रहर गर्नु मात्रै पनि …

सिर्जनाको मैदानमा रमाउने चाहना हरेक मानिसमा हुन्छ । त्यसलाई अनौठो मान्न सकिँदैन । किनकि, हरेक मानिसभित्र सिर्जनशील तत्त्व कुनै न कुनै रूपमा सल्बलाइरहेका हुन्छन् र त्यसले प्रकट हुने उपयुक्त माध्यम खोजिरहेको हुन्छ । तर, कतिपय व्यक्तिमा यस्तो स्वभाव मौजुद देखिन्छ । आफ्नो सिर्जन–शक्तिलाई सतहमा ल्याउने क्रममा सिर्जनशीलतालाई भन्दा रहरलाई बढी प्रश्रय दिन चाहन्छन् ।
नेकपा (एमाले)का पूर्वअध्यक्ष झलनाथ खनाल प्राय: गीत र कविता लेख्छन् । केही दिनअघि मात्रै उनका गीतहरूको एल्बम आम स्रोतसामु आयो । भूमिगत कालदेखि नै साहित्य रचनामा रुचि राख्ने खनालका एउटा कविताकृति पनि सार्वजनिक छन् । तर, आफूलाई सिर्जनाको संसारमा भुलाउने चाह उनमा भए पनि उनका कतिपय सिर्जनाको धरातल भने अपेक्षाकृत रूपमा फितला देखिन्छन् । र, साहित्यिक मूल्यवत्ताका दृष्टिले कमजोर लाग्छन् । यद्यपि, उनी कुनै पनि पेसेवर लेखक/कवि नभएका हुँदा वर्षौंदेखि निरन्तर रूपमा साधनारत स्रष्टाहरूसित तुलनायोग्य त हुन सक्दैनन् । तर, उनमा सिर्जनशीलताको अथाह समुद्र भए पनि त्यसमा अर्थात् लेखनमा निखरता भने ल्याउन नसकेको स्पष्ट रूपमा देखिन्छ ।
राजनीतिको मैदानमा बाजी मारेकाहरूले साहित्यको मैदानमा पनि त्यही हैसियत, मूल्य र स्थान राख्छन् भन्नु मनासिव देखिँदैन । तथापि, नेपालका एकाध व्यक्तिहरूमा मात्रै राजनीति र साहित्य, दुवै क्षेत्रमा राम्रो दख्खल छ । यसलाई अपवाद मान्नुपर्ने हुन्छ । तर, कतिपय राजनीतिज्ञहरू आफ्नो मुख्य कर्मभन्दा बाह्य कुनै क्षेत्रमा पनि दख्खल राख्न चाहन्छन् । त्यस्ता अधिकांश व्यक्तिको चाहना केवल रहरमा अनुदित हुन पुगेको छ, प्रायश: ।
वामपन्थी नेता मोहनविक्रम सिंहको कलम राजनीतिक टिप्पणीहरूमा बाक्लै चल्ने गरेको पाइन्छ । यद्यपि, पछिल्ला समयमा अलि कम भएका छन् । राजनीतिकबाहेक साहित्य लेखनमा पनि सिंहको राम्रै दख्खल छ । उनका संस्मरण, निबन्धहरू धेरै नै उत्कृष्ट र पठनीय छन् । तर, उनी पनि लेखनमा रहर गर्ने नेताहरूकै पंक्तिमा पर्छन् । एक दशकअघि नै उनले नेपाली साहित्यलाई एउटा गतिलो राजनीतिक उपन्यास दिने उद्घोष गरेका थिए । उनले उपन्यासको शीर्षक पनि घोषणा गरेका थिए– ‘जलजला’ ।
जलजला, तिनै पात्र हुन्, जसलाई सिंहले औधी माया गर्थे । नेपालको वामपन्थी आन्दोलनमा नारीप्रति विशेष सम्मान राख्ने सीमित नेताहरूको पंक्तिभित्र पर्ने सिंहको प्रेमिका नै थिइन्, जलजला । उनले जलजलामाथि लेखेका एउटा संस्मरणात्मक निबन्धमा पनि सो कुरा स्पष्ट रूपमा उल्लेख गरेका थिए । तर, भारतमा एउटा सडक दुर्घटनामा परी जलजला बितिन् र जलजलाको मृत्युपछि आफू विक्षिप्त बन्न पुगेको प्रसंग सिंहले कोट्याउने गरेका छन् । तर, आफ्नी प्रिय प्रेमिकाको मृत्यु–प्रकरणमा आधारित उपन्यास लेख्ने सिंहको उद्घोष अहिलेसम्म पूरा भएको छैन, केवल रहरकै वृत्तमा अल्झिरहेको छ ।
अचेल किन कम लेखिरहनुभएको
छ ? लेखनमा पनि रुचि राख्ने राजनीतिज्ञहरूलाई सोध्दा प्राय: सबैको एउटै उत्तर ‘राजनीतिक व्यस्तता’ हुने गर्दछ । सायद, राजनीतिक व्यस्तताकै सिकार भएर हो कि ? कवि उपन्यासकार आहूतिले लेखिरहेको एउटा उपन्यास स्थगित गरेको आधार दशक जति भइसक्यो । नेपाली वामपन्थी राजनीतिभित्रका विसंगत पक्ष र चरित्रहरूमाथि आलोचनात्मक कोणबाट साहित्य सिर्जना गर्ने आहूतिको पछिल्लो उपन्यास वामपन्थी राजनीति र त्यसका पात्रहरूमा आएको विचलनप्रति केन्द्रित थियो । तीसको दशकमा वामपन्थी राजनीतिले एउटा आदर्श पात्र फेला पारेको थियो । त्यो पात्र थियो– गोरेबहादुर खपांगी । तर, समयक्रममा त्यो पात्रले आफूलाई पूर्ववर्ती चरित्र र आदर्शमा टिकाइराख्न सकेन । उग्र जातीय राजनीति हुँदै तत्कालीन राजसंस्थाको ढालको रूपमा उनले आफूलाई उभ्याउन पुगे । तर, यति मीठो विषयमा लेख्दै गरिएको उपन्यासको एकाध अनुच्छेद एउटा वामपन्थी पत्रिकामा छापिए पनि त्यसपछि भने कुनै अत्तोपत्तो छैन । यो उपन्यास लेखन पनि कुनै रहरको घेरामा त सीमित भएन ? भन्ने प्रश्न उठेको छ ।
केही सालपूर्व राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीको एउटा दैनिक अखबारमा कथा छापिएको थियो । राजनीतिक लेखहरू । लेखिरहने लोहनीको कथा लेखन त्यति समृद्ध नभए पनि निरन्तर लेख्दै जाने हो भने उनले आफ्नै पार्टीका र अहिले त एउटै समूहका नेता लोकेन्द्रबहादुर चन्दको साहित्यिक चेला बन्ने हैसियत राख्न सक्छन्
तथापि, केही राजनीतिज्ञले सहलेखनमा लेखेका कृतिले भने साहित्यिक मूल्यबोध प्राप्त गर्न सक्षमता देखाएका छन् । यद्यपि, सहलेखनको नाम त्यस्ता कृतिहरूमा उल्लेख नभएको होस् । तर, पाठकलाई तान्न भने सफल भएका छन्, त्यसमध्ये केही कृतिले त राष्ट्रियस्तरकै पुरस्कार उछिट्याउने सफलता पनि बटुलेका छन् ।
तसर्थ, यसलाई सुझाव माने पनि केही फरक पर्दैन कि– लेखन कार्यमा रहर गर्ने राजनीतिज्ञ, व्यापारी वान कुनै क्षेत्रमा जमेका सफल व्यक्तिहरूले सह–लेखकको माध्यमद्वारा कुनै कृति ल्याउन चाहेको खण्डमा त्यो चाहिँ रहर गर्ने तहभन्दा केही माथिल्लो श्रेणीकै काम हुनेमा कुनै द्विविधा छैन ।
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply