कांग्रेस महासमिति अस्तव्यस्त
काठमाडौं । चार दिनदेखि राजधानीमा जारी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठक अस्तव्यस्त देखिएको छ । अराजकता र होहल्लाबीच जारी बैठक जुन मुद्दाका लागि डाकिएको थियो सो मुद्दाले चार दिनपछि मात्र प्रवेश पाएको छ ।
पुरानै विधानअनुसार चलिरहेको कांग्रेसले नयाँ संरचनाअनुसार आफूलाई ढाल्न विधान परिमार्जन गर्न सो बैठक डाकिएको थियो । तर, मूल विषयमा प्रवेश नगरी नेताहरूबीच आरोप–प्रत्यारोप र होहल्लाबीच हिजो मात्र सो एजेन्डा प्रस्तुत गरिएको हो । सभापति शेरबहादुर देउवा तथा अन्य शीर्ष नेताहरूले भाषण गरिरहँदा पनि कसैले ध्यान दिएर नसुन्ने र होहल्ला मात्र गर्ने गरेपछि सोमबार सभापति देउवाले नामै लिएर केही नेतालाई हप्काएका थिए । त्यति मात्र होइन, अनावश्यक भीड र होहल्ला भएपछि सभापति देउवाले भीड नियन्त्रणका लागि मंगलबार दिँउसो आवश्यक निर्देशन दिन खोज्दा सहभागीमध्येका कुनै व्यक्तिले माइक नै काटेको समेत देख्नुपरेको छ । त्यति मात्र होइन, बोल्ने क्रममा नै नेताबीच माइक खोसाखोस भएपछि बैठक नै केही समयका लागि स्थगित गर्नुपर्ने अवस्था आएको थियो । नुवाकोटाका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले बोल्न खोज्दा सहमहामन्त्री डा. प्रकाशरण महतले माइक खोसेपछि बैठक स्थगित भएको थियो ।
नुवाकोट सभापति केसीले बोल्दाबोल्दै महतले माइक खोसेपछि बैठक स्थलमा केहीबेर तनाव भएको थियो । महासमिति बैठक सुरु भएको चार दिनसम्म पनि पार्टीको विधान पेस नभएको भन्दै सभापति केसीले आपत्ति जनाएपछि महतले माइक खोसेका थिए । संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विधानको विषयमा एकमत हुन नसकेका कारण सो प्रस्ताव पनि प्रस्तुत हुन नसकेको बताइन्छ ।
पदाधिकारी संख्या अहिलेको भएको भन्दा थपिनुपर्ने र सबै निर्वाचित हुनुपर्ने पौडेल पक्षको माग छ भने सभापतिले मनोनयन गर्न पाउनुपर्ने संस्थापन पक्षको धारणा छ । यसैबीच, ६ सयभन्दा बढी महासमिति सदस्य हिन्दू धर्मको पक्षमा खुलेका छन् । जारी महासमिति बैठकमा हिन्दू धर्मको पक्षमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ । वैदिक सनातन हिन्दू राष्ट्र निर्माणका लागि नेपाली कांग्रेस महासमिति बैठकमार्फत हिन्दू राष्ट्रको एजेन्डाका लागि हस्ताक्षर संकलन अभियान सुरु गरिएको हो । सो अभियानको पहिलो नम्बरमा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले हस्ताक्षर गरेका छन् । केन्द्रीय सदस्य भण्डारीको नेतृत्वमा संकलन गरिएको सो हस्ताक्षर संकलन अभियानमा ६ सयभन्दा बढी महासमिति सदस्यले हस्ताक्षर गरिसकेका छन् । संकलन गरिएको हस्ताक्षर पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइने बताइन्छ । बहुसंख्यक हिन्दूहरूको बसोबास रहेको नेपाल विश्वमा हिन्दुत्वकै कारण परिचित रहेको हुँदा कुनै पनि हालतमा हिन्दूराष्ट्र बनाउनुपर्ने भण्डारीको भनाइ छ ।
यता, सहभागीहरूलाई बिहानको खाना मात्र आयोजकको तर्फबाट व्यवस्था गरिएको र साँझको खाना र आवास भने आफैंले प्रबन्ध गर्नुपर्ने व्यवस्था गरिएको छ । तर, मेचीदेखि महाकालीसम्मबाट राजधानी आएका सदस्यहरूले अहिलेसम्म आफ्नो पैसाले खाना खान नपरेको बताइन्छ । पार्टी सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला र संसदीय दलका उपनेता विजय गच्छदारका तर्फबाट त्यसरी खाना व्यवस्था गरिएकाले सहभागीहरूलाई नेताहरूको घरमा जानै भ्याइनभ्याइ भएको बताइन्छ ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply