कसरी बिर्सिए यिनी ?
पञ्चायती कालरात्रिलाई भोगेका सर्जकहरूले त्यो निरंकुश व्यवस्थालाई लल्कार्ने आधार बनाए, सिर्जनालाई । सिर्जनाका अनेक माध्यममध्ये तत्कालीन समयमा सशक्त मानिन्थे, गीत–संगीत, कविता र नाटक । जसले जनतालाई तत्क्षण अपिल गर्न सक्दथे । एकदलीय राजनीतिक सोच र चिन्तन फक्रिरहेको त्यो समय फरक विचार र चिन्तन फुल्न सम्भव थिएन । तर, सर्जकहरूले भने परिवर्तनको यात्रामा आफूलाई सदैव अग्रसर तुल्याइरहे, आफ्ना सिर्जनाहरूबाट जनताको स्वर गुन्जाइरहे । प्रगतिशील÷प्रजातान्त्रिक दुवै कित्ताका सर्जकहरूको प्रयत्नले अन्ततः सार्थक गोरेटो भेट्टायो ।
तिनै उथलपुथलले भरिएका समयमा प्रगतिशील स्रष्टाहरूको लहरमा एउटा कलमको निकै चम्किलो उपस्थिति देखिन्थ्यो । उनी थिए, नर पल्लव । चालीसको मध्य दशकमा उनको एउटा काव्यकृति आएको थियो– ‘नसुनिने पदचापहरू ।’ २०४६ सालको अन्त्यमा देशमा राजनीतिक परिवर्तन भयो, जनता स्वतन्त्र भए । तर, परिवर्तनपछिका दिनहरूमा भने नर पल्लवका सिर्जनाहरूसँग परिचित हुने अवस्था टुट्यो । तीन दशक बितिसकेको छ । किन लेख्न छाडे उनले ? अचेल पनि उनी सिर्जनारत छन् वा छैनन् ? यो प्रश्न नेपाली साहित्य वृत्तमा नउठ्नु दुर्भाग्यपूर्ण मान्नुपर्छ ।
२०३६ सालको राजनीतिक उभारले भरिएका दिनहरूमा उनले एउटा मीठो सिर्जना गरेका थिए । विदेशी भूमिमा श्रम र सीप पोख्दै आएका ‘लाहुरेहरू’लाई देशमा परिवर्तनको रेखा कोरिँदै गएको संकेत गर्दै उनले आह्वान गरेका थिए, ‘तिम्रो चेतनाको बिर्को अब उघ्रिसकेको छ÷तिमी स्वच्छन्द छौ÷तिमी स्वाधीन छौ÷तिम्रा संगीनहरू यो माटोमा स्वचालित हुनेछन्÷तिम्रा सीपहरू तिम्रै घरमा परिचालित हुनेछन् ।’ निश्चय नै, २०३६ साल नेपाली राजनीतिलाई परिवर्तनको दिशातिर डो¥याउने एउटा आधार–वर्ष थियो । त्यसपछिका दिनहरूमा जनताले जागृतिका गीत गाउन थाले । कवि पल्लवले त्यही वर्ष अर्को कविता लेखे, ‘पुछ, ती आँखामा बिझाउने आँसुहरू ।’ आमालाई सम्बोधन गरिएको त्यो कवितामा देशले परिवर्तन रुचाउँदै गएको स्पष्ट संकेत थियो ।
लेख्न त उनले तीसको आरम्भिक दशकदेखि नै लेख्न थालेको देखिन्छ । ‘नसुनिने पदचापहरू’ छापियो, २०४४ सालमा । त्यो समय निकै चम्किएका थिए, अर्का सशक्त कवि मञ्जुल । तत्कालीन समयमा प्रगतिशील स्रष्टाहरूको ऊर्जाको केन्द्र बनेकी थिइन्, पारिजात । कवि मञ्जुलले पारिजातकहाँ आफू गएको बेला नर पल्लवसँग परिचित हुने अवसर पाएको उल्लेख गर्दै उनको कृतिको भूमिकामा कविको थप परिचयसमेत खोलेका छन्, ‘एमिली डिकिन्सनका कविताहरूलाई नेपालीमा अनुवाद गर्ने अनुवादकका रूपमा नर पल्लव नेपाली साहित्यमा परिचित हुनुहुन्थ्यो । तर, मौलिक कविता लेख्ने कविका रूपमा भने मैले उहाँलाई चिनेको थिइन । बेलाबखत उहाँ राल्फा आन्दोलनबारे कुरा गर्न खोज्नुहुन्थ्यो र नमिलेको सामाजिक परिपाटीको विरुद्धमा गीत, साहित्यको रचना होस् भन्ने चाहना गर्नुहुन्थ्यो । तर, फुर्सदको कमीले या भनौं हातमुख जोर्ने समस्या सुल्झाउन व्यस्त रहनुपर्ने कारणले हामीले खुलेर कुरा गर्ने मौका पाएका थिएनौं ।’
‘इन्द्रेनीका सन्देश पक्षीहरूलाई’ यो कविताले पनि तत्कालीन कालरात्रीको चित्रण मात्र गरेको थिएन, परिवर्तनको उच्च चाहनालाई रेखांकनसमेत गरेको थियो । उनले लेखेका थिए, ‘इन्द्रेणीले दिएका सप्तरंगी सन्देशलाई मनन गरी÷तिम्रो सामु तेर्सिएको÷कालो रातको कालो पर्दालाई च्यातिदेऊ÷एकपल्ट चिन्तन गरी हेर÷तिम्रा पाखुरामा तीव्र रूपले शक्ति सञ्चार भएको छैन र ?’ अर्को भावपूर्ण कविता थियो– ‘हाम्रो विश्वास ।’ उनीभित्रको विश्वास यसरी मौलाएको देखिन्छ कि सिस्नुका झ्याङहरूलाई विश्वासको हँसियाले काट्न उनी लालायित छन् । निरर्थक बितिरहेको समय र मानिसहरूमा पलाउँदै गएको जडताप्रति कटाक्ष पोखिएको छ, ‘उही दिन’मा । उनले लेखेका थिए, ‘मक्किसकेका दलिनहरूमुनि÷पुतली खाइरहेछन् माउसुलीहरू÷गिद्धहरूले खसालेको हाडमा÷लडिरहेछन् कुकुरहरू÷जुधिरहेछन् साँढेहरू÷रमिता हेरिरहेछ उही दिन ।’
हरेक सर्जकले आफू बाँचिरहेको समय र परिवेशको आवाज बोल्ने गर्छन् । आफू बाँचेको समयमा देशभित्र वा बाह्य मुलुकहरूका जनताले भोगेका राजनीतिक, सामाजिक, सांस्कृतिक पीडाहरूलाई उजागर गर्न सर्जकहरू सदैव तत्पर हुन्छन् । गम्भीर सर्जकहरूले आफ्नो भूगोलभित्रका पीडालाई मात्र चिन्दैनन्, अरू देशका जनताले ग्रहण गरेका पीडाप्रति पनि उनीहरू उत्तिकै संवेदनशील हुन्छन् । तत्कालीन समयमा भियतनाम, कम्बोडिया, अफ्रिकन र ल्याटिन अमेरिकी देशहरू अमेरिकाको दबदबाले आक्रान्त थिए र ती देशका जनताले युद्धका विभिषिकाहरू झेले । उनले अन्तर्राष्ट्रिय समस्या÷जनपीडालाई पनि आत्मसात गरेका थिए । तर, उनी धेरैभन्दा धेरै चिन्तित थिए, तत्कालीन राजनीतिक अनुदारताप्रति । देशमा परिवर्तनको इन्द्रेनी झुल्न नदिने शासकहरूप्रति क्षुब्ध थिए । उनले लेखेका थिए, ‘भाँडा जतिसुकै माझे पनि÷भाँडामा धुलोकै गन्ध आइरहेको छ÷ओछ्यान जति दिन घाममा सुकाए पनि÷धमिराले फुल पारिरहेकै छ÷वस्त्र जतिसुकै धोए पनि÷वस्त्रभरि धमिराकै गन्ध छाएको छ ।’
परिवर्तनको तीव्र चाह, निरंकुश चरित्रप्रति कटाक्ष, अन्तर्राष्ट्रिय दुखाइप्रति संवेदित– यस्तै÷यस्तै भावसम्प्रेष्य काव्य–सिर्जना गर्ने नर पल्लवका अरू सिर्जनाहरू दशकौंसम्म आएनन् । अचेल उनी सिर्जना गर्दै छन् कि छैनन् ? पुनः यही प्रश्न ब्युँताउनु सान्दर्भिक होला यतिखेर । अन्ततः तत्कालीन समयका राजनीतिक, सामाजिक यथार्थहरूलाई सतहमा ल्याउने कौशलले भरिपूर्ण सिर्जना गर्ने कवि नर पल्लवलाई नेपाली साहित्यले पक्कै पनि बिर्सन नमिल्ला ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply