छ दशकको आसपास उस्तै छ जोश

तीस वर्षअघि नेपाली गीत/संगीतको बेग्लै धरातल थियो । एउटै रेडियो नेपालले मेचीदेखि कालीसम्मका स्वर गुन्जाउनुपथ्र्यो । अहिलेजस्तो हरेक जिल्लापिच्छे प्रसारण माध्यम कहाँ थिए र त्यतिबेला ? त्यही रेडियो नेपालमा शाखा अधिकृतका रूपमा प्रवेश गरेका बमबहादुर कार्कीले एक वर्षभित्रै एउटा गीत गाए– ‘भेटै नहुनी, खोलापारि निर्माया वारि म रुनि…।’
चालीसको दशकमा धेरै चम्किएको गुल्मी भेकतिरको यो गीत वर्तमान पुस्तालाई सम्भवत: याद छैन होला । लोक संगीत क्षेत्रमा सदाबहार यो गीतले नयाँ पुस्ताको स्नेह नपाइरहेका बेला लोकगायक कार्कीले केही समयपूर्व पुन: रेकर्डिङ गरेर नयाँ स्वादमा पस्किन चाहे । अहिले यो गीतको म्युजिक भिडियोसमेत निर्माण भइसकेको छ । पहिले स्वर भरिसकेको गीतमा पुन: स्वर भर्दा कस्तो अनुभूति हुँदोरहेछ ? केही वर्षअघि रेडियो नेपालबाट खानेपानी तथा ढल निकास विभागमा मुख्य प्रशासनिक अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेका यी गायकले सुनाए– ‘अहिले नयाँ–नयाँ प्रविधि भित्रिएका छन् । नयाँ प्रविधिमा गीत गाउन सजिलो भए पनि गाएजस्तो अनुभूति नहुँदो रहेछ । प्रत्यक्ष गाउँदा जति आनन्द आउँछ, नयाँ प्रविधि सजिलो भए पनि त्यही स्वाद नआउँदो रहेछ ।’
आफ्ना केही पुराना गीतहरूलाई नयाँ शैलीमा ढाल्ने क्रमको सुरुवात उनले गरिसकेका छन् । तर, त्यसमा केही अप्ठेराहरू पनि उनले अनुभूत गरेका छन् । उनी भन्छन्– ‘अचेलका गीतहरू सुन्नेभन्दा पनि हेर्ने खालका भए । सुनेर होइन, हेरेर आनन्द लिने माध्यम बने ।’ चालीस र पचासको दशकमा पृथक् खालका गीत गाएर आफ्नै पहिचान बनाएका कार्कीलाई अचेल गीत महँगो बन्दै जान थालेकोमा उस्तै चिन्ता छ । भन्छन्– ‘अब गीत गाएर मात्र पुग्दैन, त्यसलाई मिडियामा तामझामपूर्ण रूपले ल्याइएन भने गीत गाउनुको कुनै अर्थ रहँदैन ।’ तर, पनि उनी आफ्ना पुराना गीतहरूलाई नयाँ ढंगले सिँगारपटार गर्ने अभियानमा भने जुटेका छन् नै ।
अचेल सांस्कृतिक मूल्य र मान्यताले ओतप्रोत गीतहरू लोप हुन थालेका छन् । यो पक्षलाई बुझेर कार्कीले लोप हुन लागेका गीतहरू खोजी गरी रेकर्डिङ गर्ने सोच बनाएका छन् । यसको प्रारम्भ उनले आफ्नै गृहजिल्ला गुल्मी र त्यस भेग वरिपरिका लोपोन्मुख गीतहरूबाट गर्ने सोचाइ बनाएका छन् । भन्छन्– ‘हामीले अहिले नै लोपोन्मुख गीतहरूको संरक्षण नगर्ने हो भने भोलिका दिनमा चुक्चुकाउनु पर्नेछ ।’ वर्तमान पुस्ता बिकाउ खालका गीत/संगीतको पछि दगुर्ने गरेकोप्रति खिन्नता देखाउँदै उनी भन्छन्– ‘हामीले लोपोन्मुख गीतहरूको संरक्षण गर्नेतिर बेलैमा ध्यान पुर्याउनुपर्छ । हुन त लोपोन्मुख गीतहरू संरक्षण गर्नेतिर राज्यले नै विचार पुर्याउनुपर्ने हो । तर, हामीले राज्यको मात्र मुख ताकेर हुँदैन । हामीले पनि आफ्नो कर्तव्य पूरा गर्नुपर्छ ।’
धेरैजसोले कार्कीलाई रोमान्टिक लोकगायकका रूपमा चिन्छन् । हुन पनि उनले रोमान्टिक गीतहरूमा नै आफूलाई अब्बल राखेका छन् । तर, अहिलेसम्मको गायन यात्रामा उनले रोमान्टिकभन्दा चेतनामूलक, सामाजिक सन्देश प्रवाह गर्ने गीत बढी गाएका छन् । उनले जनस्वास्थ्यबारे चेतना जागृत गराउन गीत नै करिब पाँच दर्जनको छेउछाउसम्म गाइसकेका छन् । त्यस्तै, वातावरण, योग, इतिहास, नारी सन्दर्भदेखि नेपाली सांस्कृतिक पर्वहरूलाई सम्बोधन गर्ने गीतहरू पनि उनले उल्लेख्य रूपमा गाएका छन् ।
नेपालको हरेकजसो गाउँ, बस्ती र पाखा–पखेराहरूमा कार्कीको स्वर गुन्जिने एउटा ठूलो माध्यम बनेको थियो– दासढुंगा । ०५० सालमा जननेता मदन भण्डारी र संगठक जीवराज आश्रितको रहस्यमय दुर्घटनामा मृत्यु भएपछि देशव्यापी रूपमा उर्लिएको शोक र श्रद्धालाई टिप्दै कार्कीले ‘दासढुंगा’ नामक गीति एल्बम बाहिर ल्याए । उनी भन्छन्– ‘नेपाली राजनीतिको एउटा विशेष घटना, कालखण्डलाई गीत संगीतमार्फत् लयबद्ध गर्न हामीले उक्त एल्बम निकालेका थियौं । त्यो एल्बमले धेरै मानिसलाई आकर्षित गर्यो । त्यसले बेग्लै मोड पनि लियो ।’ दासढुंगा निस्किएपछि उनलाई एमालेका नेताहरूले कुनै स्थान दिन पनि चाहेका थिए । तर, उनले लिएनन् । भन्छन्– ‘मलाई मेरो राजनीतिक अभीष्ट सोधेका थिए । तर, राजनीति मेरो क्षेत्र नभएको हुँदा मैले खासै लगाव राखिनँ ।’
आफूलाई कुनै नेताले आग्रह गरेर ‘दासढुंगा’ नजन्मिएको पनि उनले बताए । तर, त्यसअघि भने उनले नेपालको इतिहासलाई गीत–संगीतमार्फत् बाहिर ल्याउनुपर्छ भन्ने लागेर ‘फैसला’ नामक एल्बम ल्याएका थिए । पाँच शृंखलासम्म निस्किएको उक्त एल्बमले आशातित सफलता पाउन सकेन । उनी भन्छन्– ‘हामीले नेपालको इतिहासलाई गीत संगीतमार्फत् पस्किन चाहे पनि त्यसलाई मानिसहरूले खासै रुचाएनन् ।’
सन्ताउन्न वर्षअघि गुल्मीमा जन्मिएका कार्कीले ०३४ सालमै स्वर परीक्षा उत्तीर्ण गरे पनि गाउन भने ०४० सालदेखि थालेका हुन् । सुरुमा दिनहरूमा उनको र प्रेमराजा महतको जोडीले बाजी नै मारेको थियो । ‘पानको पात’ ले उनलाई एकै पटक चुलीमै पुर्यायो । तर, उनको सर्वाधिक बिक्ने गीत भने ‘नरोऊ नरोऊ ए दुलही नानी…’ बन्न पुग्यो । उनी भन्छन्– ‘यो गीतले सर्वाधिक रेकर्ड नै कायम गरेको थियो ।’ त्यसो त, नेपालको लोकदोहोरी इतिहासमा पहिलो गीति एल्बम ‘भेटै नहुनी’ निकाल्ने श्रेय पनि उनलाई नै जान्छ । पहिलो भजन एल्बम, तीजको एल्बम र देउसी भैलोको एल्बम निकाल्ने श्रेय पनि उनलाई नै लिन पाउने अधिकार छ ।
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply