गोरुगाढा, गणतन्त्र र जबज
माक्र्सवाद र माक्र्सवादी दर्शनलाई हामीले कसरी बुझ्ने ? यो सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो । संसारका अरू सबै दर्शनले आ–आफ्नै कोणबाट संसारलाई बुझ्न सिकाउँछन् । माक्र्सवाद आउनुभन्दा पहिले विभिन्न दर्शनहरूले संसारको व्याख्या गर्न जाने । तर, संसार बदलिने कुरा बताउन सकेनन् । समाज र संसारलाई बुझ्नु र बदल्नु नै माक्र्सवादको मूल विशेषता हो । माक्र्सवादी दर्शनको जीवन्तता यही हो । यो जीवन्ततालाई ग्रहण गर्न सक्यौं भने माक्र्सवाद जीवन्त दर्शनका रूपमा रहन्छ, व्यवहारको मार्गनिर्देश हुनसक्छ । व्यवहारलाई अगाडि बढाउने महत्त्वपूर्ण औजार हुनसक्छ । तर, बदलिएको व्यवहार अनुसार आफूलाई अद्यावधिक गर्न सकिएन भने, आफूलाई समृद्धि बनाउन सकिएन भने सिर्जनात्मक रूपले त्यसलाई विकास गर्न सकिएन भने त्यो सिद्धान्त खोपीको देउता मात्र हुन्छ । त्यसलाई धर्मसूत्र वा मालाका रूपमा जप्ने काम मात्र हुनसक्दछ ।
अहिले हाम्रो पार्टीभित्र मेरो विचारमा दुई विपरीत विचारबीचमा संघर्ष चलिरहेको छ । यो के हो भने जनताको बहुदलीय जनवाद, समाज र अन्तर्विरोधलाई कसरी बुझ्ने ? अहिलेको हाम्रो कार्यभारलाई कसरी बुझ्ने ? कस्तो पार्टी निर्माण गर्ने ? यी सबै कुराहरूका सन्दर्भमा हाम्रो बीचमा बहस र छलफल चलाइरहेका छौं । छलफल र बहसबाट आत्तिनुपर्ने कुनै आवश्यकता छैन । आरोप–प्रत्यारोप गर्नुपर्ने खाँचो पनि छैन । समाज परिवर्तनका निम्ति हो, जनताका निम्ति हो, पार्टीका निम्ति हो । देशको हितका निम्ति चल्ने बहसबाट आत्तिनुपर्ने वा आरोप–प्रत्यारोप गर्नुपर्ने कुनै आवश्यकता छैन ।
माक्र्सवादको सिद्धान्तका प्रकाशमा हामीले यी सबै चिजलाई ऐतिहासिकताका आधारमा व्याख्या र विश्लेषण गर्दै सही दृष्टिकोण आत्मसात् गर्दै अघि बढ्न सक्नुपर्दछ । जनताको बहुदलीय जनवादका सन्दर्भमा कहीँ–कहीँ मैले सुनें– यसलाई विसर्जन गर्ने सोच पनि आएको हो कि † हो, एउटा अवस्थामा विसर्जनको अवस्थामा पुग्छ । यदि हामीले अहिल्यै नै यसलाई समाजवादी क्रान्तिको युगमा, समाजवादमा प्रवेश गर्यौं भने जनताको बहुदलीय जनवादको औचित्य सकिन्छ । किनभने, जनताको बहुदलीय जनवाद त्यो संक्रमणसहितको समाजवादको दिशातर्फ जाने सिद्धान्त हो । हिजो अर्धऔपनिवेशिक र अर्धसामन्ती अवस्थामा रहेको समाजलाई रूपान्तरण र राष्ट्रिय पुँजीको विकास गर्दै सामन्तवादको अवशेषलाई समाप्त पारेर समाजवादका निम्ति संक्रमणको आधार तयार गर्ने सन्दर्भमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता छ । यसर्थ, आजको परिवर्तित व्यवहार अनुरूप हामीले जनताको बहुदलीय जनवादलाई समृद्ध बनाउन सक्नुपर्छ ।
वास्तवमा गति नै जीवन हो । कमरेड मदन भण्डारीले पटक–पटक भन्ने गर्नुभएको थियो– ‘सिद्धान्तका निम्ति जीवन कि जीवनका निम्ति सिद्धान्त ?’ कारण के पर्यो भने, हाम्रो पार्टीभित्र सिद्धान्त परिवर्तन गर्नु हुँदैन भन्ने थिएन । परिमार्जित नौलो जनवादको कुरा त आएकै थियो । यथावत् त थिएन नि † तर, परम्परागत नौलो जनवादको चौघेराबाट मुक्त हुन सकेको थिएन । जनताको बहुदलीय जनवादको जुन अन्तर्य थियो, त्यसको आत्मा थियो, त्यसलाई ग्रहण गर्न नसक्ने, जडसूत्रवादमा टाँसिने वा विसर्जनवादमा पूरै भासिने खतरा भएको हुनाले कमरेड मदन भण्डारीले एउटा वैचारिक कार्यदिशा अगाडि सार्नुभयो– जडसूत्रवाद र विसर्जनवादको विरोध गरौं, माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौं । अर्थात्, वैचारिक रूपमा हाम्रो दिमागमा रहेका यी सबै जडसूत्रवाद चिन्तनबाट मुक्त होऔं, हिजो माक्र्सले के भन्नुभयो भन्ने दस्तावेजभित्र मात्र नजाऔं, लेनिनले के लेख्नुभयो भन्ने दस्तावेजभित्र मात्र नजाऔं, अहिले नेपाली समाजको व्यवहारलाई पहिले हेरौं र दृष्टिकोणलाई आत्मसात् गरौं, दर्शनको मूल तत्वलाई आत्मसात् गरौं । समाजको सही विश्लेषण गरौं, समाजलाई कहाँ लैजान खोजेको हो, जनताको चाहना र भावना के छ ? बदलिएको समयले हामीलाई के कुराको निर्देश गरिरहेको छ ? त्यसलाई आत्मसात् गरौं भन्न खोज्नुभएको थियो ।
यस कुराले हाम्रो पार्टीभित्र वैचारिक उथलपुथल र पुन:गठन त भयो तर नेपाली कम्युनिस्ट आन्दोलनमा त्यो वैचारिक उथलपुथल अझै पनि जारी छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा समेत त्यो वैचारिक उथलपुथल अहिले पनि जारी छ । म सम्झिरहेको छु– १९९३ को मई १ तारिखमा कलकत्ताको सेमिनारमा कमरेड मदन भण्डारी र म गएका थियौं । उहाँले जनताको बहुदलीय जनवादको व्याख्या गर्दा मञ्चमै सीपीएमआईका महासचिवले ‘यस्तो समर्पणवादी र विसर्जनवादी विचार’ भने । त्यो विचारलाई समर्थन गर्ने दुई देशका कम्युनिस्ट पार्टी मात्र देखिए– ब्राजिल र दक्षिण अफ्रिका ।
जबजको लोकतान्त्रिकीकरणका पक्षका बारेमा बढी विवाद चल्यो । त्यसैले यस पक्षका बारेमा ज्यादा व्याख्या–विश्लेषण भएको छ । चौध वटा विशेषताहरूको चर्चा गर्दा पनि त्यही विषयमा बढ्ता जोड छ । जहाँ, जतिखेर जे कुरामा विवाद हुन्छ, त्यसकै ज्यादा व्याख्या–विश्लेषण हुन्छ । त्यो बेलाको विवाद के थियो भने जनताको बहुदलीय जनवादले नयाँ तत्व के थप्यो ? के थप्न खोजेको छ ? उठेका विषयवस्तुहरू के हुन् ?
पहिलो, परिवर्तन शान्तिपूर्ण तरिकाले हुनसक्छ कि सक्दैन ? दोस्रो, जनताको चेतना, जागरण र शक्तिको भूमिका कति हुनसक्छ ? तेस्रो, एउटा पार्टीले अरू पार्टीको अस्तित्व स्वीकार गर्नुहुन्छ कि हुँदैन ? प्रतिस्पर्धाको बाटोमा जानु हुन्छ कि हुँदैन ? आवधिक निर्वाचन प्रणालीलाई स्वीकार गर्नु हुन्छ कि हुँदैन ? अर्थात्, अन्तर्राष्ट्रिय रूपमा लोकतन्त्र जुन मूल्य र मान्यताहरू छन्, जुन बुर्जुवा वर्गले उठाउँदै आएको छ, ती कुरा अस्वीकार गर्ने कि हाम्रा निम्ति उपयोगी छन् भने ग्रहण पनि गर्ने ?
बहस चल्दा पुँजीवादले आफ्नो अस्तित्वको रक्षा र आयु लम्ब्याउन समाजवादका कति कुरालाई आत्मसात् गर्न सक्यो † त्यसबाट सिक्ने कि नसिक्ने भन्ने कुरा उठे । जस्तो– उसले सामाजिक सुरक्षाको कुरा आत्मसात् गर्यो । सामाजिक न्यायका कुरा उठायो । लोककल्याणकारी राज्यको मागलाई अगाडि सार्यो । शिक्षा, स्वास्थ्य आम जनताका निम्ति अनिवार्य बनाउने काम गर्यो । पुँजीवादले आफ्नो आयु बचाउनका निम्ति समाजवादका तत्त्वहरू ग्रहण गर्न सक्छ भने समाजवाद वा कम्युनिस्ट पार्टीले पनि आफ्नो पार्टी जोगाउन, आन्दोलनलाई बचाउन र त्यसलाई जनतामा सुपाच्य बनाउन पुँजीवादका कतिपय तत्त्व ग्रहण गर्न हुन्छ कि हुँदैन ? मानव जातिले आर्जन गरेका ज्ञान र अनुभवहरू एउटा पुँजीपति वर्गको पेवा हुन सक्दैनन् । यदि पुँजीपति वर्गको पेवा भन्ने हो भने विज्ञान र प्रविधिमा भएका आधुनिक विकासलाई स्वीकार्ने कि नस्वीकार्ने ? यी सबै वैचारिक संघर्षका क्रममा जनताको बहुदलीय जनवादलाई कमरेड मदन भण्डारीले व्यवस्थित रूपमा अगाडि सार्नुभयो । त्यसभन्दा पहिले चौथो महाधिवेशनमा नै उहाँले आवधिक निर्वाचन प्रणाली स्वीकार गर्ने कुरा दस्तावेजका रूपमा ल्याउनुभयो । त्यसलाई विस्तारै ग्रहण गरियो ।
०४९ को पाँचौं महाधिवेशनभन्दा पहिल्यै ०४७ मा नेकपा (एमाले) निर्माणको सिलसिलामा त्यो दस्तावेज निर्माणको जिम्मा भरतमोहन अधिकारीलाई दिइएको थियो । उहाँले दस्तावेज तयार गर्दा बहुदलीय प्रतिस्पर्धाका पक्षहरूसहित हाम्रा सिद्धान्तहरूलाई समेत राखेर ल्याउनुभयो । त्यसलाई हामीले स्वीकार गर्यौं र विस्तारै त्यसलाई सूत्रबद्ध रूपमा व्यवस्थित गर्ने काम पाँचौं महाधिवेशनबाट गर्यौं । यसर्थ, त्यो एउटा कोसेढुंगा थियो । तत्कालीन समयमा उठेका विषयवस्तुलाई त्यसले सम्बोधन गरेको थियो ।
अब प्रश्न उठेको छ– ०७१ सालमा उठेका विषयवस्तुलाई जनताको बहुदलीय जनवादले सम्बोधन गर्ने कि नगर्ने ? त्यो बेला सम्बोधन गरिएको छ । यसबीचमा धेरै विषयवस्तु हाम्रासामु खडा भएका छन् । तिनलाई हामीले सम्बोधन गर्दै र हल गर्दै अगाडि बढेका पनि छौं र त्यसलाई जनताको बहुदलीय जनवादमा समेटेर समृद्ध गर्नुपर्ने आवश्यकता छ ।
उदाहरणका निम्ति त्यसबेला हामीले गणतन्त्रको कुरा यस रूपमा सोचेका थिएनौं । सोचेका मात्र होइन, पछि पनि यो सम्भव नै छैन भन्ने ठान्ने हाम्रै कमरेडहरू हुनुहुन्थ्यो । गोरुगाढा चढेर अमेरिका जानु र नेपालमा गणतन्त्र ल्याउनु उस्तै–उस्तै हो भन्ने मान्यता विद्यमान थियो । त्यस्तो किसिमको निराशावादी चिन्तन र प्रवृत्ति पनि देखा परेको थियो । तर, आन्दोलनको वेग र अन्तर्विरोधहरूको तीखोपनाका बीचमा यी सबै पछौटे विचार र मान्यताहरू बढारिँदा रहेछन् र समाज अगाडि जाँदो रहेछ । यी सबै पक्षहरू, चाहे त्यो गणतन्त्रको पक्ष होस्, चाहे संघीयताको पक्ष होस्, राज्य पुन:संरचनाको पक्ष होस्, समावेशीताको पक्ष होस् या सामाजिक न्यायका विविध विषयसँग जोडिएका पक्षहरू हुन्, तिनलाई हामीले अहिले जनताको बहुदलीय जनवादलाई समृद्ध बनाउने क्रममा समेट्न जरुरी छ ।
०६२/६३ को त्यो ऐतिहासिक परिघटनालाई के भन्ने ? यसलाई बुर्जुवा जनवादी क्रान्ति सम्पन्न भएको परिघटनाको रूपमा लिनुपर्छ । त्यसर्थ, नेपालमा राजनीतिक क्रान्ति सम्पन्न भएको छ । आन्दोलनका उपलब्धि संस्थागत भएका छैनन् भनेर यसलाई खण्डन गर्ने गरिन्छ । अहिले भनिहाल्न हुँदैन २–४ महिनापछि वा संविधान जारी भएपछि भन्नुपर्छ भन्छन् कोही–कोही । त्यो भनेको ‘हेजिटेसन’ हो, नयाँ कुरा आत्मसात् गर्नै नसक्ने । त्यासबेला मलाई पनि आत्मसात् गर्न गाह्रो भएको थियो । तर, प्रस्ट कुरा के हो भने संविधान जारी भइसकेपछि होइन, जहिले राजतन्त्र ढालियो, त्यही नै हो राजनीतिक क्रान्ति सम्पन्न भएको दिन हो ।
आर्थिक संरचना कब्जा गर्नेबित्तिकै हुँदैन, आर्थिक आधार पुरानै छ भन्ने अर्को एउटा तर्क पनि गर्ने गरिन्छ । जबसम्म आर्थिक आधार जुर्मुराउँदैन, पुरानो आर्थिक आधारसँग जोडिएका वर्गहरूबीचको सम्बन्ध तीखो हुँदैन, एउटा पक्षलाई उखेल्न अर्को पक्ष लाग्दैन, तबसम्म आर्थिक संरचना कब्जाका निम्ति आधार तयार हुँदै जान्छ । तर, कहिलेकाहीँ माथि सत्ताकब्जा गरेर तलको आधार बनाउनुपर्छ । चीनमा १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता कब्जा गर्यो । तर, १९५३ मा मात्र त्यहाँ भूमिसुधार भयो । १९५४ मा मात्र संविधान बनाइयो । त्यसो भए चिनियाँ क्रान्ति कहिले सम्पन्न भएको मान्ने ? १९५३ लाई, १९५४ लाई ? त्यसैले यत्रो महत्त्वपूर्ण परिघटनालाई हल्का ढंगले लिने काम नगरौं । ०६२/६३ को त्यो ठूलो राजनीतिक परिघटना थियो, हामीले राजनीतिक क्रान्ति सम्पन्न गरेका छौं, अब हामी नयाँ चरणमा प्रवेश गरेका छौं ।
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply