ, नत्र त्यो केवल तिकडमबाजी मात्र हुनेछ ।’ तर दोस्रो तहका नयाँ पुस्ता भने ‘मरेको बिरालो’जस्तो मौन रहेको उनको भनाइ छ ।
अर्का राजनीतिक विश्लेषक मुमाराम खनालले पनि पद जोगाउनकै लागि ओलीले राजनीतिक स्टन्टबाजी गरेकाले त्यसको कुनै अर्थ नरहेको बताए ।
‘जतिबेला पार्टीभित्र उनको विकल्प खोजी भयो, त्यतिबेला उनी मौन बसे । तर अहिले संकट गहिरिएको बेला प्रत्युउत्तर दिने सिलसिलामा त्यो कुरा ल्याएका छन् । साँच्चिकै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहेको हो भने उनले ३८ पेज लेखेर प्रचण्डलाई जवाफ दिनै पर्दैनथ्यो । दोस्रा पुस्ताका नेताहरुलाई सामूहिक रुपमा बोलाएर घोषणा गरेर तत्काल व्यावहारिक कार्यान्वयन गर्दा हुन्थ्यो,’ खनालले भने, ‘त्यसकारण उनले यो केवल मुख्य समस्याबाट भाग्न राजनीतिक स्टन्टबाजी मात्रै गरेका हुन् ।’
ओलीको यो प्रस्तावमा नेकपाका दोस्रो तहका नेताले भने कुनै सार्वजनिक टिप्पणी गरेका छैनन् । यद्यपि, नेता वर्षमान पुनले भने नेतृत्वका लागि दोस्रो पुस्ता तयार भएको बताएका छन् । दोस्रो पुस्ताकै नेताले यस विषयलाई त्यति धेरै महत्व नदिनुले पनि यो प्रस्ताव असल नियतका साथ आएको होला भन्नेमा शंका देखिन्छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply