कहिल्यै नहार्ने योद्धा जोसँग गुमाउने केही छैन
एमालेमा पछिल्ला दिनमा केपी ओलीलाई अध्यक्ष बनाउनका लागि अघि सारिएका तर्कमध्ये एउटा थियो– झापा आन्दोलनको विरासत । उनी १४ वर्ष जेल बसेको कुरा एमालेका कार्यकर्तालाई खुबै सम्झाइएको थियो । महाधिवेशनबाट ओलीले झीनो मतले अध्यक्षमा जित्दा त्यही आन्दोलनका एक योद्धा भने खाली हात र अमिलो मन बोकेर झापा फर्किएका छन् । केन्द्रीय कमिटीमा चुनिन नसकेपछि घर फर्किएका नरेश खरेलले टेलिफोनमा ‘बुधबार’सँग भने– ‘म त घर आइपुगेँ ।’
झापा आन्दोलन नेपालको कम्युनिस्ट आन्दोलनमा उग्रवामपन्थी विचारबाट सुरु गरिएको एउटा उथलपुथलकारी घटना थियो । युवा उमेरका नरेश खरेल त्यतिबेला त्यसबाट अछुतो रहन सकेनन् । खरेललाई अहिले पनि सम्झना छ– ०३० साउन २० गते झापाको नडियाबारीबाट उनी पक्राउ परेका थिए । ती दिन सम्झँदा उनी एकाएक भावुक हुन्छन् । किनभने, आफ्नै सामुन्ने सँगै पक्राउ परेका चन्द्र डाँगीलाई गोली हानेर मारिएको उनले बिर्सेका छैनन् । उनलाई कति जेल बसेँ भन्ने ठ्याक्कै याद पनि छैन । ‘हिसाब पो गर्नुपर्छ त’– उनले भने । उनी ०४६ पुस १९ गते रिहा भएका थिए । पक्राउ र रिहा भएको हिसाब निकाल्दा उनी १६ वर्ष ५ महिना २९ दिन जेल बसेका थिए । सुरुमा झापामा राखिएका उनलाई वीरगन्ज, सेन्ट्रल जेल, नख्खु हुँदै भद्रगोल जेलमा राखिएको थियो । ‘नख्खु जेल ब्रेकपछि त्यति अड्डासार गरिएन’– खरेल भन्छन्– ‘हामीलाई भद्रगोलमै राखियो ।’
त्यस दिन आफ्ना १२ जना सहयोद्धासँगै खरेलले खुला आकाश देखेका थिए । उनीसँग पीडाका अनेक अनुभव छन् । त्यही आन्दोलनका क्रममा कठोर जेल जीवन बिताएर उनीसँगै रिहा भएका भोगेन राजवंशीले केही समयपछि बल्खुमा झुन्डिएर देहत्याग गरे । घनेन्द्र बस्नेत दुईपटक सांसद भए, मोहनचन्द्र अधिकारी एकपटक राष्ट्रियसभा सदस्य बने । मनकुमार गौतम अहिले सभासद् छन् । बाँकी अमर अधिकारी, अमर कार्की, मानकुमार तामाङ, मंगलमणि सतार, पानवीर विश्वकर्मा र सानु दुर्गा अधिकारी इतिहासका पानामा कतै हराएका छन् ।
नरेश खरेल यसअघि एमालेको पोलिटब्युरो सदस्य र मेची अञ्चल संयोजक थिए । ०६४ सालमा संविधानसभाको निर्वाचनमा लड्ने मौका पाए । ओलीले समेत हारेको निर्वाचनमा उनलाई ११ सय मत पुगेन । ०७० को निर्वाचनका बेला उनकी पत्नी पवित्रा खरेल निरौलालले झापा–२ बाट टिकट पाइन् र उनको नाम समानुपातिकका लागि भनेर छानियो । तर, अन्तिम बेलामा एक परिवारका दुई जनालाई हुँदैन भनेर सूचीमा नाम समावेश गरिएन । उता श्रीमतीले चुनाव हारिन्, यता श्रीमान्को त सूचीमा नामै थिएन ।
दुई–चार महिनादेखि दुई–चार वर्ष जेल बसेकाले त्यही भजाएर जुनी सुधारेका छन् । तर, नरेश खरेलले अहिलेसम्म पार्टीका तर्फबाट लाभको कुनै पद पाएका छैनन् । उनलाई पर्न पनि त्यस्तै पर्छ । ०५४ सालमा जिल्ला विकास समितिको सभापतिको टिकट दिइएको थियो । तर, पछि खोसियो र अर्जुन राईलाई सभापति बनाइयो । अनि, ०६७ मा झलनाथ खनाल प्रधानमन्त्री बन्दा उनको नाम अन्तिम बेलासम्म मन्त्री बन्नेको सूचीमा थियो । तर, त्यहाँ पनि उनी अट्न सकेनन् । यसपटक ३५ जना सदस्य चाहिनेमा उनको १७ मत पुगेन । ९ सय ८६ ल्याउनेले जितेकामा उनले ९ सय ७९ मत पाएर ४२औँ स्थानमा आए ।
एमालेमा हाइफाइवालाहरूको बाहुल्य बढ्दै गएको छ । कर्पोरेट हाउसका कानुनी सल्लाहार रहेका, दसौँ ठाउँमा काम गर्ने र अनेकौँपटक लाभका पद पाएकाहरूले चाहिँ सजिलै जितेका छन् । झापामै घर भएका त्यस्ता पात्र देख्दा नरेशलाई मात्र दिक्क लाग्ने कुरा भएन । तर पनि, उनलाई खासै गुनासो छैन । उनी भन्छन्– ‘मेरो कसैप्रति केही गुनासो छैन । एकपटक चोट लागेको भए पो दुख्थ्यो !’
कार्ल माक्र्सले कतै भनेका छन्– ‘सर्वहारासँग गुमाउने केही छैन ।’ हुन पनि नरेश खरेलसँग गुमाउनका लागि केही चीज छैन । त्यसैले त उनी चुनाव हार्दा पनि निस्फिक्री छन् ।
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply