नेम्वाङ र पोखरेलसँग जोगिन प्रचण्ड–नेपाललाई सुझाव
बुधवार डेस्क
काठमाडौं । पार्टीभित्रको संकट समाधान गर्नेभन्दा लम्ब्याउने र थकाएर गलाउने रणनीति अख्तियार गरिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाललाई दुई पात्रसँग जोगिन केन्द्रीय सदस्यहरूको ठूलो पंक्तिले सुझाव दिएका छन् ।
बालुवाटारको दूतका रूपमा कहिले प्रचण्ड र कहिले नेपालको निवासमा धाउने गरेका संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी समिति सदस्य शंकर पोखरेलले पार्टीलाई फुटबाट रोक्न ठोस प्रस्ताव लैजानेभन्दा पनि ‘टाइम बाई’ गर्न मात्र भूमिका खेलेको भन्दै केन्द्रीय सदस्यहरूको ठूलो पंक्तिले त्यस्तो सुझाव दिन थालेका हुन् । पछिल्लोपटक २८ मंसिरमा बिहानै खुमलटार पुगेका नेम्वाङले आफ्नै सुझावअनुसार प्रचण्डले दुई दिनका लागि बैठक सारेको हल्ला फिँजाएका छन् । आफैं पटकपटक समय मागेर खुमल्टार धाउने तर बाहिर भने मलाई बोलाउनुभएको थियो भन्दै प्रचार गर्ने नेम्वाङको शैलीका कारण प्रचण्ड पनि आजित बनिसकेको बताइन्छ ।
उनीहरूको काम भनेकै प्रचण्ड र नेपालबीच कसरी हुन्छ दूरी बढाउने र टाइम बाई मात्र गराउने रहेको धेरै केन्द्रीय सदस्यहरूको निष्कर्ष छ । खासगरी ओलीनिकट कतिपय स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरूले पोखरेललाई जसरी हुन्छ, भावी महासचिव बनाउन लबिङ गर्दै प्रधानमन्त्री ओलीले दुवै पद, त्यसमा पनि अध्यक्ष छाड्नै नहुने दबाब दिइरहेका छन् ।
आइतबार दर्जनौं निकट केन्द्रीय सदस्यहरूले प्रचण्ड र माधव नेपाललाई ओलीबाहेक अरूसँग भेट नगर्न दबाबै दिएको उच्च स्रोतले जनाएको छ । पुराना कुरा लिएर आउने ओलीका दूतहरूसँग बस्दा अहिलेसम्म निकासको कुनै प्रस्ताव नआएको प्रचण्ड र नेपालनिकट केन्द्रीय सदस्यहरूको निष्कर्ष छ । अघिल्लो हप्ता पोखरेल नेपाललाई भेट्न कोटेश्वर निवास पुगेका थिए । त्यसक्रममा नेता नेपालले आफ्ना ६ बुँदे स्पष्ट रोडम्याप सुनाएपछि पोखरेल फर्किएका थिए । पूर्वएमाले मिल्ने नाममा प्रचण्डलाई अलग राखेर समस्याको समाधान हुन नसक्ने, पूर्वएमालेभित्र आफूले कसैलाई नजिक र टाढा होइन, समदूरीको व्यवहार गर्ने, ओलीले कैयौंपटक सचिवालयका नेताहरूलाई धोका दिएकाले अबको सहमति खुला र खुलस्त ढंगले हाताहाती हुनुपर्ने, ओलीले कुनै पनि लिखित समझदारी उल्लंघन गरे उनीनिकट नेताहरूले विद्रोह गर्नुपर्नेलगायतका विषय राखेका थिए । तर, ओलीले धोका दिँदा पनि विद्रोह गर्न नसक्ने बाध्यता सुनाएपछि नेता नेपालले त्यसो हो भने सहमतिका लागि कुरा गर्नुको औचित्य नै सकिएको बताएका थिए । ओलीसँग विश्वास टुटेका कारण नेता नेपालले पछिल्लो समय उनीसँग एक्लाएक्लै भेटवार्ता गर्न छाडेका छन् ।
अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई सबभन्दा बढी गलत सल्लाह दिने गरेका कारण अहिलेसम्म सहमति हुन नसकेको प्रचण्ड र नेपालनिकट धेरै नेताको बुझाइ रहेको छ । दुई पात्रलाई विश्वास गरेका कारण हिजोआज उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रधानमन्त्री ओलीको भित्री घेराबाट बाहिरिसकेका छन् ।
प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्यहरूले षड्यन्त्रकारीका रूपमा चित्रण गरेका नेता नेम्वाङ र पोखरेल केपी ओलीका सबभन्दा विश्वासपात्र हुन् । ओलीलाई संकट परेका बेला दुबै नेताको दौडधुपले नेकपाभित्र राम्रै स्थान पाउँछ ।
प्रचण्डका कुरा माधवलाई लगाउने र माधवका कुरा प्रचण्डलाई लगाएर फुटाउन खोज्ने मात्र होइन, प्रचण्ड, माधव, वामदेव र झलनाथलाई एकै किसिमको प्रस्ताव लगेर कुरा गर्ने र उनीहरूले व्यक्त गरेको कुरा बाहिर प्रचार गर्दै अविश्वास बढाउने काममा नेम्वाङ र पोखरेलले नै भूमिका खेलेको धेरै नेताहरूको निष्कर्ष छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply