मानोलाई पाथी किन भनिरहने ?
‘क्लाइमेट चेन्ज’ ले पो हो कि मान्छे ह्वात्तै फेरिन थालेका छन् । यसरी फेरिए कि चैतमा मकवानपुरको सिमभञ्ज्याङमा हराभरा देखिने लालीगुराँस अचेल कात्तिकमै राताम्मे हुन थाल्यो । हेटौंडाका महँगा होटलहरूमा हुने कार्यशालाबाट थाहा भयो कि, यो ‘क्लाइमेट चेन्ज’का कारण रहेछ । त्यसैले कात्तिकमै फुले पनि लालीगुराँस नै हो, अरू फुलेको होइन । २०६४ सालको संविधानसभाको निर्वाचनमा एमाओवादी त्यसैगरी फुल्यो । गिरिजाप्रसाद कोइराला नाम गरेको ‘क्लाइमेट’ एमाओवादी राताम्मे फुल्न ‘क्लाइमेक्स’ पनि भइदिए । उनलाई पनि राष्ट्रपतिको जामा लगाउने रहर पलायो । यो रहरको अंकुर एमाओवादीले नै गरिदिएको थियो । बजारमा चल्तापुर्जा रहेको नेकपा क स्(एमाले) नाम गरेको ‘जिन्स’ पाइन्टले कांग्रेसको आवरण नै धमिल्याउँछ कि भनेर जिन्स पाइन्ट खुइल्याउन एमाओवादी नामक लालीगुराँस सिउरमा सिउरिने कोइरालाको रहरले जनताले कल्पना गरेको भन्दा बढी ‘पोलिटिकल क्लाइमेट’ फेरियो । एमालेसरह ८३ सिटको कोट लगाएर सहर छिरेको एमाओवादी कात्तिकमा फुलेको हराभर लालीगुराँस भयो । जिन्स पाइन्ट हल्का खुइलियो ।
परिवर्तनमा नागरिक रोमाञ्चित भइरहेका थिए । अग्रगमनको रथमा एमाओवादी गाडा भइरहेको थियो भने कांग्रेस, एमाले पनि गाडाको दुई किनाराका गोरु नै सही, एकाएक गणतन्त्रको बाटोमा हिँडेकै थिए । तर, हरेक घटनाक्रम र परिवर्तनमा परिपक्व होइन, रोमाञ्चित भएर मनोरञ्जनको अनुभूति गर्ने एमाओवादीको गुणका कारण मुलुक अरू एक दशक बन्धक बन्यो । ६ माघ २०७१ सम्म आइपुग्दा उसले संविधानसभाको सीसीटीभीको फुटेज रिप्ले गरेर हेर्ने हिम्मतसम्म गरेन । उसो त ५ मंसिर २०७० को बिहानै के भन्नु रातमै हठात् पत्रकार सम्मेलन गरेर धाँधलीको खोल्सामा प्रशान्त महासागर ल्याउने धम्की दियो । पछि लुरुक्क परेर संविधानसभामा राजनीतिक संवाद समितिको सभापतिमा चित्त बुझाउन आयो । यी सबै घटनाक्रमहरूले ऊ परिपक्व भएको देखिएन । बरु १९ माघमा पेरिसडाँडामा रुन्चेस्वरमा एउटा पत्रकार सम्मेलन भएछ र आफूलाई मुलुकको राष्ट्रपतिभन्दा कम नआँक्ने र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई ‘कुन महाराज हो र’ भन्दै कुर्लने प्रचण्डले भनेछन्, ‘गाउँ जान लागियो, अब काठमाडौं नफर्कन नि सकिन्छ ।’ एमाओवादी कहाँ परिपक्व भयो ? कात्तिकमा फुलेको लालीगुराँस र चैतमा फुलेको लालीगुराँसमा फरक पाइन्छ नै, सिमभञ्ज्याङतिरका बूढापाकालाई सोधे पनि हुन्छ ।
सहमतिमा पनि नआउने र प्रक्रियामा पनि जान नदिने कुन प्रजातान्त्रिक संस्कार
हो ? आफ्नै सभासद्हरूलाई मदिरामा लठ्याएर संविधानसभामा ताकी–ताकी हान्न लगाउने अनि आफ्नै महिला सभासद्को छातीमा हात पुर्याउने कुन साम्यवाद हो, कुन अग्रगामी सोच हो ? आफूमाथि आक्रमण भएको तथ्य एमालेले बाहिर ल्याउँदा उनीहरू नै अस्पताल भर्ना हुने अनि आफ्ना महिला माननीयको मानमर्दन भयो भनेर गुनासो पनि गर्ने कुन जनअदालत हो, कुन जनकानुन हो ? यति त ठीकै थियो । सीसीटीभीको फुटेज रिप्ले गरौं न त भन्दा बुरुक्क उफ्रेर अब गाउँ हिँडियो, सहर नफर्कन नि सकिन्छ भन्नुले गाउँमा कुखुरा हराउनु र सालघारीमा स्याल कराउनु संयोगमात्र होला र ?
हो, संविधानसभा एमाओवादीको मुद्दा हो । संघीयता उसैको मुद्दा हो । तर, मह खान रहर गर्नेले माहुरी घारमा आगो लगाउन हुन्छ कि हुँदैन ? पहिलो संविधानसभाको निर्वाचनपछि सत्तामा पुगेको लालीगुराँस समूहले नै हो माहुरीको घारमा आगो झोसेर मह फेला परेन भन्ने दाबी गरेको । हरेक घटनामा पुलकित हुने, भावनामा बग्ने, रोमाञ्चकारी अनुभव गर्ने अनि विषयान्तर गरेर हामी त कात्तिकमा फुलेको लालीगुराँस भनेर कति दिन एमाओवादी आफ्नो ब्रान्डिङ गरिरहन्छ ? कति दिन ऊ अमिताभ बच्चनका पालादेखि ऐश्वर्याकी छोरीले पनि जिन्स आइटम लगाउन थालेकोमा रिस गरेर जिन्स पाइन्ट खुल्याउन लागिरहन्छ ? जिन्स कपडा त्यतिखेर पनि थियो । अहिले पनि छ । बजारको माग अनुसार यसका ‘मोडिफिकेसन’ भएका छन् । बरु अब युवा पुस्ताले मात्र होइन सबै पुस्ताले सबै ऋतुमा जिन्स कपडाका पहिरन मन पराए भनेर लालीगुराँसले पहरोमा कुहिनो ठोक्काउनु त न विज्ञानसम्मत भयो, न शक्ति प्रदर्शन नै ।
उच्चस्तरीय राजनीतिक संवाद समितिको सभापति भएपछि डा. बाबुराम भट्टराईले भनेका थिए, ‘म पार्टीभन्दा माथि उठेर संविधानका विवादित विषयमा टुंगो लगाउन प्रयास गर्नेछु ।’ उनीजतिका कुशल नेताका लागि नयाँ नेपाल निर्माणको अभिभारा थपिँदै थियो । ८ माघमा संविधान जारी हुनेवाला थियो । वैशाखमा पार्टी महाधिवेशन भएपछि उनी अध्यक्ष हुनेवाला थिए । त्यसपछि मुलुकमा स्थानीय निकायको निर्वाचनको तिथि घोषणा हुने थियो । त्यसमा पार्टीले जिते संसद्को निर्वाचन होस् या राष्ट्रपतिको निर्वाचन, त्यसमा एमाओवादीलाई फेरि ७५ हजारको घडी लगाएर तीन लाखको पलङमा सुकला गर्न र छोराछोरीलाई सगरमाथा चढ्न मन लागे दुई करोड रुपियाँ राज्यबाटै व्यवस्था गर्न कसले रोक्ने थियो र ? चुनावमा हारेपछि ७ वर्ष एमाले मरिचजस्तो चाउरिएर संगठन बनाउन गाउँ छिरेकै थियो । गाउँमा गणेश मन्दिरको घन्टा किन्ने समितिदेखि बेतखोल्सीको धाराको टुटी जोड्ने उपभोक्ता समितिको अध्यक्षमात्र होइन, टुटी बेच्ने पनि माओवादी नै थिए । मकवानपुरकै भीमफेदीमा त हाइस्कुलको अस्थायी मास्टरको जागिर खान विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएर आवेदन दिने पनि यिनै कात्तिकमा फुलेका ढकमक्क एमाओवादी नामकै लालीगुराँस थिए । सात वर्षमा एमाले लोप पार्ने अभियान चलाएकै थिए । जातीय ‘रेडकार्पेट’मा केही नेताहरू लुटपुटिएर हिँड्दा आज तिनीहरू गाउँमा चित्रबहादुर केसीको पार्टीको केन्द्रीय सदस्य भएझैं भएका छन् । बरु गाउँमा नेकपा (एमाले)को इलाका सदस्यको भाउ छ । एमाले ‘जिन्स पाइन्ट’ नै हो । अचेल केटाकेटीमात्र होइन, हजुरबुबा र हजुरआमालाई पनि सुहाउन थालेको छ । यसलाई सिमभञ्ज्याङमा फुल्ने कात्तिके लालीगुराँसले छेक्न सक्दैन, रोक्न सक्दैन ।
नेकपा (एमाले)को नवौं महाधिवेशन असारमा भयो । पार्टीमा गुटगत चुनावी प्रतिस्पर्धा भयो । जिते संस्थापन र हारे विस्थापन हुने राजनीतिक संस्कारलाई एमालेले खण्डन गरिदियो । यतिखेर नेकपा (एमाले) मुलुकको शान्ति, अग्रगमन र समृद्धिको एक्लो सारथी हो । यहाँ कोही विस्थापनको सिकार भइरहेका छैनन् । बरु नेपाली कांग्रेसका तरुण र विद्यार्थीहरू पनि हाम्रा नेता पनि केपी ओली नै भए र चुनाव भए एमाले पहिलो हुने भयो भनेर चर्चा गर्न थालेका छन् । फेसबुक च्याटमै पनि लेखक भरत दाहालले भनेका थिए, ‘एमालेको भँमिका ठीक लाग्दैछ है भाइ ।’ साँच्चै मुलुकमा यतिखेर एमालेलाई धारेहात लगाएर सराप्नेहरूको पनि सातो गएको छ । धुनषातिर घुम्न जाँदा भेटिएका मधेसवादी कमरेडहरू परिचय दिँदा आफू कुन मधेसी मोर्चाको भन्थेनन् । उनीहरू भन्थे, ‘म पनि भूतपूर्व एमाले हुँ भाइ ।’ सायद एमालेको त्यो ब्रान्ड, त्यो बजारभाउ उनीहरूले एमालेको नौमहिने सरकारदेखि नवौं महाधिवेशनबाट ‘मोडिफाइड’ र ‘युनिफाइड’ भएको शक्तिलाई दिलबाटै स्वीकारेका होलान् । एमाओवादीले रुमानी सपना देखाएर बिरालोलाई कपास खान दिएको भन्दै चुक्चुकाएका होलान् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रेस चौतारीका पत्रकारहरूसँग भन्नुभएको थियो, ‘कमरेडहरू माइक ताकेर हामीलाई हान्छन् अनि आफैं अस्पताल जान्छन् ।’ एमाओवादी हरेक घटनामा आफूलाई रोमाञ्चक भएको अनुभूति गराउँछ । नेकपा (एमाले) ८३ सिटदेखि यहाँसम्मको यात्रालाई अनुभव मानेर परिपक्व भएर प्रस्तुत भइरहेको छ । उनीहरूको भ्रातृसंगठनमा पनि गञ्जागोल छन् । एमालेका भ्रातृसंगठनका पनि समाचार आउँछन् । उनीहरू अहिले पनि तीन गुटमा छन् । तर, एमालेमा न विस्थापनको चोट छ, न कमजोरी महसुस नै । नेपाली कांग्रेसले बोल्नुपर्ने भाषा बोलेको छ, कार्यदिशा लिएको छ । उमेरमा हो, मन परेको केटीसँग प्रेमको प्रस्ताव गर्ने । तब न घरबार बलियो हुन्छ । बुढेसकालमा मोहनविक्रम सिंहले गरेको बिहेको रोमाञ्चकारी अनुभव र कात्तिकमा हराभरा फुल्ने लालीगुराँसको घमण्डभन्दा नेकपा (एमाले) देखिएकाले जनआकर्षण एकाएक बढेको छ । एमाले त ६ ऋतुमा सबै पुस्ताको आकर्षण बनेको ‘जिन्स’ नै हो । नयाँ नेपाल, नयाँ संविधान र आर्थिक समृद्धिको खाकामा हिँडेको पार्टी हो । अहिले केही शक्तिलाई तिम्रो आकार र हैसियत यही त हो भनेर ठाडो भाकामा एमाले अध्यक्ष ओलीले भन्नुभयो होला । आफ्नो साइज सबैले थाहा पाए भनेर केही बुरुक्क उफ्रिए होलान् । तर, नेपाली जनता भन्दै छन्, ‘ठीकै त भने एमालेले र ओलीले, मानोलाई पाथी भन्न मिल्दैन नि त !’
भिततभच२चबmपगmबचचष्वब।िअयm।लउ
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply