तीन अर्ब पुँजीको सहकारी बैंक आउँदै

काठमाडौं । करिब ३ अर्ब पुँजी सहितको नयाँ बैंक खुल्ने भएको छ । प्रस्तावित नेपाल सहकारी नामक बैंक दर्ता प्रक्रिया सुरु गर्न प्रारम्भिक भेलासमेत डाकिएको छ । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख तथा सचिव सुरेन्द्र भण्डारीलगायत अन्य सहकारीकर्मीहरूको पहलमा उक्त बैंक खोल्न लागिएको हो ।
सो बैंक स्थापनाका लागि यही माघ १७ गते काठमाडौंमा प्रारम्भिक भेला बोलाइएको छ । मुलुकभर करिब ३५ हजार सहकारी संस्थाको आर्थिक कारोबार राख्नेगरी बैंक स्थापना गर्न प्रक्रिया अघि बढाइएको हो । देशभरिकै सहकारी संस्थाको प्रतिनिधित्व हुनेगरी बैंक स्थापनाको तयारी भइरहेको छ । प्रारम्भिक भेला सम्पन्न गरी दर्ता प्रक्रियाका लागि सहकारी विभाग जाने तयारी गरिएको छ ।
प्रारम्भिक भेला सँगै विभागमा दर्ता प्रक्रिया सुरु गर्ने र राष्ट्रबैंकबाट स्वीकृत लिने प्रक्रिया अघि बढाइने भएको छ । नेपाल सहकारी बैंकको नाममा दर्ताका लागि आवश्यक तयारी पूरा भएको बैंक गठन कार्यदलका संयोजक सुरेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार भेलालगत्तै प्रक्रिया अघि बढ्ने र मुलुककै सहकारी क्षेत्रको सबैभन्दा ठूलो बैक हुनेछ ।
संस्था दर्ता हुन ५ सय १ सहकारी संस्था आवश्यक पर्छ । तीमध्ये हालसम्म करिब १ हजार संस्था दर्ता प्रक्रियामा सहभागी हुने तयारी भइरहेको छ । बैकमा सदस्य सहकारी हुन आवेदक सहकारीले लगातार तीन वर्षदेखि नाफामा रहेको हुनुपर्नेछ । बैंक स्थापना हुन आवश्यकभन्दा बढी नै फाइल संकलन भइसकेको भण्डारीले बताए । ‘अहिले सञ्चालनमा रहेको सहकारी बैंकले सबै सहकारी संघसंस्थाको आवश्यकता पूरा गर्न सक्दैन,’ उनले भने, ‘त्यसका लागि नयाँ बैंक स्थापना गर्ने प्रक्रिया अघि बढाएका हौं । प्रारम्भिक चरणमा बैंकको सेयर पूँजी ३ अर्ब रुपैयाँ हुने उनी बताउँछन् ।
सहकारी ऐन, २०४८ मा भएको व्यवस्थाअनुरूप स्थापना भएको बैंक सञ्चालनमा छ । तथ्यांकअनुसार सहकारी बैंकमा करिब १२ हजार मात्र सदस्य छन् । बैंकले सहकारी संघसंस्थाहरूसँग मात्र कारोबार गर्न पाउने ब्यवस्था छ । नयाँ ऐनमा एकभन्दा बढी सहकारी बैंक गठन गर्न सकिने व्यवस्था उल्लेख भएपछि नयाँ बैंक स्थापना प्रक्रिया अघि बढाइएको हो । हाल सञ्चालनमा रहेको सहकारी बंैकले नेपाल राष्ट्र बैकबाट बैंकिङ अनुमति पाएको छैन । राजधानीको कार्की बैंक्वेटमा आयोजना हुने भेलामा आवेदन दिन र छलफल गर्न देशभरका सहकारीका प्रतिनिधि आउने भएका छन् । सहकारी ऐन, २०७४ को परिच्छेद ८ को धारा ५३ मा सहकारी बैंक स्थापना गर्न पाउने व्यवस्था छ । सो ऐनको धारा ५४ देखि ६० सम्म बैंकको विषयमा व्याख्या गरिएको छ । त्यसैगरी सहकारी नियमावली, २०७५ को नियम ५ मा सहकारी बैंकको गठनका लागि सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी कम्तीमा ५ सय १ वटा संस्था वा संघ हुनुपर्ने व्यवस्था छ । आवेदन दिने संस्था वा संघहरूको संयुक्त सेयर पुँजी कम्तीमा तीनअर्ब रुपैयाँ हुनुपर्ने, संयुक्त संस्थागत पुँजी कम्तीमा ५० करोड रुपैयाँ हुनुपर्ने प्रावधान राखिएको छ । सहकारी बैंक गठन गर्दा राष्ट्रिय सहकारी महासंघको समेत सिफारिस आवश्यक पर्ने व्यवस्था गरेको छ । बैक दर्ता प्रक्रिया सुरु गर्न प्रारम्भिक भेलाका निर्णय, व्यावसायिक कार्ययोजना, सेयर पुजी तथा शुल्कबापत संकलित रकमको भर्पाई, स्वघोषणापत्र, विभागले तोकेबमोजिम एक दिवसीय पूर्वसहकारी शिक्षा प्राप्त गरेको प्रमाणपत्र उपलब्ध गराउनुपर्नेछ । हाल सञ्चालनमा रहेको सहकारी बैंकले सबै सहकारीलाई समेट्न नसकेको जनाउदै ऐनअनुसार नयाँ बैक दर्ता प्रक्रिया सुरु गर्न भेला आयोजना गर्न लगिएको संयोजक भण्डारीले बताए ।
सम्बन्धित समाचार
-
सरकार आफैं भत्काउँदैछ वित्तिय अनुशासन
-
दूरसञ्चार प्राधिकरण तात्दै
-
नियम उल्लंघन गर्ने ४ बैंकलाई राष्ट्र बैंकको कारबाही
-
राष्ट्र बैंकको डरलाग्दो तथ्य खुलासा
-
कर्जा लगानी नभएर बैंकको ब्याज आम्दानी निराशाजनक
-
धनुषामा ग्लोबलको २६८औं शाखा
-
आयल निगमलाई पाक्षिक एक अर्ब नोक्सान
-
दोश्रो त्रैमाससम्म एनआईसीको कर्जा ८ अर्ब ५५ करोड
-
कार्यान्वयन होला मोहीलाई ५० प्रतिशत मुआब्जा ?
-
कुमारीको गोलमाल गर्ने खेल
-
किन पछाडि धकेलिँदैछ मध्यपहाडी आयोजना ?
-
कञ्चनपुरमा ग्लोबलको शाखारहित बैंकिङ सेवा
Leave a Reply