किन पत्याइँदैनन् कलाकारहरुलाई ?
वर्षारम्भसँगै देश निर्वाचनको माहोलमा होमियो । वैशाख, असार र असोजमा देशका विभिन्न भूखण्ड स्थानीय तहको निर्वाचनले रङ्मगियो । अब मंसिर महिना पनि निर्वाचनमय बन्दै छ । लामो र बलिदानीपूर्ण संघर्षपछि मुलुक संघीय संरचनामा गएयता प्रथम पटक केन्द्रीय र प्रदेशको निर्वाचन हुँदै छ । संक्रमणकालीन तुवाँलोले गाँजेको मुलुकमा अब त्यो तुवाँलो हटेर आर्थिक समृद्धि, सामाजिक सद्भाव र उन्नत सांस्कृतिक माहोलको विस्तारै निर्माण हुने अपेक्षा सँगाल्न थालिएको छ ।
निर्वाचनको माहोल उब्जिएसँगै हरेक राजनीतिक दलका नेता–कार्यकर्ताले टिकटको अपेक्षा राखे । त्यो स्वाभाविक थियो । दुई दशकसम्म स्थानीय तह जनप्रतिनिधिविहीन रुपले गुज्रिरहेका हुँदा निर्वाचनको सम्भावना बढेसँगै राजनीतिक दलका नेता–कार्यकर्तामा टिकटको तीव्र आकांक्षा पलाउनुलाई अन्यथा मान्न मिल्दैनथ्यो । त्यस्तो आकांक्षा र अपेक्षा उनीहरुका अधिकार क्षेत्रभित्रै पर्दथ्यो । जनताको पंक्तिमा रहेर, भिजेर काम गरेकाहरुले टिकटको दाबी गर्नुलाई सामान्य रुपमा लिनु उचित हुन्थ्यो । र, आकांक्षा बोक्नेहरुमध्ये कतिपयले पाए र कतिपयले पाएनन् पनि । राजनीतिक दल र जनताले पत्याएका अनुहारहरु अहिले जनप्रतिनिधिको भूमिकामा निरन्तर जुटिरहेका छन् र केन्द्र र प्रदेशको निर्वाचन सकिएसँगै जनताले हरेक संरचनामा जनप्रतिनिधि पाउने छन् ।
निर्वाचनलाई राजनीतिक दलका एजेन्डा, प्रचार शैली र तालमेलजस्ता पक्षहरुले राम्ररी नै तताइरहेकै थियो । तर, यस पटकको निर्वाचनको माहोललाई तताउनेमा केही कलाकारहरु पनि दरिए । प्रायजसो कलाकर्मीले राजनीतिक दलका प्रचार–सभालाई तताए । एकाध कलाकर्मीहरुले भने टिकट प्राप्तिको लहरमा आफूलाई उभ्याएनन् मात्र, दल बदल्ने कार्यमा पनि आफ्नो कलाकारिताको भव्य प्रदर्शन गरे । गायिका कोमल वली केही समय मिडियामा नमज्जाले छाइन् । राजनीतिक दलहरुमा टिकट वितरणको रस्साकस्सी चलिरहेकै बेला वली राप्रपा छाडेर एमालेमा प्रवेश गरिन् । थाहा छैन, टिकट प्राप्तिका लागि उनले कति संघर्ष गरिन् ? तर, उनी टिकट पाउन वञ्चित थुप्रै अनुहारहरुमा दरिइन् । त्यसो त, दल बदलेकै दिन टिकट पाउन केही अनुहारहरु सफल भइरहेका परिप्रेक्ष्यमा एमालेमा प्रवेश गरेको पूरै दुई हप्ता बितिसकेको हुँदा गायिका वलीले टिकटको दाबी गर्नु अनुचित चाहिँ थिएन ।
यस पटक नायिका रेखा थापाको स्थिति चाहिँ केही फरक रह्यो । स्थानीय तहको निर्वाचनमा एकाएक माओवादी केन्द्र छाडेर राप्रपामा प्रवेश गरेकी थापाले ठूलै अवसर पाउने हल्ला व्याप्त थियो र उनले पनि काठमाडौं महानगरपालिकाको उपमेयरको अपेक्षा राखेको कुरा सतहमा तैरिएको थियो । टिकटको रस्साकस्सीबीच थापा वञ्चित भइन् । यद्यपि, अहिले नायिका थापाले टिकटको दौडमा आफूलाई गायिका वलीभन्दा पछि नै राखिन् । अझ, केही वर्षपूर्व फर्किने हो भने कलाकार भुवन केसीले पनि चुनावमा भिडेर देखाइदिने चासो राखेका थिए । २०७० को संविधानसभाको निर्वाचनका क्रममा उनको नाम खुवै उछालियो । एमालेका प्रवल उम्मेदवारहरुको लहरमा केसीको नाम टिकट वितरण नहुन्जेलसम्म आवद्ध रह्यो । अफसोस, यी हिरो पनि टिकटबाट पूर्णतः वञ्चित हुन पुगे ।
कलाकारहरुले राजनीतिमा पाइला टेक्ने अपेक्षा राख्ने क्रम आगामी दिनहरुमा पनि देखिएलान् । तर, नेपाली राजनीतिमा राजनीतिक मैदानमा अहोरात्र खटिएका र पार्टीको सांस्कृतिक फाँटमा रहेर काम गरेकाबाहेकका कलाकर्मीले निर्वाचनमा उठेर जनप्रतिनिधि बन्छु भन्ने अपेक्षा राख्ने कार्य पूरा हुने सम्भावना कमै देखिँदै गएका छन् । राजनीतिक दलहरुले पनि कलाकारितामा उच्च नाम भएका कलाकारहरुलाई पार्टी प्रवेश गराउने र निर्वाचनको प्रचार कार्यमा संलग्न गराउने काम गरे पनि उम्मेदवार बनाइहाल्न भने खासै रुचि देखाउने गरेका छैनन् । कलाकारहरुलाई निर्वाचनको प्रचार कार्यमा संलग्न गराउँदा भीड बटुल्न सघाउ पु¥याउने भए पनि उनीहरुलाई टिकट दिएर जनप्रतिनिधि बनाइहाल्ने अवस्था नरहेको बुझेर हो वा के भएर हो, कोमल वली, रेखा थापा र भुवन केसीजस्ता कलाकारहरु सदैव वञ्चित रहँदै आएका छन् ।
अरु देशहरुमा पनि कलाकारहरुले राजनीतिलाई अंगिकार गर्दै आएका छन् । कलाकारिताबाटै माथि उठेर अमेरिकामा रोनाल्ड रेगनले राष्ट्रपतिजस्तो जिम्मेवारी प्राप्त गरेको उदाहरण कलाकार र राजनीतिबीच अन्तर खुट्याउने क्रममा दिने गरिन्छ । टाढा जानै पर्दैन, छिमेकी भारतमा कलाकारहरु निर्वाचनमा सामेल हुने र जितेर सांसदको लोगो लगाउने कार्य हुँदै आएका छन् । अभिताभ बच्चन, जयप्रदा, मिथुन चक्रवर्ती, गोविन्दा, परेश रावलजस्ता बलिउडका कलाकारहरु सांसद बनिसकेका छन् । विश्वका अरु मुलुकहरुमा पनि कलाकारलाई राजनीतिक पार्टीहरुले पत्याउने, निर्वाचनमा उठाउने काम हुँदै आएका अनेक तथ्य छन् ।
हामीकहाँ भने राजनीतिक दलहरुले कलाकारहरुलाई किन पत्याउन नचाहेका हुन् ? के उनीहरुमा राजनीति गर्ने खुवी, गुण र दक्षता नभएर नपत्याइएको हो ? वा, अरु कुनै कारणले नपत्याइएको हो ? कि, कलाकारहरुलाई प्रयोग गर्न मात्र राजनीतिक दलहरु अग्रसर देखिएका हुन् ? यो दुई हप्ताअघि पार्टी प्रवेश गरेर टिकटको दाबी गर्ने कलाकार र राजनीतिक दल दुवैले सोच्ने प्रश्न हो ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply