किन बारम्बार ओलीको आयुको चिन्ता गर्छन् पोखरेल ?
काठमाडौं । प्रधानमन्त्री केपी ओली समूहका केही नेताले नेकपा विभाजनपछि एउटा ‘डक्ट्रिन’ नै स्थापित गर्न हरसम्भव प्रयत्न गर्दै आएका छन् । त्यो हो, ‘केपी ओली मरिहाल्छन् अनि प्रधानमन्त्री र अध्यक्ष आफैं हुने प्रचण्डको चाहना थियो, त्यो चहाना पूरा नहुँदा पार्टी विभाजन भयो ।’ यसलाई सबैभन्दा बढी प्रचार गर्ने काम उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्दै आएका छन् । सार्वजानिक अन्तर्वार्ताका क्रममा पनि पटक–पटक यही भन्दै आएका पोखरेलले केही दिनअघि त फेसबुकमा स्टाटस नै लेखे, ‘अरूको मृत्युमा आफ्नो जीवन देख्नेहरू तथा कुण्ठा र ईष्र्याभावबाट निर्देशित हुनेहरू सप्रिएर अघि बढ्न सक्तैनन् ! तिनले ध्वंसात्मक दिशामा अघि बढेको पत्तै पाउँदैनन् र अन्ततोगत्वा आफ्नै सर्वनाश भएको समेत पत्तो पाउँदैनन् ! समयमै सोचे हुने !!’
उपप्रधानमन्त्री पोखरेलले विरोधीलाई तेजोबोध गर्न बारम्बार किन प्रधानमन्त्री ओलीको आयुको सहारा लिन्छन् ? पोखरेलले प्रधानमन्त्रीको स्वास्थ्यको चिन्ताले यसो भनिरहेका हुन् ? वा, आफ्नो जीवनको चिन्ता गरेका हुन् ? वा, नेकपा विभाजनको वास्तविकता नै त्यही हो त ? यसको मर्ममा पुग्न तत्कालीन एमालेको नवौं महाधिवेशन अघिसम्म पुग्नुपर्छ । सबैलाई थाहा छ, नवौं महाधिवेशन अघिसम्म पोखरेल ओलीका कट्टर विरोधी थिए । बुटबलमा सम्पन्न आठौं महाधिवेशनमा उनी झलनाथ खनालको समूहबाट महासचिवमा निर्वाचित भए । माधवकुमार नेपाल नेतृत्वको सरकार गिराउन बल्खुमा बसेर सबै प्रपञ्च गर्ने उनै थिए । नवौं महाधिवेशनसम्म आइपुग्दा पार्टीभित्रको शक्ति सन्तुलनमा फरक आइसकेको थियो । खनाल समूह कमजोर भइसकेको थियो । केपी ओलीको शारीरिक अवस्थाकै कारण धेरै नेताको सहानूभूति उनीप्रति थियो । माधव नेपाल समूहका मुकुन्द न्यौपाने, प्रदीप नेपाल र अघिल्लो महाधिवेशनमा खनाल समूहबाटै उपाध्यक्ष भएका वामदेव गौतमले समेत खुलेआम बोलेरै ओलीलाई समर्थन गरे । उनीहरूको भनाइ थियो, ‘ओलीको आयु धेरै लामो छैन, एकचोटि उनलाई पार्टीको अध्यक्ष बनाउने हो ।’ फरक समूहका प्रभावशाली नेताले समर्थन गर्ने सुइँको पाएपछि पोखरेलले आफ्नो राजनीतिक जीवन ओली समूहमा लाग्दा नै सुरक्षित हुने देखे । खनाल समूहलाई लात हानेर उनी ओली समूहबाट महासचिवमा लडे । उनको दाउ थियो– कमजोर ओलीले पार्टी चलाउन सक्दैनन् अनि पार्टी चलाउने पनि मैले नै हो ।’ तत्कालीन एमालेका एक नेता भन्छन्, ‘माधव नेपाल समूहमा बस्दा पार्टीको नेतृत्वमा पुग्न नसकिने देखेका उनले विद्या भण्डारी राष्ट्रपति भएपछि त पार्टीमा ओलीको उत्तराधिकारी हुन कुनै तगारा बाँकी नरहेको महसुस गरेका थिए ।’
ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहितको अर्थमन्त्रीको शपथ खान राष्ट्रपति भवन शीतल निवास पुगेका पोखरेलले रक्षामन्त्रीका रूपमा शपथ खानुपर्दा भित्रभित्रै निकै अपमानित भएको महसुस गरेको बताइन्छ । स्रोत भन्छ, ‘तर अपमानित हुँदाहुँदै त्यो मन्त्रिपरिषद्मा बस्नुको कारण अरू केही नभएर ओलीको बिगँ्रदो स्वास्थ्य अवस्था थियो । कतिसम्म भने, प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जाँदा नै उनले सत्ताको बागडोर आफूमा आइलाग्ने सपना देखेका थिए । उपचारमा लामो समय लाग्ने र के हुने भन्ने पनि यकिन नभएकाले कार्यवाहक दिएर जानुपर्ने भन्दै पोखेरेलले भित्रभित्रै त्यो खालको सेटिङ मिलाउने प्रयत्न गरेका थिए । तर, प्रधानमन्त्री ओलीले कसैलाई कार्यवाहक दिएनन् । बरु, मन्त्रिपरिषद् र पार्टीको बैठकको अध्यक्षतासमेत सिंगापुरबाटै टेलिप्रिजेन्टको माध्यमबाट गरे । पोखरेलले यसलाई प्रधानमन्त्री ओलीले आफूमाथि गरेको अविश्वासका रूपमा लिए ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बनेपछि पोखरेल निकै बेचैन बने । उनलाई गलहत्याएर तत्कालीन एमालेका उपमहासचिव विष्णु पौडेललाई नेकपाको महासचिव बनाएपछि पोखरेल लामो समय विक्षीप्त बने । पार्टी एकतालाई बिथोल्न हरसम्भव प्रयत्न गरे । सामाजिक संजालमा एकताविरोधी स्टाटस लेख्दै गए । ओली समूहमा विष्णु पौडेल, शंकर पोखरेल सुवास नेम्वाङहरू नै हावी भएपछि उनी सहारा खोज्दै नेपाल निवास कोटेश्वर चाहार्न थाले । ‘यो पार्टी बनाउन तपाईंको जति योगदान अहिले देखिएका नेता कसैको छैन, हाम्रो नेता तपाईं नै हो, अध्यक्ष भएर पार्टी बचाउनुप¥यो’ भन्दै पाखेरेलले पटकपटक नेपालसँग याचना गरेका थिए । तर, पोखरेलले चाप्लुसी बुझेका नेपालले उनका कुरालाई महŒव नदिएपछि ओलीकै आशीर्वाद लिन उनी हरप्रयत्न गर्दै आएका छन् । रक्षामन्त्रीबाट हटाएर अपमानित गर्दा पनि उनी किन चुपचाप छन् ? जति अपमान गर्दा पनि अरू कुनै विकल्प नभएकैले चुपचाप बस्नु परेको उनका निकटस्थहरू बताउँछन् । पछिल्लो समय प्रचण्डलाई जति सक्यो गाली गरेर ओलीको समर्थन लिने रणनीति उनले लिएको बताइन्छ । धेरैको बुझाई के छ भने ‘पोखरेलले प्रधानमन्त्री ओलीको आयुलाई साहारा बनाएर गालीगलौज गर्नुलाई आफ्नै मनोदशा प्रकट गरेको’ रूपमा बुझ्न सकिन्छ ।
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
- मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply