लोकप्रिय कि कर्णप्रिय ?
अचेल तपाईं माइक्रो बस चढ्नुस्, वा कुनै सार्वजनिक सवारीसाधनमा यात्रा गर्नुस्, यो गीत सुन्न नचाहँदा–नचाहँदै पनि बज्न पुगिहाल्छ, ‘बेहुला बनाउँछु भन्थी…।’ हुन पनि, यो गीतको युट्युबमा १२ लाख ३६ हजार ८ सय ७१ ले हेरिसकेको रेकर्ड छ । गीतका अरू अंश यस्ता छन्, ‘बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई÷तिमीबाहेक कसैको हुन्न भन्थी÷तर, आज अर्कैकी भई…।’
यो गीत कुनै चर्चित नेपाली गायकले गाएका भने होइनन् । रमेशराज भट्टराई नयाँ गायक हुन् । तर, उनलाई यही गीतले नै धेरै ‘भ्युअर्स’ सफलता दिलाएको छ । कताकता शिव परियारको ‘फ्लेवर’ आउने यो गीतमा नयाँ–नौलो केही पनि छैन । तर, सामाजिक सञ्जालको यो समयमा भ्युअर्सलाई महŒव दिने भएको हुँदा यो गीतले बटुलेको भ्युअर्ससँगै करिब–करिब भाइरल हुन पुगेको छ ।
अचेल लोकप्रिय बन्ने रहर सर्वत्र व्याप्त छ । कसरी छोटो अवधिमै लोकप्रिय बन्न सकिन्छन्, हरेक क्षेत्र र तप्काका मानिसहरू त्यही तरिका अपनाउने दौडमा छन् । र, छिटो लोकप्रिय बन्ने माध्यम खोज्न चाहन्छन् । गीत–संगीत क्षेत्र यो प्रवृत्तिले छपक्कै छोपिएको छ । एकाध गीत गाएकै भरमा रातारात लोकप्रियताको सोपान चढ्ने धुनमा संगीत जगत्का सर्जकहरू लागेका पाइन्छन् । पछिल्लो समय युट्युबजस्ता माध्यमहरूलाई पनि आधार मानिन थालिएको हुँदा युट्युबमा आफ्ना सिर्जना पस्केर धेरैभन्दा धेरै ‘भ्युअर्स’ बढाउने र त्यही आधारमा लोकप्रियताको मापन तय गर्ने सजिलो बाटो अपनाउने क्रम बढेको छ । र, पछिल्लो समय नेपाली संगीत बजारमा झ्याली पिटिरहेका केही गीत तिनै लोकप्रिय बन्ने हिसाबले मात्र आएका छन् र ‘बेहुला बनाउँछु भन्थी…’लाई त्यही सिलसिलाका भद्दा र विकृत नमुना ठान्न सकिन्छ ।
हुन पनि एउटै गीत–संगीतले कतिपय सर्जकहरूका गीति–यात्रामा कायापलट नै ल्याइदिएका छन् । एउटै गीतले चर्चा–परिचर्चाको शिखरमा उकाल्ने र एकाएक संगीत फाँटमा स्थापित तुल्याइदिने क्रममा बढोत्तरी आएको छ । जीवनभरि संगीत क्षेत्रमा लागेर निरन्तर कर्म गरिरहेकाभन्दा लोकप्रिय बन्ने धुनमा सवार त्यस्ता सर्जकहरूले ‘दिन दुगुना, रात चौगुना’ चर्चित हुने किसिमका गीत–संगीतमा जोड दिँदै आएका छन् । जसरी भए पनि चर्चित र लोकप्रिय बन्नुपर्छ भन्ने मान्यता त्यस्ता सर्जकहरूमा हावी भएको स्पष्टै देखिन्छ । केही समयपूर्व, हेमन्त रानाले गाएको ‘सुन साइँली परदेशबाट म आउँला…’ ले निकै तहल्का पिट्यो । अहिलेसम्म पनि त्यो गीतले आफ्ना श्रोता÷दर्शकहरू बटुलिरहेको छ । उक्त गीतमा केही भाषागत त्रुटिहरू भए पनि हरेक दिन रोजगारका निम्ति बिदेसिने सयौं नेपाली युवाहरूको मर्म र पीडालाई अभिव्यक्त गरिएको हुँदा त्यो गीतले लोकप्रिय बन्ने अवसर बटुल्न पुगेकोमा कुनै शंका देखिँदैन । उक्त सिर्जना लोकप्रिय बनेसँगै त्यही शीर्षक र कथावस्तुमा चलचित्र बनाउनेसमेत उद्घोष भइसकेको छ र संगीतको दायराबाट बाहिर निस्केर मनोरञ्जनको अर्को माध्यम चलचित्रसमेत बन्ने अवस्था सिर्जना भएको छ । उक्त गीतको लोकप्रियताले मनोरञ्जनको अर्को माध्यममा पाइला सार्न मद्दत पु¥याएको सहज अनुमान लगाउन सकिन्छ ।
पछिल्लो पुस्ताका सर्जकहरूमा छोटो अवधिमा लोकप्रिय बन्ने लहड चल्न थालेको हुँदा त्यसले नेपाली गीत–संगीतको समृद्ध र गरिमामय परम्परामाथि धूलो छ्याप्ने कार्य मात्र भइरहेकोमा कुनै विवाद छैन । लोकप्रिय बन्ने आधारहरू खोज्दै जाँदा गम्भीर र दीर्घकालीन महŒव बोक्ने सिर्जनाहरू स्वतः ओझेलमा पर्दछन् र त्यस्ता सिर्जनाहरू सर्जकहरूको रोजाइको क्षेत्रमा प्रकट हुँदैनन् । लोकप्रिय बन्ने रहरमा त्यस्ता सर्जकहरूले हल्काफुल्का, कुनै गहन सन्देश प्रवाह नहुने र सस्तो भाव र शब्दमा उनिएका गीतहरूलाई प्राथमिकतामा राख्ने गरेका छन् । प्रेममा धोका पाएकोदेखि मदिरा–प्रेममा आधारित गीतहरूले संगीत बजारलाई बिस्तारै कब्जामा लिँदै छन् । केही आसलाग्दा गायकहरू पनि यति सस्ता गीतहरू गाउन तम्सिएका छन्, कुनै बेला उच्चकोटीका गीत–गजलहरूमा आफ्नो कर्णप्रिय स्वर भर्ने शिव परियारजस्ता गायकसमेत लोकप्रिय बन्ने लाइनमा लागेका छन् र पछिल्लो समय मदिरा–प्रेमका गीतहरू गाउन उनी व्यस्त छन् ।
भद्दा र सस्तो मनोरञ्जन दिने उद्देश्य बोकी आफू लोकप्रिय बन्ने आधारमा गीतहरू रोज्दै जाँदा त्यसले नेपाली गीत–संगीतको सुनौलो इतिहासलाई ओझेलमा पार्ने स्वतः देखिन्छ । र, बजारमा पनि डा. कृष्णहरि बराल, दिनेश अधिकारी, रमण घिमिरेजस्ता गीति–सर्जकहरूका सिर्जनाले होइन, ‘बेहुला बनाउँछु भन्थी…’ लेख्ने गीतकारहरूको बोलवाला बढ्दै जाने छ । साथै, स्वरूपराज आचार्य, प्रमोद खरेल, राज सिग्देलजस्ता प्रतिभाहरू ‘बाइबाई’ हुने र शिव परियार, हेमन्त राना र रमेशराज भट्टराईजस्ता प्रतिभाहरू ‘हाइहाई’ हुने अवस्था नआउला भन्न सकिँदैन । यो नेपाली गीत–संगीतका निम्ति कदापि सुखद पक्ष होइन ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply