आयल निगमलाई पाक्षिक एक अर्ब नोक्सान
काठमाडौं । विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिसँगै नियमित मूल्य समायोजन हुन नसक्दा नेपाल आयल निगमले चर्को नोक्सानी बेहोर्न थालेको छ । पेट्रोलियम पदार्थको प्रचलित बजारमूल्य लागत मूल्यभन्दा कम भएपछि निगम नोक्सानी बेहोर्नुपर्ने अवस्थामा पुगेको हो । निगमको पछिल्लो प्रक्षेपणअनुसार फ्रेबुअरीको सुरुदेखि मध्यसम्मको १५ दिनमा पेट्रोलियम पदार्थको बिक्रीबाट झन्डै ९७ करोड ७५ लाखबराबरको नोक्सान हुने सम्भावना छ ।
निगमले हाल दैनिक साढे ६ करोड नोक्सानी बेहोर्दै आएको छ । पेट्रोल, डिजेल∕मट्टीतेल र खाना पकाउने एलपी ग्याँसको घाटाका कारण चर्को नोक्सानी हुने अवस्था देखिएको हो । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले सोमबार पठाएको मूल्यसूचीअनुसार फेब्रुअरीको पहिलो पाक्षिकका लागि निगमले पेट्रोलको प्रतिलिटर ५१ रुपैयाँ ६९ पैसा, डिजेलको ५२ रुपैयाँ ३९ पैसा, मट्टीतेलको ४८ रुपैयाँ ७६ पैसा र हवाई इन्धनको ४८ रुपैयाँ पाँच पैसा तिर्नुपर्छ । त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १ हजार १ सय २९ रुपैयाँ ८१ पैसा भुक्तानी गर्नुपर्छ ।
आईओसीले पठाएको मूल्यमा विभिन्न शीर्षकमा कर लाग्दै आएको छ । ती सबै कर जोडेर निगमलाई पेट्रोलमा १ सय १६ रुपैयाँ ८० पैसा पर्न आउँछ । त्यस्तै, डिजेलमा प्रतिलिटर ९७ रुपैयाँ ६७ पैसा, मट्टीतेल प्रतिलिटर ७४ रुपैयाँ ९० पैसा, आन्तरिक हवाई इन्धन प्रतिलिटर ६३ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर १ हजार ६ सय ७५ रुपैयाँ ११ पैसा लागत पर्ने देखिन्छ ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ सय १०, डिजेल र मट्टीतेल ९३, आन्तरिक हवाई इन्धन ६५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको प्रतिलिटर ०.८६८ अमेरिकी डलर तोकेको छ । खाना पकाउने एलपी ग्यासको बिक्री मूल्य प्रतिसिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँ तोकिएको छ ।
निगमलाई प्रतिलिटर पेट्रोलमा ६ रुपैयाँ ८० पैसा, डिजेलमा ४ रुपैयाँ ६७ पैसा नोक्सान हुँदै आएको छ । मट्टीतेलमा निगमलाई प्रतिलिटर १८ रुपैयाँ १० पैसा र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा ३५ रुपैयाँ ८७ पैसा नाफा हुँदै आएको छ । खाना पकाउने ग्यासमा भने प्रतिसिलिन्डर ३१७ रुपैयाँ ११ पैसा नोक्सान हुने निगमले जनाएको छ ।
चालु १५ दिनमा निगमले कुल ३० हजार किलोलिटर पेट्रोल खपत हुने अनुमान गरेको छ । यस आधारमा पेट्रोलको बिक्रीबाट मात्रै कुल २० करोड ३९ लाख, ९५ हजार किलोलिटर डिजेल बिक्री हुँदा ४४ करोड ३५ लाख तथा १४ लाख ३६ हजार एलपी ग्यास सिलिन्डर बिक्री हुँदा कुल नोक्सान ४५ करोड ५६ लाख हुने अनुमान गरिएको छ ।
१ हजार ३ सय ५० किलोलिटर मट्टीलेल बिक्रीबाट सो अवधिमा २ करोड ४४ लाख रुपैयाँ नाफा हुने अनुमान गरको छ । त्यस्तै, १ हजार ३ सय ५० किलोलिटर आन्तरिक हवाई इन्धनको बिक्रीबाट ३२ लाख तथा १ हजार ६ सय ४ किलोलिटर अन्तर्राष्ट्रिय हवाई इन्धन बिक्री गर्दा ९ करोड ८० लाख नाफा हुने निगमले जनाएको छ ।
मूल्य समायोजन कहिले
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अकासिँदै गएको छ । कच्चा तेलको भाउ प्रतिब्यारेल ५८.८५ डलरमा अन्तिम कारोबार भइरहेको छ । कोभिड–१९ महामारीसँगै विश्वभर लकडाउन हुँदा कच्चा तेलको मूल्य २० डलरभन्दा कममा झरिसकेको थियो । अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ पहिलेभन्दा तेब्बर भइसकेको छ । यस बीचमा निगमले ९६ रुपैयाँसम्म झरेको पेट्रोलको मूल्य १ सय १० रुपैयाँसम्म पु¥याएको छ ।
मूल्य सामायोजन गर्न नसक्दा घाटा चुलिँदै गएको निगमका अधिकारीको भनाइ छ । ‘सरकारले अहिले मूल्य समायोजना नगरौँ भनेपछि हामीले रोक्यौँ तर यसले घाटा चुलिँदै गएको छ । १५ दिनमै एक अर्बको हाराहारीमा नोक्सान हुन थाल्यो भने त निगमले धान्न सक्दैन,’ निगमका प्रवक्ता विनीतमणि उपाध्यायले भन्नुभयो ।
अंग्रेजी महिनाको प्रत्येक १५ दिनमा आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्दै आएको छ तर निगमले मूल्य सामायोजन गर्न सकेन । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको र आईओसीले समेत बढेको मूल्यसूची पठाउँदै गर्दा निगममाथि मूल्य समायोजन गर्नुपर्ने दबाब बढेको छ ।
पूर्वमन्त्री डा. नारायण खड्का स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न निगमले खुट्टा कमाउन नहुने बताउनुहुन्छ । सरकारको राजस्वमा ठूलो हिस्सा ओगटेको निगमलाई व्यवस्थापकीय स्वायत्तता दिनुपर्छ भन्दै उहाँले अन्तर्राष्ट्रिय मूल्यअनुसार मूल्य समायोजन गर्ने अधिकार दिनुपर्ने बताउनुभयो ।
‘निगमले आफ्नो वित्तीय विवरण पनि सार्वजनिक गर्नुपर्छ, मूल्य समायोजनका विषयमा सबै पक्षसँग छलफल गर्नुपर्छ, पारदर्शिता देखाउनुपर्छ,’ निगमले असीमित घाटा बेहोर्न नसक्नेतर्फ ध्यानाकर्षण गराउँदै उहाँले भन्नुभयो, ‘निगमको कार्यक्षमता र यसको प्रकृतिबारे जनतालाई प्रस्ट पार्दै निगममा कुनै पनि अनियमितता छैन भन्ने विश्वास दिलाउन सक्नुपर्छ ।’ (रासस)
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण : विश्व बैंक
-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
-
इन्धन मूल्यवृद्धिले हवाई भाडा बढ्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
Leave a Reply