मूर्तिमा नेपालीपन

एकाग्र चिन्तन, समय र सीप पोखिएका सिर्जनाहरूले पक्कै पनि उत्कृष्टताको सोपान चढ्ने हैसियत राख्दछन् । अझ, जड वस्तुहरूलाई कुनै पनि मानवको आकृतिमा ढाल्ने मूर्तिकलामा त एकाग्रताको झनै आवश्यकताबोध हुने गर्दछ । त्यही भएर नै, अचेल युवा मूर्तिशिल्पी विजय महर्जन नौ फिट अग्लो शिवको मूर्ति बनाउन तल्लीन छन् । उनका निम्ति मूर्तिकला एउटा ध्यानभन्दा कुनै पनि हिसाबले फरक देखिँदैन ।
अहिले उनले जीवनका बाइस हिउँद–वर्षा मात्रै भोगेका छन् । तर, आफूद्वारा सिर्जित मूर्तिहरू उनी विदेशी थलोहरूमा पुर्याउने ध्येयमा जुटेका छन् । अहिले निर्माणाधीन शिवको मूर्तितिर औँल्याउँदै उनले भने–‘मैले अहिले शिवको जुन मूर्ति बनाइरहेको छु । सम्भवत: यो भारतको कुनै मन्दिरमा सजिनेछ । भारतका एकजना शाही घरानाले बनाइरहेको एउटा मन्दिरमा नै यो मूर्ति राखिने सम्भावना रहेको छ ।’ तर, उनको सिर्जनामा फक्रिएको ग्रिनताराको साढे सात फिटको मूर्ति भने थाइल्यान्डको एउटा पार्कमा अबको छ महिनापछि नै सजाइने तयारी भइरहेको छ । आफूले सिर्जना गरेको मूर्ति पहिलो पटक कुनै विदेशी भूमिमा सजिने कुराले उनी पुलकित छन् । भन्छन्– ‘अब मेरो ध्यान विदेशहरूमा मूर्ति पठाउने कार्यतिर केन्द्रित हुनेछ ।’
काठमाडौं, छाउनीस्थित उनको दुई वटा घर पुग्नेहरू अचम्मैमा पर्छन् । ढोकादेखि भित्रको भान्सा कोठासम्मै उनले बनाएका मूर्तिहरू सजिएका छन् । हरेक कोठा–कोठामा उनले बनाएका मूर्तिहरू सजिएका त छन् नै, त्यसबाहेक खाली ठाउँहरूसमेत उनीद्वारा सिर्जित मूर्तिहरूद्वारा शोभायमान बनिरहेका पाइन्छन् । अग्रज मूर्तिशिल्पी रवीन्द्र ज्यापूको संगत र प्रशिक्षणमा हुर्किएका यी युवाले सानैदेखि नै मूर्तिकार बन्ने धोको सँगालेका थिए । नौ कक्षामा अध्ययनरत छँदादेखि नै मूर्तिकलामा मन लगाएका महर्जनले त्यतिबेलै आफ्नै टोल, छरछिमेकमा आफंैले बनाएका मूर्तिहरू राख्ने सोच उमारेका थिए । आठ वर्षअघि उनको त्यो सोचले मूर्त रूप लियो पनि । घरनजिकैको सैनिक–पार्कमा उनले बनाएका चार वटा मूर्ति अहिले हाँसिरहेका छन् ।
हुन पनि, उनी जहाँ–जहाँ पुग्थे, त्यहाँ सजाइएका मूर्तिहरू हेर्दै एकोहोरो घोत्लिन थाल्थे । एक पटक, विशाल बजारनजिकै लाद्रो कम्पनी पुग्दा थरिथरिका मूर्तिहरूले उनलाई आकर्षित गर्यो । अझ, टुँडिखेल वरिपरिका मूर्तिहरूले त उनको मन नै बिथोल्थ्यो । भन्छन्– ‘जब मैले जंगबहादुरले घोडा चढेको मूर्ति देखेँ । तब मैले पनि यस्तै मूर्ति बनाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । पछि, मेरो त्यो सपना पूरा भयो ।’ जंगबहादुरको घोडामा सवार मूर्तिभन्दा पनि विशाल मूर्ति उनले सगरमाथाको प्रथम आरोह गर्ने तेन्जिङ नोर्गेको बनाए । महर्जनले बनाएका नोर्गेको मूर्तिलाई केही समयअघि सोलुखुम्बुको एभरेस्ट पार्कमा सजाइएको छ । त्यो मूर्ति तेन्जिङको छोरा जिमी शेर्पाले बनाउन लगाएका थिए । तेन्जिङले सगरमाथाको टुप्पोमा झन्डा गाडेको विषयवस्तुमा बनाइएको दस फिट अग्लो उक्त मूर्ति बनाउन उनले आठ महिना समय खर्चिए । उनले भने– ‘तेन्जिङको मूर्ति मेरो कम्पोजिसनमा बनाइएको हो । त्यो मूर्तिलाई हामीले इटालियन प्रक्रियाद्वारा बनाएका हौं । जंगबहादुरको मूर्ति पनि त्यही प्रक्रियाबाटै बनाइएको हो । किनकि, यो चाँडै नै गर्न सकिने प्रक्रिया हो ।’ सीतापाइलास्थित आफ्नै वर्कसपमा बनाइएको उक्त मूर्ति नाम्चेभन्दा केही माथिको एभरेस्ट भ्यू–प्वाइन्टमा हेलिकोप्टरद्वारा लगिएको थियो । तेन्जिङको मूर्ति र अरू मूर्तिबीचको फरक औंल्याउँदै उनले भने– ‘त्यो मूर्तिमा अनुहारलाई भन्दा पनि व्यक्तित्वलाई देखाउन खोजिएको छ । अ”ïरू मूर्तिहरूमा टाउको वा शरीर मात्र हुन्छ, तर तेन्जिङको मूर्तिमा भने उनको क्रियाकलाप पनि देखाउन खोजेका छौं ।’
उनले देशका करिब सय वटाजति प्रसिद्ध व्यक्तिका आकृतिलाई ढलोट, मार्बल र सेरामिकहरूमा ढालिसकेका छन् । त्यसमा, सत्यमोहन जोशी, गणेशमान सिंह, खप्तड बाबा, साईबाबादेखि हास्य–कलाकार हरिवंश आचार्यकी दिवंगत पत्नी मीरा आचार्यसम्मका मूर्तिहरू रहेका छन् । अहिले भने उनी मीरा आचार्यको मूर्तिलाई अन्तिम रूप दिने तर्खरमा जुटेका छन् । मूर्ति बनाउने क्रममा उनी यति तल्लीन हुन्छन् कि, वर्षका केही दिनसम्म पूरै गुप्तबास नै बस्छन् । त्यसो गर्दा सामाजिक र पारिवारिक जीवनबाट पृथक् रहनु परे पनि आफूद्वारा सिर्जित मूर्तिले ठाउँ–ठाउँमा सजिन पाउँदा भने उनलाई धेरै नै गौरव महसुस हुन्छ । त्यसो त, कतिपय काल्पनिक पात्रलाई पनि मूर्तिकरण गर्नुपर्ने हुन्छ । उनी भन्छन्– ‘कुनै पनि काल्पनिक पात्रलाई मूर्तिमा उतार्नु धेरै गाह्रो काम हो । आफूले नै परिकल्पना गरेर बनाउनुपर्ने हुन्छ । त्यस्ता सिर्जना गर्न चुनौतीपूर्ण भए पनि सिर्जना गरिसकेपछि भने आनन्दको अनुभूति हुन्छ ।’
मूर्तिकलामा एकाध वर्षको अनुभव र सिर्जनशील कार्यपछि उनले यो कला अरूलाई पनि सिकाउने विचार गरे । र, उनको त्यही विचारले पाएको मूर्त रूप अन्तर्गत नै अहिले अपांगता भएका १० जना व्यक्तिलाई उनले मूर्ति बनाउन सिकाइरहेका छन् । त्यस्तै, केही समयपछि उनी मूर्तिकलाकै वर्कसपका लागि चीन जाने मनस्थितिमा छन् । उनी भन्छन्–‘अहिले चीनमा नेपाली कलाकारहरूले बनाएका देउताका मूर्तिहरू उल्लेख्य संख्यामा जान थालेको छ । हातले बनाएका मूर्तिहरूको चिनियाँ बजारमा धेरै नै माग हुन थालेको छ । र, नेपाली मूर्तिकारहरू पनि चीनतिरै आकर्षित हुन थालेका छन् ।’ धेरै शताब्दीपूर्व, नेपाली कलाकार अरनिकोले चीनमा जुन प्रसिद्धि कमाएका थिए, अब नेपाली कलाकारहरूले पनि त्यही प्रसिद्धि कमाउने क्रम सुरु भएको महर्जनको कथन छ । तर, नेपाली मूर्तिकारहरूले मूर्ति बनाउँदा आफ्नो पहिचानलाई मेटाउन नहुनेमा उनको जोड छ । भन्छन्– ‘आधुनिक मूर्ति त संसारका हरेकले बनाउँछन् तर नेपालीपन, नेपाली संस्कृति, धर्म र जनजीवन झल्काउने मूर्तिहरू हामीले सिर्जना गर्नुपर्छ । म आफ्ना मूर्तिहरूमा नेपालीपनलाई छुटाउदिन्नँ ।’
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply