नारदको नागबेली यात्रा

नारदमणि हार्तम्छाली ‘कलाङ’ले ५६ वर्षमा टेके । उनको यो यात्राको साक्षी भोजपुरका डाँडा–पखेरा त हुने नै भए । त्यसबाहेक, धरान, अरुण नदी, काठमाडौंका गल्लीहरू पनि उनको जीवन पथमा अंकित रहे । कहिले काठमाडौंको सहरी माहोल र कहिले भोजपुरका उकाली–ओरालीहरूसँग जीवनका सुख–दु:ख बाँड्दै हिँडेका यी चुलबुले कला–सर्जक भने चार महिनाअघि एउटा गहन जिम्मेवारीबोधले थिचिएका छन् ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको परिषद् सदस्यमा नियुक्त भएका उनले नछोएका सिर्जनाका कुनै क्षेत्र छैनन् । आफ्नै किराती संस्कृतिको गहन अध्ययनदेखि मुर्चुङ्गा बजाउनेसम्मका एउटा सामान्य गोठालेले गर्ने कार्यमा समेत उनको रुचि, सीप र मन फैलिएको छ । एउटै विषय र क्षेत्रमा लगनशीलतापूर्वक लाग्न नसक्ने आफ्नो कमजोरी पनि उनले बुझेका छन् । भन्छन्, निर्धक्कपूर्वक– ‘म एउटै क्षेत्रमा लाग्न सकिनँ । कतै पनि अडिन सकिनँ म ।’
क्रमश: बुढ्यौलीका दिनहरूतिर प्रवेश गरिरहेका उनले अब भने आफूलाई चित्रकलाकै संसारमा हराउने उद्घोष गरे । भने– ‘म अब आफूलाई चित्रकारकै रूपमा चिनाउँछु । किनकि, मेरो अहिलेको जिम्मेवारी पनि यही क्षेत्रलाई उन्नत बनाउने नै रहेको छ ।’ चित्रकला, उनको बाल्यकालदेखिकै सहयात्री बन्यो । भिन्ची, भ्यानगग वा बाङ्देलहरूको चित्रकारिता संसारबारे अनभिज्ञ रहँदादेखि नै उनले गिलो माटो मुछेर भाडा बनाउन थालिसकेका थिए । भन्छन्– ‘म माटोका चराहरू बनाउँथेँ । गुजरगानोको ढ्याङ्ग्रो बनाउँथेँ । खरीढुंगाले कालोपाटीमा चित्र बनाउँथेँ । कलाप्रति मेरो अभिरुचि बाल्यकालीन दिनहरूदेखि नै सुरु भएको हो ।’ कलाप्रति उनको अभिरुचि यति तिख्खर थियो कि, अँगार र खरीढुंगाले सिलौटो रंग्याउन उनी छाड्दैनथे । त्यतिबेला उनका निम्ति अँगार थियो–आधुनिक रङ र सिलौटो थियो–महँगो क्यानभास । उनले रङको अनुहार त भोजपुर, देउरालीस्थित स्कुलमा सात कक्षा पास गरेर आठ पढ्न धरान आएपछि मात्रै चिनेका थिए ।
रङको संसार त उनको हुँदै हो । त्यसबाहेकका संसारसँग पनि उनले गाढा आत्मीयता दर्साएका छन् । स्कुलमा हुँदा उनी नाच्न, गाउन उस्तै उस्ताद । दामलीहरूले भन्थे–ए, नारद, एउटा गीत गा’त । उनी पूर्वेली लय टिपेर गाउन तम्सिहाल्थे । ‘ए, नारद, तेरो नाच हेरौं त’ कसैले उक्साइदिँदा उनी कम्मर मर्काउन थालिहाल्थे । त्यतिबेलाको कम्मर मर्काउने त्यही बानीले उनलाई अहिलेसम्म पनि फुर्तिलो बनाइरहेको छ ।
जब उनले कलाको धरातलमा उभिन चाहे, प्रारम्भिक टेको धरानले दियो । र, बाँकी टेको चाहिँ उनलाई काठमाडौंले दियो । ग्रामीण भेगबाट सहरोन्मुख धरानमा झरेका उनले त्यहाँको परिवेशमा भिज्न खासै पापड पेल्नु परेन । तर, ‘संघर्ष हो जीवन, जीवन संघर्ष हो’ भन्ने राल्फाकालीन गीत/संगीतसँग परिचित उनले तीसको मध्य दशकमा जीवनमा संघर्षको विकल्प छैन भन्ने स्पष्टत: बुझिसकेका थिए । र, उनले धरानको शिक्षा निकेतनमा पढ्दा देवकोटोको मूर्ति बनाए । अहिले पनि त्यतिबेलाको स्मरणको पोको फुकाउँदै उनी भन्छन्– ‘मैले त्यतिबेला बनाएका मूर्तिहरू अहिले पनि धरानका केही शैक्षणिक थलोहरूमा रहेका छन् ।’
भोजपुर, धरान हुँदै काठमाडौंसम्मको यात्रा तय गरेका उनले धरानमा पढ्दापढ्दै एकदिन थाहा पाए, काठमाडौंमा चित्रकला पढाइ हुने कलेज छ । अलि लहडी स्वभावका उनले त्यस्तो खबर थाहा पाएलगत्तै काठमाडौंतिरको यात्रा चालिहाले । भन्छन्– ‘म पन्ध्र सय लिएर काठमाडौं छिरेको थिएँ । तर, काठमाडौं मैले सोचेजस्तो रहेनछ । धेरै संघर्ष गर्नुपर्यो ।’ आर्थिक संकटका बीच आफूले अध्ययन गर्ने थलो त उनले पाएनन् नै, तीन दिनसम्म उसिनेको आलु र चिउरा खाएर सहरमा आफ्नो अभीष्ट पूरा गर्न संघर्ष गरेको कथा पनि उनीसँग जीवितै छ ।
सहर छिरेपछि पैसाले उनलाई सतायो । त्यही क्रममा एकदिन बानेश्वरमा उनले निर्माणाधीन घरमा रड बटारे । तर, एउटा फलामको किलाले उनको पैताला खोप्यो र अस्पताल धाउँदैमा कमाएको पैसा सकियो । यस्तो जोखिमपूर्ण काम गर्नुभन्दा भक्तपुरतिरका इँटाभट्टामा काम गर्ने मनसाय बनाए । एकदिन, भक्तपुरको एउटा इँटाभट्टाका मालिकसामु काम मागे । तर, परिचयका क्रममा आफू विद्यार्थी भएको बताएपछि काम पाउने आशामा पूर्णविराम लाग्यो ।
यी दुई मजदुरीमा असफलता बेहोरेपछि उनले झोंछेस्थित बालसाहित्यकार शान्तदास मानन्धरको प्रेसमा कम्पोजिटरको काम पाए । तर, शान्तदासको प्रेसमा छापिएका हरेक पुस्तक र सामग्रीहरूलाई ध्यानपूर्वक हेर्ने, अध्ययन गर्ने यी मनुवाको स्वभाव र क्रियाकलाप देखेपछि प्रेसवालाले एकदिन अड्कल काटे–यी मानिस पक्कै पनि पञ्चायतले खटाएको जासुस हुनुपर्छ । त्यही दिनदेखि उनको जागिर चट भयो । तर, त्यतिबेला उनले महिनामा ७२ रुपियाँ तलब भने पाउँदै आइरहेका थिए ।
संघर्ष गर्ने मानिसको कथा कहिल्यै सकिँदैन । सायद यो कुरा हार्तम्छालीको जीवन सन्दर्भमा पनि उस्तैगरी लागु हुन्छ, जसरी संसारका अरु संघर्षशील मान्छेहरूका जीवन कथामा लागु हुन्छन् । ०३९ सालमा ललितकला पढ्न काठमाडौं आएका उनले ०४४ मा त त्यही कलेजको विद्यार्थी युनियनको सभापति नै जिते । तर, त्यसअघि भने उनले बागबजारमा नै आफ्नै पेन्टिङ पसल खोले । राम्रो आम्दानी हुँदै गएपछि गाउँबाट भाइ र बहिनीलाई ल्याएर काठमाडौंमै पढाए । र, एउटा असल अभिभावकको परिचय दिए ।
हार्तम्छाली भावुकताका समृद्धशाली व्यक्ति हुन् । ०५३ सालको अन्त्यतिर त यिनी काठमाडौंको रमझमपूर्ण संसार त्यागेर भोजपुरको देउरालीतिर हान्निए । र, त्यही ठाउँको गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित पनि भए । जीवनको कलाको मात्र रङ बुझेका यिनले त्यसपछि भने राजनीतिको रङ पनि ग्रहण गरे । गाउँ फर्किएपछि उनले थोरै समय राजनीति गरे पनि त्यसपछि भने गाउँमै चित्रकला, नृत्यकला, संगीतबारे आफूले सिकेको अनुभव अरूलाई पनि बाँड्न थाले ।
फिल्म ‘बलिदान’मा एउटा गीत छ– चरन बिग्य्रो धँगारु काँडाले…। त्यही गीतमा उनले आफ्नो अभिनय देखाएका छन् । पचासको दशकमा बनेको यो फिल्ममा उनले पञ्चायती व्यवस्थामा विद्रोहीलाई सघाउने एउटा किसानको भूमिकामा आफूलाई उभ्याएका छन् । अहिले उनी एउटा सामान्य किसानको भूमिकाभन्दा माथि छन् तर पनि उनका जीवन–दर्शन र चिन्तन भने ग्रामीण भेगका तिनै किसान, गरिब र निम्न वर्गका जनताभन्दा टाढा छैन ।
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply