हे प्रभु ! साझालाई बचाऊ
केही वर्षयता साझा प्रकाशन जीवन–मरणको दोसाँधमा छ । कुनैबेला आर्जन गरेको उच्च साख, अस्तित्व र गरिमालाई कसरी जोगाउने भन्ने लडाइँ यतिबेला साझाले लडिरहेको छ । गलत व्यवस्थापनका कारण जीर्णशीर्ण बनेको साझारूपी मठलाई जोगाउन नयाँ ‘जोगीहरू’ नझुल्किएका होइनन् । तर, जति जोगी आए पनि कानै चिरिएका मात्र परे र उनीहरूले डुब्न लागेको साझालाई उकास्नेमा भन्दा आफ्नै स्वार्थका बहाना चाल्न मात्र रुचि र चासो देखाए । अतः कुनै समय नेपाली प्रकाशन जगत्मा एकछत्र राज गर्न सफल साझा अचेल आफ्नै अस्तित्व जोगाउने दौडमा छ ।
चुलिँदो घाटा र ऋणका कारण थला परेको साझा प्रकाशन पूर्ववत् अवस्थामै फर्केला वा इतिहासका पृष्ठहरूमा मात्र सीमित रहला ? यो प्रश्नको सहज उत्तर तत्काल मिल्ने देखिँदैन । घिटिघिटी बाँचिरहेको साझा पुनः बग्रेला भन्ने अपेक्षा देशभित्र र बाहिर बस्ने तमाम स्रष्टा–सर्जकहरूले उक्त संस्था ओरालो लागेको समयदेखि नै राख्दै आएका छन् । तर, तीव्र आर्थिक संकट झेलिरहेको साझालाई ब्युँताउन राज्यले सहयोग र सद्भाव राखे पनि साझाको डाडुपन्यू हातमा लिनेहरूले गम्भीर व्यवहार प्रदर्शन नगरेका हुँदा स्रष्टाहरूको अपेक्षामा क्रमशः तुसारो पर्दै गइरहेको छ ।
व्यवस्थापकीय कमजोरीका कारण विगत सातआठ वर्षदेखि ओरालोन्मुख साझा प्रकाशनको नेतृत्व पछिल्लो समय जुन पात्रहरूले पाए, ती पात्रहरूले साझाको ऐतिहासिक साख र अस्मितालाई कायम राखी नेपाली प्रकाशन जगत्मा उक्त संस्थालाई पूर्ववत् स्थितिमा फर्काउने उद्देश्य र ध्येय सँगालेनन् । डुब्न लागेको एउटा संस्थालाई के कसरी दोहन गर्न सकिन्छ र आफ्नो पोल्टा भर्न सकिन्छ भन्ने ध्याउन्नामा नै केही पात्रहरू लागिपरे । सरकारको नजर साझाको गिर्दो अवस्थामाथि नपरेको होइन । यदि राज्यको नजर एउटा ऐतिहासिक र वाङ्मयको सेवामा समर्पित संस्थामाथि नपरेको भए ऋण र अनुदान सायदै प्राप्त हुन्थ्यो । तर, सरकारले ऋण र अनुदान दिई डुब्न लागेको साझालाई उठाउन प्रयत्न गरे पनि व्यवस्थापनमा देखिएको कमीकमजोरी र साझालाई बचाउनुपर्छ भन्ने सोच र चिन्तनको सर्वथा अभाव रहेको कारण साझाको स्थिति ओरालो लाग्न थालेकै बिन्दुमा रहेको छ । कुनै प्रगति हुन सकेको छैन ।
पछिल्ला वर्षहरूमा जुनजुन पात्रहरूको हातमा साझाको नेतृत्व गयो, ती पात्रहरूका असक्षमता, कमजोरी र व्यवस्थापकीय अकुशलता स्पष्ट मात्र भएनन्, त्यसले ओरालो लागेको एउटा संस्थालाई अझ ओरालोन्मुख गराउन यथेष्ट भूमिका खेल्यो । अझ, साझा हाँक्ने जिम्मेवारी पाएको सञ्चालकहरूबीच नै मनमुटाव र कटुता पैदा हुने र वक्तव्यबाजी गर्नेजस्ता कार्यले एकअर्काबीच अविश्वासको वातावरण पैदा हुन पुग्यो । सञ्चालकहरूबीच नै अन्तरविरोध चुलिएपछि र त्यो अन्तरविरोधको सही व्यवस्थापन हुन नसकेपछि ऋण र घाटामा चलिरहेको साझालाई कसरी गति दिने भन्नेबारे न योजना नै बन्न सक्यो, न त उक्त संस्थाको साख कायम राख्नेबारे सामूहिक छलफल र चिन्तन मनन नै हुन सक्यो ।
बरु, ऋण र घाटाको कुनै पर्वाह नगरी, विरोध र असन्तुष्टिहरू उब्जिने सम्भावनातिर कुनै ख्याल नै नगरी साझाको डाडुपन्यू हातमा लिएकाहरूले संस्थालाई एकपछि अर्को गर्दै आर्थिक भार थोपर्नमा नै उचित ठाने, साझालाई दोहन गर्ने कार्यमा नै तत्परता देखाए । नेतृत्व गर्नेहरूले सीमा नाघेर कदमसमेत चाल्न थाले । आफ्नो स्वार्थ निप्ट्याउन जजसको चाकडी गर्नुपर्छ, जजसलाई चाप्लुसी बजाउनुपर्छ, त्यस्ता पात्रहरूलाई रिझाउन उनीहरूका स्तरहीन किताब छाप्ने होडबाजी नै चल्यो, पछिल्लो समय । अझ, प्रबुद्ध सञ्चालकहरूले त पछिल्लो समय आफ्नै किताब छाप्नेतिर मात्र एकसूत्रीय ध्यान लगाए । डुब्न लागेको संस्थालाई कसरी जोगाउनुपर्छ भन्नेतिर चिन्तन मनन गर्न उनीहरूले रुचि देखाउन चाहेनन् । जसरी भए पनि आफ्नै किताब निकाल्नुपर्छ भन्ने ध्याउन्नामा नै उनीहरू केन्द्रित रहे ।
निःसन्देह, साझा प्रकाशन एउटा व्यावसायिक संस्था हो । विगतमा कस्ता किताब छाप्दा त्यसले प्रकाशन संस्थालाई माथि उठाउँछ, कस्ता पुस्तक पाठकहरूले रुचाउँछन् ? यस्ता पक्षहरूमा ध्यान दिएर मात्र पुस्तक प्रकाशन गर्ने गरिन्थ्यो । भनसुन, नातावाद, चाकडी र चाप्लुसी– यस्ता पक्षहरू पुस्तक प्रकाशनका आधारहरू थिएनन् । तर, खडेरीले खाएको बालीमा सलह छिरेपछि के हविगत होला बालीनालीको ? अहिले साझाको अवस्था त्यस्तै हुन पुगेको र भोका सलहहरूले रजाइँ गरिरहेका छन् । नेतृत्व गर्नेहरूले साझालाई जोगाउनेतिर होइन, जसरी भए पनि दुहुने अभियानमा लागेका छन् । अब त यति मात्रै भन्न सकिन्छ– हे प्रभु ! साझालाई लोभी र पापीहरूको चंगुलबाट बचाऊ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply