धर्मभिरुहरूको कोकोहोलो
अझै पनि हरेक धर्मभिरुहरूमा एक किसिमको असहिष्णुता मौजुद छ । वैज्ञानिक ज्ञान, चिन्तन र अभ्यासद्वारा आलोकित एक्काइसौं शताब्दीको वर्तमान कालमा पनि सामाजिक व्यवस्था र परिपाटीलाई निर्देशित गर्ने राज्यसत्ताको उदय नभइसकेको मध्यकालीन समायमा स्थापित धर्मका कतिपय पुरातन, रुढिग्रस्त र समाजलाई पछाडि धकेल्ने कथाख्यानहरूमाथि टिप्पणी गर्दा असहिष्णु बन्ने परिपाटी अझै कायम देखिएको छ । केही दिनपूर्व महिला नेतृ यशोदा सुवेदीले ‘स्वस्थानीका पानाहरू च्यात्नुपर्छ’ भन्ने प्रसंग उप्काएसँगै आफूलाई आधुनिक र शिक्षित ठान्ने तर मध्ययुगीन चिन्तन, सोच र संस्कारमा बाँधिएका एउटा तप्का तिल्मिलाउन पुग्यो । उनीहरूले स्वस्थानी व्रतकथामा निहित नेपाली समाजको आस्थालाई सर्वोपरि ठान्दै पुरातन र सामन्ती चिन्तनको वकालत गरे ।
हरेक सभ्यताको विकाससँगै अनेक मिथकहरू जन्मिन पुगे । नेपाली समाजभित्र हरेक माघ महिनामा वाचित हुँदै आएको स्वस्थानी व्रतकथा पनि अहिले एउटा मिथकभन्दा पृथक् र माथि रहेको पाइँदैन । समाजको विकास क्रमसँगै जन्मिएका हरेक सांस्कृतिक पृष्ठभूमि र सभ्यताको विकास यात्रामा अनेक मिथकहरू सतहमा आएको विदितै छ । कुनै मिथक धार्मिक मूल्य–मान्यतासँग जोडिन पुगे भने कुनैमा तत्कालीन समय र व्यवस्थाका मुख्य पात्रहरूका संघर्ष–गाथा अंकित छन् । तिनै मिथक–कथा र गाथाहरूले कालान्तरमा धर्म, रीतिरिवाज, सांस्कृतिक परम्पराहरूको स्थान लियो र स्वस्थानी व्रतकथा पनि त्यही उपक्रमको एउटा स्थापित कडी बन्न पुग्यो ।
मानव समाजको विकास क्रममा जुन–जुन ठाउँमा सभ्यताको विकास भयो र त्यसलाई निरन्तरता दिन जेजति संघर्षहरू भए, त्यहाँ–त्यहाँ अनेक कथा, उपकथा, मिथकहरू जन्मिएका छन् । मिथक अरू केही नभएर चेतना–विकासको हिसाबले शून्यप्रायः रहेको मानव समाजभित्रका मानवीय सोच, चिन्तन र सिर्जनाको उपज हो । मानवको परिकल्पना हो । मानिसले आफ्नो सिर्जनात्मक कर्म प्रस्फुटित गर्ने क्रममा जेजति परिकल्पना गरे, अन्ततः त्यही नै मिथक बन्न पुग्यो । कतिपय मिथकमा तत्कालीन समय र सामाजिक परिवेशका यथार्थ घटनाक्रमहरू विम्बका रूपमा छाउन पुगेका छन् भने कतिपयमा नितान्त कल्पनाशीलता हाबी छन् ।
स्वस्थानी व्रतकथा पनि एउटा मिथक–गाथाभन्दा बेग्लै देखिँदैन । यो व्रतकथालाई जसले सिर्जना गरे, त्यसले हिमालय क्षेत्रको कथालाई प्रमुखता दिएका छन् । खासगरी, काठमाडौं उपत्यकादेखि हिमालय क्षेत्रसम्मका किरातकालीन समयको कथालाई मिथकीय रूपले सिँगारपटार गर्ने कार्यमा स्वस्थानी व्रतकथा अग्रसर देखिएको पाइन्छ ।
सामन्तकालीन समाजका कवि÷चिन्तकहरूमा त्यही समयको चिन्तन र चेतना मौजुद हुनु स्वाभाविकै हो । सामन्तकालीन समाजको उच्च वर्ग र वर्णभित्र पुरुष एकाधिकारवादी मानसिकता व्याप्त थियो । समाजमा नारीको स्थान र सम्मान नगण्य थियो । नारीलाई हेय दृष्टिले हेर्नुका साथै दोस्रो दर्जाको नागरिकका रूपमा स्विकार्ने गरिन्थ्यो । स्वस्थानी व्रतकथा पनि सामन्तकालीन समाजको आख्यान हो र त्यसमा नारीप्रति हेय, कुदृष्टि र अवहेलनाका प्रसंगहरू पर्नु अनौठो कुरा होइन । अझ, स्वस्थानी व्रतकथामा पुरुषवादी मानसिकता र दरिद्रताका जुन–जुन घटना–प्रसंग र वाक्यहरू परेका छन्, त्यसले सामन्तवादका हाँगाहरूलाई मौलाउने आधार प्रदान गरेका छन् ।
संसारमा जेजति मिथक मौजूद छन्, ती सबैमा धार्मिक लेपन लागेका छैनन् । ती मिथकहरू विशुद्ध कथामा खुम्चिएका छन् । तर, हामीकहाँ भने स्वस्थानी व्रतकथा एउटा मिथक भए पनि त्यसले धार्मिक स्वरूप ग्रहण गर्दै आएको छ । मूलतः महिला वर्गको अपार श्रद्धा, विश्वास र आस्था स्वस्थानी व्रतकथामा अर्पित छन् । स्वस्थानी व्रतकथाका पुरुष पात्रहरूमा जुन उत्पीडन, शोषण, मानवीय असंवेदनशीलता देखिन्छन्, ती सबै तथ्यप्रति जानकार हुँदाहुँदै पनि नेपाली नारीहरू स्वस्थानी व्रतकथाले इंगित गरेको थलो साली नदीमा गएर माघको चिसो महिनामा स्नान गर्ने, व्रत बस्ने र सो व्रतकथाप्रति आस्थावान् रहने कार्यप्रति दत्तचित्त देखिन्छन् । निम्न चेतनास्तर भएका महिलाको कुरै नगरौं, आफूलाई आधुनिक, वैज्ञानिक ज्ञान र चेतनाद्वारा सुसज्जित ठान्ने महिलाहरू समेत साली नदीमा स्नान गर्न जानुलाई श्रेयष्कर र उचित कार्य ठान्छन् । अहिले यो पवित्र कार्य नगरे अर्को जुनीमा कष्ट, पीडा झेल्नुपर्ने धोत्रिएको मानसिकतबाारा ग्रसित देखिन्छन् ।
महिला नेतृ यशोदा सुवेदीको ‘स्वस्थानी व्रतकथाका पानाहरू च्यात्नुपर्छ’ भन्ने अभिव्यक्तिले एउटा तप्काका खासगरी धर्मभीरु मानसिकता बोकेकाहरूका मस्तिष्कमा हलचल ल्याइदिएको छ । तर यो एउटा बहस, विचार–विमर्शको विषय हो । कुनै पनि धार्मिक मूल्य, मान्यता, विश्वास, आस्था र सिर्जनाहरूलाई बहसको तहमा उभ्याउनु हुन्न भन्ने मान्यता राख्नु उचित देखिँदैन । कुनै पनि पक्षमाथि बहस, अन्तक्र्रिया भए मात्र त्यसका सही र गलत पक्षहरू सतहमा आउँछन् र त्यसले चेतनाका अभावद्वारा पिल्सिएका जनमनलाई चेतनशील बनाउने आधार मात्र बन्दैन, समाजलाई पुरातन एवं रुढिग्रस्त मूल्य, मान्यताहरूभन्दा अघि बढ्ने बाटो समेत देखाउनेछ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply