पार्टी एकताको बाधक केपी ओली
वामदेव गौतम
जनताको अपार समर्थन, आशा र भरोशाको हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आज राजनीतिक रुपमाविभाजित भएको छ।पार्टीका दुई अध्यक्षबीच देखापरेका अन्तर्विरोधहरूको व्यवस्थापन गर्न दुवै अध्यक्षसहित केन्द्रीय सचिवालय असफल भए पछि पार्टीका कुनै पनि निकायमा छलफलै नगरी एउटा अध्यक्षसहितका प्रतिनिधिसभा सदस्यहरू छापामार शैलीमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव प्रतिनिधिसभा सचिवालयमा लैजाने र अर्का अध्यक्षले अविश्वास प्रस्तावको सामना गर्नुको सट्टा प्रतिनिधिसभा नै विघटन गर्ने जस्ता दुःखद् घटनाबाट नेपालको इतिहासमा सबभन्दा शक्तिशाली संगठनका रूपमा देखापरेको हाम्रो पार्टी विभाजनको दुर्घटनामा परेको छ ।
कानुनी रूपमा विभाजन नभइसकेको अवस्थामा दुवै नेताहरू अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का आधिकारिक प्रतिनिधि हामी हौं भन्दै निर्वाचन कार्यालयमा दाबी गरिरहनुभएको छ । उहाँहरूले अन्तिम प्रहार गर्नु पूर्वपार्टीको एकतालाई जोगाउँदै नेतृत्व तहमा देखापरेका कार्यशैलीसंग सम्बन्धित अन्तरविरोध हल गर्नेतर्फ गम्भीरता पूर्वक लाग्न चाहनुभएन । झन्डै १० लाख पार्टी सदस्यहरूको कुरै नगरौं अविश्वास प्रस्ताव र प्रतिनिधिसभा भंग गर्ने सम्बन्धमा नौजना सदस्य रहेको तथा पार्टीको मुख्य नेतृत्व रहेको सचिवालयलाई जानकारीसम्म पनि दिन आवश्यक ठान्नुभएन । पार्टी र राष्ट्रिय राजनीतिमा उथलपुथल हुन सक्ने घटना घट्नुपूर्व पार्टीको कुनै निकायबाट निर्णय गर्नुपर्ने आवश्यकता ठान्नुभएन ।
नेपालको राजनीतिमा महŒवपूर्ण भूमिका निर्वाह गरेका दुई ठूला कम्युनिस्ट पार्टीको एकीकरणका निम्ति सामान्य अवस्थाको भन्दा फरक वैधानिक व्यवस्था र दस्तावेजहरू तयार गरिएको थियो । जसमा पार्टीको नेतृत्व गर्न दुई अध्यक्ष प्रणाली लागु गरियो । त्यसैगरी केन्द्रीय तहका पार्टी कमिटीहरूको अध्यक्षता आलोपालो गर्ने व्यवस्था भयो । एकीकरण भएको दिनदेखि एकताको महाधिवेशन सम्पन्न नहुँदासम्म सबै बैठकहरू सहमति र समझदारीमा संचालन गर्ने र सहमतिकै आधार निर्णय गर्ने व्यवस्था गरियो । त्यति मात्र होइन, आधिकारिक पत्राचार र निर्देशन जारी गर्दा पनि दुवै अध्यक्षको हस्ताक्षर हुनुपर्ने व्यवस्था गरियो । यी सबै व्यवस्था राखिनुको एउटै कारण, भिन्नभिन्न पृष्ठभूमि र स्कुलिङबाट विकसित भएका पार्टीहरूको एकीकरण संवेदनशील हुन्छ र पार्टी नेताहरूको व्यवहारबाट संवेदनशीलतामा आँच नआओस् र पार्टी एकीकरणमा बाधा उत्पन्न नहोस् भन्ने नै थियो । तर विगत एक वर्षदेखि पार्टीमा एकीकरणको संवेदनशीलतालाई ख्याल नगरी सचिवालयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीसम्म चरम गुटबन्दीपूर्ण क्रियाकलापहरू भए । यो गुटबन्दीपूर्ण क्रियाकलापमा सचिवालयका सबै कमरेड यो वा त्यो पक्षबाट सामेल हुने स्थिति बन्यो । विवादका विषयहरू पार्टी एकीकरणका बेला गरिएका सहमति र समझदारी कार्यान्वयन नहुनु, पार्टी घोषणापत्रको आधारमा नीति कार्यक्रम र बजेट नआउनु र सरकारले गर्ने राजनीतिक निर्णयहरूमा पार्टी नेतृत्वसँग परामर्श नगर्नु आदि थिए । तर, ती सबै पार्टीका आन्तरिक विवादका विषयहरू थिए । अधिकांश विषयहरू कार्यशैलीसंग सम्बन्धित थिए । नेतृत्वदायी पार्टी कमिटीमा मौखिक छलफलबाट मात्र गम्भीरता आउन नसकेको महसुस गर्दै लिखित दस्तावेजहरू र प्रतिदस्तावेजहरू प्रस्तुत गरिए । ती दस्तावेजहरूमा गम्भीरतापूर्वक कहिल्यै छलफल हुन सकेन । एक आपसमा मनमुटाव झन्झन् बढेर जान थाल्यो र आखिरमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र त्यसविरुद्ध प्रतिनिधिसभाको विघटनसम्मका दुर्घटनाहरू हामी अहिले वेहोरिरहेका छौं । अहिले औचित्य पुष्टि हुने एउटा पनि कारणबिना पार्टी विभाजन गर्न कमरेडहरू लागि रहनुभएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनउपर गम्भीर छलफल चलिरहेकै अवस्थामा एकथरी नेताहरू निर्वाचन भएरै छाड्छ भन्दै सभा गरिरहनुभएको छ भने अर्काथरी नेताहरू प्रतिनिधिसभा जसरी पनि पुनःस्थापना गरिछोड्छौं भन्दै विरोधसभाहरूबाट सडक तताइरहनुभएको छ । यस्तो अवस्थामा हामीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको नाममा विभाजनलाई रोक्न र त्यसका लागि राष्ट्रव्यापी दबाब सिर्जना गर्न यो अभियान सञ्चालन गरिरहेका छौं । व्यक्तिगत रूपमा भन्दा संगठित रूपमा अभियान सञ्चालन गर्दा बढी प्रभावकारी हुने देखेर तदनुरूप हामी अगाडि बढिरहेका छौं । हामीलाई विश्वास छ, दुईतिर बाँडिएका हाम्रो पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूले पार्टी पुनर्एकीकरण गर्ने हाम्रो आह्वानलाई सम्मान गर्दै साथ दिनुहुनेछ ।
अहिले नेपालका सम्पूर्ण श्रमजीवी जनता, लाखौं पार्टी सदस्यहरू, हजारौं कार्यकर्ता र नेताहरू अत्यन्त दुःखी हुनुभएको छ । उहाँहरू अहिले पनि पार्टी विभाजन नहोस् भन्ने पक्षमा हुनुहुन्छ । त्यही माग र चाहनालाई पूरा गर्ने उद्देश्य राखेर हामीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छौं ।
एकता अभियानको मूल उद्देश्य विभाजित हाम्रा दुवै समूहलाई पुनः एकतामा ल्याउनु हो । यसका साथै पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिस्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरूलाई पनि यो अभियानमार्फत एकताबद्ध गर्ने उद्देश्य राखिएको छ । हामी कम्युनिस्ट पार्टीका सदस्यहरू कुनै पनि विषयवस्तुको उठान, त्यसको व्यापकता र परिणामुखी क्रियाशीलताका निम्ति व्यक्तिगत रूपमा भन्दा सामूहिक प्रयत्नमा विश्वास राख्छौं । आजसम्म यो आन्दोलनमा जे–जस्ता उपलब्धि हासिल भएका छन्, ती सबै सामूहिक पहलकदमीका परिणाम हुन् र यो आन्दोलनमा जहाँ–जहाँ क्षति भएका छन्, ती सबैका कारक व्यक्तिवादी गलत कार्यशैली नै हुन् । विभाजनका मूल कारणहरू कार्यशैलीभन्दा अरू छैनन् । कार्यशैलीसँग रहेका अन्तरविरोधहरू मित्रतापूर्ण हुन्छन् । तर, ती अन्तरविरोधहरूलाई व्यवस्थापन गर्न हामी असफल भयौं । मित्रतापूर्ण अन्तरविरोधहरूलाई पार्टीभित्रै समाधान गर्नुको बदला बढाइचढाइँ सार्वजनिक गरियो । अहिले पनि हाम्रा बीचका अन्तरविरोधहरू चरित्रगत रुपमा मित्रतापूर्ण नै छन् । तर सभा, समारोह, आन्दोलन आदि ठाउँहरूमा भयंकर शत्रुतापूर्ण देखाउने गरी बढाइचढाइँका प्रयास भइरहेका छन् । विभाजनमा सरिक कमरेडहरूलाई मित्रतापूर्ण र मर्यादित व्यवहार प्रस्तुत गर्दा पार्टी पुनः एकतामा आउँछ कि भन्ने डर लागेको त होइन ? भन्ने शंका पार्टीका सहयोगी र शुभचिन्तकहरूलाई लाग्न थालेको छ । के जसरी पनि विभाजन गरेर नेपाल राष्ट्रको हित हुन सक्छ ? जसरी पनि विभाजन गरेर कम्युनिस्ट आन्दोलनलाई हित गर्छ र यसो गरेर के संघीय लोकतान्त्रिक गणतन्त्र समृद्ध हुन सक्छ ?
पार्टीमा उत्पन्न अन्तरविरोधहरूको समाधान गर्ने जिम्मेवारी पार्टीका मुख्य नेता र कमिटीको हुन्छ । त्यसको समाधान गर्ने पहलकदमी मुख्य नेताहरूले लिनुपर्छ । तर अहिले अन्तरविरोधहरूको समाधानका निम्ति लाग्नुपर्ने मुख्य नेताहरू नै विभाजनको नेतृत्व गरिरहनु भएको हुनाले गम्भीर समस्या उत्पन्न भएको छ । तर पनि हाम्रो अगाडि जस्तासुकै व्यक्तिगत स्वार्थलाई बलिदान दिएर भए पनि पार्टीको पुनर्एकीकरण गर्नुछ र पार्टी एकतालाई जोगाउनु छ । दुवैतिर लाग्नु भएका मुख्य नेतासहितका कमरेडहरूलाई आह्वान गर्छौ कि तपाइहरूको, हाम्रो र करोडौं नेपाली जनताको उज्वल भविष्यसँग सम्बन्धित बनेको हाम्रो पार्टीको एकतालाई जोगाउन हर किसिमका प्रयत्न गर्न हामी तयार होऔं । शत्रुसंग लडाई गर्दा गोलाबारुद र विध्वंसबाट शक्ति आर्जन हुन सक्छ तर सामाजिक आर्थिक रूपान्तरणबाट समृद्ध राष्ट्र निर्माण गर्न विध्वंस वा अनेकताबाट होइन, सिर्जना र एकताबाट मात्र शक्ति आर्जन गर्न सकिन्छ । त्यसो भएर कमरेडहरू ज्यादै उज्ज्वल सम्भावना भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकतालाई जोगाएर शक्ति आर्जन गर्न र सुदृढ गर्न दिलोज्यान दिएर लागि परौं !
पार्टीको सिद्धान्त, राजनीतिक कार्यदिशा, तात्कालिक कार्यनीति, विदेश मामिला, सामाजिक आर्थिक रूपान्तरणको दिशा तथा लोकतान्त्रिक मूल्य–मान्यताका आधारमा समाजवाद निर्माण गर्ने लक्ष्यमा कुनै मतभिन्नता नहुँदानहुँदै पनि नेकपाको यो विभाजन हुन पुगेको छ । व्यक्तिवादी कार्यशैली व्यक्तिगत स्वार्थका कारण विकसित हुन्छ । यस्ता कार्यशैलीबाट उत्पन्न अन्तरविरोध आलोचना आत्मालोचनाबाट समाधान गर्न सकिन्छ । कहिलेकाहीँ सही तरिकाले आलोचना गर्न नसक्दा र आलोचनालाई मित्रतापूर्ण रुपमा लिन नसक्दा पनि अन्तरविरोधमा जटिलता देखिन सक्छ । यसपटक पार्टीमा यो अन्तरविरोध यसकै कारण पनि देखापरेको हो । यस्तो अवस्थामा धैर्यतापूर्वक र मित्रतापूर्ण तरिकाले आलोचना गर्ने र कुनै पनि विषयलाई वारको पार पुग्नु पूर्व नै सहमति र सम्झौताबाट पनि समाधान गर्न सकिन्थ्यो । यसपटक पार्टीमा दुवै अध्यक्षबाट फरकफरक प्रस्तावहरू प्रस्तुत गरिए । ती प्रस्तावहरू पार्टी एकताको मूल्यमा फिर्ता लिन सकिन्थ्यो । तर नेताहरूले त्यसो गर्न सक्नुभएन, जसको कारण नेपाली जनताको उज्ज्वल भविष्यसँग सम्बन्धित प्रभावकारी शक्तिशाली साधनका रूपमा रहेको पार्टी नै विभाजित हुने अवस्थामा पुग्यो । तर, यो अवस्थालाई गम्भीरतापूर्वक ग्रहण गर्न तयार हुने हो भने आरोप–प्रत्यारोप प्रस्तावहरू फिर्ता लिँदै आलोचना र आत्मालोचनाको माध्यमबाट पार्टी पुनर्एकीकरण गर्न सकिन्छ ।
यदि हामीले विभाजन उन्मुख हाम्रो पार्टीलाई पुनर्एकीकरण गर्न सकेनौं भने यसबाट हुने क्षतिलाई कम्युनिस्ट आन्दोलनमा सरिक दोस्रो वा तेस्रो पिँढीले पनि परिपूर्ति गर्न सक्नेछैन । यस विभाजनको औचित्य पुष्टि आज र भविष्यमा पनि कहिल्यै हुन सक्नेछैन । यो विभाजन नेपाली कम्युनिस्ट आन्दोलनका लागि अत्यन्त दुःखद र नेपाल राष्ट्रका लागि हानिकारक छ । परिस्थितिको उपरोक्त विश्लेषण गर्दै विभाजित दुबै समूहमा नलागी एकताको अभियान सञ्चालन गर्ने कार्यभार पूरा गर्ने दायित्व सम्पूर्ण पार्टी सदस्य, समर्थक र शुभचिन्तकहरूको पनि हो भनेर हामी तपाईहरूसमक्ष अपिल गर्दै आएका छौं ।
आज देश र विदेशमा रहेका हाम्रा मित्रहरूका बीच प्रश्न उठ्ने गरेको छ, विभाजनको सिकार हुन गइरहेको हाम्रो पार्टीलाई के हामी पुनः एकीकृत गर्न सकौंला ? हामी भन्छौं, तपाईंहरूले साथ दिनु मात्र पर्छ, यो धेरै सम्भव छ । देशभित्र र विदेशमा रहनुभएका हाम्रा प्रिय कमरेडहरू, शुभचिन्तकहरू र मित्रहरू ! आउनुहोस् हाम्रो प्यारो पार्टीलाई पुनः एकीकृत गर्न कठिन बनिरहेको मैदानमा साहसका साथ जुटौं ! नेपालको निर्वाचन आयोगले ११ माघ २०७७ का दिन पार्टी दर्ताका निम्ति प्रस्तुत गरिएका कागजातहरूको अध्ययन गर्दै हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहलाई अलगअलग पार्टीका रूपमा दर्ता गर्न नसकिने निर्णय गरेको छ । यो निर्णयबाट पार्टी एकता जोगाउन सकिने आशा हामीमा पलाएको छ ।
(नेकपा एकता राष्ट्रिय अभियानका तर्फबाट गौतमले माघ १४ मा प्रस्तुत गर्नुभएको प्रतिवेदनको अंश)
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply