पाठकको रुचि बिगार्ने शैली
अधिकांश प्रकाशन–गृहहरू अरु समय राम्ररी नै सुस्ताउँछन् । तर, नेपालीजनका ठूला पर्वहरू दसैं–तिहार नजिकिँदै जाँदा भने तिनै प्रकाशन गृहका प्रकाशनहरू बजारमा एकछत्र छाउन पुग्छन् । प्रकाशनको लहर र होडबाजी नै चल्ने गर्दछ, दसैं–तिहारको पूर्वसन्ध्यामा । पाठकीय रुचि र सौन्दर्यलाई पछ्याउँदै स्थापित÷संघर्षशील सबै कोटीका प्रकाशन गृहहरूले आफ्नो जाँगरलाई चलायमान तुल्याउँछन् । यसपालि पनि दसैं–तिहार नजिकिँदै छ । यिनै दुई ठूला पर्वलाई मध्यनजर गर्दै प्रकाशन गृहहरूले बजारमा साहित्यिक–गैरसाहित्यिक दुवै कोटिका पुस्तकहरू प्रकाशनमा सक्रियता देखाउन थालेका छन् । पुस्तक–बजार गर्माउन थालेको आभास हुँदै छ, केही दिनयता ।
फुर्सदको समय मानिन्छ– दसैं–तिहारलाई । अरू पर्व–उत्सवहरूभन्दा यी दुई पर्व सापेक्ष रूपमा लामा बिदामा दरिने पर्वहरू हुन् । धार्मिकताको आवरणमा सजिएका यी दुई पर्वहरू मूलतः सांस्कृतिक पर्व हो । सांस्कृतिक रीतिरिवाजहरूलाई अँगाल्दै आमोदप्रमोदमा रमाउने, आफन्तहरूसँग भेटघाट गर्ने र बिदाको सदुपयोग गर्ने पर्वका रूपमा विगतदेखि नै यी दुई पर्वहरू स्थापित छन् । पठन–संस्कृतिलाई पछ्याउनेहरूले भने दसैं–तिहारजस्ता पर्वका फुर्सदिलो समयलाई आफ्ना इच्छा र रुचिका पुस्तकहरू अध्ययन गर्ने र फिल्महरू हेर्ने अवसरका रूपमा सदुपयोग गर्ने गर्दछन् । मीठा–मीठा परिकारहरूमा जम्दै पुस्तक अध्ययन एवं फिल्म दृश्यावलोकन गर्दा पृथक आनन्द बटुलिनेमा सायदै दुईमत होला ।
त्यही भएर नै, दसैं–तिहारजस्ता बिदामा पर्वको आनन्द लिँदै रुचिका पुस्तकहरू पढ्ने संस्कृति हरेकजसो पुस्ताबीच पछिल्ला समयावधिमा विकास हुँदै गएको छ । विदेशबाट स्वदेशमा दसैं–तिहार मनाउने फर्किने जमात होस् वा ग्रामीण बस्तीको रमझमबीच चाड मनाउन सहरी इलाका छाडेर जानेहरूले नै किन नहोस्, आफ्ना रुचिका पुस्तकहरू किन्न र पढ्न रुचाउने गरेका छन् । अध्ययनप्रति गहिरो लगाव भएकाहरूबीच बजारमा निस्किएका नयाँ पुस्तकहरू प्राथमिकतामा नपर्ने प्रश्नै रहेन । पुस्तकहरू बिक्ने ‘सुवर्ण अवसर’ हो– दसैं–तिहारको पूर्वसन्ध्या ।
अझ, दसैं–तिहारको पूर्वसन्ध्यामा हुने अनेक पुस्तक–मेला, साहित्यिक उत्सवहरूले पनि पुस्तक बिक्रीमा अहम् भूमिका खेल्ने गर्दछन् । पुस्तक–मेलाको व्यापकता झन् चम्किँदो छ । एकाध वर्षअघि काठमाडौंभित्र मात्र सीमित पुस्तक–मेलाहरू अब देशका प्रमुख सहर–बजारसम्मै तन्किएका छन् । आफ्नै सहर–बजारमा पुस्तक–मेला हुँदा र आफ्ना रुचिका पुस्तकहरू किन्न पाउँदा मोफसलका ‘पढन्ते’ हरू खुसी नहुने कुरै भएन । मोफसलमा हुने सानातिना पुस्तक–मेलाले क्रमशः काठमाडौंवादलाई तोड्दै लगेको छ ।
एकाध महिनापूर्व केही निजी प्रकाशन गृहका सञ्चालकहरूले एउटा अफवाहको बीजारोपण गरेका थिए, ‘साहित्यका पुस्तकहरू बिक्नै छाडे, बजार चौपट छ ।’ यस्तो हल्लामा सत्यता थियो वा नियोजित रूपमा फैलाइएको हो ? यो प्रकाशन गृहका सञ्चालकहरूले नै जान्ने र बुझ्ने विषय हो । तर, पछिल्ला समयमा भने केही प्रकाशन गृहहरूले पाठकहरूको रुचिलाई विकृत तुल्याउने कार्यमा भने जानी–नजानी भूमिका खेल्दै आएका छन् । प्रतिष्ठित भनी चिनिएका कतिपय प्रकाशन गृहहरूले समेत बिक्रीयोग्य हुने देखेपछि साहित्यिक गुणवत्ताका दृष्टिले कमसल पुस्तकहरू पनि प्रकाशन गर्न थालेका छन् । पाठकले रुचाउने नाममा विषयगत रूपले कमसल पुस्तकहरू छाप्ने र त्यसले पु¥याउने नकारात्मक असरबारे विचार–विमर्श नै नगर्ने प्रवृत्ति बढ्दै जाँदा अन्ततः प्रकाशन गृहहरूलाई नै घाटा हुने देखिन्छ ।
अझ, कतिपय प्रकाशन गृहहरूले त पुस्तकलाई ‘बिकाउ माल’ को कोटीमा राखेर पब्लिसिटी गर्ने प्रचलन चलाउँदा त्यसले विपरीत असरसमेत पु¥याउन थालेको प्रतीत हुन जान्छ । कुनै राष्ट्रिय÷बहुराष्ट्रिय कम्पनीले आफ्नो उत्पादनलाई धेरैभन्दा धेरै बिक्री गर्न जुन तौरतरिका अपनाउने गर्दछन्, अर्थात् ती कम्पनीहरूले उत्पादनको बाह्यावरणदेखि त्यसका गुणवत्ताबारे जसरी धुवाँदार रूपमा प्रचारप्रसार गर्दछन्, हामीकहाँ प्रकाशन गृहहरूले पनि त्यही तरिका र शैली अपनाउन थालेका छन् । अति बढाइचढाइँ गर्दा त्यो कतै प्रत्युत्पादक त ठहरिँदैन ? यस्ता पक्षमा ध्यान पु¥याउनुको साटो जसरी हुन्छ, आवश्यक–अनावश्यक प्रचारप्रसार गर्ने र हजारौं प्रति बिक्री गर्ने लालसामा नै हाम्रा प्रकाशन गृहहरू व्यस्त देखिन थालेका छन् ।
कुनै पुस्तकलाई ‘बोल्नेको पीठो बिक्छ’को शैलीमा प्रचार–प्रसार गरेर धेरै संख्यामा बिक्री गर्दा त्यसले प्रकाशन गृहहरूलाई राम्रै र सन्तुष्टदायी मुनाफा त देला, तर पाठक आफूले अपेक्षा गरेअनुरूप पुस्तकमा गुदी चिज पाएनन् भने त्योजति प्रत्युत्पादक अरू केही हुन सक्दैन । पाठकको अपेक्षालाई दुत्कारेर वा पाठकको रुचिलाई बिगारेर पुस्तक बेच्नु भनेको अन्ततः आफ्नै खुट्टामा बन्चरो उज्याउनु हो भन्ने कुरा प्रकाशन गृहहरूले बुझे राम्रै हुने देखिन्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply