आधा दशकमै पलाएको जाँगर

अहिले याम्बुरी बुक प्वाइन्टका अध्यक्ष कुयाङ लामामा उत्साहको कुनै अभाव छैन । काठमाडौंमा दस दिनसम्म सञ्चालित ‘राष्ट्रिय पुस्तक प्रदर्शनी तथा साहित्य यात्रा महोत्सव’को बिट मार्नुअघि उनमा अथाह उत्साह भित्रिएको हो । याम्बुरी बुक प्वाइन्ट र घोस्ट राइटिङ नेपालद्वारा संयुक्त रूपमा आयोजित केही दिनअघि मात्रै सकिएको पुस्तक–मेलाका संयोजकसमेत रहेका लामा भन्छन्– ‘अब हामी काठमाडौंमा मात्र केन्द्रित हुँदैनौं । पुस्तक–मेलालाई अब देशव्यापी बनाइनेछ ।’
उनले अबको पुस्तक–मेलाको एकसरो खाका कोरिसकेका छन् । वर्ष दिनमा काठमाडौंसहित पूर्वाञ्चल, चितवन, बुटवल र नेपालगञ्जमा पुस्तक–मेला हुनेछन् अब । काठमाडौंमा दसैंको पूर्वसन्ध्यामा पुस्तक–मेला गरिए पनि अरू सहरहरूमा भने उपयुक्त समय छनोट गरी मेलालाई चम्काइनेछ । काठमाडौंमा किन दसैंको पूर्वसन्ध्यामा नै पुस्तक–मेला गर्ने भनिएको हो ? लामा भन्छन्– ‘दसैंभन्दा अघि पुस्तक–मेला गर्दा राम्ररी चल्दो रहेछ ।’ उनको अनुभवले पनि त्यही नै देखाएको छ । दसंैअघि पुस्तक–मेला राख्दा दसैंको फुर्सदमा पढ्न चाहनेहरू, विदेशबाट दसैं मान्न घर फर्किनेहरू र कलेजहरूले आफ्ना पुस्तकालयका लागि पनि यही समयमा नै किताब किन्ने भएको हुँदा यो मौसम फाप्ने उनको बुझाइ छ ।
विगत वर्षहरूमा अरू प्रकाशन–संस्थाहरूले यस्तै पुस्तक–मेला गर्ने गर्दथ्यो । खासगरी, साझा प्रकाशनले गर्दथ्यो, पुस्तक–मेलाको संयोजन । तर, आन्तरिक द्वन्द्व, विवाद र अनियमितताले ग्रस्त साझा प्रकाशन केही समययता थला परेपछि यसपालि भने लामाले यो सुनौलो अवसर गुमाउन चाहेनन् । आधा दशकयता पुस्तक प्रकाशनमै जमेका लामाले त्यो हिम्मत र आँट मोले । उनी भन्छन्– ‘यो पुस्तक–मेलाले एकदमै उत्साहजनक अनुभव दिलायो । अझ दसैं अगाडि यसरी पुस्तक–मेला राख्दा उत्साहजनक सहभागिता पनि रहँदो रहेछ ।’
हुन त, यस पटकको पुस्तक–मेलालाई करिब दुई लाख पुस्तकप्रेमीहरूले नियाल्ने अनुमान लगाएका थिए, लामाले । विगत वर्षहरूमा पुस्तक–मेलामा देखिएको भीडभाडलाई हेर्दा त्यति संख्या आउनुलाई आश्चर्य मान्नुपर्ने देखिँदैनथ्यो । तर, १ लाख ६८ हजारले मात्र अवलोकन गरे । करिब एक करोडको व्यापार भएको पनि उनले बताए । भृकुटीमण्डप, जहाँ तीन महिनाअघि मात्रै एमालेको महाधिवेशन भएको थियो, त्यही थलोमा राखिएको थियो, पुस्तक–मेला । ३ सय ६५ वटा टेबुलमा राखिएका १ सय १८ वटा प्रकाशन–संस्थाका पुस्तकहरूले पाठक पर्खेर बसेका थिए । सबै प्रकाशन–संस्था नेपालभित्रैका थिए । तर, केही प्रकाशन–संस्थाले भने विदेशी पुस्तकहरू पनि बेचे ।
‘मैले एक वर्षदेखि पुस्तक–मेलालाई नजिकैबाट नियालिरहेको छु’ लामा भन्छन् । र, आफूले त्यसरी नियाल्दा अधिकांश पाठकको अभिरुचि बायोग्राफीतिर बढेको उनको अनुभव छ । भन्छन्– ‘पाठकहरू अरूका जीवन–कथा बुझ्न चाहँदा रहेछन् ।’ बायोग्राफीपछि आख्यानको माग रहे पनि व्यावसायिक तालिम र सीप सिकाउने पुस्तक खोज्नेहरूको पनि उस्तै लर्को लागेको देखियो यस पटक । लामाले रमाइलो अनुभव सुनाए– ‘कतिपयले त बंगुर, माछा पालन र च्याउ खेती गर्ने तरिकाबारे उल्लेख किताब पनि खोजे यसपालि त । त्यस्ता पाठकहरू प्राय: बाहिर बसेर आएकाहरू थिए ।’ र, बायोग्राफी र व्यावसायिक सीपमूलक किताब खोज्नेहरू चाहिँ २० देखि ३० वर्ष उमेर–समूहका व्यक्तिहरू बढी थिए । युवाहरूमा अरूको जीवनी पढेर त्यसबाट आफूले सिक्ने लालसा भएर नै त्यस्ता किताबहरूको खोजी भएको हुनसक्ने लामाको अनुभव छ ।
पुस्तक प्रकाशन व्यवसायमा पाइला टेकेका पाँच वर्षकै अवधिमा पुस्तक–मेलाजस्तो कठिन र गहन कार्यमा हात हाल्ने लामाले याम्बुरी बुक प्वाइन्टबाट नेपाली भाषा, साहित्यसम्बन्धी पुस्तकहरू प्रकाशन गर्न थालेको भने २१ म्हिना मात्रै भएको छ । नेपाली बजारमा पुस्तकको पाठक वृद्धि गर्ने, पुस्तकको गुणस्तर बढाउने र लेखकहरूको उचित मूल्यांकन गर्ने उद्देश्यले खोलिएको याम्बुरीले सुरुका वर्षहरूमा भने तामाङ भाषा, संस्कृति र संस्कारमा आधारित किताबहरू मात्रै निकाले । उनी भन्छन्– ‘म आफू पनि तामाङ समुदायको व्यक्ति भएको हुँदा र लेखनमा रुचि राख्ने भएको हुँदा पहिला त्यही समुदायलाई काम लाग्ने किताबहरू लेखेँ र प्रकाशन गरेँ ।’ हुन पनि, आफ्नो प्रकाशन–संस्थाबाट धेरै बिक्री भएको अखण्ड भण्डारीको उपन्यास ‘मलाया एक्सप्रेस’ र अनिल पौडेलको संस्मरणात्मक कृति ‘अतीतको बिस्कुन’लाई आम पाठकसामु ल्याउनुअघि उनले नौ वटा किताब प्रकाशन गरिसकेका थिए । प्रकाशन क्षेत्रमा आफू कसैको प्रेरणाबाट नभई काम गर्ने सिलसिलामा नै आएको बताउने लामा भन्छन्– ‘छपाइ र प्रकाशनसित मेरो सम्बन्ध जोडिएको हुँदा नै म यो क्षेत्रतिर ढल्किएको हुँ । साथै, सुरुदेखि नै मेरो संगत लेखक र पत्रकारहरूसित रह्यो र उनीहरूसितको संगतकै कारण यो क्षेत्रमा नजानिँदो गरी ढल्किएँ ।’
दोलखा जिल्लाको प्रसिद्ध पर्यटकीय थलो सैलुङमा २०३२ सालमा जन्मिएका लामाले अहिलेसम्म आफ्नो प्रकाशन–संस्थाबाट १६/१७ वटा कृति निकालिसकेका छन् । मूलत: आत्मकथा, उपन्यास, कथा, कविता प्रकाशन गरेका छन् । कतिपयले कविताको बजार छैन भन्ने अफवाह फैलाइरहेका बेला उनले विप्लव ढकालको ‘च्याउको जंगल’ दुई हजार प्रति बेचिसकेका छन् । उनी भन्छन्– ‘कतिबेला के को हल्ला चल्छ, बजारमा त्यही नै बढी बिक्री हुने रहेछ ।’ प्रचारबाजीले नै किताबको बजार तय गर्ने उनको अनुभव छ । तर, यति हुँदाहुँदै पनि नेपाली साहित्यको गुणस्तर उकास्ने, लेखकहरूको मान, सम्मान गर्ने र पाठकहरू बढाउने अभियान नै आफ्नो मूल अभीष्ट रहेको उनको विचार छ ।
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply