पानी–रङमै समर्पित
अचेल दयाराम पाल्पाली भक्तपुरका प्राचीन गल्लीहरू चहार्न व्यस्त छन् । तर, कुनै पर्यटकका रूपमा उनले ती गल्लीहरू चहारिरहेका भने होइनन् । मल्लकालीन सौन्दर्य र सीपको गन्ध आउने ती गल्लीहरूलाई उनले आफ्नो कला–सिर्जनामा उतार्न चाहिरहेका हुन् । गल्ली, कलात्मक घर र झ्यालहरू र त्यसबाट चियाइरहेकी नेवार कन्याहरू उनका पेन्टिङमा समेटिने दृश्य–विम्बहरू हुन् यी । कतै टम्म मिलेका र कतै उप्किएका प्राचीन इँटाहरूले सुसज्जित ती गल्लीहरूमा लुकेर बसेको सौन्दर्यलाई कुचीकृत गर्न उनलाई अझै दुई महिना लाग्नेछ । उनी भन्छन्– ‘मैले एउटा शृंखलाअन्तर्गत भक्तपुरका प्राचीन गल्लीहरूको चित्र बनाउन थालेको हुँ ।’
समकालीन नेपाली चित्रशिल्पीमध्ये पानी–रङमा अत्यन्तै मिहिन ढंगले खेल्नसक्ने पाल्पाली मूलत: दृश्य–चित्रहरू नै सिर्जना गरिरहेका छन् । नेपाल प्राकृतिक रूपले सुन्दर, मनमोहक भएको हुँदा भूदृश्यहरूको कुनै कमी छैन । हिमाल, अग्ला–होचा पहाडी शृंखलाहरू, फाँट, उपत्यका, मधेसका विस्तृत मैदानहरू– जहाँ पुगे पनि प्रकृतिले हरेक थलोलाई सिंगारपटार तुल्याएको छ । यिनै सुन्दर भूदृश्य नियाल्ने क्रममा नै पाल्पालीले दृश्य–चित्रहरूलाई आफ्नो सिर्जनाको धरातल बनाउन पुगे । हुन पनि, पोखराबाट आफ्नो सिर्जन–यात्रा प्रारम्भ गरेका पाल्पाली अझै पनि पोखरा वरिपरिका दृश्यहरूलाई कुनै बेला पेन्टिङमा उतार्दाको क्षण भुल्न सक्दैनन् । भन्छन्–‘पोखरामा बस्दा हिमशृंखलाहरूलाई पेन्टिङमा उतारेको क्षणलाई म अझै पनि सम्झिन्छु । अझ, घान्दु्रकमा पुगेर चित्र बनाएको क्षण त अहिले पनि सम्झनामा आउँछ ।’
पैंतालीस वर्षअघि पाल्पाको टक्सारमा जन्मिएका उनले चित्रकलामा स्थापित हुन संघर्षका अनेक गल्छेडाहरू छिचोलेका छन् । प्रारम्भिक दिनहरूमा आफ्नै काका हरि हिताङको प्रेरणा पनि उनको चित्रकला–यात्राका लागि सहायक बन्न पुग्यो । सानै छँदा काकाले बनाएका चित्रहरूमा उनी गहन दृष्टि लगाउँथे र कताकता त्यसको प्रभाव उनको बालमस्तिष्कमा गहिरोसँग पर्यो । त्यतिबेला रङ त कहाँ पाउनु † उनी सम्झिन्छन्– ‘हाम्रोमा किम्बु फल्थ्यो । मैले तिनै किम्बुको पाकेको दानाहरू टिप्थेँ र त्यसलाई निचोरेर रातो रङ निकाल्थेँ । त्यही रङबाट म पेन्टिङ बनाउँथेँ ।’ किम्बुको रसका साथै घर पोत्ने पहेँलो माटो पनि उनका निम्ति रङ थिए, त्यतिबेला । भन्छन्– ‘दस वर्षको हुँदादेखि नै मलाई पेन्टिङमा रुचि जागिसकेको थियो ।’
तानसेनबाट बुटवल त्यति टाढा पर्दैन । चित्रकारिताप्रतिको मोहले नै उनलाई दूरीको हिसाबले कम रहेको बुटवल झर्ने र त्यही केही सिक्ने जाँगर पलायो । बुटवलमै एक जना चिनारु मानिस थिए । ती मानिस गाडीमा रङ लगाउने काम गर्थे । उनलाई पनि गाडीमा रङ लगाउने, नम्बरप्लेट लेख्ने रहर पलायो । तर, कहाँ पाउनु रङ लगाउन ? ती व्यक्तिले पहिला–पहिला गाडी पुछ्ने र खाक्सी लगाउने काम गरेपछि मात्रै रङ लगाउन पाइने सुनाए । गाडीमा रङ लगाउन पाइने लालसामा उनले ती व्यक्तिले निर्देशन दिएबमोजिमका सबै काम पूरा गर्दै गए । उनको रङप्रतिको मोह झनै
झ्याङ्गिँदै गयो ।
तर, ०४२ सालमा भने उनी काठमाडौं आए । एक जना आफन्तले ‘काठमाडौंमा आए पेन्टिङको काम पाइने’ सुझाव दिएपछि उनले काठमाडौंलाई गन्तव्य बनाए । र, डिल्लीबजारमा एउटा पसलमा साइनबोर्ड लेख्न थाले । ती दिनहरू उनको दिमागमा अझै ताजा नै छ–‘डिल्लीबजारमा काम गर्दागर्दै म ०४६ सालमा पोखरामा गएँ । त्यहाँ चित्रकार यादवचन्द्र भूर्तेलसँग भेट भयो । हुन त म त्यतिबेला चुरोटको विज्ञापनको पर्खालका भित्ताहरूमा पेन्टिङ गर्न गएको थिएँ तर उहाँसँग भेट भएपछि मेरो जीवनमा परिवर्तन आयो । र, मैले पानी–रङ खेलाउन थालेँ ।’ उनी आफ्नो चित्रकलाको यात्रा ०४६ बाटै भएको स्वीकार्छन् । भन्छन्– ‘मैले पेन्टिङबारे आधारभूत ज्ञान आर्जन गरेर पेन्टिङको संसारमा छिरेको त्यही बेलादेखि नै हो ।’ कलाशिल्पी प्रेमलाल श्रेष्ठ पानी–रङमा पाल्पालीको जति दख्खल छ, अरू चित्रकारहरूको त्यति नभएको बताउँछन् ।
सुरुका दिनहरूमा उनले मुहार चित्र बनाउन थाले । उनले प्रायजसो वृद्धवृद्धाहरूको मुहारमाथि ब्रस र रङ चलाउन थाले । यी सबै पानी–रङमा आफूलाई अभ्यस्त बनाउने क्रमको कुरा थियो । पोखरामा छँदा उनलाई काठमाडौंको मोहले भने च्यापी नै रहेको थियो । किनकि, पोखरामा उनले चाहेजस्तो सामग्री पाइँदैनथ्यो । भन्छन्–‘पोखरामा त्यति राम्रो ब्रस र रङ नपाइने भएको हुँदा हामी आफूले बनाएको चित्र बोकेर काठमाडौं आउँथ्यौं र तिनै चित्रहरू बेचेर ब्रस र रङ किनेर फेरि पोखरा फर्किन्थ्यौं ।’ तर, उनले आफ्नो पहिलो एकल कला–प्रदर्शनी भने काठमाडौंमा नै गरे । कोरियामा दुई पटक र नेपालमा एक पटक एकल कला–प्रदर्शनी गरेका उनले ०५० सालमै जे.आर्ट ग्यालरीमा पहिलो एकल प्रदर्शनी गरेका थिए । उनले त्यतिबेला ३०/३५ वटा चित्र राखेका थिए, सबै भूदृश्यवाला । उनी सम्झन्छन्–‘मैले बाग्मती क्षेत्रमा पुगेर प्रत्यक्ष रूपमा नै चित्रहरू बनाएको थिएँ । त्यही चित्रहरू प्रदर्शनीमा राखिएका थिए ।’ प्रदर्शनीमा राखिएकामध्ये बीस–बाइस चित्र बिक्रीसमेत भएको थियो र उनले पन्ध्र हजारको हाराहारीमा कमाइ पनि गरेका थिए, त्यतिबेला । हुन त, त्यतिबेला उनलाई त्यस्ता प्रदर्शनीहरूमा चित्रको मूल्य कति राख्ने भन्ने केही यकिन नै थिएन । आयोजना गर्नेहरूले नै निर्धारण गरेको मूल्यको उनी भर परेका थिए र अधिकांश चित्रको मुनि हजार रुपियाँको ट्याग झुन्ड्याइएको थियो ।
उनी सम्बन्धित ठाउँको चित्र उतार्नका लागि त्यही ठाउँमा नै पुग्छन् । कतिपयले तस्बिरका आधारमा पनि चित्र कोर्ने गर्छन् । तर, उनलाई त्यसरी बनाइएको चित्र राम्रा लाग्दैनन् । भन्छन्– ‘तस्बिर हेरेर र प्रत्यक्षत: ठाउँमै बसेर बनाइएको चित्रमा धेरै नै अन्तर हुन्छ । तस्बिर हेरेर गरिएको पेन्टिङ प्राकृतिक हुन्नन् । फिल्डमा बनाएको चित्रजति जीवन्त र ताजा त अरू हुनै सक्दैन ।’ त्यही भएर नै उनले काठमाडौं वरिपरिका खोकना, बुङमति, टोखा, पाल्पाका केही ठाउँहरूका साथै घान्दु्रक र सिक्लेसमा पुगेर ती ठाउँहरूलाई आफ्नो सिर्जना–संसारमा सजाएका छन् । त्यसरी, सम्बन्धित थलोमै गएर सिर्जना गर्दा कुनै सिर्जना एकाध घन्टामा नै सकिन्छन् भने कुनैलाई एक–दुई दिन नै लाग्ने उनको भोगाइ छ ।
प्राय: दिउँसो चित्र कोर्न मन पराउने पाल्पाली कहिलेकाहीँ राति पनि पेन्टिङ गर्छन् । तर, राति प्राकृतिक कला नआउने उनको अनुभव छ । लामो समयदेखि पानी–रङमा खेलिरहे पनि अब भने उनले एक्रेलिक रङमा बढी समय गुजार्ने सोच बनाएका छन् । केही समयअघि उनले एउटा एक्रेलिक रङको पेन्टिङ दुई लाख रुपियाँमा बेचे । भर्खरै मात्र एक्रेलिककै अर्को पेन्टिङ १ लाख ३५ हजारमा बेचे । प्रफुल्ल हुँदै उनी भन्छन्– ‘राम्रँे पेन्टिङ बनाएर बेच्दा सजिलै बाँच्न सकिन्छ । मैले पेन्टिङ बनाएपछि ग्यारेजमा राख्नुपरेको छैन अहिलेसम्म ।’
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply